भर्खरै :

पानीमुनि पाकिस्तान

पानीमुनि पाकिस्तान

पाकिस्तानीहरू प्राकृतिक विपत्तिसँग परिचित छन् । उनीहरूले सन् २००५, २०१३ र २०१५ मा ठूल्ठूला भूकम्पहरू भोगे । सन् २०१० मा उनीहरूले भयानक बाढीको सामना गरे । तर, यो गर्मीमा उनीहरूले भोगेको कहरले पहिलेका सबै दुःखलाई फिक्का बनायो । सुरुमा त्यहाँको तापक्रम अचाक्ली बढ्यो । त्यसपछि पाकिस्तानले राजनीतिक अस्थिरता देख्यो । लगत्तै त्यहाँ अकल्पनीय बाढी गयो ।
पाकिस्तानमा जनअसन्तोष चर्किँदै छ । पाकिस्तान मजदुर किसान पार्टीका महासचिव तैमुर रहमानले ‘पिपल्स डिसप्याच’ लाई भने अनुसार सन् २०१० को बाढीपछि जनता आक्रोशित थिए । नदीमा भेल आए त्यसलाई कसरी नियन्त्रण गर्ने भनी सरकारले तयारी नगरेको जनगुनासो थियो । सन् २०१० भन्दा अघि राहत कोषको रकम भ्रष्ट नेता र हुनेखानेहरूले हजम गर्दै आएका थिए । यी कुरा जनताले बिर्सेका छैनन् । विपत्तिसम्बन्धी उद्योगहरूको साँठगाँठ बढ्यो कि भ्रष्टाचार बढ्ने गरेको जनताले बुझेका छन् ।

के पाकिस्तानको बाढी ‘प्राकृतिक’ हो ?
अगस्टको अन्तिम साता एकतिहाइ पाकिस्तानी भूभाग बाढीले जलमग्न भयो । भूउपग्रहबाट प्राप्त तस्बीर अनुसार नदीको पानी सिन्धुबाट उर्लेर बाहिर गएको देखिन्छ । दुई प्रमुख प्रान्त बलुचिस्तान र सिन्धका धेरै भूभाग जलाम्य भए । २०२२ अगस्ट ३० मा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसलाई ‘मनसुनी भेल’ भने किनभने भारी वर्षाले १ हजारभन्दा बढी मानिसहरूको ज्यान लियो र झन्डै ३ करोड ३३ लाख मानिसहरूलाई घरबारविहीन बनायो । स्थिति कष्टप्रद छ । विस्थापित मानिसहरूले तत्कालीन र दीर्घकालीन खतरा भोग्नुपर्नेछ । मानिसहरू सडक आदि उच्च स्थलहरूमा पाल टाँगेर बसेका छन् । उनीहरू भोक र सरुवा रोगको सिकार हुने खतरा छ । अर्कोतिर, (कपास र उखुका) खेतबारी र पशुधन गुमाएका मानिसहरू टाट पल्टिने निश्चित छ । १० अर्ब डलरभन्दा बढीको क्षति पुगेको पाकिस्तानी योजनामन्त्री अहसन इक्बालको अनुमान छ ।
झट्ट हेर्दा पहिले आएका वर्षाभन्दा ठूलो वर्षापातका कारण बाढी आएको देखिन्छ । अप्रिल र मे महिनामा पाकिस्तानमा उखर्माउलो गर्मी भयो । तापक्रमले ४० डिग्री नाघ्यो । जलवायु परिवर्तनका पूर्वमन्त्री मलिक अमिन अस्लमका अनुसार पाकिस्तान ‘पृथ्वीकै सबैभन्दा तातो स्थान’ बन्यो । यो असामान्य तापक्रमका कारण पाकिस्तानका उत्तरी हिमनदीहरू भकाभक पग्लिन थाले । त्यही पानी भारी वर्षामा मिसियो । तीन वर्षयता यस भेगमा जाडो याम तुलनात्मक रूपमा तातो रहे । साथै, कार्बनमा आधारित विश्वव्यापी पुँजीवादले बढाएको जलवायु परिवर्तनका असरहरू थपिएर हिमनदी पगालिरहे ।
तर पाकिस्तानी बाढीको मुख्य कारण मौसमी गडबडी मात्र होइन । पाकिस्तानमा भइरहेको अनियन्त्रित वनफँडानी र पानी रोक्ने बाँध, तटबन्ध र अन्य नहरहरूको खस्किँदो अवस्था पनि यसमा उत्तिकै दोषी छ । सन् २०१९ मा विश्व बैंकले जनाए अनुसार पाकिस्तान ‘हरित आपतकाल’ मा छ । किनभने, प्रतिवर्ष झन्डै २७ हजार हेक्टर जमिनको वन फँडानी भइरहेको छ । यसले गर्दा जमिनले पानी सोस्न पाएको छैन ।
साथै बाँध र नहरहरूमा लगानी घट्नाले पनि ठूलो मात्रामा पानीलाई नियन्त्रण गर्न गाह्रो भएको हो । बाँध र नहरहरूमा धेरै गेग्रान जमेको छ । यी बाँध, नहर र जलाशयमा सुकुर बाँध महत्वपूर्ण छ । यसप्रकारको यो विश्वकै सबैभन्दा ठूलो सिँचाइ प्रणाली मानिन्छ । यसले सिन्धु नदीको पानीलाई सिन्ध प्रान्तभरि फैलाउँछ । त्यस्तै मंगला र तेरबेला जलाशयले राजधानी इस्लामाबादतिर जानबाट नदीलाई मोड्छ । तर, अवैध घरबास कारोबारीहरूले नदीकिनारमा निर्माण गरेका घरहरूले विनासलीलालाई झन् चर्को तुल्याएका हुन् ।
यी बाढीमा ईश्वरको हात छैन । पुँजीवादले जलवायु विनाशको सङ्कट चर्को पा¥यो र पाकिस्ताको जल, जमिन र जङ्गल व्यवस्थापनमा खेलाँची ग¥यो । प्रकृतिले बाढीमार्फत् सोही सङ्कटलाई उदाङ्गो पारेको मात्र हो ।

पाकिस्तानका तत्कालीन सङ्कटहरू के हुन् ?
पाकिस्तान अहिले विभिन्न समस्याले ग्रस्त छ । बाढीले ती समस्याहरू सतहमा ल्याएको छ । बाढी आउनुअघि ५४ प्रतिशत जनताले महँगीलाई आफ्नो प्रमुख समस्या मानेको मे महिनामा गरिएका केही सर्वेक्षणहरूले देखाए । अगस्टसम्म आइपुग्दा पाकिस्तानको तथ्याङ्क विभागले जारी मालसामानको मूल्य सूचकाङ्क ४१.२ प्रतिशत बढेको जनायो । (यस सूचकाङ्कले वस्तुको औसत मूल्यमा हुने उतारचढाव जनाउँछ ।) जब कि त्यसबेलासम्म वार्षिक मुद्रास्फीति २७ प्रतिशत थियो । विश्वभरि मुद्रास्फीति बढ्दै छ र बाढीले १० अर्ब अमेरिकी डलरबराबरको क्षति पु¥याएको हिसाब छ । तैपनि अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई केवल १ अर्ब १० करोड अमेरिकी डलरबराबरको सहयोग गर्ने वचन दियो । यस सहयोगका लागि सार्वजनिक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने सर्तहरू राखेर मुद्राकोषले पाकिस्तानलाई ‘समझदार मौद्रिक नीति’ अवलम्बन गर्न भनेको छ । देशको कृषितन्त्र भद्रगोल भएका बेला पाकिस्तानसामु ‘खर्च कटौती’ गर्नुपर्ने सर्त थोपरेर मुद्राकोषले आफ्नो आपराधिक अनुहार देखाएको छ । सन् १९४३ मा बङ्गालमा अकाल हुँदा समेत भारतबाट गहुँ निर्यात जारी राखेर बेलायती उपनिवेशवादले जे गरेको थियो त्यही काम मुद्राकोष गर्दै छ । सन् २०२१ को विश्व भोक तथ्याङ्कले भोक सङ्कटबाट गुज्रिरहेका ११६ वटा देशहरूमध्ये पाकिस्तानलाई ९२ औँ स्थानमा राखेको थियो । यसको अर्थ बाढी आउनुभन्दा अगाडि नै पाकिस्तानको स्थिति गम्भीर थियो । पाकिस्तानको कुनै पनि पुँजीवादी पार्टीले यी कुरालाई मनमा लिएन । अलिअलि गर्दै आर्थिक सङ्कटबाट पार पाउने सपना देखे ।
यसले पाकिस्तानी सङ्कटको झलक दिन्छ । सन् १९४७ मा बेलायतबाट स्वतन्त्रता पाएयता पाकिस्तानले ३१ जना प्रधानमन्त्रीहरू पायो । २०२२ अप्रिलमा तीसौँ प्रम इमरान खानलाई हटाएर वर्तमान प्रम शेहबाज शरिफले सत्ता सम्हाले । खानमाथि आतङ्कवाद र अदालतको अवहेलना गरेको आरोप लगाइयो । रुससँग नजिकिएको भनेर वासिङटनको खटनपटनमा उनलाई सत्ताच्यूत गरिएको थियो । खानको पाकिस्तान तारिक–ए–इन्साफ (पीटीआई वा न्याय पार्टी) ले सन् २०१८ को निर्वाचनमा बहुमत पाएको थिएन । त्यसैले त्यसको गठबन्धन सरकार आफैमा कमजोर थियो, मुठ्ठीभर सांसदहरूको हातमा थियो । विपक्षीहरूले त्यसै गरे । सांसदहरू यताउता पारेर उनीहरूले सत्तालाई चुनौती दिए । जनताको कुरै नसुनी सत्तापलट भयो । सत्ताबाट हटेयता इमरान खान र उनको पार्टीले पाकिस्तानमा लोकप्रियता कमाएको छ । कराँची र पञ्जाबमा जुलाई भएको उपनिर्वाचनको मतपरिणाम अनुसार उनको पार्टीले २० मध्ये १५ मत प्राप्त गरेको छ । बाढीपीडितहरूलाई राहत दिने मामिलामा ढिलासुस्ती देखाएकोले शरिफको सरकारविरुद्ध जनअसन्तोष बढ्दै छ । योसँगै राजनीतिक सङ्कट झन् गहिरिनेछ ।

गरिहाल्नुपर्ने के–के हो ?
पाकिस्तानले ‘जलवायु परिवर्तनको’ असर भोग्दै छ । पाकिस्तानको जनसङ्ख्या २३ करोड बढी छ । विश्व हरितगृह ग्यास उत्सर्जनमा उसको हिस्सा मात्र १ प्रतिशत छ । तैपनि जलवायु जोखिमका दृष्टिले ऊ विश्वमै आठौँ स्थानमा छ । पृथ्वीको जलवायु विनाशमा पश्चिमा पुँजीवादी देशहरूले आफ्नो भूमिका अझै स्वीकारेका छैनन् । यसले गर्दा निम्न उत्सर्जन गरेका पाकिस्तानजस्ता देशहरूले अहिले नै तीव्र जलवायु परिवर्तनको मार खेप्दै छन् । पश्चिमा पुँजीवादी देशहरूले कम्तीमा ‘विश्व जलवायु रोकथाम नीति’ मा पूर्ण सहमति जनाउनुपर्छ ।
मजदुर किसान पार्टीजस्ता वामपन्थी र प्रगतिशील शक्तिहरूले पाकिस्तानका चार प्रान्तहरूमा बाढीपीडितहरूलाई राहत वितरण गर्ने सङ्गठित अभियान चलाउँदै छन् । खासगरी गाउँले इलाकामा भोकसँग जुधिरहेका गरिबहरूबीच उनीहरू पुगिरहेका छन् । पाकिस्तानका वामपन्थीहरू महँगी र सामाजिक सुरक्षामा खर्च कटौती रोक्न सरकारसँग माग गर्दै छन् । यति नगरे पाकिस्तानमा मानवीय सङ्कट चर्किने उनीहरूको चेतावनी छ ।
सन् १९७० को गर्मीयाममा बालुचिस्तानको पहाडी क्षेत्रमा गएको बाढीले ठूलो क्षति पु¥यायो । त्यसको केही महिनापछि आम निर्वाचन भयो । पाकिस्तानी कवि गुलखान नसीरले राष्ट्रिय अवामी दलको तर्फबाट बलुचिस्तानको प्रान्तीय सभामा एक सिट जिते । त्यसपछि उनी शिक्षा, स्वास्थ्य, सूचना, सामाजिक कल्याण र पर्यटन मन्त्री बने । गुलखान नसीरले बालुच जनताको सामाजिक क्षमता बढाउनका लागि आफ्नो माक्र्सवादी विचारलाई कार्यरूप दिए । प्रान्तीय राजधानी क्वेटामा उनले बालुचिस्तानकै पहिलो मेडिकल स्कुल स्थापना गरे । यो देखेर विरोधीहरूले गैरप्रजातान्त्रिक विधिबाट नसीरलाई हटाए र जेलमा कोचे । उनी जेलको हावापानीमा अभ्यस्त भए । त्यहाँ उनले ‘दिमा कदम’ (‘अघि लम्क’) बोलको गीत रचे । आज पचास वर्षपछि त्यो गीतले उनको देशको युगीन सत्य बोलिरहेको छ ः
शिरमाथिको तिम्रो आकाश
क्रोधकम्पित आक्रोशित हुँदा
आँधीहुरी, गडगड झरी पर्दा
रात चुकझैँ निस्पट्ट हुन्छ
भूमि आगोझैँ उतप्त हुन्छ
समय पशुझैँ बर्बर बन्छ
तर तिम्रो लक्ष्य अटल रहन्छ ः
लम्क लम्क, अघि लम्क ।
(‘द ट्राइकन्टिनेन्टल’ बाट ।)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *