भर्खरै :

‘जेलका चिठ्ठीहरू’ भित्रकी ‘कामरेड शोभा’

वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँकी जीवनसङ्गिनी एवम् ‘जेलका चिठीहरू’ भित्रकी ‘शोभा प्रधान’ अब हामी माझ रहनुभएन । कैयौँ उतारचढाव र सङ्घर्षपूर्ण जीवनबाट उहाँ बिदा हुनुभयो । यद्यपि, जेलभित्रबाट अध्यक्ष रोहितले प्रेमपूर्वक लेख्नुभएका चिठीहरूमा उहाँ सदा बाँचिरहनुहुनेछ । चिठीहरूको उद्देश्यहरूमा दृढनिश्चयी र प्रतिबद्ध शोभा प्रधान सधँै सधँै सम्झनामा रहनुहुनेछ । उहाँको जीवनका भोगाइ र अनुभवका पदचापहरू चिठ्ठीभित्र रहिरहनेछ ।
समय २०४५ भाद्रको हो । उहाँहरूबीच विवाहको लामो समय बितिसकेको थिएन । त्यतिबेला प्राकृतिक र अप्राकृतिक दुवै किसिमका भूकम्पको सामना शोभाले गर्नुप¥यो । प्राकिृतिक भूकम्पमा घरहरू भत्किए, भौतिकरूपमा ठूलो क्षति भयो । पीडितले राहत पाएनन् । राहत सामाग्री वितरणमा भएको पक्षपातप्रति पीडित जनता आक्रोशित बनेको त्यो समयमा पञ्चायती सरकारले कर्ण ह्योजूलाई षड्यन्त्रको गोटी बनाई नेमकिपाको समूल नष्ट गर्ने कुचेष्टा ग¥यो । नेमकिपालाई जरैदेखि उखेल्न मरिचमान सिंहको सरकार र स्थानीय पञ्चायती प्रतिक्रियावादी तत्वहरूले भक्तपुरका सडकहरूमा ‘रोहितलाई फाँसी दे’ को अभद्र नारा लगाए । कुनै आधार, प्रमाणविना नै अध्यक्ष रोहितलाई पक्राउ गरे र जेलमा हाले ।
शोभा प्रधान र सम्पूर्ण भक्तपुरका लागि ‘भाद्र ९’ को त्यो घटना अर्थात् ‘भक्तपुर काण्ड’ कुनै भूकम्पभन्दा कम थिएन । राज्यस्तरको योजनामा भएको अप्राकृतिक भूकम्पले नेमकिपाको उँचो धरोहर ढाल्न खोजेको थियो । गर्भवती शोभालाई त्यो घटना एउटा बज्रपातभन्दा कम थिएन, कालरात्रीभन्दा कम थिएन । अध्यक्ष रोहित आफैले लेख्नुभएकोे छ – “भक्तपुर, नेमकिपा र आफ्नै नातागोता, शत्रु र मित्र सबै चिनी नसकेकी मेरी जहान शोभालाई अचानक आएको पहिरोजस्तो घटना वा खिम्ति खोला नजिक बस्दाको आकस्मिक बाढी थियो भक्तुपर काण्ड ।”
शोभाले अध्यक्ष रोहितको व्यक्तित्व नचिनी, नबुझिकन विवाहको निर्णय लिनुभएको थिएन । उहाँले अध्यक्ष रोहितको देश र जनताको सेवा गर्ने राजनीति, समर्पण र सङ्घर्षको बाटो बुझ्नुभएको थियो । त्यसैले त निष्ठा र इमानदारीको राजनीतिक उचाइमा अध्यक्ष रोहितको छाया बनेर खरो उत्रिनुभयो, सरल जीवन र उँचो क्रान्तिकारी विचारको सहयात्री बन्नुभयो ।
घरभित्रका सारा समस्या र दुःखहरूसँग जुझेर पनि उहाँ अध्यक्ष रोहितकी जहानमा मात्र सीमित हुनुभएन । भक्तपुर काण्डको घटनाले त उहाँलाई राजनीतिक सङ्घर्षको मैदानमा उता¥यो । सयौँ पार्टी कार्यकर्ता पक्राउ वा भूमिगत वा निर्वासनमा परेको बेला न्याय र सत्यको निम्ति सडकमा आवाज उठाउनेमा महिलाहरू अगाडि थिए । भक्तपुर काण्डको कालरात्री र पञ्चायती व्यवस्थाको बर्बरताविरुद्ध शोभा प्रधानले राजनैतिक सुझबुझ सहित त्यो आवाजमा आवाज मिलाई लड्नुभयो । उहाँलाई मार्गनिर्देश गर्ने, ऊर्जा दिने र उत्साह दिने चिठीहरू भने अध्यक्ष रोहितले जेलभित्रबाट पठाउँदै हुनुहुन्थ्यो । ती चिठीहरू शोभाका लागि आफ्नो श्रीमान्को सानिध्यता मात्र थिएन पार्टी अध्यक्षको प्रशिक्षण पनि थियो ।
अध्यक्ष रोहितले जेलभित्रबाट आफ्ना भावना, संवेग, सङ्कल्प, सङ्घर्षका अठोट, जीवनका उकालीओराली र जीवनका परीक्षाहरूलाई अत्यन्त सुन्दर लय दिएर ‘प्रिय शोभा’ को सम्बोधनमा समेट्नुभयो । तिनै चिठीलाई शोभा प्रधानले पटकपटक पढ्नुभयो, कालरात्रीको साथी बनाउनुभयो र जनतासँग साट्नुभयो । २०४६ सालमा लिखित ती चिठीमा २०६९ मा मात्र प्रकाशित गरिए ।
२०४६ साल पूर्व पनि का. रोहितको अधिकांश समय पार्टी कार्यालय, कार्यक्रम, कार्यकर्ता र जनताबीच बित्थ्यो । शोभा प्रधानले श्रीमान्को अत्यन्त थोरै समय पाउनुहुन्थ्यो । त्यसकारण, अध्यक्ष रोहितका सबै कुरा उहाँलाई थाहा थिएन । चिठीहरूले उहाँलाई अध्यक्ष रोहितको व्यक्तित्व चिन्न सघायो ।
जेलका चिठीहरू पहाडजस्तो कठिन र आँधीजस्ता प्रतिकूल परिस्थितिमा एक राजनीतिक व्यक्तित्व कसरी चट्टानझैँ बलियो र दृढ भई उभिन्छ भन्ने दृष्टान्ट बन्यो । एक कम्युनिस्ट नेता जेलमा होस् या खुला समाजमा जनताप्र्रतिको कर्तव्य, परिवारप्रतिको प्रेम स्नेह कहिल्यै भुल्दैन । आफ्नो सिद्धान्त र विचारलाई थुनेर राख्दैन बरु जनताबीच कुनै न कुनै माध्यमबाट पु¥याइरहन्छ भन्ने सन्देश एवम् प्रमाणको रूपमा चिठीहरूलाई शोभा प्रधानले सङ्ग्रहित गर्नुभयो ।
जेलभित्र कडा निगरानी, कापी कलम समेत बन्देज लागाइएको, दिनहँुको प्रताडना, बर्बर यातनापश्चात् कार्यकर्ताको चित्कार, युद्धबन्दीतूल्य व्यवहारबीच लेखिएका ती चिठीहरूले त्यो समयकालको पीडाबोध गराउँछ । सेन्सरको कारण सुरुका पत्रहरू सन्चो बिसन्चो, खानेकुरा, आवश्यक सामान, कपडा, पुस्तक, पत्रपत्रिका औषधी, छोराहरूको हालखबर आदि बारे थिए । पछि पत्रले अध्यक्ष रोहितको बालककालदेखिका पृष्ठभूमि, भोेगाइ बताउन बाटो खोल्यो । पत्रमा पाकिस्तानी प्रेम गीत र गजलका सन्दर्भहरू ‘प्रिय शोभा’ प्रति समर्पित थिए । जेलभित्र अध्यक्ष रोहितको अध्ययन र लेखनको साक्षी हुनुहुन्थ्यो ‘प्रिय शोभा’ । साहित्य, कला र संस्कृतिप्रति अत्यन्त झुकाव राख्ने र जानकार व्यक्तित्व अध्यक्ष रोहितले लोप हुन लागेको बङ्गाली संस्कृति सभ्यताको परिचय दिँदै नेवारी संस्कृति र भक्तपुरबारे चिठीबाट बताउनुभयो, न्यातापोल, ङेङापा झ्यो, लुँ ध्वाका, साँझ्योे पुराना घरहरू, कृष्ण मन्दिरसँग शोभा प्रधानलाई परिचित गराउनुुभयो । उहाँले लेख्नुभएको छ – “डोको र खुकुरी नेपालको ढुकढुकी र जीवन हो भने नेवारी कला र संस्कृति नेपाल र नेपालीको शृङ्गार हो ।” भक्तपुरको भौगोलिक संरचना र ऐतिहासिक महत्व प्रस्ट पार्दै नेवारी भाषा, जात र थरहरूका व्यावहारिक विश्लेषण शोभा प्रधानमार्फत पाठकसम्म पु¥याउनुभयो । १९९० सालको भूकम्पभन्दा पुराना भक्तपुरका घरहरूको इन्जिनियरिङ, बनोट, वास्तुकला र प्राचीन शैली, चित्रकला, काष्ठकला, प्रस्तरकलाको अनुपम धरोहर भक्तपुरसँग शोभा प्रधानलाई भेट गाराइदिनुभयो चिठीमार्फत । चिठीहरूमा कला संस्किृतिसँगै भूगोल र इतिहासका महत्वपूर्ण घटनाहरू पनि सङ्ग्रहित छन् ।
आफ्नो व्यक्तिगत विषयमा सोच्ने मौका नपाउने र आफ्नो व्यक्तिगत जीवनको लागि पटक्कै समय नछुट्याउने अध्यक्ष रोहितले आफ्नो शैशवकाल, विद्यार्थी जीवन, राजनीतिमा प्रवेश, आफू संलग्न रहेका घटनाक्रमहरू, राजनीतिक उतारचढावसँगै आफ्नो उपस्थिति, साथीहरूका बारे, सङ्गठनका बारेमा आफ्नो जहानलाई सुनाउन यही चिठीहरूको सहारा लिएको देखिन्छ । गौरमा नेत्रदान यज्ञ, बाढी पीडितलाई सहयोग, आगलागीमा स्वयम्सेवकको भूमिका निर्वाह गरिरहँदा सामाजिक भावनाको बिजारोपण भएको महसुस गर्ने अध्यक्ष रोहितले भक्तपुर फर्केपछि आफ्नो जीवनलाई जनताको नाममा समर्पित गर्ने प्रण गरेको समय सुनाउनुभयो । उहाँको यौवनको समयावधि निकै बेफुर्सदिलो रहेको पुस्तकमा लेख्नुभएको छ – “मेरो त्यो अवधि नै मेरो जीवनको सबभन्दा सक्रिय समय थियो । बिहान जुत्ता लगाएर बाहिर निस्केपछि राती ९—१० बजे मात्रै जुत्ता फुकाल्थेँ । दुःख, डर र थकाइ भन्ने कहिल्यै अनुभव भएन । नयाँ पुस्तक, पत्रपत्रिकाहरू अध्ययन गर्नु, मस्को, पेकिङ रेडियो, बीबीसी, भ्वाइस अफ अमेरिका आकाशवाणी आदिको सामाचार र टिप्पणीहरू सुन्नु नै मेरो जीवन बन्यो ।” शोभा प्रधानले ती पुस्तक र पत्रपत्रिकाहरूलाई नै आफ्नो सम्पत्ति मान्नुभयो । दुई छोराहरूलाई बुबाको व्यस्ततामा अभ्यस्त बनाउँदै हुर्काउनुभयो ।
अध्यक्ष रोहितको जीवन सँधै आँधीबेहरीपूर्ण थियो । प्रहरी र प्रशासनको निम्ति उहाँ एक नसुल्झिएको विषय बन्नुभयो । बुद्धिजीवीहरूको निम्ति एक अध्ययनको विषय र जनताको निम्ति एक आदर्श व्यक्ति बन्नुभयो । यो थाहा पाएर शोभा प्रधानको हृदय हर्षले नफुलेको होला त ?
चिठीहरूमार्फत शोभा प्रधानलाई गौर, हङकङ, बैङ्कक, वीरगञ्ज, सिमरा, काठमाडौँ जस्ता थुुपै ठाउँहरूको यात्रा गराउनुभयो । आफ्ना जीवनका अविस्मरणीय व्यक्तित्वहरूसँग भेट गराउनुभयो । थुपै पुस्तकको सयर गराउनुभयो ।
परिवारप्रतिको स्नेह, छोराहरूप्रतिको उत्तरदायित्व, छोराहरूले सानैदेखि आफ्नो कला संस्कृति थाहा पाउन्, समाज चिनुन् भन्ने कामरेड रोहितको भावनालाई शोभा प्रधानले व्यवहारमा उतार्नुभयो । बाल मनोविज्ञान बुझिकन कथा र जीवनोपयोगी पाठहरू पढाउन सुझाउनुभएको त्यो समय चिठीहरूले प्रतिनिधित्व गर्छ ।
राजनीति गुलाबको ओछ्यान होइन, खुकुरीको धारमा हिँड्नु हो । राजनीतिमा देश र जनताको सेवा गर्नु पनि पहाडको यात्रा जस्तै हो । कोही अगाडि, कोही बीचमा र कोही पछाडि पर्छन् । कहिलेकाहीँ पछाडि पर्नेहरू यात्रा छोडेर टाढा जान्छन् भन्ने अध्यक्ष रोहितको भनाइलाई शोभा प्रधानले २०४६ सालमा जेलको पर्खालबाहिर देख्नुभयो, भोग्नुभयो । उहाँलाई अविचलित भई आफ्नो कर्तव्यप्रति निष्ठावान र जीवनप्रति उत्साहित बनाउन चिठीहरूले खुब सघाए ।
जेलको पर्खालभित्र र बाहिरको जीवनलाई जोड्ने यी चिठीहरू जीवन दर्शन पनि थियो । जेलभित्र र बाहिरको फरक सङ्घर्षका शब्दचित्रहरूमा शोभा प्रधानको आकृति सदा अनुभव हुनेछ । अध्यक्ष रोहितले लेख्नुभएका प्रत्येक चिठीको जवाफमा शोभा प्रधानले के लेख्नुभएको होला ? यो प्रश्नको जवाफमा उँचो मनोबल र दृढ इच्छा शक्तिको प्रतिक शोभा प्रधान सधँै भेटिनुहुनेछ । जीवनलाई सङ्घर्ष र सङ्घर्षलाई जीवनको नाम दिनुभएका एक बहादुर व्यक्तित्व भेटिइनुहुनेछ ।
चिठीबाहिर शोभा प्रधान एक असल शिक्षिका, क्रान्तिकारी महिला, ममतामयी आमा, सबैको प्रिय भाउजू हुनुहुन्थ्यो । उहाँको सहृदयी र प्रेरणादायी व्यक्तित्व, कामदारवर्गीय महिला आन्दोलन र कम्युनिस्ट आन्दोलनमा उहाँको योगदान अमर रहनेछ । उहाँ धेरैधेरै कामरेडहरूको निम्ति प्रेरणा बनेर रहनुहुनेछ । धेरैधेरै विद्यार्थीका निम्ति आदर्श बनिरहनुहुनेछ । उहाँ धेरैधेरै छोरीहरूका निम्ति जीवन ऊर्जाको कहिल्यै नसुक्ने स्रोत बनेर बाँचिरहनुहुनेछ ।
सहयोगीभाव, समर्पण र सङ्घर्षमा अर्काे नाम बनेर चिठीहरू भित्र र जनताको मनमनमा युगयुग सम्म बाँचिरहनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *