भर्खरै :

कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्

कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्

कम्युनिस्टहरू देशभक्तमात्र होइन अन्तर्राष्ट्रवादी हुन्छन् । उनीहरू कुनै पनि देशमा हुने जनताको न्यायपूर्ण आन्दोलनमा समर्थन गर्छन् र ऐक्यबद्धता जनाउँछन् । कम्युनिस्टहरू पुँजीवाद, सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको विरोध गर्छन् । कम्युनिस्टहरू साम्राज्यवादविरोधी सङ्घर्षको समर्थन गर्छन्, जनताको स्वतन्त्रता र मुक्ति आन्दोलनको समर्थन गर्छन् । जनताको समाजवाद ल्याउन सङ्घर्ष गर्ने कम्युनिस्टहरूले विस्तारवाद र साम्राज्यवादको विरोध गरेनन् भने त्यसभित्र कुनै गुह्य कुरा रहेको थाहा हुन्छ । साम्राज्यवाद र साम्राज्यवादी तत्वहरूको विरोध नगर्नुको कारण तिनीहरूकै आशीर्वादमा देशको शासन सत्ता टिकाउने, सत्तामा रहिरहने, आर्थिक लाभ हासिल गर्ने आदि हुनसक्छ । नेकाको नेतृत्वमा रहेको वर्तमान गठबन्धन सरकारले रुस–युक्रेन द्वन्द्वमा युक्रेनको पक्षमा मतदान गरेर साम्राज्यवादी देश अमेरिका र नेटो देशहरूको समर्थन ग¥यो । यो देशको परराष्ट्र नीतिविपरीत छ । यो सरकारको अपरिपक्वताको दृष्टान्त हो ।
देशका ठूला कम्युनिस्ट पार्टी भनिने सत्तासीन पार्टीहरूले देशमा संसदीय र शान्तिपूर्ण सङ्घर्ष गरेर समाजवाद ल्याउने कुरा फलाक्दै छन् । माक्र्सवाद, लेनिनवादलाई मार्गनिर्देशक मान्ने कम्युनिस्ट पार्टीका नेताहरू त्यही सिद्धान्त र विचार छोडेर पुँजीपति वर्गको पक्षपोषण गर्दै छन्, विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको हितमा जुट्दै छन् । पुँजीवादी देशहरू भारत र अमेरिकाले नेपालमा कहिले पनि कम्युनिस्टहरूलाई बलियो बनाउँदैनन् न देशका सामन्त र पुँजीपतिहरू नै कम्युनिस्ट पार्टीलाई बलियो बनाउँछन् । माओवादी केन्द्र र एकीकृत समाजवादी नेकाको सरकारमा सामेल हुनु नै कम्युनिस्ट सिद्धान्त र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउनु हो, कम्युनिस्ट आन्दोलनलाई दिशाहीन बनाउनु हो । पुँजीवादी, सामन्तवादी र साम्राज्यवादीहरू कम्युनिस्ट पार्टीलाई ‘विदेशीवाद’ ठान्छन्, विदेशी विचार मानेको बताउँछन् या विदेशको नक्कल गरेको बताउँछन् ।
कम्युनिस्टहरू कहिल्यै अन्ध समर्थन र अन्ध नक्कल गर्दैनन् । आफ्नो देशको माटो सुहाउँदो मिल्ने कुरा अरूबाट सिक्नुपर्छ । प्रतिक्रियावादी सङ्घसंस्थाभित्र पसेर जनताको सेवा गर्नुपर्छ । जनताको सेवा गर्ने कुरा अन्ध नक्कल होइन । नलडी अधिकार नपाउने कुरा यथार्थ हो । शोषक र शोषितबीच वर्गसङ्घर्ष हुन्छ । तर, नेपालका सत्तासीन र ठूला भनिएका कम्युनिस्ट पार्टीहरूको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद विधानमा मात्र सीमित छ । उनीहरूले त्यस सिद्धान्तलाई व्यवहारमा ल्याएनन्, ल्याउने कोसिस नै गरेनन् । यसकारण, ती दलहरू कम्युनिस्ट सिद्धान्त र विचारअनुसार नचलेको पार्टी हो भन्ने मान्यता नेमकिपाको हो । उनीहरू कम्युनिस्टको आचरणअनुसार लागिरहेका छैनन् । ती दलका नेताहरूले कम्युनिस्ट भनी नाउँ राख्नुको कारण जनतालाई झुक्याएर निर्वाचनमा मत लिनमात्र रहेछ भन्ने कुरा प्रस्ट हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *