भर्खरै :

शोभा प्रधानप्रति श्रद्धा सुमन

राजनीतिक नेता तथा कार्यकर्ताहरूको जीवन सङ्घर्षमय हुन्छ । उनीहरू आन्दोलन र सङ्घर्षमा भाग लिन्छन् । दुःख–सुख बुझ्न जनताको घर आँगनमा पुग्छन् र देश विदेशबारे जनतालाई राजनीतिक र वैचारिकरूपमा प्रशिक्षित गर्छन् । आन्दोलन र सङ्घर्षको दौरानमा नेता तथा कार्यकर्ताहरू कहिले पक्राउमा पर्छन्, जेलमा कोचिन्छन्, शारीरिक र मानसिक यातना भोग्न बाध्य हुन्छन् । कहिले उनीहरू भूमिगत हुन्छन् त कहिले अनेकानेक निहुँका जालमा परेर राजमुद्दा खेप्न बाध्य हुन्छन् । जीवनमा यस्ता साना ठूला अनेक समस्या र चुनौती आए पनि जनतालाई सचेत र सङ्गठित गर्न उनीहरू पछि पर्दैनन् । जेल, नेल भोगे पनि, शारीरिक र मानसिक यातना सहनु परे पनि शत्रुसामु झुक्दैनन् । हारेको सिपाहीँ झन् राम्रोेसित लड्छ भनेझैँ थप शिक्षा र प्रेरणा लिएर अझ बढी राजनीतिक आन्दोलन र सङ्घर्षमा लागिरहेका हुन्छन् ।
आन्दोलन र सङ्घर्षमा लाग्दा जाली मुद्दा खेप्नुपर्ने हुन्छ, देशद्रोहको मुद्दा लाग्छ । जेलमा पर्दा, मुद्दा खेप्नु पर्दा विरोधीहरू यस्तै हुन्छन्, सराप्न र थुक्न आउँछन्, छरछिमेकी, नाताकुटुम्बलाई उचालेर झगडा लगाउँछन् । अनि राजनीतिमा नलाग्न, राजनीति छोडाउन अरू षड्यन्त्रका तानाबाना बुन्छन् । देश र जनताको सेवामा लाग्दा, सङ्घर्ष, आन्दोलन र जनताको कार्यक्रममा लाग्दा घर–परिवारका सदस्यहरू विचलित भएका हुन्छन् । परिवारका रोगीहरू छटपटिरहेका हुन्छन् । तर, पनि देश र जनताको सेवामा जुटिरहेका हुन्छन् । यसरी जनताको सेवामा लागेका नेता तथा कार्यकर्ताहरू जनताका प्रिय बन्छन्, जनतामाझ सम्मानित हुन्छन् । तिनीहरू पारिवारिक समस्यामा अल्झेर बस्दैनन्, समस्या देखेर पछि पर्दैनन्, समस्या भयो भनेर निरास हुँदैनन् । यसरी जीवन त्यति सहज र सरल हुँदैन अर्थात् जीवन सङ्घर्षमय हुन्छ ।
सच्चा, असल नेता तथा कार्यकर्ताहरू जीवनको अन्तिम घडीसम्म पनि उत्साहपूर्वक लागिरहेका हुन्छन् । उनीहरू सादा जीवन उच्च विचारका हुन्छन् । उनीहरू साना–तिना कुरामा अल्झिदैनन् । उनीहरूको ध्यान नै देश र जनताको सेवामा रहेको हुन्छ । हो, हामी इमानदार र अनुशासिन भएर पुग्दैन, हामी दूरदर्शी हुनुपर्छ । हामीमा धैर्य चाहिन्छ । शोकलाई शक्तिमा बदल्ने आँट हुनुपर्छ । पीडा–व्यथा भयो भनेर चिन्तैचिन्तामा डुब्नु हुँदैन । मानसिक चिन्तामा डुबे हामी कमजोर हुन्छौँ, आत्मबल हुँदैन । लुसुनले भनेका थिए, मार या नमार त्यो सत्यलाई व्यर्थै, जागी उठ्नेछ त्यो फेरि उस्तै ।
भनिन्छ, निरन्तर बगिरहेको पानी बासी हुँदैन । हाम्रो जीवन पनि त्यसरी नै बगिरहनुपर्छ । हाम्रो दिमागलाई अझ धारिलो र सुसूचित पार्नुपर्छ । जीवनभर देश र जनताप्रति समर्पित हुनु त्यति सजिलो छैन । जनताको विश्वास जित्नु झन् सजिलो छैन । हो, प्राणी मरणशील छ । चाहे पनि नचाहे पनि एक दिन संसार छोड्नुपर्छ । अतः जीवन रहुञ्जेल जनतामाझ रहिरहनुपर्छ, देश र समाजप्रति समर्पित भएर रहनुपर्छ । मृत्यु दुई किसिमका छन्, एक पहाडभन्दा ग¥हुङ्गो, दुई प्वाँखभन्दा हलुङ्गो । एक सिद्धान्तनिष्ठ, विचारशील, सङ्घर्षशील, आदर्शवादी, सत् र न्यायी स्वभावकी धनी, स्वच्छ छवि एवं सफल गृहिणी शोभा प्रधानप्रति श्रद्धा सुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *