भर्खरै :

क्यान्सर रोग र मेरो उपचार

२०५५ साल चैतको दोस्रो हप्ताको एक साँझ सदाझैँ खाना पकाइरहेकी थिएँ । अचानक दायाँ स्तनको माथिल्लो भागमा दुखेको अनुभव भयो । देब्रे हातले दुखेको ठाउँमा छामेँ । स्तनमा गाँठो भएको अनुभव भयो । म झस्किएँ । मनमा अनेक कुरा खेल्न थाल्यो ।
प्रतिनिधिसभाको चुनावको समय भएकोले श्रीमान् (नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ, रोहित) लाई आफ्नो कुरा भनौँ कि नभनौँ दोधारमा परेँ । आपूm एक्लै डाक्टरकहाँ जान पनि सकिनँ । बिहान उठेदेखि उहाँको बेफुर्सदीको कारणले पनि समस्याबारे भन्ने मौका नै पाइनँ । उहाँ राति अबेरमात्र घर फर्किनुहुन्थ्यो । केही दिनसम्म उहाँलाई समस्याबारे केही भनिनँ । एकदिन उहाँ अलि छिट्टै घर फर्किनुभयो । त्यही समयमा आफ्नो कुरा बताएँ । उहाँले डाक्टरकहाँ जान सल्लाह दिनुभयो ।
चैत १८ गते काठमाडौँको नयाँ बजारमा डा. लक्ष्मीनानी श्रेष्ठको क्लिनिकमा गएँ । उहाँ वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँलाई आफ्नो स्वास्थ्य समस्या बताएँ । उहाँले मेरो स्वास्थ्य परीक्षण गर्नुभयो र १५ दिनको लागि औषधि दिनुभयो । औषधिले काम नगरेमा फेरि आउने सल्लाह दिनुभयो । दुई हप्ता औषधि खाएँ तर कुनै असर गरेन । डाक्टरको भनाइअनुसार दुई हप्तापछि फेरि जानुपर्ने थियो । तर, चुनाव नजिकिएको हुनाले जान सकिनँ ।
मेरो सानो छोरा (सुवान) को खुट्टा दुखेको सन्दर्भमा २४ वैशाखको दिन उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज पुगेँ । तर, महाराजगञ्ज अस्पतालको एक जना टिकट वितरकले बच्चाको उमेरअनुसार उपचारको निम्ति कान्तिबाल अस्पताल लाने सल्लाह दिए । छोरोलाई कान्ति बाल अस्पताल लगेँ । आफ्नो पनि स्वास्थ्य परीक्षण गराउने सोचेँ, टिकट लिएँ र जचाएँ । डाक्टरले जाँचे र एफ.एन.ए.सी. गर्ने सल्लाह दिनुभयो । शुक्रबारको दिन भएकोले १२ बजेसम्म मात्र परीक्षण गरिने रहेछ । हतारहतार परीक्षण गराएँ । तर, रिपोर्ट एक हप्तापछि मात्र दिइने रहेछ ।
२६ वैशाखको दिन पुनः परीक्षणको लागि शिक्षण अस्पताल पुगेँ । संयोगले त्यस दिन डा. प्रकाश सायमी आउनुभएको थियो । उहाँसँग परीक्षण गराएँ । उहाँले सबै विवरण सोध्नुभयो र मेरो स्तनको अपरेसन तुरुन्तै गर्नुपर्छ भन्नुभयो । अपरेसन गर्ने कुरा सुन्नेबित्तिकै म रुखबाट खसेझैँ भएँ । परीक्षणको रिपोर्ट आएको छैन भन्ने कुरा मैले डाक्टरलाई बताएँ । उहाँले बहिनी ज्योतिलाई रिपोर्ट आजै हेर्न लगाउन भन्नुभयो । ज्योति र म दुवै रिपोर्ट तयार गर्ने परीक्षण कक्षमा गयौँ । सबै स्लाइड खोजी परीक्षणको लागि डा. गीता सायमीको कोठामा लगिन् र डा. सायमीलाई रिपोर्ट दिइन् ।
एकछिनपछि रिपोर्ट तयार भयो । रिपोर्टमा पोजेटिभ भएको कुरा सुनाए । त्यो कुरा मलाई सपना जस्तो लाग्यो ।
डा. प्रकाशले घरको परिवारसँग सल्लाह नगरी अपरेसन गर्न मिल्दैन, परिवारलाई १२ बजेभित्रमा लिएर आउनु भन्नुभयो । म साथीहरूसँग श्रीमान्लाई लिन पुनः घर आएँ । उहाँलाई डाक्टरले बोलाउनुभएको कुरा सुनाएँ । मेरो आँखाबाट आँशुको धारा बग्याबग्यै थियो । त्यो रोगको नाम सुन्नासाथै जीवनमा एउटा ठूलो दुर्घटना भएको महसुस भएकोे थियो । केटाकेटीहरूको अनुहार झलझली सम्झन थालेँ, आँसु रोक्न सकिनँ । उहाँले सम्झाउनुभयो
अस्पताल छिट्टै पुग्नुपर्ने हुनाले तुरुन्तै हामी अस्पतालतिर लाग्यौँ ।
ठीक १२ बजे हामी अस्पताल पुग्यौँ । डा. सायमीले उहाँ (श्रीमान्) सँग कुरा गर्नुभयो । अपरेसन पछि सार्न नहुने भएको हुँदा यही हप्ताभित्र अपरेसन गर्ने निर्णय गर्नुभयो । ३१ वैशाखको दिन अपरेसन गर्ने टुङ्गो लाग्यो । रगत परीक्षण, एक्सरे, इ.सि.जि., अल्ट्रासाउण्ड आदि गराउनुपर्ने भयो । रगत परीक्षण र एक्सरे त्यही दिन गराएँ ।
करिब २ः३० बजेतिर घर फर्किएँ, खाना खाएको थिइनँ । त्यस दिन खाना खान पनि मन लागेन । उहाँ (श्रीमान्) ले खाना खान जाऊ भन्नुभयो । अस्पतालको कुरा मलाई सपना जस्तो लागिरहेको थियो । भोक हराइसकेको थियो । खाना निल्न कठिन भयो । खानाको गाँस सँगसँगै आँसु पनि बगिरहेको थियो । आँसु थाम्न खोज्छु तर थाम्न सक्दिनथँे । उहाँले युगोस्लाभिया, इराक आदि देश–विदेशमा भइरहेका लडाइँका, दुःखका कुरा सुनाउनुभयो । संसारमा नसोचेको कुरा पनि हुन्छ, सोचेको मात्र हुने भए हामीले किन सङ्घर्ष गर्नुपर्ने हुन्छ भनी सम्झाउनुभयो । साँच्चै नै हाम्रो जीवन सङ्घर्षमय रहेछ । कहिले रोगसँग, कहिले समाजसँग, कहिले अन्यायसँग कहिले विरोधीहरूसँग हर किसिमबाट हामी सङ्घर्ष गरी नै रहेका हुन्छौँ । यस समयमा म रोगसँग सङ्घर्ष गरिरहेको अनुभव भयो ।
त्यही दिन मेरा बहिनीहरू र देवर योगेन्द्रलाई फोन गरँे । आफ्नो रोगको बारेमा बताएँ, देवर मेरो डेरामा आउनुभयो । मैले उहाँलाई अस्पतालबाट ल्याएको कागजहरू दखाएँ । उहाँ पनि आश्चर्यमा पर्नुभयो । त्यो दिन रोएरै बित्यो । राती राम्रोसँग निद्रा पनि लागेन, सपनामा पनि त्यहीँ कुरा सम्झन पुगँे । राती कहिले उठ्ने, कहिले पल्टिने, छटपटी भइरह्यो । रात धेरै लामो जस्तो लाग्यो । घरको सम्पूर्ण काम आफैले गर्थँे, अब के गर्ने, छोराहरूले के गर्छन् भन्नेजस्ता कुराहरू मनमा खेल्न थाल्यो । यस्तै छटपटीमा त्यो रात बित्यो ।
भोलिपल्ट अर्थात् २७ वैशाख, सोमबारको बिहान उहाँले मलाई घुम्न जान उठाउनुभयो । मलाई जान मन लागेको थिएन तर उहाँको बचन हार्न सकिनँ, हामी घुम्न गयौँ । त्यस दिन सधैँ पुगेको ठाउँ पनि कस्तोकस्तो नौलो लागेको थियो । सायद, मेरो अनुहारमा हाँसो थिएन, विषाद छाएको थियो । एकछिन टौमढीबाट दरबार स्क्वायर हँुदै तरकारी पसलतिर पुग्यौँ, सधँै झैँ आफूलाई चाहिने तरकारी किन्यौँ । अरूबेला तरकारी बेच्ने साहुनीसँग ख्यालठट्टा सामानको मोलमोलाइ हुन्थ्यो । त्यसदिन उनीसँग त्यस्तो केही भएन । घरको लागि चाहिने सामान किनेँ र घर फर्किएँ ।
बिहानको चिया खाएँ, मन नलागीनलागी खाना पकाएँ । छोराहरूलाई स्कूल पठाएँ । मलाई स्कूल जान मन लागेन । स्कूलमा विद्यार्थीको परीक्षा हुन एक हप्तामात्र बाँकी थियो । मेरो विषयको पाठ पनि बाँकी थियो । तर, आफू विद्यालय नगएपछि पाठ पढाउन पनि त्यसै बाँकी हुने भयो । आफ्नो काम पूरा गर्न नपाउने भएँ भनेर मलाई कस्तो कस्तो अप्ठेरो लागिरहेको थियो । विद्यार्थीको पढाइ पूरा गर्न पाएको भए पनि मलाई केही आनन्द हुन्थ्यो होला ।
विद्यालयका प्रधानाध्यापकलाई स्थितिको जानकारी गराएँ र आफू विद्यालय उपस्थित हुन नसक्ने कारण बताएँ । उहाँ पनि एकैछिन निःशब्द हुनुभयो । उहाँले विद्यालयमा अर्को व्यवस्था गर्छु, आफ्नो रोगको राम्रो उपचार गर्नु, पिर नलिनुस् भनी सान्त्वना दिनुभयो । मलाई अर्बुद रोग लागेको भन्ने कुरा विद्यालयका सबै शिक्षक–शिक्षिका साथीहरूले थाहा पाउनुभएछ, उहाँहरू भेट्न धेरै आउनुभयो । उहाँहरूसँग कुराकानी गर्दागर्दै अनायास मेरो आँखाबाट आँसुको धारा बग्यो । साथीहरूले धैर्य गर्न भन्नुभयो । आँसु रोक्ने प्रयास गरे पनि रोक्न सकिनँ, त्यसै त्यसै पनि आँसु बगिरहन्थ्यो ।
म उठ्नै नसक्ने त थिइनँ तर भेटघाट गर्न घरमा हाम्रा धेरै साथीहरू आउनुभयो । उहाँहरूले मलाई धैर्य गर्न हौसला दिनुभयो । उहाँहरूले आजभोलि यो कुनै ठूलो रोग होइन, साधारण रोग हो भनी सम्झाउनुभयो । डा. केवी कर्माचार्य र डा. रानी झा घर आउनुभएको सम्झन्छ । उहाँहरूले यस रोगको अपरेसनबाहेक अरू कुनै उपाय छैन भन्नुभयो । छिट्टै रोग पत्ता लागेको राम्रो भयो, छिट्टै अपरेसन गर्न उहाँहरूले सल्लाह दिनुभयो ।
दिनभरि नै साथीहरूसँगको भेटघाटमै समय बित्थ्यो । त्यसदिन पनि राति राम्ररी निद्रा लागेन । मनमा अनेकौँ कुरा खेल्यो । उहाँ (श्रीमान्) पनि राम्रोसँग निदाउनुभएन ।
२८ वैशाखको दिन बहिनी सुजनाको विवाहको भोज थियो । मलाई जान मन लागेको थिएन । उहाँले जानुपर्छ भनी सम्झाउनुभयो । “तिमीलाई केही भएको छैन, तिमी किन यसरी आफ्नो आत्मबल घटाउँछौ,” भनी सम्झाउनुभयो । म जान तयार भएँ ।
साँझ करिब ७ः३० तिर हामी सपरिवार भोज गयौँ । धेरै साथीहरूसँग भलाकुसारी भयो । तर, मलाई रोगकै मात्र पिर परिरहेको थियो । डा. अमित र अरूसँग पनि रोगकै विषयमा कुरा गरिरहेँ । विवाह भोजमा करिब १ घण्टा ३० मिनेट जति बसेँ र घर फर्किएँ ।
२९ गते बिहान ८ बजेतिर अल्ट्रासाउन्डको लागि साथीहरूका साथ डा. वसन्तलाल श्रेष्ठको क्लिनिक क्षेत्रपाटीमा गयौँ । हामी समयमै क्लिनिक पुग्यौँ । ९ः३० तिर मात्र क्लिनिक खुल्यो । करिब १०–१५ मिनेटको प्रतिक्षापछि अल्ट्रासाउन्डको लागि बोलाइयो । म भित्र गएँ ।
डा. श्रेष्ठ बडो सरल र मिलनसार हुनुहुन्छ । एकैछिनमा रिपोर्ट तयार गरिदिनुभयो । त्यसपछि हामीहरू महाराजगञ्ज शिक्षण अस्पतालतिर लाग्यौँ ।
१०ः३० बजे हामी अस्पताल पुग्यौँ । चिया खायौँ, ११ बजेतिर म र एकजना साथी अस्पतालमै बस्यौँ । त्यसै दिन भर्ना हुनुपर्ने भएकोले अरू साथीहरू घर फर्किनुभयो ।
भर्ना हुन परिवारको सहमति चाहिने हुनाले घरमा बस्नुभएका श्रीमान्लाई फोन गरी बोलाएँ । उहाँले बहिनी ज्योतिलाई सँगै लिएर आउँछु भन्नुभयो । करिब १२ बजेतिर उहाँहरू आउनुभयो । भर्ना हुन डाक्टर विश्वमान सिंहश्रेष्ठकहाँ गयौँ । तर, डा. सिंहले डा. प्रकाश सायमी आइदिनुभयो भने मात्र ३१ गते शुक्रबार अपरेसन हुन्छ, उहाँ आउनुभएन भने एक हप्तापछि मात्र अपरेसन हुन्छ भन्नुभयो । बहिनी ज्योतिलाई अस्पतालमा बुझेर खबर गर्ने गरी हामी घर फर्कियौँ । ३० गते बिहान ८ बजेतिर बहिनी ज्योतिको फोन आयो । अपरेसन ३१ गते नै हुने निश्चय भयो । ९ बजेभित्र अस्पतालमा आई भर्ना हुनुपर्ने सूचना भयो । हामीहरू अस्पताल गयौँ । अस्पताल पुगी भर्ना हुनको लागि फाराम भरेर सम्पूर्ण कागजपत्र बुझाइ डिपोजिट राखी बेड नम्बर निश्चित गरी दिउँसो ४ बजे अस्पताल पुग्ने गरी फेरि घर फर्कियौँ ।
बिहानको खाना खाएपछि अस्पतालको लागि चाहिने सामान मिलाएँ । केही सामान किनेँ । दिउँसोको खाजा बनाई खाजा खाई अस्पताल जान तयार भएँ ।
४ बजेतिर हामीहरू अस्पताल गयौँ । त्यहाँ पुग्दा ५ बज्न लागेको थियो । हामीहरू ढिलो पुगेको हुनाले त्यस दिन डाक्टर भेट्न सकेनौँ । ढिलो भएकोले पछुतो लाग्यो । सँगै आउनु भएका साथीहरू बिहान छिट्टै आउँछौँ भनी घर फर्किनुभयो । राति नर्सहरूले बरोबर रक्तचापको जाँच लिनुुभयो । उच्च रक्तचाप भएमा अपरेसन गर्न नहुने कुरा बताउनुभयो । अपरेसन गर्न हात–खुट्टाका नङहरूमा पालिस लगाउन नहुने, कुनै प्रकारको गर–गहना लगाउन नहुने रहेछ । नर्सहरूले यस्तै कुराहरू सम्झाइबुझाइ गराउनुभयो । करिब १०ः३० बजेतिर मलाई निद्रा लाग्ने औषधि दिनुभयो । एकैछिनपछि म निदाएछु ।
३१ गते वैशाख बिहान ५ बजेतिर म उठेँ । बिउँझनासाथै मेरो मनमा एक प्रकारको भय र त्रास थियो । अपरेसनको समय बिहान ९ बजे भनिएको थियो । बिहान ७ बजेदेखि मेरा बहिनीहरू, साथीहरू, परिवारका अन्य सदस्यहरू र उहाँ (श्रीमान्) आई पुग्नुभयो । ८ बजे मलाई अपरेसनको लागि अपरेसन थेयटरमा लगियो । त्यहाँभित्र विभिन्न कोठाहरू पार गर्दै अपरेसन गर्ने ठाउँमा पु¥याएपछि नाकमा अक्सिजन राख्नुपर्छ है भनी डाक्टरले भन्नु हुँदासम्म होस थियो । त्यसपछि म बेहोस भएँ ।
डाक्टरहरूको दक्षता र उहाँहरूको प्रयासबाट अपरेसन सफल भयो । कति बजे मेरा होस खुल्यो थाहै भएन । त्यस दिन शल्यक्रिया सघन उपचार केन्द्र (क्।क्ष्।ऋ।ग्.) मा राखियो । दिनभरि म अर्धचेतनामा थिएँ । रातिमात्र मेरा पूरा होस खुल्यो ।
भोलिपल्ट १ जेठको बिहान डाक्टरको परीक्षणपछि मलाई आफ्नो बेडमा पठाइयो । अपरेसनपछि शरीरको एक अङ्ग (स्तन) गुमाउनुपर्दा म अलि खिन्न थिएँ । सुरुमा दाहिने हात चलाउँदा मैले गा¥हो अनुभव गरेँ । पछि डाक्टरको सल्लाहअनुसार बराबर हातको व्यायाम गरेपछि हात चलाउन सक्ने भएँ । उठ्न र हिँड्न साथीको सहयोग एक दुई दिनमात्र आवश्यक भयो । अपरेसनपछि एक हप्ता अस्पताल बसँे । अस्पतालमा मलाई धेरै नै सजिलो महसुस भएको थियो । डाक्टरहरूले रोगीसँग गर्ने व्यवहार धेरै प्रशंसनीय थियो । डाक्टरहरूको सम्झाइबुझाइ र मिलनसार व्यवहारले रोग नै बिर्साउँथ्यो । सिस्टरहरू पनि अति मिलनसार हुनुहुन्थ्यो, उहाँहरूले गर्नुभएको सेवा प्रशंसनीय छ । अन्य कर्मचारीहरू पनि ठीक समयमा काम पूरा गरी आ–आफ्नो कर्तव्य पालन गर्नुहुन्थ्यो ।
म अस्पतालमा रहँदा धेरै साथीहरू, आफन्त र घरका छिमेकीहरू आउनुभएको थियो । बिहान ६ बजेदेखि राति ८ बजेसम्म नै भेटघाटहरू भइरहन्थ्यो । उहाँहरू सबैले मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । दिनहुँको साथीहरूसँगको भेटघाटले म अस्पतालमा छु भन्ने कुरा बिर्सन्थँे । नर्सहरू रक्तचाप नाप्न र औषधि खुवाउन आउँदा मात्र म आफूलाई बिरामी अनुभव गर्थेँ ।
म क्याविनमा बसेको थिएँ । त्यहाँ एउटैमात्र बेड भएकोले भेटघाट गर्न धेरै सजिलो थियो । यसकारण, मानिसहरूको भेटघाटले अरू बिरामीलाई कुनै अप्ठ्यारो र अवरोध हुँदैनथ्यो । तर, यसरी एउटैमात्र बेड भएको कोठामा बस्दा अरू बिरामीहरूसँग घुलमिल गरी एक अर्काको दुःख–सुख बाँड्ने मौका भने पाइनँ । अस्पताल ठूलो भएकोले रोगीहरू सजिलै हिँड्डुल गर्न सक्ने ठाउँ थियो । रोगीहरू दिनहुँ हिँडडुल गर्थे । म पनि बिहान र साँझको समयमा बाहिर गएर हिँडडुल गर्थेँ ।
अस्पतालमा पानी र बत्तीको राम्रो व्यवस्था थियो । सरसफाइ पनि उत्तिकै राम्रो थियो । अन्य अस्पतालमा भन्दा त्यहाँ धेरै सफा देखेँ । त्यसैले त्यहाँ बस्न र खान निकै सजिलो अनुभव गरेँ । कतिपय सरकारी अस्पतालमा फोहरको गन्धले नै बिरामी बस्न नसक्ने ¤ बिरामीलाई छिट्टै घर पठाए हुन्छ भन्ने अनुभव हुने ¤ तर, त्यहाँ त्यस्तो कुनै कठिनाइ थिएन । डाक्टरहरूले घर जान अनुमति दिनु भए पनि एक दुई दिन बढी नै बसेँ ।
जेठ ३ गतेको निर्वाचन सकिएपछि पहिलो चरणको पनि मतगणना सुरु भयो । अस्पतालको शøयामै चुनावका परिणामहरू सुनेँ । भक्तपुर क्षेत्र नं. २ को परिणामले गर्दा नरमाइलो अनुभव भयो ।
सबै साथीहरू, बहिनीहरू परिवारका सदस्य, डाक्टर र नर्सहरूको राम्रो सेवा पाएर म छिट्टै स्वस्थ भई जेठ ६ गते अस्पतालबाट घर फर्किने तयारीमा लागेँ । अस्पताल छोड्नुभन्दा अगाडि त्यहाँ तिर्नुपर्ने शुल्कहरू तिरेँ । ८ दिनको क्याविन चार्ज २४००।– थियो । आवश्यक अरू विभिन्न शुल्कहरू बुझाइयो । अपरेसन चार्ज रु. ३५००÷– पहिलो दिनमै बुझाइएको थियो । अस्पतालमा झन्डै रु. ६०००÷– जति बुझाइयो । डाक्टरहरूको सल्लाहअनुसार ४ दिनपछि टाँका काट्न आउने गरी घर फर्किए । टाँका दुई पटक गरी काटियो ।
विदेशमा गएर लाखौँ रुपियाँ खर्च गरी उपचार गर्नुभन्दा आफ्नै देशमा थोरै खर्चबाट उपचार गर्न पाउँदा सञ्चो अनुभव भयो ।
पहिले क्यान्सर रोग लागेको धनी वा सम्पन्न परिवारका रोगीहरू धेरै पैसा खर्च गरी विदेशमा उपचार गर्न जान्थे । तर, अहिले हाम्रै देशमै यस्तो उपचारको बन्दोबस्त भएकोले कम खर्चबाटै रोग निको पार्न सकिने भयो । यो हामी नेपालीहरूको लागि सन्तोष तथा गर्वको कुरा हो ।
क्यान्सर रोगको उपचार ३ किसिमबाट गरिने रहेछ – पहिलो अपरेसन (शल्य चिकित्सा), दोस्रो केमो थेरापी (रासायनिक उपचार) र तेस्रो रेडियोथेरापी । मलाई पनि डाक्टरहरूले तीने किसिमको उपचार गर्नुपर्ने सल्लाह दिनुभयो । अपरेसनपछि केमोथेरापी भक्तपुरकै क्यान्सर उपचार केन्द्रमा गराउन डाक्टर प्रकाश सायमीले डा. मदनकुमार पियालाई एउटा चिठी लेख्नुभयो । हामी डा. पियालाई भेट्न गयौँ र चिठी देखायौ । तर, डा. पिया मौन रहनुभयो । उहाँ सल्लाह दिन तयार हुनुभएन । उहाँ औषधि गर्न अलि अनकनाउनु भए जस्तो लाग्यो । आफूमा आत्मविश्वास नभएर हो या हामीलाई पन्छाउन खोज्नुभएको हो थाहा भएन । उहाँले विदेशमा जानु भए राम्रो हुन्छ भनी बताउनुभयो ।
विदेश जाने कुराले म खिन्न भएँ । मेरो रोग निको नै नहुने हो कि डाक्टरहरूले मलाई चित्त बुझाउन मात्र रोग निको हुन्छ भन्नुभएको हो कि भन्ने अनेक कुरा मनमा खेल्न थाल्यो ।
आफ्नै नगरभित्रको अस्पतालमा सजिलै उपचार पाउने आशाले म जति खुसी भएर गएकी थिएँ अस्पतालबाट त्यति नै बढी निरास भएर फर्किए ।
केही दिनपछि भक्तपुरमा क्यान्सर समाजबाट एउटा कार्यक्रम आयोजना गरिएको थियो । त्यस कार्यक्रममा उहाँ (श्रीमान्) पनि जानुभएको थियो । उहाँले मेरो रोगको विषयमा डा. रामप्रसाद बरालसँग भेटेर कुरा गर्नु भएछ । कार्यक्रमपश्चात् डा. बराल, धनमान श्रेष्ठ र केशरगोविन्द जोशी मेरो घरमा आउनुभयो । डा. बरालले सबै रिपोर्टहरू हेर्नुभयो । मलाई स्वास्थ्य जाँच गर्नुभयो र केमोथेरापी उहाँ आफैले गरिदिने वचन दिनुभयो ।
डा. बराल बडो मिलनसार हुनुहुन्छ । उहाँले आत्मविश्वासका साथ “तपार्इँको रोग निको हुन्छ । केही पिर लिनुपर्दैन” भन्नुभयो । उहाँलाई मैले डाक्टरको रूपमा मात्र नभई परिवारको एक सदस्य जस्तो पाएँ । उहाँले केमोथेरापीको असरबारे पनि बताउनुभयो, त्यस असरबाट जोगिनको प्रयोगबाट रोक्न सकिने सल्लाह पनि दिनुभयो ।
साथै आउनु हुने केशरगोविन्द जोशीले पनि केमोथेरापी पाटनको नेपाल अर्बुद निवारण सङ्घमा गर्न मिल्ने कुरा बताउनुभयो । उहाँ त्यस सङ्घको केन्द्रीयको कोषाध्यक्ष हुनुहुन्छ । उहाँले पनि क्यान्सर रोगबारे केही कुराहरू बताउनुभयो । केमोथेरापी लिँदा ध्यान दिनुपर्ने कुराहरूबारे उहाँले जानकारी दिनुभयो ।
केमोथेरापी लिनुभन्दा पहिले रक्त परीक्षण गर्नुपर्ने, उचाइ र तौल लिनुपर्ने रहेछ । दुई तीन दिनपछि नै केमोथेरापी सुरु गर्ने निधो गरेर उहाँहरू जानुभयो ।
जेठ २१ गते रगत परीक्षणको लागि डा. केबी कर्माचार्यको क्लिनिक ब्लु–क्रस त्रिपुरेश्वरमा गएँ । रक्त परीक्षणको रिपोर्ट लिएर बी एन्ड बी हस्पिटलमा पुगेँ । त्यहाँ डा. आर.पी. बराललाई भेटी रिपोट देखाएँ । मेरो उचाइ र तौल पनि त्यहीँ लिइयो । उचाइ र तौलअनुसार औषधिको मात्रा मिलाउनुपर्ने रहेछ । डाक्टरले हिसाब गरी औषधिको मात्रा निकाल्नुभयो । औषधि र चाहिने सामानहरू सबै लेखिदिनुभयो । २४ गते सोमबार नेपाल अर्बुद रोग निवारण सङ्घ पाटनमा भेट्ने गरी घर फर्किएँ ।
केमोथेरापी भन्नाले विभिन्न किसिमका रासायनिक औषधिहरू मिलाई गरिने उपचार रहेछ । यस उपचारबाट शरीरमा असामान्य तथा असाधारण किसिमले वृद्धि हुने कोषहरूलाई निर्मूल गरिँदो रहेछ । यसरी त्यस्ता कोषहरू अरू बढी मात्रामा बढ्न पाउँदैन । डाक्टरको भनाइअनुसार रोगअनुसार विभिन्न तरिकाबाट यो औषधि उपचार गरिने रहेछ । तर, स्तन क्यान्सरको लागि ३ हप्ताको फरक गरी जम्मा ६ पटकसम्म किमोथेरापी गरिने रहेछ ।
जेठ २४ गते करिब १ बजेतिर हामीहरू नेपाल अबुर्द रोग निवारण सङ्घ पाटनमा पुग्यौँ । डा. बराल त्यहाँ हप्ताको दुई दिन सोमबार र बिहीबार आउनुहुन्छ । औषधि सुरु हुने पहिलो दिन भएकोले मेरो मनमा एक प्रकारको भय थियो । १ः३० बजेतिर औषधि दिन सुरु भयो । कुनै औषधि स्लाइन पानीमा मिलाई दिनुपर्ने रहेछ र कुनै सोझै सिरिन्जबाट नशामा दिइँदो रहेछ । यो औषधि लिन ३ देखि ४ घण्टाको समय लाग्यो । १ः३० बजे सुरु गरेको औषधि करिब ४ः३० तिर मात्र सकियो ।
औषधि लिँदालिँदै मलाई टाउको दुख्यो, रिङ्गटा लाग्यो । घर फर्कने क्रममा बाटोमै बान्ता पनि आयो, असक्त भएको अनुभव गरेँ ।
करिब ६ बजेतिर घर आई पुगँे । खाना खान मन लागेन । साँझको खाना नखाई सुतेँ । केमोथेरापी पहिलो चोटि भएकोले त्यसको धेरै नकारात्मक असर प¥यो । यसले पाचनशक्ति कम गर्ने भएकोले एकदुई दिनसम्म पेट फुल्यो र अपच भयो । खानामा रुचि नहुने, वाकवाक लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने र पेट पोल्नेजस्ता असरहरू देखियो । ती सबै कष्ट सहनुपर्दा औषधि नलिएको भए आनन्द हुन्थ्यो भन्ने लागेको थियो ।
अपरेसन गर्नुभन्दा पनि गा¥हो औषधि लिनुरहेछ । औषधि लिएपछि एक हप्तासम्म म ओछ्यानबाट उठ्न सकिनँ । धेरै दिक्क लाग्यो । बेकारमा औषधि लिएजस्तो लाग्यो । औषधि नलिएको भए आनन्द हुन्थ्यो भन्ने लाग्यो ।
औषधि लिएको दुई–तीन दिनपछि उमा (राइठोर) भाउजू घर आउनुभयो । उहाँले विभिन्न सल्लाहहरू दिनुभयो । उहाँले पनि यस्तो औषधि गरिसक्नु भएको हँुदा के के हुन्छ र के गर्नुपर्छ भन्ने कुरा सबै बताउनुभयो । उहाँको उचित सल्लाहले मलाई धेरै नै सान्त्वना प्राप्त भयो ।
करिब एक हप्तापछि बिस्तारै खानामा रुचि बढ्नथाल्यो । बिस्तारै खानाको मात्रा बढ्दै गयो । केमोथेरापीले गर्दा ज्यादै कमजोर हुने भएकोले झोल पदार्थ तथा फलफुलहरू धेरै मात्रामा खाएँ । रगत बढ्ने खानाहरू बढी खाएँ । रगतको कमी भएमा केमोथेरापी गर्न नमिल्ने र त्यसको लागि रगत दिनुपर्ने हुँदोरहेछ । त्यसैले मैले दिनको ५–६ पटक झोल तथा बढी मात्रामा फलफुलहरू खाएँ ।
औषधि लिएको करिब १७ – १८ दिनपछि टाउकोको छाला पोलेको र दुखेको अनुभव भयो । कताकता कपाल अल्झेको र तानेको जस्तै हुन्थ्यो । यसपछि बिस्तारै कपाल झर्ने क्रम सुरु भयो । करिब ४–५ दिनमै सम्पूर्ण कपाल झ¥यो । यसरी कपाल झर्दा ज्यादै नरमाइलो लागेको थियो । तर, औषधि लिएपछि कपाल झ¥यो भने औषधिले राम्रो काम गरेछ भन्ने बुझ्नु भनी डाक्टरले भन्नुभएको कुरा सम्झेर चित्त बुझाउनुको विकल्प थिएन ।
असार १४ गते दोस्रोपटक केमोथेरापी लिनु थियो । त्यसको लागि पनि रगत परीक्षण गर्नुपर्ने भएकोले बुद्ध नर्सिङ्ग केएर सेन्टर बानेश्वरमा गएँ । डा. केबी कर्माचार्यले रगत परीक्षण गरिदिनुभयो । रगतका विभिन्न तत्वहरू जस्तै हेमोग्लोविन (ज्द्य), सेतो रक्तकोष (ध्द्यऋ) आदि तत्वहरू ठीक भएमा मात्र केमोथेरापी गर्न मिल्थ्यो । रक्त परीक्षण रिपोर्टमा रगतका सबै तत्वहरू पुगेकोले १४ गते नै दोस्रो पटक केमोथेरापी गराएँ । यसपटक पनि विभिन्न नकारात्मक असरहरू अनुभव गरँे । पहिलो अनुभवले गर्दा यो पटक त्यति गा¥हो अनुभव भएन ।
साउन ३ गते तेस्रो चरणको केमोथेरापी लिएँ । यसपटक पनि रगतमा सबै तत्वहरू पुगेकोले ठीक समयमै औषधि लिन पाएँ । यसरी ३ पटक केमोथेरापी गरिसकेपछि रेडियोथेरापी गर्नुपर्ने सल्लाह डा. बरालले दिनुभयो ।
विकीरणको विधि प्रयोग गरी असाधारणरूपले वृद्धि भइरहेका कोषहरूलाई मार्ने उपचारलाई रेडियोथेरापी भनिन्छ । हाम्रो देशमा हालसम्म जम्मा ३ वटामात्र रेडियोथेरापीका उपचार केन्द्रहरू छन् – एक, काठमाडौँको वीर अस्पताल, दोस्रो, भक्तपुरको क्यान्सर केयर सेन्टर र तेस्रो, चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ।
नेपालका जुनसुकै ठाउँका मानिस पनि रेडियोथेरापीका लागि यी ठाउँहरूमा जानुपर्छ । ७–८ वर्ष अगाडिसम्म नेपालमा रेडियोथेरापीको उपचार उपलब्ध थिएन । यसको लागि विदेश धाउनु पथ्र्याे । हाल नेपालमा रेडियोथेरापी सेवा उपलब्ध भएकोले हामीलाई धेरै सजिलो भएको छ । सस्तो मूल्यमा उपचारको बन्दोबस्त हुनु पनि सकारात्मक कुरा हो ।
रेडियोथेरापीको लागि डा. बरालले वीर अस्पतालमा पठाउनुभयो । त्यहाँ डा. तारा मानन्धरसँग सल्लाह गरेँ । त्यसबेला भक्तपुरको रेडियोथेरापी बिग्रिएको थियो । यही उपचारको सिलसिलामा एकपटक (साउन २१) गते हामी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि गयौँ । त्यहाँ रेडियोथेरापी गर्ने निश्चित भाग छुट्याउने (सिमुलेटर) मेसिन भएकोले गएका थियौँ । त्यहाँ डा. भक्तमान श्रेष्ठ र डा. आरती शाहसँग भेट भयो । उहाँहरूले मलाई सम्झाउनुभयो । डा. आरती शाहले रेडियोथेरापीको लागि सिमुलेटर गरी दिनुभयो ।
त्यहाँको अस्पताल ठूलो भए पनि त्यति व्यवस्थित भइसकेको थिएन । टाढा–टाढाबाट पुग्ने मानिसको लागि बस्ने र खाने कुनै ठाउँको बन्दोबस्त थिएन । हामीहरू बिहान ९ बजे त्यहाँ पुगेका थियौँ । अस्पतालको नजिकै रेष्टुराँ, होटेल तथा क्यान्टिन केही थिएन । हामीलाई भोकले सतायो । त्यहाँ धेरै ठाउँमा पसल खोज्यौँ तर पाएनौँ । अस्पतालको काम नसकुन्जेल हामी भोकै बस्यौँ । यो समस्या हामीलाई मात्र होइन टाढाटाढाबाट उपचारको लागि आउने सम्पूर्ण बिरामी र बिरामी कुरुवाहरूकै समस्या हो । त्यसैले यसबारे सम्बन्धित निकायले ध्यान नपु¥याएको अनुभव गरिर्यौँ । अस्पतालको काम सकिएपछि हामी त्यहीँ दिन घर फर्किर्यौँ ।
साउन २४ गतेदेखि वीर अस्पतालमा रेडियोथेरापीको लागि जान थालेँ । यो उपचार गर्नको लागि बिरामीलाई भित्र कोठामा एक्लै राखी करिब १ मिनेट ३० सेकेन्ड जति रेडियसन दिने रहेछ । स्तनमा दुई कोणबाट किरण दिनुपर्ने भएकोले करिब ३ मिनेट जति लाग्छ । बिरामी भित्र कोठामा एक्लै राखे पनि पर्दा (स्क्रिन) बाट बाहिर सबै देखिन्थ्यो ।
रेडियोथेरापी गर्ने सिस्टर बडो नरम, सरल र मिलनसार थिइन् । उनको व्यवहार सा¥है राम्रो लाग्यो ।
यो उपचार हप्ताको ५ दिनमात्र गर्नुपर्ने, त्यो भन्दा बढी गर्न नहुने रहेछ । बढी भएमा बिरामीले त्यसको असर सहन नसक्ने हुँदोरहेछ । यो उपचार गर्दा पनि विभिन्न नकारात्मक असरहरू हुँदोरहेछ । खान मन नलाग्ने, वाकवाक लाग्ने र रगत कम हुने जस्ता असरहरू देखिन सक्दोरहेछ । रगत कम भएमा रेडियोथेरापी गर्न नहुने रहेछ होइन भने रगत चढाउनुपर्ने हुँदोरहेछ । त्यसकारण बिरामीलाई बढी मात्रामा झोल र फलफुलहरू खान दिइन्छ ।
हप्ताको ५ दिनको हिसाबले यो उपचार मैले जम्मा ५ हप्ता गरेँ । भदौ २५ गतेसम्ममा जम्मा २३ पटक रेडियोथेरापी गराएँ । रेडियोथेरापी गर्ने बेलामा हातको व्यायाम गर्न चिकित्सकहरूले सल्लाह दिनुभएको थियो ।
रेडियोथेरापीपछि पुनः केमोथेरापीको लागि असोज ३ गते डा. बरालसँग भेटेँ । उहाँले स्वास्थ्य परीक्षण गर्नुभयो र असोज ६ गतेबाट केमोथेरापी चलाउने निधो गर्नुभयो ।
असोज ४ गते रगत परीक्षण गराएँ । यसपटक पनि रगतमा आवश्यक तत्वहरू पुगेकोले ६ गते नै औषधि लिएँ । यस पटकको औषधिले मलाई त्यति गा¥हो बनाएन । औषधि लिएपछि पनि आफै खाना पकाउन र घरको साधारण काम गर्न सक्थेँ । २०५६ साल असोज २७ गते पाँचौँ पटक र कार्तिक १८ गते छैटौँ पटक केमोथेरापी गराएँ । रगतमा सबै तत्वहरू पुगेकोले ठीक समयमै औषधिको कोर्स (चरण) पूरा भयो ।
औषधिको कोर्स सकिएको केही हप्तापछि नै विद्यालय गएँ । घरको गा¥हो काम बाहेक सामान्य कामहरू आफैले गर्न सक्ने भएँ । अहिले म पहिलेको जस्तै सामान्य जीवन बिताइरहेकी छु । मलाई सामान्य जीवनमा ल्याउन साथीहरू, आफन्त र छरछिमेकीको सक्दो सहयोग पाएको थिएँ । उहाँहरूले बिरामीको समयमा दिनुभएको हौसलाबाट रोगसँग सामना गर्न सक्ने शक्ति प्राप्त गरेँ । यसैकारण म छिट्टै स्वस्थ भएँ । भन्दा पहिले रोग लागेर पनि स्वस्थ हुनुभएका साथीहरूले पनि धेरै हौसला दिनुभयो र आफूहरूजस्तै सामान्य जीवन बिताउन सकिने विश्वास दिलाउनुभयो ।
यसरी बिरामीको समयमा सहयोग गर्नुहुने साथीभाइ, आफन्त र छरछिमेकीप्रति म सा¥है आभारी छु । चिकित्सकहरूको सल्लाहअनुसार अहिले पनि बरोबर स्वास्थ्य परीक्षण गराउँदै छु । साथै ४ महिनाको फरकमा अल्ट्रासाउन्ड र एक्सरे गर्ने गरेकी छु । टामोसिफिन नामक औषधि नियमित सेवन गरिरहेकी छु । यसबाहेक अरू सबै सामान्य छ ।
(साभार : केटीहरू, अङ्क ४, २०५७, प्रकाशक : नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला समिति)

Leave a Reply

Your email address will not be published.