भर्खरै :

आ.व. २०७९/०८० को बजेटमाथि छलफल चालु

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बा¥हौँ नगरसभाको बैठक आइतबार बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रस्ट पार्दै नगरवासीहरूबाट प्राप्त राय सुझावका आधारमा जनमुखी बजेट निर्माणमा नपाले जोड दिएको बताउनुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०७९÷०८० को बजेटमाथि भएको दफावार छलफलमा ५ जना सभासद्हरूले आफ्नो विचार राख्नुभएको थियो ।
छलफलमा सभासद् हेरा ख्याजुले सङ्घ र प्रदेशको बजेट समयमै प्राप्त गर्न पहल गर्नुपर्ने र महेश्वरी खेलमैदानको लागि छुट्याएको बजेट अपुग भएको बताउनुभयो ।
त्यस्तै पुरुषोत्तम तमखुले इखालाछी मठ पुनःनिर्माणको लागि छुट्याएको बजेट कम भएको, जितेन्द्र मुनंकर्मीले नपाले आर्थिक स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने, हरिरत्न गोर्खालीले नपाको बजेट समाजवादउन्मुख भएको बताउँदै वडास्तरीय योजनामा छुट्याइएको रकम समयअनुसार वृद्धि गर्नुपर्ने बताउनुभयो ।
सभासद् रामसुन्दर बासीले भौतिक निर्माणमा जोड दिनुपर्ने, नपाले मानसिक रोग विशेषज्ञको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयमा भौतिक सुधार गर्न बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
सभाको विशेष समयमा सभासद्हरू रामसुन्दर बासी, गंगालक्ष्मी बमनु, कल्पना शिल्पकार, पुरुषोत्तम तमखु, इन्द्रबहादुर प्याठले देशघाती एमसीसी सम्झौता र एसपीपी सम्झौताबारे जनतालाई सचेत पार्नुपर्ने, सिद्धपोखरी वरिपरि हरियाली प्रवद्र्धन गर्नुपर्ने, घरभाडा कर उठाउनुपर्ने, देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्नुपर्ने र नगर प्रहरीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् कृष्णगोपाल चौगुठी, श्यामसुन्दर मातां, नारायणप्रसाद त्वानाबासु, कृष्णनारायण दुमरु, सूर्यप्रसाद श्रेष्ठ, मञ्जुमँैया लाखा, सिद्धिराम अवाल र गोविन्द दुवालले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै हनुमानघाट सुधारको योजना ल्याउनुपर्ने, भनपा ७ स्थित पाँचाख्योमा हरियाली प्रवद्र्धन गर्नुपर्ने, सडक बत्ती मर्मत सम्भार गर्नुपर्ने, साना र दुईपाङ्ग्रे सवारीसाधनका पार्किङ व्यवस्था गर्नुपर्ने, नगरकोट सडकको दायाँबायाँ पेटी बनाउनुपर्ने, नगरवासीहरूलाई सरुवा रोगबाट बचाउन खानेपानीको फिल्टरको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नगरसभाको अर्को बैठक असार १४ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *