भर्खरै :

सबैलाई एउटै दृष्टिले हेर्नु गलत हुने

सबैलाई एउटै दृष्टिले हेर्नु गलत हुने

समाजमा शत्रु र मित्र हुन्छन् । त्यस्तै असल, खराब, गुणी– बैगुणी, सही – गलत, इमान–बेइमान, दूरदर्शी – अदूरदर्शी, देशभक्त–देशघाती, सफल – असफल, योग्य – अयोग्य पनि हुन्छन् । कुनै कम्युनिस्ट पार्टीले गलत काम गर्दैमा, कुनै पार्टीको सिद्धान्त र विचार खोटो हुँदैमा, कुनै पार्टीले सिद्धान्त र विचारलाई व्यवहारमा लागु नगर्दैमा सबै कम्युनिस्ट पार्टीलाई त्यही दृष्टिले हेर्नु सही हुँदैन । दलको मार्ग निर्देशक सिद्धान्त र विचारअनुसार काम गर्ने कम्युनिस्ट पार्टी पनि हुन्छ । तर, समाजमा आफूलाई बुद्धिजीवी, राजनीतिक विश्लेषक भन्ने कति मानिसहरू ठूला दलले गल्ती गरेपछि, ठूला दलले सिद्धान्तअनुसार काम नगरेपछि सबैलाई त्यही दृष्टिले हेरेर भूल गर्छन् । एमाले, माओवादी र एकीकृत समाजवादीले बिगारेका दोष अरु दलमाथि खन्याउन मिल्दैन ।
सहकारी संस्थालाई पनि त्यसरी नै हेर्नुपर्छ । हो, अहिले टोल – टोलमा सहकारी संस्था खोलेका छन् । यहाँ समुदायमा आधारित सहकारी संस्थाहरू छन्, व्यक्ति या केही व्यक्तिहरूको अन्तर्गत चलेका सहकारी संस्थाहरू पनि छन् । इमानदारीपूर्वक चलाउने सहकारी पनि छन्, धोका दिएर पैसा पोको पारेर भाग्ने सहकारी संस्था पनि छन् । कुनै सहकारी प्रबन्धक, व्यवस्थापक या कसैले बेइमान गरे भनेर, पैसा पोको पारेर भागे भनेर सबै सहकारीलाई त्यही दृष्टिले हेर्नु मनासिब हुँदैन । धोका दिएर, पैसा लिएर भागेका सहकारीका कुनै पनि व्यक्तिलाई कारबाही गर्नुपर्छ र क्षतिपूर्ति दिलाउनुपर्छ । धोका दिएर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउनेहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ, कारबाही गर्ने व्यवस्था गर्नुपर्छ । यसै सन्दर्भमा बुधबार प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ दैनिकमा ‘सहकारीले डुबाइसक्यो सर्वसाधारणको अरर्बौँ’ शीर्षकको समाचार छापियो ।
समाचारमा कुलेश्वरस्थित गौतम बहुद्देश्यीय सहकारी संस्थाको निक्षेपकर्ताको साढे ५ अर्बभन्दा बढी डुबेर संस्थाका १ हजार ७५ जना सदस्यले डेढ अर्बभन्दा बढी निक्षेपकर्ता नपाएको उल्लेख छ । चन्द्रागिरिको बलम्बुस्थित प्रज्ञान बचत तथा ऋण सहकारी संस्थामा १७ करोड ९४ लाख ७६ हजार रूपैयाँ हिनामिना भएको भन्दै सम्बन्धित केही पदाधिकारीहरू पक्राउमा छन् । ललितपुरको बहुद्देश्यीय सहकारी संस्थाले जथाभावी लगानी गरेको कारण डुबेको छ । डिल्ली बजारस्थित स्मृति बहुद्देश्यीय सहकारी संस्था केही सञ्चालकहरू सम्पर्कविहीन भएको कारण सदस्यहरू चिन्तित छन् ।
हरेक सहकारी संस्थाका सदस्यहरू सचेत हुनुपर्छ । सहकारी संस्थाका सञ्चालकहरू कहाँका हुन्, ती संस्थाहरू कुन उद्देश्यले सञ्चालित छन्, त्यो बुझ्नैपर्छ । सहकारीको नियमन फितलो हुनुहुँदैन । सहकारीमा हुने ठगीधन्दाबारे सदस्यहरूमात्र होइन स्थानीय तह, प्रदेश र केन्द्र पनि सचेत हुनुपर्छ । संस्थाको उद्देश्यअनुसार चलेको छ कि छैन, खोजीनीति भइरहनुपर्छ । तर, केही संस्थाले बेइमान गरे, धोका दिए, सञ्चालकहरू भागे भनेर सहकारी संस्था नै आवश्यक छैन, सहकारी संस्था खोल्नु हुँदैन भन्नु या हतोत्साही गर्नु ठीक हुँदैन । जनताको विश्वास जित्ने सहकारी संस्था धेरै छन् । टोल – टोलमा सहकारी संस्था आएपछि स्थानीयलाई रकम बचत गर्न, आवश्यकताअनुसार पैसा झिक्न सजिलो भएको छ । सहकारी संस्थाप्रति जनताको विश्वास बढ्दै गएको छ । बैङ्क तथा वित्तीय संस्थाहरू सहकारी संस्था खोलेको या बढेको हेर्न चाहँदैनन् । त्यही कारण कहिलेकाहीँ राज्यले सहकारी संस्थालाई हतोत्साही बनाउने ऐन कानुन पनि बनाउने गरेको पाइन्छ । यो गलत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *