भर्खरै :

आदिवासी अमेरिकीले अझै पाएनन् न्याय

दारुण इतिहासको नयाँ खुलासा
भर्खरै संरा अमेरिकाको सङ्घीय सरकारले एउटा प्रतिवेदन जारी ग¥यो । प्रतिवेदनमा १५० वर्षसम्म आवासीय विद्यालयहरूमा कोचिँदा रैथाने अमेरिकी बालबालिकाले भाग्नुपरेको क्रुरताको खुलासा गरिएको छ । प्रतिवेदन लेख्छ, “१९ वटा सङ्घीय आदिवासी आवासीय विद्यालयहरूमा ५०० भन्दा बढी अमेरिकी इन्डियन, अलास्का र हवाइका रैथाने बालबालिका मरेका थिए ।” थप अनुसन्धान हुँदै जाँदा यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
४ वर्षमुनिका बालबालिकालाई परिवारजनबाट छुटाएर विद्यालयमा पठाइएको थियो । त्यहाँ तिनलाई अमेरिकी सरकारले रुचाउने जीवनशैली सिकेर कथित ‘असल अमेरिकी’ बन्न लगाइएको थियो । तिनलाई आफ्नो मातृभाषा, संस्कृति र धार्मिक रीतिरिवाज त्याग्न लगाइन्थ्यो । त्यसो गर्दा प्रायः हिंसाको प्रयोग गरिन्थ्यो । रोगको साथसाथै यौन, शारीरिक र भावनात्मक हिंसा सर्वत्र थियो । इतिहासकारहरूको आकलनअनुसार आवासीय शिक्षा प्रणालीले गर्दा प्रत्यक्ष र परोक्ष ४० हजार बालबालिका मरेका थिए ।
संरा अमेरिकी इतिहासमा क्रुरताको कमी छैन । अमेरिकी र युरोपेली आप्रवासीहरूले आदिवासी जनताविरुद्ध असङ्ख्य नरसंहार मच्चाएका थिए । सन् १४९२ मा ५० लाखको हाराहारीमा रहेका रैथानेहरूको सङ्ख्या सन् १९०० मा घटेर अढाइ लाख हुन पुगेको थियो । यो जातिसंहार हो ।
आवासीय विद्यालयसम्बन्धी यो खुलासाले आदिवासी समुदायमा नयाँ सङ्कल्प जगाएको छ । क्रुर विगतको जिम्मेवारी लिनुपर्ने पक्षमाथि अर्को पाप थपिएको छ । तर, कालो इतिहासबारे जति नै तथ्य थपिए पनि ती घाउहरू पुर्ने दिशामा सिन्को भाँचिएको छैन ।
चोट उस्तै छ
रैथाने अमेरिकीमाथि व्यवस्थित दमन आज पनि जारी छ । विद्युत्, सफा पानी, स्वास्थ्य सुविधा र शिक्षाको अवसरमा सीमित पहुँचले उनीहरू पिल्सिएका छन् । रैथाने समुदायहरूबीच गरिबी, अकाल मृत्यु र आत्महत्याको दर उच्च छ र उच्च शिक्षा हासिल गर्ने दर न्यून छ । कोडिभ–१९ महामारीले रैथाने जनताको पीडा झन् चर्काएको छ ।
तथ्यहरू चिच्याउँछन् । रैथाने अमेरिकीको सरदर आयु अमेरिकी सरदर आयुभन्दा ५.५ वर्ष कम छ । अमेरिकामा बसोबास गर्ने सबै अल्पसङ्ख्यक समूहको भन्दा रैथाने अमेरिकीको गरिबी दर उच्च छ । रैथाने अमेरिकीको गरिबी दर २५.४ प्रतिशत छ । ८४.३ प्रतिशत अमेरिकी इन्डियन र अलास्काका रैथानेहरूले शारीरिक हिंसा भोगेका छन् । ४ जना रैथाने अमेरिकी मात्र सांसद छन् । राज्यले लागू गर्ने इतिहासका अनिवार्य पाठ्यपुस्तकमध्ये ८७ प्रतिशत पुस्तकमा नागरिक अधिकारको लागि रैथाने अमेरिकीहरूले चलाइरहेको सङ्घर्षबारे एक शब्द लेखिएको हुन्न ।
माफी माग्ने परम्परामा संरा अमेरिका धेरै पछाडि छ । पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००९ मा एउटा प्रस्ताव पारित गरेका थिए । विगतमा ‘यस भूमिका रैथाने जनतामाथि अपनाइएका बदनियतिपूर्ण नीतिहरू’ का लागि माफी मागेका थिए । तैपनि, उक्त प्रस्तावले रैथाने अमेरिकीविरूद्ध सङ्घीय नीतिमा वास्तविक रङ देखाउन सकेको छैन । रैथाने अमेरिकी डेब हाल्यान्डलाई आन्तरिक मन्त्रीमा नियुक्त गर्नु देखावा मात्र हो । यसले रैथाने अमेरिकीहरूको मानव अधिकारको अवस्थामा तात्विक अन्तर ल्याउन सक्दैन ।
चिनियाँ लेखक लु शुनले लेख्नुभएको थियो, “मसीले लेखेको झूटले रगतले लेखेको तथ्य लुकाउन सक्दैन ।” सरकारले ती मानवताविरोधी अपराधलाई औपचारिक मान्यता देओस् र तिनलाई सच्याउने इमानदार प्रयास थालोस् भनेर रैथाने अमेरिकीहरू अझै पनि प्रतिक्षा गर्दै छन् । नारामा भन्दा पनि व्यवहारमै वास्तविक परिवर्तन चाहेका छन् ।
मानव अधिकार उल्लङ्घनको छेलोखेलो
अमेरिकी मानव अधिकारको अवस्था निराशाजनक छ । रैथाने अमेरिकीहरूको कथा झलक मात्र हो ।
संरा अमेरिकाभित्र जातीय असमानता चर्को छ । इतर वर्णका मान्छेको पूर्ण नागरिक बन्ने क्षमता थिएन भन्ने मान्यताले अझै पनि अफ्रिकी मूलका आजका अमेरिकीहरूलाई असर गरेको छ । जर्ज फ्लोयड र माइकल ब्राउनजस्ता मानिसहरू प्रहरी हिंसाकै कारण मारिएका थिए । कोभिड–१९ फैलिएसँगै एसियाली मूलका हजारौँ मानिसहरूमाथि हमला भएको र जातीय भेदभावमा परेका खबरहरू आएका थिए । अर्कैखाले मानव अधिकार हननका रूप पनि छन् । जस्तो बन्दुक हिंसा, प्रवासी दुरूत्साहन, शरणार्थी शिविरमा बाल दुराचार, कोभिड–१९ मा सरकारको असावधानी आदि ।
विदेशमा संरा अमेरिकाले आफ्नो २४० वर्षे इतिहासको ९० प्रतिशत समय युद्धमा बिताएको छ । ७० भन्दा बढी देशमा ८०० बढी सैन्य अखडाहरू बनाएको छ । यसले गर्दा मध्यपूर्व, ल्याटिन अमेरिका र एसियामा हुन्डरी मच्चिएको छ । अमेरिकी युद्धमा परेर अफगानिस्तान, इराक र सिरियामा मात्र २ लाख मानिस शरणार्थी भए वा विदेश पलायन भए । कुख्यात ग्वान्टानामो जेलमा अझै पनि दर्जानौँ मानिस छन् । विगत २० वर्षमा त्यहाँ कतिपयले अथाह यातना भोगे, कतिपयलाई जबर्जस्ती गायब पारियो र कतिलाई गोप्यरूपमा स्थानान्तरण गरियो, लेखाजोखा छैन । प्रत्येक अमेरिकी सरकारले त्यसलाई बन्द गर्ने वाचा गर्छ । तर, व्यवहारमा त्यस्तो केही देखिएन ।
पाखण्ड र दोहोरो चरित्रको भूमि
विश्वभरि हुने मानव अधिकार उल्लङ्घनको निन्दा गर्ने बेला संरा अमेरिका सधैँ अघि सर्छ । मानौँ, अमेरिका विश्वले सिको गर्नुपर्ने मानव अधिकारको आदर्श हो । चीन, रुस, इरान र बेलारुस प्रायः अमेरिकी आक्षेपको निसानामा परिरहने देशमा पर्छन् । यस्ता अधिकांश आक्षेपहरू निराधार हुन्छन् । यद्यपि, स्वदेश र विदेशमा अमेरिकी मानव अधिकारको भताभुङ्ग चालाबाट उसको पाखण्ड र दोहोरो चरित्र उदाङ्गो हुन्छ ।
संरा अमेरिका मानव अधिकारको रक्षक होइन भन्ने स्पष्ट छ । बरु मानव अधिकारलाई राजनीतिक अस्त्र बनाएर वर्चस्व जमाउने विश्व वर्चस्वको रक्षक हो । मानव अधिकार आयोगको पछिल्लो सत्रमा १ सत्न्दा बढी देशले संरा अमेरिकाले व्यवस्थित रूपमा गर्ने मानव अधिकार उल्लङ्घनका घटनामा चासो दिएका थिए । अझ महत्वको कुरा के छ भने ती देशले संरा अमेरिकाले आफ्नो आत्मप्रेम परित्याग गर्नुपर्ने र मानव अधिकारको निहुँ बनाएर अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने आग्रह गरेका थिए ।
हरेक देश मानव अधिकारको आफ्नो घरेलु अवस्थाबारे सबैभन्दा बढी जानकार हुन्छ । अन्य देशलाई तिनको मानव अधिकारको अवस्थाबारे प्रवचन छाँट्नुभन्दा संरा अमेरिकाले आफैलाई ऐनामा हेर्न र आफ्नो मानव अधिकारको समस्या सुल्झाउन आवश्यक छ । आफै दिने उपदेशलाई संरा अमेरिका आफैले इमानदारीपूर्वक व्यवहारमा उतारे विश्वको मानव अधिकारको स्थिति सुध्रिनेछ ।
ग्लोबल टाइम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *