भर्खरै :

पत्रकारिता पनि देश र जनताप्रति समर्पित हुनुपर्छ

पत्रकारिता पनि देश र जनताप्रति समर्पित हुनुपर्छ । सञ्चारमाध्यममार्फत जनताले देश–विदेशको सूचना प्राप्त गर्छ । जनतालाई सुसूचित गर्ने एक भरपर्दो माध्यम पत्रकारिता हो । कति सञ्चारकर्मीहरू राजनीतिले पत्रकारिता पनि बिगार्यो भन्छन् । राजनीतिको फोहोरलाई पखाल्नुपर्नेमा उल्टै त्यसमा डुब्यो भनी उनीहरू चिन्ता व्यक्त गर्छन् । पत्रकारले राजनीतिक दलको झन्डा बोकेर पत्रकारितालाई गलत दिशातर्फ लग्यो भन्ने उनीहरूको बुझाइ हो । दलमा लागेर, दलको झन्डा बोकेर या दलको प्रचार गरेर पत्रकारहरू बिग्रिए भन्ने कुरा होइन । पत्रकारको काम देश विदेशको यथार्थ या सत्य कुरा जनतासमक्ष पु¥याउने हो । दलको गलत समाचार पो प्रचार प्रसार गर्नुहुँदैन । कुनै दलमा आबद्ध छैनन् भन्ने सञ्चारकर्मीहरूले नै ठूल–ठूला दल र सत्तासीन दलका नेताहरूको अन्ध समर्थन गरिरहेका हुन्छन्, पक्षपोषण गरिरहेका हुन्छन् । स्वतन्त्रको मन्त्र जपेर ठूला दलहरूको पक्षपोषण गर्नु के सही हो ।
पत्रकारिताले सत्य–तथ्य उजागर गर्नुपर्छ । कुनै एक जातजाति, भाषाभाषीको वर्णन गरेर सन्तोष मान्नु हुँदैन । जनतालाई सुसूचित गरेर, देशको स्वाधीनता र सावभौम मुलुकको पक्षमा वर्णन गरेर या विदेशी हस्तक्षेपको विरोध गरेर के नोक्सान हुन्छ ? राजनीति ग¥यो भन्ला भनेर सञ्चारकर्मीले विदेशी हस्तक्षेपको विरोध नगर्ने ? पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध नगर्ने ? सरकारले समयमै मल नल्याए पनि सञ्चारकर्मीले केही नलेख्ने ? राजनीतिबाट अलग हुनुपर्छ भन्ने मान्यता राख्ने पत्रकारहरूले महँगी, भ्रष्टाचार र घुसको विरोध नगर्ने ? पुस्तकको अभावबारे कुनै नलेख्ने ? हिंसा, हत्या, बलात्कार, अपहरण भए पनि केही नलेख्ने ? देश र जनताको सवालमा यस्तो केही लेखिँदैन भने जनता कसरी सुसूचित हुन्छ ? अपराधीहरू कसरी सजातगी हुन्छन् ? यस्ता आपराधिक घटनालाई उजागर गरेर सुसूचित पार्ने पत्रकारहरू कसरी गलत दिशामा लागेका हुन्छन् ?
श्रमजीवी पत्रकार भनेर पुँजीपति वर्गको पक्षपोषण गर्नु के राजनीति होइन ? देश जहाँसुकै पुगे पनि ठूलो रकम असुल्ने काम के राजनीति होइन ? पत्रकार पनि यही समाजको सदस्य हो । पत्रकारहरू यो समाजबाट अलग रहन सकिँदैन । श्रमजीवी वर्गको पक्षमा लेख्ने पत्रकारले कुनै एक दलको कुरा लेखेजस्तो भए पनि त्यसले देश र जनताकै सेवा गरिरहेको हुन्छ । बरु पत्रकारहरूले राजनीतिलाई ढाँट, छल र कपटको खेती गर्ने दलको विरोध गर्नुपर्छ । अझै पत्रकारहरूमा एउटा भ्रम छ, त्यो हो – पत्रकारले राजनीतिक ज्ञान राख्ने हो, राजनीतिको वकालत गर्ने होइन, कुनै एउटा विचारको विश्लेषण गर्ने र भारी बोक्ने होइन । राजनीतिक ज्ञान लिने तर त्यसबारे टिप्पणी गर्न नहुने भन्ने हुन्छ ? कसैले गरिरहेको राजनीति गलत छ भने के कुनै टिप्पणी नगर्ने ? त्यसरी कुनै टिप्पणी हुँदैन भने जनता कसरी सुसूचित हुन्छ ? देश र जनताप्रतिको आफ्नो जिम्मेवारी कसरी पूरा हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *