भर्खरै :

बेलारुस : नबनेको युक्रेन

एसपीपी सम्झौताबाट हात झिक्ने एक मात्र देश बेलारुस हो । १९९३ सेप्टेम्बर ३ मा संरा अमेरिकाको युटाह राज्यसँग एसपीपी सम्झौता गरेको बेलारुस केही वर्षपछि सो सम्झौताबाट बाहिरिएको थियो । नेपालले एसपीपी सम्झौताबाट फिर्ता हुने गरी संरा अमेरिकी सरकारलाई पत्र पठाएको खण्डमा नेपाल बेलारुसपछिको देश बन्नेछ । के नेपाल यस मानेमा दोस्रो देश बन्ला ? यो प्रश्नलाई यही छोडेर हामी यहाँ त्यही पहिलो देशबारे चर्चा गर्नेछौँ ।
बेलारुस कस्तो देश ?
सोभियत सङ्घ टुक्रिएपछि बनेका १५ वटा देशमध्ये बेलारुस सोभियत नीतिहरू यथावत राख्ने एक मात्र देश हो । सामाजिक सुरक्षाका दृष्टिले कतिपय पुँजीवादी देशले समेत बेलारुसलाई ‘स्केन्डिनेभियाली देशहरू’ सँग दाँज्छन् । दैनिक ३.२ डलरभन्दा कम कमाउने कोही पनि छैन । सन् २०२१ मा विश्व बैङ्क र युरोपेली युनियनले जारी गरेको प्रतिवेदनअनुसार बेलारुसमा जम्मा ०.४ प्रतिशत जनता मात्र दैनिक ५.५ डलर आम्दानीमा बाँच्छन् । लिथुवानियामा यो दर १० गुणा बढी छ, रुसमा १८ गुणा बढी छ । आर्मेनिया र जर्जियामा विकराल गरिबी छ । नवउदारवादी अर्थनीति अपनाउनाले उनीहरूको त्यो दशा भएको हो । सन् २००८ को आर्थिक मन्दीले बेलारुसका छिमेकीहरू सिकिस्तै भए । जब कि बेलारुसले यही अवधिमा दैनिक ५.५ डलर कमाउनेको सङ्ख्या ३८.३ प्रतिशतबाट झरेर ०.४ प्रतिशत भयो । दैनिक १० डलरभन्दा बढी खर्च गर्नेहरूको सङ्ख्या २० प्रतिशतबाट बढेर ९० प्रतिशत पुग्यो । बेलारुसलाई नरुचाउने विश्व बैङ्कले समेत उसको प्रगतिलाई ‘प्रभावशाली’ भन्न कर लाग्यो । बेलारुसले निजीकरणलाई बढावा देओस् भनी सकेको सबै गर्ने पश्चिमा वित्तीय संस्थाहरूको दबाबपछि पनि हाल त्यहाँ झन्डै आधा रोजगारी सरकारी उद्योगहरूले दिन्छन् । कूल गार्हस्थ उत्पादनमा सरकारी उद्योगधन्दाको देन ६० देखि ७० प्रतिशतसम्म छ । बेलारुसको यो प्रगति नै उसको सबैभन्दा ठूलो चुनौती पनि हो ।
सोभियत सङ्घ टुक्रिएपछि
सोभियत सङ्घ टुक्रिनुभन्दा अगाडि अलेसान्द्र लुकाशेन्का एक सोभियत सहकारीका कृषि निर्देशक थिए । सन् १९९४ को राष्ट्रपति निर्वाचनबाट उनी बेलारुसको राष्ट्रपति पदमा निर्वाचित भए । पश्चिमाहरूले त्यो निर्वाचनलाई ‘खुला र निष्पक्ष’ भन्दै आएका छन् । सत्तामा आएपछि लुकाशेन्काले पश्चिमा देशहरूसँग पनि सम्बन्ध विस्तार गरे । सन् १९९० को दशकमा अमेरिकी अधिकारीहरूले बेलारुसको बाक्लो भ्रमण गरे । त्यसबेला बेलारुसको विदेश नीतिले ठोस आकार लिइसकेको थिएन । त्यसैले ऊ नाटोको ‘पीएफपी’ (पार्टनरसिप फर पिस प्रोग्राम) र ‘आईपीपी’ (इन्डिभिजुअल पार्टनरसिप प्रोग्राम) मा सहभागी भयो । यी दुवै कार्यक्रम नाटोलाई रुसको सीमासम्म विस्तार गर्ने नरम कार्यक्रम थिए । सन् १९९६ अप्रिलमा बेलारुस अमेरिकाको युटाह राज्यसँग ‘राज्य साझेदारी कार्यक्रम’ (एसपीपी) मा सामेल भयो । तर केही वर्षपछि ऊ यो कार्यक्रमबाट बाहिरियो पनि ।
सन् १९९१ मा जर्मनीभन्दा पूर्व नलाग्ने वाचा गरेको संरा अमेरिकी नेतृत्वको नाटो गठबन्धन पूर्वतिर फैलिँदै गयो । यस क्रममा नाटोले कोसोभोमा मारकाट मच्चायो (सन् १९९८) र युगोस्लाभिया ध्वस्त पा¥यो (सन् १९९९) । बेलारुसले यी दुवै घटनामा विरोध जनायो । बेलारुस नाटोको ‘पार्टनर’ देशमात्र थियो । उसको आवाज नाटो नेतृत्वले सुनेन । नाटो शीतयुद्धकालीन सैन्य गठबन्धन थियो । सोभियत सङ्घको विघटनपछि नाटोको आवश्यकता सकिएको थियो । तर, नाटो बन्द भएन, न त ऊ शान्तिपूर्वक बस्यो । अर्कोतिर, संरा अमेरिकाका गतिविधिहरू पारदर्शी थिएनन् । बेलारुसमा रुसी आणविक हतियारहरू थिए । रुसी राष्ट्रपति बोरिस एल्सिनको दबाबमा बेलारुसले केही हतियार आफूसँगै राखेर धेरै हतियारहरू रुस फिर्ता पठायो । यस्तै बहानामा ‘मानव अधिकार हनन भयो’ भन्दै अमेरिकाले बेलारुसमाथि बेलाबखत आरोप लगाइरह्यो । यिनै घटनाबाट सशङ्कित भएको बेलारुसले बिस्तारै पश्चिमाहरूसँगको सम्बन्धमा उत्साह देखाउन छोड्यो र क्षेत्रीय सुरक्षामा ध्यान दिन थाल्यो ।
पश्चिमा चलखेल
१९९२ जनवरी ३१ मा बेलारुसमा अमेरिकी दूतावास खुलेको थियो । बीचबीचमा ‘मानव अधिकार हनन’ को नाउँमा अमेरिकाले बेलारुससँगको सम्बन्धमा किचलो झिकिरह्यो । सन् २००६ को निर्वाचनमा धाँधली भयो भनेर अमेरिकाले लुकाशेन्कासहित १६ जना बेलारुसीको विदेश यात्रामा बन्देज लगायो र ९ वटा सरकारी उद्योगमाथि वित्तीय नाकाबन्दी थोप¥यो । सन् २००८ मा अमेरिकाले मानव अधिकार उल्लङ्घनको बहानामा नाकाबन्दी अझ कसिलो बनायो । उत्तरमा बेलारुसले ३०–३५ अमेरिकी कूटनीतिज्ञलाई देश निकाला ग¥यो । सन् २०१५ मा राष्ट्रपति लुकाशेन्काले ६ जना राजनीतिक बन्दीलाई रिहा गरेपछि अमेरिकाले नाकाबन्दी अलि खुकुलो बनायो । सन् २०१९ मा दुवै देशबीच सम्बन्ध सुधार गर्ने र राजदूतहरू आदानप्रदान गर्ने सहमति भयो । सन् २००८ पछि पहिलोचोटि सन् २०२० डिसेम्बरमा अमेरिकाले बेलारुसको लागि राजदूत नियुक्त ग¥यो ।
यसबीच सीआईएको नयाँ अवतार ‘नेड’ (नेसनल इन्डओमेन्ट फर डिमोक्रेसी) बेलारुसमा सक्रिय भयो । त्यसले भित्रभित्र ४० भन्दा बढी परियोजना सञ्चालन ग¥यो । बर्सेनि करोडौँ डलर खर्च हुने यी परियोजनाहरू खासगरी तीन क्षेत्रमा सञ्चालनमा छन् । एक, अहिंसात्मक सत्ता परिवर्तनबारे सामाजिक अभियन्ता र नागरिक समाजसँग सम्बन्धित सङ्गठनहरूलाई तालिम दिने । दुई, सरकारविरोधी मिडियाहरूमा पैसा पेल्ने । तीन, निर्वाचन पर्यवेक्षक समूहहरूलाई पैसा खुवाउने । यिनै गतिविधिमार्फत अमेरिकाले लुकाशेन्कालाई हटाउने योजना बनायो, त्यसलाई कार्यान्वयन गर्ने ‘विभीषण’ हरू बनाउँदै गए । तर, पर्दापछाडिका यी चलखेलबारे बेलारुसका जनता अनभिज्ञ रहे । ‘नेड’ को भगिनी सङ्गठन ‘युएसएड’ ले गरेको एक सर्वेक्षणअनुसार बेलारुसका दुई तिहाइ जनतालाई आफ्नो देशमा ‘एनजीओहरू’ सक्रिय छन् भन्ने थाहा थिएन । तिनमा कहाँबाट खर्च आउँछ भनी थाहा पाउनु त टाढाको कुरा भयो ।
मैदान विद्रोह–२
कथित ‘रङ्गीन विद्रोह’ सीआईएको परियोजना हो । सन् २०१४ मा युक्रेनका निर्वाचित राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्यूत गरेर युक्रेनमा अमेरिकासमर्थित सरकार गठन गरियो । त्यो विद्रोहलाई युरोमैदान विद्रोह भनिन्छ । त्यही विद्रोहको नक्कल सन् २०२० मा बेलारुसमा भयो । त्यो वर्ष अगस्त ९ मा निर्वाचन भयो । लुकाशेन्काविरुद्ध चुनाव लडेकी स्वेतलाना सिखानौस्कायाले आफू पराजित भएपछि ठूलो धाँधली भएको बताइन् । मैदान विद्रोहमा जस्तै हजारौँ मानिसलाई सडकमा उतारियो । अमेरिकाले लामो समयदेखि पालेर राखेका सामाजिक अभियन्ता, पत्रकार, मानव अधिकारकर्मीहरूले पुनः निर्वाचनको माग गरे । टीभी, रेडियो, आईटी कम्पनीहरूले आन्दोलनमा हावा फुके । षड्यन्त्रको आशङ्कामा सरकारले व्यापक धरपकड, केरकार र जेल चलान सुरु ग¥यो । षड्यन्त्रमा सामेल कतिपय नेता भागेर निर्वासन गए । अन्ततः सरकार विद्रोह थामथुम पार्न सफल भयो । यसमा रुसले गुप्तचरी र आर्थिक सहायता दिएर लुकाशेन्कालाई सघाएको पढ्न पाइन्छ । सेप्टेम्बरमा बेलारुसले रुसबाट १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सहयोग पायो । अमेरिकामा नोभेम्बरको निर्वाचनको तयारी चलिरहेको हुनाले उसले विद्रोहीहरूलाई प्रत्यक्ष सहयोग नगरेकोमा अमेरिकी खेमाका बुद्धिजीवीहरूको गुनासो छ ।
युरोपेली युनियनले विद्रोहीहरूलाई सघाइरहेको थियो । उसले बेलारुसलाई तीन चरणमा नाकाबन्दी लगायो । बेलारुसको सम्पत्ति रोक्का ग¥यो, ८८ जना जनप्रतिनिधिको विदेश यात्रामा बन्देज लगायो र ७ वटा सरकारी उद्योगमाथि वित्तीय नाकाबन्दी लगायो । खासमा सन् २०१० को निर्वाचनपछि नै युरोपेली युनियनले बेलारुसमाथि नाकाबन्दी लगाएको थियो । ऊ बेलारुसमा मानव अधिकार उल्लङ्घनका घटनाबारे तथ्य जाँचकी समूहमार्फत खोजीनिती गर्न चाहन्थ्यो । २०२० नोभेम्बरमा त्यसको नतिजा आयो र डिसेम्बरमा उसले बेलारुसका विपक्षी नेताहरू, नागरिक समाज, युवा समूहहरू र केही साना तथा मझौला व्यवसायीहरूबीच २ करोड ४० लाख युरो बराबरको पैसा बाँड्यो । यसअघि अगस्तमा नै युरोपेली आयोगका अध्यक्षले आन्दोलनमा खर्च गर्न, मिडियाकर्मी र राजनीतिक पीडितहरूबीच बाँड्न ५ करोड ३० लाख युरो छुट्याएका थिए ।
२०२० नोभेम्बरमा जो बाइडेन अमेरिकी राष्ट्रपति बने । उनले विश्वभरि जनतालाई ‘प्रजातन्त्र’ को पक्षमा उभ्याउन नयाँनयाँ तरिका अपनाउनुपर्ने घोषणा गरे । विश्वभरिको अर्थ बेलारुस, बर्मा, सिरिया, क्युवा र भेनेजुयला थिए । तर २०२१ सम्ममा रुसको मद्दतले बेलारुसले सबै उथलपुथललाई साम्य पा¥यो । देशलाई मैदान विद्रोह–२ बाट बचायो । यसपछि बेलारुसले रुससँग संयुक्त सैन्य अभ्यास बढाएको छ । पश्चिमा मिडियाहरू बेलारुसलाई रुसको पिछलग्गू देश भन्दै छन् । लुकाशेन्कालाई निरङ्कुश शासक भन्दै छन् । आफ्नो तानाशाही जोगाउन युक्रेनमा आक्रमण गर्न रुसलाई दोस्रो मोर्चा खोल्न दिने आत्मसमर्पणवादी भन्दै छन् । केही सन्तुलित बुद्धिजीवीहरू बेलारुसले तटस्थता तोडेको आरोप लगाउँछन् । यद्यपि, बेलारुसमा अमेरिकी नाकाबन्दी जारी छ । ‘विभीषण’ हरू तयार गर्ने खेलो रोकिएको छैन ।
बेलारुसका विभीषणहरू
१) पश्चिमा साम्राज्यवादीहरू बेलारुसमा सत्तापलट गर्न चाहन्छन् । उनीहरू लुकाशेन्काको ठाउँमा आफ्नो बफादार सेवक राख्न चाहन्छन् । उनीहरूले त्यो सेवक पनि छनोट गरिसकेका छन् । उनको नाम स्वेतलाना सिखानौस्काया हो । उनलाई भेनेजुयलाका ह्वाँ गाइडोकी बेलारुसी संस्करण पनि भनिन्छ । देशमा उनको जनाधार १० प्रतिशत पनि छैन । तर लिथुवानियाबाट उनले निर्वासित समानान्तर सरकार चलाइरहेकी छिन् । यस सरकारलाई पश्चिमाहरू ‘समन्वय परिषद्’ भन्छन् । अमेरिकी नेताहरू, विज्ञ समूह, पुँजीपति, व्यापारी, पत्रकार र उच्च अधिकारीहरूसँग उनको उठबस छ । अमेरिका भ्रमणमा छँदा उनले राष्ट्रपति बाइडेन र भिक्टोरिया न्युल्यान्डलाई भेटेरै छोडिन् । न्युल्यान्ड युक्रेनको मैदान विद्रोहकी योजनाकार थिइन् । सन् २०२० को निर्वाचनपछि बेलारुसमा मच्चिएको रडाकोको बेला स्वेतलानाले पश्चिमाहरूलाई आफ्नै देशमाथि कठोर नाकाबन्दी लगाउन अनुरोध गरेकी थिइन् । त्यसो त बेलारुसमा लुकाशेन्काका अन्य विपक्षीहरू पनि छन् । तर तिनीहरू कैदमा छन् । स्वेतलानाको ठोस राजनीतिक मुद्दा छैन । उनी खालि अमेरिकी आदर्श नै आफ्नो आदर्श भन्छिन् । उनले ह्वाँ गाइडोलाई ‘प्रेरक व्यक्तित्व’ भनेकी छिन् । यसकारण पनि अमेरिकाले उनलाई रुचाउँछ । पूर्व सीआईए अधिकारी कार्ल गर्शमानले धेरै वर्ष ‘नेड’ को अध्यक्ष थिए । उनले स्वेतलानासँग आफूले धेरै निकट रहेर काम गरेको बताएका थिए ।
एक फोन वार्तामा उनले भने
“बेलारुसमा हाम्रा चारवटा संस्था छन् । यी सबै ‘नेड’ को छातामुनि छन् । हामी तिनलाई पैसा दिन्छौँ । ती संस्थाले विपक्षी पार्टीलाई बलियो बनाउँछन् । सूचना सम्प्रेषण, जनसम्पर्क, सञ्चार आदिमा सहयोग गर्छन् । मलाई थाहा छ तिनले स्वेतलानासँग एकदम निकट रहेर काम गर्छन् ।
हामीसँग व्यापारिक संस्था पनि छन् । तिनको सम्बन्ध अमेरिकाको च्याम्बर अफ कमर्स र सेन्टर फर इन्टरनेसनल प्रात्ेट इन्टरप्राइजसँग छ । यी अमेरिकी सङ्गठनले बेलारुसको निजी क्षेत्रसँग मिलेर काम गर्छन् । यसको लागि पैसा हामीले दिन्छौँ । लुकाशेन्का हटेपछि देशको निजी अर्थतन्त्र कसरी चलाउने पनि योजना र खाका कोर्ने काम तिनको हो ।
हामीसित श्रमिक सङ्गठन अथवा ट्रेड युनियन पनि छ । यी चारवटा संस्थाबाहेक हाम्रो श्रमिक सङ्गठनले बेलारुसमा स्वतन्त्र युनियनको भूमिका खेल्छ । बेलारुसमा सङ्गठन गर्न हामीले प्रत्यक्ष अनुदान पनि दिन्छौँ । धेरै लामो समयदेखि हामीले यो काम गर्दै आएका छौँ ।
सबैभन्दा अहम् कुरा स्वतन्त्र मिडिया हो । हामी पत्रकारहरूलाई सघाउँछौँ । तिनीहरूमध्ये कोही विदेश भाग्नुप¥यो भने हामीले सहयोग गर्छौँ । अन्य देशमा तिनको अस्थायी बसोबासको प्रबन्ध हामी मिलाउँछौँ । हामीले विदेशमा नागरिक स्तरको पत्रकारितालाई पनि टेवा दिएका छौँ ।”
२) २०२१ को मे महिनामा बेलारुस सरकारले एथेन्सबाट लिथुवानिया गइरहेको ¥यानेयर विमान बीचमै रोक्यो । विमानमा चढेका दक्षिणपन्थी अभियन्ता रोमन प्रोतासेभिचलाई उसले पक्राउ ग¥यो । लगत्तै युरोपेली युनियन आयोगका अध्यक्षले प्रोतासेभिचलाई रिहा गर्न आह्वान गरे र लुकाशेन्को सरकारलाई हटाउने जोकोहीलाई ‘देश निर्माणका निम्ति’ ३ अर्ब ६७ करोड अमेरिकी डलर खर्च दिने सार्वजनिक घोषणा गरे । मानव अधिकारको मुद्दा उठाएर संरा अमेरिकाले बेलारुसमाथिको नाकाबन्दी झन् चर्कायो । उसले बेलारुस सरकारको गैरप्रजातान्त्रिक हर्कतको निन्दा ग¥यो र उसकै पछि लागेर पश्चिमा मिडियाले प्रोतासेभिचलाई बहादुर पत्रकारको रूपमा धुमधामले प्रचार गर्न थाले । जब कि अमेरिकाले सन् २०१३ मा बोलिभियाली राष्ट्रपति ते मोरालेस चढेको विमान जबर्जस्ती रोक्न लगाएको थियो । त्यो विमानमा मोरालेसले एडवर्ड स्नोडेनलाई शरण दिएको हुनसक्ने उसको आशङ्काले अन्त्यमा हावा खाएको थियो ।
प्रोतासेभिच खासमा एथेन्सबाट फर्केका थिए । त्यहाँ बेलारुसका विपक्षीहरूको बैठक थियो । बैठकमा स्वेतलानाका फोटोग्राफर प्रोतासेभिच थिए । उनको पृष्ठभूमि अझ रोचक छ । ‘रेडियो फ्री युरोप÷रेडियो लिबर्टी’ बाट उनले पत्रकारिता सुरु गरेका थिए । त्यस रेडियोको पुरानो नाम ‘रेडियो लिबरेसन फ्रम बोल्शेभिजम’ थियो । सोभियत सङ्घविरुद्ध मन्त्रयुद्धका लागि त्यो रेडियो सीआईएले खोलेको थियो । यसबाहेक उनले अमेरिका, पोल्यान्ड, नेदरल्यान्ड र लिथुआनियाबाट पैसा लिने ‘युरोपियन रेडियो फर बेलारुस’ र बेलामोभा, नेक्टाजस्ता पत्रिकाहरूमा पनि काम गरेका थिए । यसरी उनी ‘नेड’ अध्यक्ष गेर्शमानले भनेजस्ता पत्रकार थिए, एक प्रचार–योद्धा थिए ।
प्रोतासेभिच बेलारुसको दक्षिणपन्थी युवक सङ्गठनबाट राजनीतिमा होमिएका थिए । दोस्रो विश्वयुद्धताका नाजीहरूसँग मिलेमतो गरेका व्यक्तिहरूले युवाहरूलाई बन्दुक चलाउनेलगायत तालिम दिन्थे । युक्रेनमा मैदान विद्रोह हुँदा सन् २०१३ र २०१४ मा प्रोतासेभिच किभमै थिए । किभमा लेनिनको सालिक ढलाउने काममा उनले पनि सघाएका थिए । युक्रेनमा एजोभ भएझैँ बेलारुसमा पाहोनिया दस्ता छ । प्रोतासेभिच त्यसका प्रशंसक हुन् । युक्रेनमा छँदा उनले अतिवादी नवनाजी समूह एजोभको पत्रिका ‘ब्ल्याक सन’ मा काम गरेका थिए । त्यहाँबाट फर्केर उनले बेलारुसको प्रतिपक्षी पत्रिकामा सम्पादकको काम गरे । उनले पोल्यान्डबाट बेलारुसको सत्ता परिवर्तन गर्न प्रचारकको काम गर्ने स्तेपान स्वेतलोभसँगै काम गरे । उनको पत्रिका ‘बेल्सात’ ले डोनसब क्षेत्रमा हिंसा मच्चाइरहेको युक्रेनी सेनामा भर्ती हुन आह्वान गथ्र्यो । ‘बेल्सात’ रुस, बेलारुस र युक्रेनमा बस्ने रुसी भाषीहरूबीच प्रचारबाजी गर्ने पश्चिमाहरूको सशक्त माध्यम हो । यसरी पश्चिमाहरूले बेलारुसका ‘विभीषण’ लाई, एक नवनाजीलाई नायकको रूपमा प्रचार गर्दै छन् ।
स्वाधीनताको बाटो
अमेरिकी नेतृत्वको पश्चिमा साम्राज्यवाद रुसको सीमासम्म पुग्न चाहन्छ । यसखातिर उसले आसपासका देशहरूलाई सताइरहेको छ । बेलारुसका शासकहरूले यो कुरा ढिलो गरी बुझे । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्गठनमा गएर पनि बेलारुस पूर्णतः पश्चिमा विश्वकरणमा गएन, उसले निजीकरणलाई पूर्ण बढावा दिएन । त्यसैले उसले राजनीतिक स्वविवेक प्रयोग गर्न सक्यो । लुकाशेन्कासँग साम्राज्यवादीहरू रिसाउनुको सबैभन्दा ठूलो कारण सामाजिक सुरक्षामा उनको जोड हो । बेलारुसी अर्थतन्त्रको ढोका साम्राज्यवादीहरूको लुटपाटका लागि ह्वाङ्ग नपार्नु नै उनको कसुर हो । शक्ति राष्ट्रहरूबीचको सानो देश बेलारुसले आफ्नो सार्वभौमिकता जोगाएकोबाट नेपालले पनि सिक्नसक्छ । आत्मनिर्भर अर्थतन्त्रबाटै स्वाधीनताको ढोका खुल्छ । युक्रेन नबन्ने विकल्पहरू बाँकी छन् ।
सन्दर्भ सामग्री :
– एलन म्याकल्योड । युएस राइट्स बेलारुस ।
– बेन नोर्टन । युएस फन्डेड बेलारसियन रेजिम चेन्ज ।
– डिपार्टमेन्ट अफ स्टेट । युएस–बेलारुस रिलेसन्स ।
– विलियम एल्बरक्यु । बेलारुस सिक्स टु अमेन्ड इट्स कन्स्टिच्युसन ।
– एल्ला ल्युकाभेत्स । क्राइसिस इन बेलारुस ।
– ओएस झुराभ्स्काया । बेलारुस पार्टिसिपेसन्स इन नेटो प्रोग्राम ।
– विलियम बोएम । द नेसनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम ।

Leave a Reply

Your email address will not be published.