भर्खरै :

त्रिविको लापरबाही अन्त गर्न नेक्राविसङ्घको माग

काठमाडौँ । प्रश्नपत्रको सन्दर्भमा नेपालको सबभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा भएको पछिल्लो लापरबाहीको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले असार २७ गते सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिमा दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिको सम्पादित विवरण यसप्रकार छ –
व्यवस्थापन सङ्काय डीन कार्यालयअन्तर्गत सञ्चालन हुने बीबीए कार्यक्रमको छैटौँ सत्रान्तको बोर्ड परीक्षाको २०७९ असार २२ गतेको ‘संस्थागत व्यवहार’ र २५ गतेको ‘नेपाली समाज र राजनीति’ विषयको प्रश्नपत्र निजी तथा अन्य क्याम्पसको आन्तरिक परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्नु त्रिविको गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।
त्रिविको यस किसिमको लापरबाही यो नै पहिलो होइन । यसभन्दा अगाडि स्नातकोत्तरको ‘सार्वजनिक अर्थशास्त्र’ र ‘अन्तर्राष्ट्रिय राजनीति’ को तेस्रो सत्रान्तको परीक्षाको प्रश्नपत्र पनि हुबहु मिलेको थियो । विश्वविद्यालयमा भइरहेको राजनीतिक भागबन्डाका कारण नै यस्तो विकृति देखिएको हो ।
विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले निजी क्याम्पसहरूमा लगानी गरेकैले परीक्षाको मर्यादाविपरीत यसप्रकार गोपनीयता भङ्ग भएको हो । त्रिविका आङ्गिक तथा सामुदायिक क्याम्पसलाई लथालिङ्ग बनाई निजीकरणलाई बढावा दिने दुष्प्रयास त्रिविकै प्राध्यापक र कर्मचारीबाट भएको हो ।
वार्षिक तथा अन्य कार्यक्रमको परीक्षाफल वर्षौँसम्म पनि प्रकाशित नगर्नु विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नु हो । विभिन्न प्रमाणपत्रमा नाम, रजिस्टे«सन नम्बर तथा सिम्बोल नम्बर नमिल्नाले विद्यार्थीले अनावश्यक झन्झट व्यहोरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयमा भइरहेको लापरबाहीले विद्यार्थीमा विश्वविद्यालयप्रति विश्वास घटेको छ । यसले गर्दा विद्यार्थीहरू महँगो शुल्क तिरेर अध्ययनका लागि विदेश जाँदै छन् । यसले देशको अर्थव्यवस्थालाई नै घाटा भइरहेको छ ।
नेक्राविसङ्घ यस किसिमको गैरजिम्मेवारी तथा लापरबाहीको भत्र्सना एवम् विरोध गर्दछ । सत्यतथ्य छानबिन गरी यथाशीघ्र दोषीमाथि हदैसम्मको कारबाही गर्न नेक्राविसङ्घ माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *