भर्खरै :

शोभा मिसलाई हार्दिक सलाम !

प्रकृतिको नियम कसैले रोकेर रोक्न सकिँदैन । धर्तीमा जन्म लिएपछि सबैले एकदिन यस धर्तीबाट बिदा लिनैपर्छ । कसैको अन्त्य कालमा हुन्छ भने कसैको अन्त्य अकालमा हुन्छ । कसैको मृत्यु उमेर नपुग्दै हुन्छ भने कसैको मृत्यु उमेर पुगेपछि हुन्छ । यो यथार्थ हो । तर, कसैको मृत्यु पहाडभन्दा ग¥हौँ हुन्छ भने कसैको मृत्यु प्वाँखभन्दा हलुङ्गो हुन्छ । जसले देश र जनताको हितमा काम गर्छ त्यस्ता मानिसको मृत्यु पहाडजतिकै ग¥हौँ हुन्छ भने जसले देशलाई घात गर्छ, समाज र देशको लागि एउटा सिन्को भाँच्दैन, आफ्नो र आफ्नो परिवारको स्वार्थ र हितमात्र हेर्छ त्यस्तो मानिसको मृत्यु प्वाँखभन्दा हलुङ्गो हुन्छ । नेपाल मजदुर किसान पार्टीका अग्रजहरू ज्ञानबहादुर न्याईच्याई, आशाकाजी बासुकला, वीर योद्धाहरू, वीर सहिदहरूको मृत्यु पहाडभन्दा ग¥हौँ हुन्छ भने सिक्कमका लेन्डुप डोर्जे लामा, नेपालका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रजस्ता देशद्रोहीहरू, निरङ्कुश तथा यसका मतियारहरूको मृत्यु प्वाँखभन्दा हलुङ्गो भयो । शोभा प्रधान मिसको मृत्यु पहाडझैँ गह्रुङ्गो छ । उक्त कुरा उहाँको सम्मानमा भएको शवयात्रामा हजारौँको उपस्थितिले प्रस्ट पार्छ । उक्त शवयात्रामा महिला, शिक्षक, विद्यार्थी, युवा, बुद्धिजीवी, प्राध्यापक, व्यवसायी, कानुन व्यवसायी, स्वास्थ्यकर्मी, किसान, मजदुर आदिको ठूलो सहभागिता थियो ।
शोभा प्रधान वागीश्वरी मा.वि.मा विद्यार्थीहरूका प्रिय शिक्षिका हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले समाजको लागि ठूलो क्षति भएको छ । उहाँले छोडेर जानुभएको अभिभारा, उहाँको इच्छा र भावना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसैले उहाँको समाजप्रतिको दृष्टिकोण, योगदान र सङ्घर्षशील जीवनलाई अनुसरण गरेर हाम्रो जीवन समाज र देशको हितमा लगाउनुपर्छ । यसले उहाँको इच्छा र भावना पूरा गर्न सहयोग हुनेछ र उहाँप्रति सच्चा भावपूर्ण श्रद्धाञ्जली हुनेछ ।
शिक्षक समाज र देश विकासको लागि बाटो देखाउने अगुवा हो । यो हामी शोभा मिसको सङ्घर्षशील जीवनबाट पाउँछौँ । यो सन्देश हामी वागीश्वरी माविको ६३ औँ र कलेजको १४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित वागीश्वरी स्मारिका २०७८ मा प्रकाशित उहाँको ‘विद्यार्थीलाई सक्षम, अनुशासित, इमानदार र देशभक्त नागरिक तयार गर्नु मैले आफ्नो दायित्व सम्झेँ’ भन्ने शीर्षकको आफ्नो अनुभव एवम् स्मरणको लेखबाट अनुभव गर्नसक्छौँ । निश्चय पनि समाज र देशको उन्नतिको लागि सक्षम, अनुशासित, इमानदार र देशभक्त नागरिकको खाँचो छ ।
अन्याय, अत्याचार र शोषणबाट मुक्त हुन पुकारेर या आस गरेरमात्र हुँदैन, भजनकीर्तन गरेर पुग्दैन । त्यसको लागि सबै जनताले बुझेर, सम्झेर, सङ्घर्षशील भावना राखेर आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर समाज रूपान्तरणको सङ्घर्षमा लाग्नु आवश्यक छ । हामी देशमा भइरहेको अन्याय, अत्याचार, शोषण, महँगी, अनेक विकृति, विसङ्गतिको विरोधमा हुने सभा, जुलुस, सङ्घर्ष आदिमा लाग्नु आवश्यक छ । आफ्नो जिम्मेवारी पन्छाउने, सङ्घर्षको मैदानबाट भाग्ने अनि सङ्कट परेपछि बाँच्न गा¥हो भयो भनेर आउनु ठीक होइन । सङ्घर्षशील जीवनबाट समस्यादेखि आत्तिने होइन बरु त्यससँग जुध्नुपर्छ ।
उहाँले विभिन्न माध्यमबाट विद्यार्थी र महिलाहरूलाई देशभक्तिको भावना जगाउने काम गर्नुभएको थियो । उहाँले अनुशासित, इमानदार, सक्षम र देशभक्त नागरिक तयार गर्न ठूलो योगदान गर्नुभयो । उहाँ कक्षाकोठामा विद्यार्थीहरूलाई पाठ्यपुस्तकको विषयवस्तु सँगसँगै नेपाल र विश्वका देशभक्तहरू वीर योद्धाहरू, स्वतन्त्रता सेनानीहरूका जीवनी र इतिहास बुझ्ने भाषामा पढाउनुहुन्थ्यो । उहाँ विद्यार्थीहरूलाई समाज अनि देशको उन्नति र प्रगति या मुक्तिमा योगदान दिनुहुने अग्रज व्यक्तित्वहरूका बारेमा पढाउनुहुन्थ्यो । विद्यार्थी हित समितिका विद्यार्थी भाइबहिनीहरूले पनि उहाँबाट देशलाई माटोलाई माया गर्न सिकेका छन् । आफू जन्मेको, हुर्केको देश समाज र माटोलाई केही न केही योगदान दिनुपर्छ भन्ने भावना उहाँबाट विद्यार्थीहरूले सिकेका छन् । कुनै देशीविदेशी शक्तिले नेपाल र नेपाली जनतामाथि विश्वका साना, गरिब, कमजोर देश र जनतामाथि अन्याय गर्न खोज्यो, थिचोमिचो गर्न खोज्यो भने साहसका साथ विरोध गर्नुपर्छ भन्ने देशभक्ति भावना विद्यार्थीहरूले शोभा मिसबाट सिकेका छन् ।
देशको आकार ठूलो हुँदैमा, हातहतियार हुँदैमा देश महान् हुने होइन । त्यो देश महान्, बलियो देशका नेता र जनतामा प्रबल देशभक्तिको भावना भयो भने हुने हो । हाम्रो अगाडि रुसको उदाहरण छ । हिजो रसियाली जनतालाई लेनिन, स्तालिनजस्ता नेताले देशभक्त भावना जगाइदिए । त्यसैले रसिया विश्वको शक्तिशाली देश बन्यो । तर, रसियाली जनताको त्यो प्रबल देशभक्ति भावनामा खिया लगाइदिँदा विश्वको ठूलो र हतियारले सम्पन्न देश भताभुङ्ग भयो । साम्राज्यवादीहरूको डलरले त्यो देश १५ टुक्रा भयो । अमेरिकालगायतका ३ लाख एनजीओ र आइएनजीओको हतियारले रुसी जनताको देशभक्ति भावनामा क्षति पु¥यायो । प्रजग कोरिया, क्युवा, भियतनाम देश आकारमा साना थिए । ती देशहरूसँग ठूल्ठूला हातहतियार थिएन । तर, ती देशका जनता र नेतामा देशप्रतिको माया, देशभक्ति र सङ्घर्षशील भावना छ । त्यसैले अमेरिकालगायतका साम्राज्यवादी देशहरूले ती देशहरूलाई हल्लाउन सकेनन् । बरु, ती साम्राज्यवादी देशहरूले पतनको बाटो खन्दै छन् । ती साना देशका जनताको देशभक्ति भावना फलामको गोलीझैँ नेता, पार्टी, सरकार र जनता एक ढिक्का भएर ‘समाजवाद या मृत्यु’ को नारालाई आत्मसात गर्दै लड्दै छन् । त्यसैले इमानदार, अनुशासित, सक्षम र सङ्गठित देशभक्त नागरिक अणुबमभन्दा पनि शक्तिशाली छन् । यस्तै भावना उहाँले विद्यार्थीहरूलाई कक्षामा दिनुहुन्थ्यो । शिक्षकले उहाँबाट सिक्नुपर्ने महत्वपूर्ण कुरा यही हो जस्तो लाग्छ ।
शोभा मिस सादा जीवन उच्च विचारका धनी हुनुहुन्थ्यो । उहाँलाई तडकभडक मनपर्दैन । उहाँ सामान्यरूपमा जीवन चलाउने तर विचार उच्च राख्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । हाम्रो जीवन गरिब वर्ग, अशिक्षित, दीन दुःखी जनताको सेवाको लागि हुनुपर्छ भन्ने विचार राख्नुहुन्थ्यो । उहाँ नेपाल क्रान्तिकारी शिक्षक सङ्घ र नेपाल क्रान्तिकारी महिला सङ्घमा आबद्ध हुनुहुन्थ्यो । उहाँ शिक्षक, महिला, मजदुर, किसानको हकहितको लागि पनि सङ्घर्षशील हुनुहुन्थ्यो । उहाँ शिक्षकको हक हितको सङ्घर्षमा लाग्नु हुँदा भोटाहिटीमा पुलिसबाट पक्राउमा परी काठमाडौँ स्वयम्भूमाथि हल चोकको सशस्त्र प्रहरी प्रतिस्थानमा, प्रदर्शनी मार्गस्थित पुलिस क्लवमा थुनिनुभएको थियो ।
उहाँ विद्यार्थीहरूका प्रिय शिक्षिका हुनुहुन्थ्यो । उहाँ समय परिस्थितिअनुसार कहिले आमा, कहिले दिदी, कहिले मनको साथी र कहिले अभिभावक भएर विद्यार्थीहरूलाई सम्झाइबुझाइ पढाउनुहुन्थ्यो । यसरी विद्यार्थी भाइबहिनीहरूलाई अनुशासित, इमानदार, सक्षम र देशभक्त नागरिक तयार गर्ने काममा उहाँले आफ्नो दायित्व निर्वाह गर्नुभएको थियो । शोभा मिसलाई सलाम !

Leave a Reply

Your email address will not be published. Required fields are marked *