सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
गत साताको बिहीबार र शुक्रबार इन्डोनेसियाको बालीमा जी २० देशका विदेशमन्त्रीहरूको बैठक भयो । आगामी नोभेम्बर १५ र १६ मा बालीमै हुने जी २० देशहरूको शिखर सम्मेलनको तयारीमा चालु विविध गतिविधिमध्ये विदेश मन्त्रीहरूको बैठक पनि महत्वपूर्ण कार्यक्रम हो । बैठकसम्बन्धी औपचारिक वक्तव्यमा बैठकको मूल विषय ‘सँगै पुनःस्थापना, बलियो पुनःस्थापना’ रहेको जनाइएको छ । ‘विश्वव्यापी चुनौती समाधानको निम्ति बहुपक्षीय सहकार्य पुनःथाल्न संवादमार्फत थप सहकार्यको प्रवद्र्धन’ लाई बैठकको मूल लक्ष्य बताइएको छ ।
रूस–युक्रेन द्वन्द्वको कारण निम्तिएको विषम राजनीतिक परिस्थितिबीच विदेशमन्त्रीस्तरीय बैठक भएको छ । अहिले रूस–पश्चिमा देशबिचको द्वन्द्व नयाँ र अभूतपूर्व तहमा उकालो लागिरहेको छ । बालीमा रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पश्चिमा देशका समकक्षीहरूले बेवास्ता गर्ने कुचेष्टा गरे । तथापि, विदेशमन्त्रीहरूको बैठकमा रूस कति पनि एक्लिएन । लाभ्रोभले बाली बैठकको क्रममा चीन, मेक्सिको, दक्षिण अफ्रिका र ब्राजिलका साथै आमन्त्रित केही अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूसँग दुईपक्षीय भेटघाट गरे ।
बाली बैठक रूसबारे जी २० देशहरूको मतान्तरमा मात्र सीमित थिएन । पश्चिमा देशहरू यसपालिको बैठकमा शीतयुद्ध समाप्त भएयता सबभन्दा सङ्गठितरूपमा देखापरे । हालसालै भएका जी ७, उत्तर एटलान्टिक मोर्चा र युरोपेली सङ्घका सम्मेलनहरूले पनि पश्चिमा देशहरूबीच तालमेल गर्न मद्दत गरेको देखियो । बाली बैठकमा आउन पश्चिमा देशहरूबीच गृहकार्य भएको देखियो । जूलाई र नोभेम्बरमा हुने जी २० सम्बद्ध अन्य बैठकहरूमा पनि उनीहरूले आफ्ना रणनीतिक लक्ष्य अघि सार्न सक्रिय भूमिका खेल्नेछन् ।
पश्चिमा देशहरू जी २० लाई जी ७ अन्तर्गतकै स्वाभाविक बिस्तारित रूप बनाउन चाहन्छन् । त्यसकारण, जी ७ ले जी २० मा आबद्ध प्रभावशाली अन्तर्राष्ट्रिय खेलाडीहरूलाई समेट्न उदार प्रजातन्त्रलाई मूल मुद्दा बनाउन सक्छन् । त्यसो गरेर उनीहरूले जी २० का देशहरूमार्फत अन्तर्राष्ट्रिय समुदायमा व्यापक प्रभाव पार्न खोज्नेछन् । बैठकका लागि तोकिएका मुद्दा रूस–युक्रेन लडाइँमा मात्र सीमित छैन । कोभिडपछिको पुनःस्थापना, बहुपक्षीय क्षेत्रीय सङ्कट, स्रोत व्यवस्थापन, जलवायु परिवर्तन, विश्वव्यापी साझा मुद्दा आदि धेरै गम्भीर अन्तर्राष्ट्रिय मुद्दालाई बैठकको मुद्दामा समावेश गरिएको छ । यदि जी ७ ले फेरि पनि विगतमा जस्तो विश्व मामिलामा शासक र यदि जी २० ले शासितको भूमिका स्वीकारे संसार फेरि पनि बीसौँ शताब्दीको अन्त्यतिरको ढाँचामा फर्किनेछ । फेरि पनि संरा अमेरिका निर्णय निर्माणको सबभन्दा माथि रहने प्रणाली बन्नेछ । जी ७ का बाँकी देशहरू भने विश्व मामिलामा संरा अमेरिकाको सहायकको भूमिकामा सीमित रहनेछन् ।
तर, उनीहरूको यो योजना (चाहना) न विदेशमन्त्री स्तरीय बैठकमा साकार भयो न आगामी नोभेम्बरमा हुने जी २० को शिखर सम्मेलनमा हुनेछ । आजको संसार गएको शताब्दीको अन्त्यतिरको संसारभन्दा धेरै फरक भइसकेको छ । पश्चिम (वेस्ट) र त्यसबाहेकको संसार (रेस्ट) बीचको शक्ति सन्तुलन सोचिएभन्दा धेरै बाँकी संसार (रेस्ट) को पक्षमा गइसकेको छ । वास्तविकता के हो भने दुवै सङ्गठनका केही सदस्य देशहरू उही भए पनि जी २० न भूत न भविष्यतः जी ७ को विस्तारित रूप बन्न सक्छ । जी ७ भनेको मुख्यतः पश्चिमा प्रजातन्त्र मान्ने देशहरूको समूह हो । भारतलाई समेत त्यसको सदस्य बन्न आमन्त्रण गरिएको छ । जी २० भनेको संसारका प्रमुख अर्थतन्त्रको समावेशी र विविधतायुक्त समूह हो ।
जी २० को विविधतायुक्त संरचनाको कारण जी ७ वा अन्य कुनै पनि पश्चिमा सङ्गठन वा मञ्चजस्तो एकै थरीका सदस्य भएको (होमोजिनस) समूहमा जस्तो जी २० मा सजिलै सहमतिमा पुग्न सकिँदैन । तर, जी २० को वैधताको मूल स्रोत भनेको उसको विविधता हो । जी ७ र नाटो जस्ता सङ्गठनमा यस्तो विशेषताको कमी छ । विविधता र प्रतिनिधित्वमूलकता जी २० का सजिलै समाप्त गर्न नसकिने विशेषता हुन् । उदाहरणको लागि युक्रेनमा रूसको विशेष सैनिक कारबाहीप्रति जी २० भित्रका गैरपश्चिमा देशहरूका फरक फरक धारणा भए पनि जी २० समूहबाट रूसलाई निष्काशन गर्नु अथवा भ्लादिमिर पुटिनलाई बहिष्कार गर्नु खतरनाक नजिर हुनसक्ने कुरामा उनीहरू होसियार छन् । उनीहरू यस्तो नजिर बनाउन चाहँदैनन् ।
त्यही भएर जी २० ले मुख्यतः अन्तर्राष्ट्रिय सुरक्षाको मामिलामा आउन सक्ने विभाजनकारी र सम्भावित विस्फोटक मुद्दामा जोड दिने गरेको छैन । बरू विश्व अर्थतन्त्र र वित्तका एकीकृत मुद्दालाई जोड दिने गरेको छ । खासमा जी २० सन् २००८–२००९ को विश्व आर्थिक सङ्कटको समयमा विश्व राजनीतिमा पदार्पण गरेको सङ्गठन हो । प्रतिकूल परिस्थितिमा यस्ता प्राथमिकताको संवद्र्धन गर्नुपर्छ । हो, आज सुरक्षा र विकासलाई एकआपसबाट अलग गर्न सकिन्न । तर, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई विस्थापित गर्नुको सट्टा जी २० मा मिलेर काम गर्नु नै आजको सन्दर्भमा बढी तर्कसङ्गत र परिणाममूलक हुनसक्छ ।
अन्तर्राष्ट्रिय विकासको सन्दर्भमा जी ७ जी २० को लागि नवीन विचारको महत्वपूर्ण स्रोत हुनसक्छ । साङ्घाई सहकार्य सङ्गठन, ब्रिक्स, एपेक र अन्य उस्तै प्रकृतिका धेरै सङ्गठनबाट पनि यो आवश्यकता पूरा गर्न सकिन्छ । पश्चिमा देशहरूले जी ७ को पक्षपातपूर्ण सोचाइ जी २० जस्तो समावेशी दबुमा लाद्न खोज्नुभन्दा व्यापार, लगानी, अन्तर्राष्ट्रिय सहायता र अन्य विषयमा आपसी सह अनुकूलताको बाटो रोज्नु उपयुक्त हुनसक्छ । पश्चिम र बाँकी संसारबिच गम्भीर असहमतिबिच साझा मिलनबिन्दुमा पुग्नु उपयुक्त हुन्छ । विदेशमन्त्री स्तरीय बैठकको क्रममा चीनका विदेशमन्त्री वाङ यी र संरा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिनकेनबिच दुईपक्षीय बैठकको आयोजना सकारात्मक सङ्केत हो । चीनसँग संरा अमेरिका लामो समय शत्रुतापूर्ण सम्बन्धमा रहन नसक्ने कुराको यो सङ्केत हुनसक्छ । यो बैठक संरा अमेरिकाले ‘इतिहासमा आफू नै सही भएको’ जिद्दी र रूससँग रणनीतिक साझेदारीको परित्यागमा मात्र सीमित हुनु हुँदैन ।
(लेखक रूसी अन्तर्राष्ट्रिय मामिला परिषद्का महानिर्देशक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
अनुवाद : नीरज
Leave a Reply