भर्खरै :

बिग्रिएको राजनीति र बिग्रिएका साथी !

बेलाबेलामा ‘हाइ प्रोफाइल’ बाट गरिएका वा त्यसमा ती गाँसिएका अनेक काण्ड, भ्रष्टाचार र अपराधहरू चर्चामा आउँछन् । त्यस सम्बन्धमा गठन गरिएका छानबिन समिति तथा दूधपानी छुट्याएर न्याय दिने जिम्मा पाएका अख्तियार र अदालतप्रति सर्वसाधारणको आशा पनि जाग्छ । तर, त्यस्ता काण्ड, भ्रष्टाचार र अपराधमा संलग्न व्यक्तिहरू जति ठूला भए उति नै कानुनबमोजिम सजाय होला भन्ने आसचाहिँ हामीले मान्नुपरेको छ । अनि, केही समय चर्चा र विरोध भएपछि बिस्तारै त्यस्ता घटनाहरू सामसुम हुने गरेका छन् । कुनै कुनै अपराधमा त सजाय भोगिदिनका लागि ‘निर्दोष अज्ञपराधी’ लाई समेत खडा गरेको पनि थाहा पाइयो । पछि झन् ठूला काण्ड, भ्रष्टाचार र अपराधहरू चर्चामा आएपछि, अघिका ‘ठूला’ स्वतः हराउँदा पनि रहेछन् ! हामी स्रोता, दर्शक र श्रमजीवी नेपाली जनताले यस्तै गजबका कष्टमय घटनाहरू सुनेरै दिन बिताउनुपरेको छ । पीडकलाई त हाइसन्चो छँदै छ ! पीडितलाई कति गा¥हो भएको होला !
यस क्रममा, पछिल्लो समयमा अदालतको एउटा भ्रष्टाचारका विषयमा न्यायाधीश र वकिलबीचको वार्ताको अडियो अहिले सर्वत्र चर्चाको विषय बन्न पुगेको छ । चर्चाले व्यापकता पाएपछि त्यसको छानबिनका लागि समिति पनि बनेछ ! यो प्रक्रिया कर्मकाण्डी नभई, भोलि वास्तविक प्रतिवेदन आएर दोषीलाई कारबाही होला भन्ने आस त कमै छ । यतिसम्म हुनुलाई नै ठूलो कुरो मान्नुपरेको छ । तर, यस आर्थिक वर्षको बजेट प्रस्तुत गर्दाताक यस्तै भ्रष्टाचारको जघन्य अपराध बहालवाला अर्थमन्त्रीबाटै भएको भन्नेबारेमा संलग्न मानिसको नामै सार्वजनिक भएको थियो । त्यसको छानबिन किन नगरिएको होला ! के गठबन्धन सरकार भनेको एकअर्काका अपराधीलाई जोगाउनको लागि हो ? कि लहरो तान्दा पहरो गर्जने भएपछि तैँ चुप मै चुप हुनुपर्छ ?
देखियो नि, हाम्रा ठूला राजनीतिक दल र तिनका नेताहरू भनेका जसरी पनि सत्तामा जाने, पालैपालो खाने र पदबाट बाहिरिनुपर्दा रुवाबासी गर्नमात्रै जान्ने रहेछन् ! समग्रमा भन्नुपर्दा, हाम्रो राजनीतिको रूप नै राष्ट्रघात, भ्रष्टाचार, धन, डन, गुण्डा, अराजकता र बिचौलिया मिलेर बनेको छ । तर, त्यसलाई अपवादबाहेक न्याय, कर्मचारीतन्त्र, सुरक्षा, पत्रकारिताले पनि साथी बनेर दिलोज्यान दिएको देख्दा भने अवस्था झनै असह्य र कष्टमय बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *