भर्खरै :

शिक्षामन्त्रीको जवाफ हास्यास्पद

नेमकिपाले ख्वप विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको दशक बित्यो । ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति भएमा रू.१५÷१६ लाखमा डाक्टर पढ्न पाउने व्यवस्था गर्ने आँट भक्तपुर नगरपालिकाले गरेको हो । तर, अहिलेसम्म सरकारले सो विश्वविद्यालयको स्वीकृति दिएको छैन । विश्वविद्यालय स्वीकृति दिन नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले संसद्मा पटक–पटक आवाज उठाइरहेकै हो । तर, अहिलेसम्म सुनवाइ भएको छैन । विश्वविद्यालय स्वीकृति दिने सन्दर्भमा शिक्षामन्त्री देवेन्द्र पौडेलले हास्यास्पद जवाफ दिए । जवाफमा उनले १५ लाख रूपियाँको सूचीको विवरण नआएको बताए । शिक्षामन्त्री पौडेललाई प्रतिप्रश्न छ, के त्यो रकमको सूचीको विवरण प्राप्त नभएकोले ख्वप विश्वविद्यालयको विधेयक संसद्मा प्रस्तुत नभएको हो, स्वीकृति नभएको हो ?
शिक्षा मन्त्रालयले पहिले ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिने कि रू. १५ लाख लाग्ने खर्चको सूची माग्ने ¤ विश्वविद्यालय स्वीकृत भएपछि सञ्चालन गर्ने क्रममा कति खर्चमा डाक्टर पढाउन सकिन्छ भन्ने आवश्यक खर्चको सूची दिन नपालाई कुनै समस्या हुँदैन । तर , स्वीकृति नदिइकन खर्च हुने सूचीको विवरण कसरी दिने ? खर्चको सूची विवरण माग्नुको अर्थ ख्वप विश्वविद्यालय स्वीकृति दिन नचाहेको थाहा हुन्छ । आफूलाई क्रान्तिकारी ठान्ने माओवादी मन्त्रीको यो जवाफ के केटाकेटी पाराको भएन ? सत्तासीन दलका नेताहरूले जानाजानै ख्वप विश्वविद्यालयको स्वीकृति दिन आनाकानी गरेका हुन् । ख्वप विश्वविद्यालय स्वीकृतिसँगै सस्तोमा मेडिकल कलेज खोलेपछि निजी क्षेत्रले सञ्चालन गरेका, सञ्चालन गरेर लाखौँ–करोडौँ कमाइरहेका दलका नेताहरू र आफ्ना पक्षधर व्यक्तिहरू संलग्न भएका निजी अस्पतालहरू बदनाम हुनेछ र बन्द हुनेछ । ती नेताहरूको यही चिन्ताले ख्वप विश्वविद्यालय स्वीकृति नदिइएको हो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्ने सोच राम्रो भन्ने, १५–१६ लाखमा पढाउन सके ठिक्कै हो भने तर, स्वीकृति नदिने ¤ के ख्वप विश्वविद्यालय सञ्चालनको माग नेमकिपाले गरेकोले हुँदा स्वीकृति नदिएको हो ? के ख्वप विश्वविद्यालय सञ्चालन भएपछि त्यहाँ नेमकिपाका मात्र विद्यार्थीहरू मात्र पढ्ने हुन् ? नेमकिपाका सन्तानहरूमात्रै डाक्टर बन्ने हुन् ? भनपाबाट सञ्चालित कलेजहरूमा झन्डै देशभरका ७ हजारभन्दा विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । के यी सबै नेमकिपाका अभिभावकका सन्तान हुन् ? नेमकिपाले त सस्तोमा गुणस्तरीय शिक्षा दिन खोजेको हो, देशको लागि आवश्यक जनशक्ति तयार गर्न लागेको हो । यसले देश र जनताकै सेवा गर्छ, देश र जनताको लागि नै फाइदा गर्छ । जसरी अहिले नपाले कलेज सञ्चालन गरेर इन्जिनियर र नर्स तयार गर्दै छ । भनपाबाट सञ्चालित कलेजबाट उत्तीर्ण इन्जिनियर र नर्सहरू देशको विभिन्न क्षेत्र या समुदायमा कार्यरत छन् । के यो देशको प्रगति होइन ? देशको लागि आवश्यक जनशक्ति तयार गर्नु के राम्रो होइन ? ख्वप विश्वविद्यालय र मेडिकल कलेज सञ्चालनको मागमा नेमकिपाको कुनै दलगत स्वार्थ छैन । देशको लागि आवश्यक जनशक्ति तयार होस् भन्ने नेमकिपाको चाहना हो । निजी मेडिकल कलेज खोलेर व्यक्तिलाई पोस्ने पुँजीवादी सरकारकै स्वार्थका कारण अहिलेसम्म सरकारले ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिएको हो । एकजना डाक्टर बन्नको निम्ति ७०–८० लाख असुल्न छुट दिने पुँजीवादी सोचका नेता र मन्त्रीहरूमा कहिले बुद्धि पलाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *