भर्खरै :

मालीले फ्रान्सेली सेना फर्कायो

२०२२ मे महिनाको पहिलो दुई सातामा मालीको सैन्य सरकारले फ्रान्सेली सेना हटायो । साथै ऊ ‘जी ५ साहेल’ नामक फ्रान्सेली राजनीतिक अभियानबाट पनि बाहिरियो । फ्रान्सेली सैन्य हमलाहरूले हुने नागरिकहरूको क्षति र माली सरकारविरुद्ध फ्रान्स सरकारको अहङ्कारी व्यवहारले गर्दा मालीभरि गहिरो असन्तुष्टि फैलेको थियो । सैन्य विद्रोहीहरूका नेता कर्नेल असिमी गोइटाले फ्रान्ससँगका सम्झौताहरूले ‘न शान्ति ल्यायो, न सुरक्षा ल्यायो, न मेलजोल ल्यायो’ भने । उनले जनता ‘बगिरहेको माली रगत रोक्न’ चाहन्छन् भने । फ्रान्सले आफ्नो सेना मालीबाट छिमेकी देश नाइजरमा सा¥यो ।

अफ्रिकामा नाटो
नाटो दक्षिणतिर विस्तार हुँदै गर्दा अफ्रिकामा अनिष्टको आशङ्काले त्रास फैलेको छ । २०११ मा नाटोको लिबिया युद्ध यस विस्तारको नाटकीय घटना थियो । नाटोका युद्ध विमानहरूले लिबियाका भौतिक पूर्वाधारहरू ध्वस्त पारे र लिबियालाई राजनीतिक पक्षघात र सामाजिक अराजकताको स्थितिमा छोडे । नाटोको लिबिया युद्धकै कारण लिबियाको दक्षिणमा अवस्थित देशहरूमा अस्थिरता फैलियो । साहेल क्षेत्रका पाँच राज्यहरूमा बुर्किना फासो, चाड, माली, मौरिटानिया र नाइजर थिए । अलकायदालगायत सबै प्रकारका बन्दुक र लडाकुहरू दक्षिणतिर फैलिए । त्वारेग र माली राज्यबीच चलेको द्वन्द्वजस्ता पुराना द्वन्द्वहरू र सहारा मरुभूमिभरि फैलेको तस्करीजस्ता पुराना अपराधहरू जिहादको कालो झन्डासँग जोडियो । यी जिहादी झन्डाहरू लिबियाको दक्षिणी मरुभूमिबाट सेतो रङका टोयोटा ट्रकहरूमा राखेर उत्तरी नाइजेरिया पु¥याइएको थियो । यी ट्रकहरूको पछि लागेर नाटो पनि दक्षिण पस्यो । जिहादीहरू त्यहाँ छन् भनेर मध्य अफ्रिकालाई मुट्ठीमा पार्ने कामलाई न्यायोचित ठह¥याइयो ।
२०११ को नाटोको लिबियाविरोधी युद्धले नै अफ्रिकाको साहेल क्षेत्रको अराजकता चर्काएको कुरा कसैले पनि अस्वीकार गर्दैन । एक दशक लामो त्वारेग विद्रोह तथा फुलानी गोठालाहरू र दोगोन किसानहरूबीचको द्वन्द्वजस्ता मालीका पुराना समस्याहरू लिबिया र अल्जेरियाबाट हतियार र हतियारधारीहरूको आगमनसँगै बल्झिएका छन् । तीनवटा जिहादी समूहहरू अचानक प्रकट भएका छन्– इस्लामी क्षेत्र माघरेबमा अलकायदा, पश्चिम अफ्रिकामा जिहादको एकीकरण आन्दोलन नामक सङ्गठन र अन्सार दाइन । तिनीहरूले पुराना तनावहरूलाई प्रयोग गरेर सन् २०१२ मा उत्तरी माली कब्जा गरे र अजावाद नामक राज्य घोषणा गरे । लगत्तै २०१३ को जनवरीमा फ्रान्सेली सेनाको हस्तक्षेप भयो ।
फ्रान्सले आफ्नो सैन्य उपस्थितिलाई राजनीतिक क्षेत्रले मान्यता दिनुपर्ने बतायो । सन् २०१४ मा फ्रान्सले मौरिटानियाको नौकचोट सहरमा साहेल क्षेत्रका राज्यहरूको भेला गरायो । त्यहाँ उनीहरूले ‘जी ५ साहेल’ समूह बनाए । ३ वर्षपछि सन् २०१७ मा ‘जी ५ साहेल’ ले ‘एफसी–जी ५’ बनाए । यो एउटा सैन्य गठबन्धन हो । त्यस भेगका विद्रोहहरू दबाउन यो गठबन्धन बनाइएको थियो । जी ५ राजनीतिक अभियान र एफसी–जी ५ सैन्य गठबन्धन दुवैले फ्रान्सको सैन्य उपस्थितिलाई ढाकछोप गरे । अहिले फ्रान्सले यी देशहरू कब्जामा राखेको छैन । यी देशहरूको सार्वभौमिकता छ भनी देखाउन खोजिएको छ । फ्रान्सले यी देशहरूलाई अस्थिरताविरोधी सङ्घर्षमा सभाएको मात्र हो भनिरहेका छन् ।
पश्चिमा मिडियाहरू नाटोको विस्तारबारे रिपोर्टहरू दिन्छन् । तर, मुख्य प्राथमिकता पूर्वी युरोपमा दिइन्छ, उत्तरी अफ्रिकामा दिइन्न । नाटोको ‘दक्षिणको लागि खाका’ र सन् २००५ यता अफ्रिकी युनियनसँगको उसको सहकार्यले युरोपले अफ्रिकालाई पुनः उपनिवेश बनाउन खोज्दै छ भन्ने तथ्य छर्लङ्ग पार्छ ।

युद्ध अपराधहरू
साहेल क्षेत्रको यात्राबाट के स्पष्ट हुन्छ भने यस क्षेत्रमा फ्रान्स र अमेरिकाको स्वार्थ आतङ्कवाद र हिंसामात्र होइन । साहेल क्षेत्रमा विशाल सैन्य उपस्थिति निर्माण गर्न फ्रान्स र अमेरिका दुवैलाई तान्ने विशेषगरी दुई क्षेत्र छन् । विशाल किन पनि भने नाइजरको अगादेजमा अमेरिकाले सञ्चालन गर्ने संसारकै सबैभन्दा ठूलो ड्रोन अखडा छ । पहिलो कुरा, साहेल क्षेत्रमा प्रशस्त प्राकृतिक स्रोतसाधनको भण्डार छ । नाइजरमा पहेँलो युरेनियम पाइन्छ । आरलिट (नाइजर) का दुई क्षेत्रले फ्रान्सका एकतिहाइ बल्ब बाल्ने बिजुली दिन्छन् । यसको लागि त्यो छाउनीजस्तो सहरमा आरेभाजस्ता फ्रान्सेली खानी कम्पनी सक्रिय छन् । दोस्रो कुरा, यी सैन्य अपरेसनहरू पश्चिम अफ्रिका र पश्चिम एसियाबाट हुने बसाइँसराइ रोक्न सञ्चालन गरिन्छ । मानिसहरू ती भेगबाट साहेल र लिबियाको बाटो हुँदै भूमध्य सागर तरेर युरोप जाने गर्छन् । साहेल क्षेत्रमा मौरिटानियादेखि चाडसम्म अमेरिका र युरोपेली देशहरू मिलेर एउटा कठोर सैन्य सिमाना निर्माण गर्न थालेका छन् । युरोपले आफ्नो सिमानालाई भूमध्य सागरको उत्तरी किनारबाट सारेर साहारा मरुभूमिको दक्षिणी किनारसम्म पु¥याएको छ । त्यसैले, उसले उत्तरी अफ्रिकाका देशहरूको सार्वभौमिकता हातमा लिएको छ ।
लिबियामाथिको नाटोको युद्धपछि ब्रसेल्समा रहेको नाटो मुख्यालयले त्यहाँ गरिएको विध्वंसात्मक बमबारीको छानबिन गर्न अस्वीकार ग¥यो । त्यसबेला नाटोका कानुनी सल्लाहकार पिटर ओल्सनले नाटोलाई छानबिनभन्दा पर राख्नुपर्छ भनेर राष्ट्रसङ्घमा पत्राचार गरे । ओल्सनले लेखे, “आयोगको प्रतिवेदनमा कानुन मिच्ने वा अपराध गर्ने महलमा नाटोका घटनाहरूलाई पनि सामेल गरेमा हामीलाई सरोकार हुनेछ ।” राष्ट्रसङ्घको आयोगको प्रतिवेदनमा ‘नाटोले लिबियामा जानाजान सर्वसाधारणमाथि बमबारी गरेन र युद्ध अपराधहरू गरेन भनी स्पष्ट लेखियोस्’ भन्ने नाटोको इच्छा छ भनी उनले निष्कर्ष लेखे । अर्को शब्दमा कुनै छानबिन नगरी राष्ट्रसङ्घको मानव अधिकार आयोगले नाटो नैतिकवान भएको चारित्रिक प्रमाणपत्र दिनुपर्छ भन्ने ओल्सनको राय थियो । साहेल क्षेत्रमा पनि फ्रान्स र अन्य नाटो देशहरूको व्यवहारमा यही सोच हाबी छ ।
मालीमा फ्रान्सले गरेका युद्ध अपराधका प्रामाणिक घटनाहरूले फ्रान्सविरोधी जनमत सिर्जना गरेका हुन् । उदाहरणको लागि २०२१ जनवरी ३ मा मालीको मध्य मोप्टी क्षेत्रमा बौन्टी नामक गाउँमा फ्रान्सेली ड्रोन हमलामा परेर उन्नाइस सर्वसाधारण मारिए । मारिने सबैजना बिहे भोजका सहभागी थिए । यो गाउँ बुर्किना फासोनजिकै पर्छ । फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले भने, “फ्रान्सेली सेनाले एउटा आतङ्कवादी समूहको रूपमा चिनिएको समूहलाई निसाना बनायो ।” तर मालीको लागि राष्ट्रसङ्घीय मिसन ‘मिनुस्मा’ को छानबिनबाट फ्रान्सेली ड्रोनले एक सय मानिस सहभागी भएको बिहे भोजमाथि प्रहार गरेको पत्ता लगायो । यस्ता घटनाहरूले गर्दा मालीमा फ्रान्सेली सेनाविरुद्ध व्यापक जनप्रदर्शनहरू भए ।
फ्रान्सेलीहरूलाई सम्हाल्न प्रजातान्त्रिक सरकारहरू विफल भएपछि बुर्किना फासो र मालीमा सैन्य विद्रोहहरू भएका थिए । फ्रान्सेली सेनालाई हटाउने र जी ५ साहेलको राजनीतिक योजनाबाट देशलाई बाहिर ल्याउने जिम्मेवारी यसरी सेनाको काँधमा आयो ।

बन्दुकले भोक हटाउन सकिन्न
मालीका पूर्वराष्ट्रपति अल्फा–ओमर कोनारेले एक दशकयता मालीमा चलिरहेका द्वन्द्वहरूको कारक देशको निस्सासिँदो अर्थतन्त्र हो भने । यसबीच मालीले विदेशी ऋण तिर्नुपर्ने दायित्वबाट राहत पाएन, न भौतिक पूर्वाधार बनाउने सहयोग पायो । यो भूपरिवेष्ठित राज्यले ७० प्रतिशत खाद्यान्न आयात गर्छ । पछिल्ला महिनाहरूमा यसको मूल्यले आकाश छोएको छ । मालीले पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समूह (इकोवास) बाट कडा नाकाबन्दी सामना गर्दै छ । यो नाकाबन्दीले सङ्कट चर्काउने र मालीको राजधानी बामाकोभन्दा उत्तरमा अझ ठूलो द्वन्द्वलाई मलजल गर्नेबाहेक अरू गर्नेछैन ।
“हामी संसारकै दरिद्र स्थानमा बस्छौँ,” मृत्यु हुनुभन्दा ठीक अघि पूर्वराष्ट्रपति अमादौ तुमानी तुरेले मसित भन्नुभएको थियो । साहेल क्षेत्रका ८० प्रतिशत जनता दिनको २ डलरभन्दा कम आम्दानीमा गुजारा चलाउँछन् । यो क्षेत्रको जनसङ्ख्या ९ करोड (सन् २०१७) बाट बढेर २४ करोड (सन् २०५०) पुुग्ने अनुमान छ । यो क्षेत्रले उत्तर एटलान्टिक राज्यका धनाढ्यहरूबाट ठूलो ऋण लिएको छ । उनीहरू ऋण मिनाहा गर्ने पक्षमा छैनन् । जी ५ साहेलको सातौँ सम्मेलन (२०२१ फेब्रुअरी) मा सरकार प्रमुखहरूले ‘जी ५ साहेल देशहरूको ऋणमा जरैबाट पुनः संरचना गर्नुपर्ने’ आह्वान गरे । तर, आईएमएफले तिनीहरूको कुरा सुनेको नसुन्यै ग¥यो ।
समस्याको एउटा कारण के पनि हो भने यी राज्यहरूसँग जनतालाई राहत दिन वा विकास निर्माणमा खर्च गर्नभन्दा सैन्य खर्च बढाउन भनिन्छ । जी ५ साहेल देशहरूले आफ्नो बजेटको १७ देखि ३० प्रतिशत रकम सेनामा खर्च गर्छन् । पाँच साहेल देशहरूमध्ये तीनवटा देशले गत दशकमा आफ्नो सैन्य खर्च अचाक्ली बढाएका छन् । बुर्किना फासोले २३८ प्रतिशत बढायो, मालीले ३३९ प्रतिशत बढायो र नाइजरले २८८ प्रतिशत बढायो । हतियार व्यापारले यी देशको सास थुनेको छ । यस भेगमा नाटो पसेसँगै साहेलको समस्या सुरक्षा समस्या हो भन्ने भ्रामक विचारमात्र फस्टाउनेछ । राष्ट्रसङ्घले समेत युद्धलाई विकास निर्माणलाई भन्दा बढी प्राथमिकता दिएको छ ।
स्रोतसाधन कब्जा गर्नुपर्र्ने र युरोपतिरको बढ्दो बसाइँसराइ रोक्नुपर्ने स्वदेशी आवश्यकताले गर्दा फ्रान्सका अपरेसनहरू जन्मेका हुन् । खुला सिमाना वा बन्द सिमानाले, ड्रोन अखडा वा विशेष अपरेसनहरूले खतरनाक मरुभूमि हुँदै गरिने शरणार्थीहरूको बसाइँसराइ रोक्न सक्दैन । द्वन्द्वको मूल कारण जताततै उही हो । वातावरण विनाश, जलवायु परिवर्तन र धेरैले उत्पादन गर्ने सामाजिक धनलाई मुट्ठीभर मानिसको हातमा ल्याउने अनेकथरी निजी तजबिज नै द्वन्द्वका मूल कारकहरू हुन् । यिनैले गर्दा युद्ध र दीनहीनता बढ्छ, गरिबहरूलाई आफ्ना पिरव्यथाको कारण अन्य जाति वा धर्मका मान्छेमाथि थोपर्ने बनाउँछ, विश्वलाई युद्ध र कट्टरपन्थतिर धकेल्छ । घुमिफिरी यिनै विषयलाई देखाएर नाटो देशहरूले द्वन्द्वको उपयोग गर्ने निहुँ पाउँछन् । समस्त समस्याको सैन्य समाधान अघि सार्ने बहाना पाउँछन् ।

(विजय प्रसाद भारतीय इतिहासकार, सम्पादक र पत्रकार हुन् । उनी लेफ्टवर्ड बुक्सका सम्पादक र सामाजिक अनुसन्धान संस्था ट्राइकन्टिनेन्टलका निर्देशक हुन् । उनले बीसभन्दा बढी पुस्तकहरू लेखेका छन् ।)
अनुवाद : सुरज

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.