भर्खरै :

नेमकिपा रुपन्देहीद्वारा प्रजिअमार्फत प्रमलाई ज्ञापनपत्र

भैरहवा, १ असार । नेपाल मजदुर किसान पार्टी, रुपन्देहीले सोमबार रासायनिक मल अभावलगायत जनताका दैनिक समस्याबारे ध्यानाकर्षण गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेमकिपा रुपन्देहीको ज्ञापनपत्र ग्रहण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर कुँवरले तुरुन्तै ज्ञापनपत्र सम्बन्धित ठाउँमा पु¥याउने वचन दिनुभयो ।
ज्ञापनपत्र हस्तान्तरण गर्दै नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले नेपालमा माग भएभन्दा बढी विद्युत् उत्पादन भयो भन्ने विद्युत् प्राधिकरणले झ्यापझ्याप बत्ती निभाउँदा र घण्टौँ बिजुली आपूर्ति बन्द गर्दा उपभोक्ताहरूले सास्ती भोग्नुपरेको बताउनुभयो ।
नेमकिपा रुपन्देहीका कोषाध्यक्ष जगिलाल थापाले सरकारले मल उपलब्ध नगराउँदा गाउँगाउँमा किसानले चोरी पैठारीमा ल्याइएको नक्कली मल प्रयोग गरिरहेको र त्यसबाट खेतीमा नोक्सानी भइरहेको छ भन्नुभयो ।
नेमकिपाको ७ बुँदे ज्ञापनपत्रमा देशकै मुख्य बालीको रूपमा रहेको धान खेती गर्ने बेला खेतमा हाल्न मल नभएको भन्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन माग गरिएको छ । भारतबाट चोरी पैठारी गरिएको गुणस्तरहीन मलले माटो बिगार्ने र उत्पादनमा ¥हास ल्याउने हुँदा नक्कली मल आयात रोक लगाउनुपर्नेमा जोड दिँदै ज्ञापनपत्रमा हरेक वर्ष, हरेक खेती बालीको बेला छटपटाइरहेका किसानको मिहिनेतअनुसार उत्पादन बढाउन र मलको समस्याको दीर्घकालीन समाधानको लागि स्वदेशमै गुणस्तरीय मल कारखाना स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा खाद्यान्न, फलफुल, तरकारी, घिउ, दूध, माछा र मासु उत्पादन बढाई उपभोक्ता मूल्य सुलभ बनाउन, युवा जनशक्तिलाई स्वदेशमै परिचालन गर्न, जमिन जोत्नेलाई वितरण गर्न, कृषिको लागि आवश्यक उन्नत जातको बिउबिजन, सिँचाइ, आधुनिक कृषियन्त्रजस्ता पूर्वाधार बन्दोबस्त गर्न माग गरिएको छ । ज्ञापनपत्रमा खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य दिन दुईगुना र रात चारगुना बढ्दै गएको हुँदा विद्युत् शुल्क घटाउनुपर्ने, विद्युतीय सवारी साधन तथा उपकरणहरू सहज उपलब्धता गराउनुपर्ने, जनतालाई सास्ती दिइरहेको अघोषित लोडसेडिङ अन्त्य गर्नुपर्ने माग गरिएको छ ।
एमसीसीका मतियारहरूले बारम्बार एमसीसी साम्राज्यवादी संरा अमेरिकी सैन्य रणनीतिअन्तर्गत होइन भनी हल्ला गरे पनि साम्राज्यवादी संरा अमेरिकी सैनिक अधिकारीहरूको नेपालमा बाक्लो आवतजावतले असंलग्न परराष्ट्र नीतिविपरीत नेपाल संरा अमेरिकी सैन्य जालमा फसिसकेको पुष्टि हुँदै गएको ज्ञापनपत्रमा उल्लेख छ । तत्काल एमसीसी खारेज गरी नेपालको सार्वभौमसत्तामा आँच पु¥याउने सबै गैरराजनीतिक तथा गैरकूटनीतिक कदम बन्द गर्न नेमकिपा रुपन्देहीले माग गरेको छ ।
ज्ञापनपत्रमा अगाडि लेखिएको छ, “नेपालजस्तो विकासशील देशले आर्थिक प्रगति गर्न कृषिमा आधारित उद्योगहरू स्थापना गर्नुपर्दछ । यन्त्र उत्पादन, यातायात, विद्युत्, शिक्षा–स्वास्थ्य क्षेत्रहरूमा विकास गर्दै जानुपर्दछ । तर, ७० लाख युवाहरूलाई विदेशिन बाध्य बनाइयो । नेपाली कर्मठ युवा जनशक्तिलाई विदेशीको लागि सस्तो श्रमिकको रूपमा पठाएर देशको अर्थतन्त्र ध्वस्त पारियो । खाद्यान्न, फलफुल, तरकारी, घिउ र दूधसहित आधारभूत वस्तु आयात गरी वर्षको खर्बौँ रुपियाँ व्यापार घाटा गराइयो ।
नेमकिपा रुपन्देहीको ज्ञापनपत्रमा उल्लेख छ, जमिन जोत्नेलाई वितरण गरी कृषिको लागि आवश्यक उन्नत जातको बिउबिजन, सिँचाइ, आधुनिक कृषि यन्त्र र रासायनिक मल सरकारले सहज र सुलभ रूपमा उपलब्ध गराइदिनुपर्ने हो । तर, वर्षौँदेखि किसानलाई आवश्यक पर्ने बेलामा रासायनिक मल सरकारले उपलब्ध गराउन सकेको छैन । नेमकिपाले सदन र सडकमा बारम्बार नेपालमै रासायनिक मल कारखाना खोल्न जोड दिए पनि शासक दलहरूले त्यसतर्फ कुनै प्रयास गरेका छैनन् । यसपालि पनि रासायनिक मल उपलब्ध नभएकै कारण देशको कृषि उत्पादन आधाभन्दा कम हुने अनुमान किसानहरू गर्दै छन् । यसरी एक एक पाइला गरी देश कङ्गाल हुने दिशामा छ ।”
ज्ञापनपत्रमा भनिएको छ “साम्राज्यवादी संरा अमेरिकालगायत नाटो देशहरूको युद्ध उन्मादीको कारण विश्वमै खाद्य सङ्कट हुँदै छ । केही साताअघि भारतले गहुँ निर्यात नगर्ने आदेश दिएपछि नेपालका मैदा कारखानाहरू साउन महिनादेखि बन्द हुने समाचारहरू बाहिर आएका छन् । गहुँको अभावकै कारण कारखाना सञ्चालन नहुने स्थितिमा सामान्य उपभोक्ताहरूले खाद्य सामग्री खरिद गर्न नसक्ने गरी महँगी बढ्नेछ । मजदुर–किसान, कामदार जनता भोकभोकै मर्नुपर्ने विपत्ति आउनेछ । देशको यही सङ्कटपूर्ण अवस्थामा देशलाई भड्खालोमा जानबाट रोकी देश र जनताको हितमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र पेश गर्दछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *