भर्खरै :

असमान सन्धि सम्झौता खारेज गराउनु आवश्यक

असमान सन्धि सम्झौता खारेज गराउनु आवश्यक

भारतले नेपाली भूमि मिच्ने काम छोडेको छैन । नेपाली भूमि कालापानीबाट भारतीय सेना फर्काइएको छैन । लिपुलेक र लिम्पियाधुरामा पनि भारतले आफ्नो दाबी छोडेको छैन । नेपाल–भारतको सीमा विवाद यथावत छ । भारतीय पक्षले नेपाली भूमि मिचेको भारत सरकारलाई राम्ररी थाहा छ । नेपाली भूमि मिच्ने, नेपाली उठिवास गर्ने काम यथावत छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाउने काम पनि छोडेको छैन । यसले गर्दा नेपाली भूमि डुवानमा परेको छ, खेतीपातीमा असर परेको छ । घर–गोठ बगाइएको हुन्छ । धन–जनको ठूलो नास भएको छ । नेपाल र नेपालीले यो लामो समयदेखि भोग्दै आएको समस्या हो । यसबारे भारतीय सरकार मौन छ । समस्या समाधान गर्नेतर्फ भारतले बोलेको छैन । यो भारतको बल मिचाइ हो, ठूलो देश या शक्तिको अहङ्कार हो ।
यही सन्दर्भमा अहिले नेपाल–भारत परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ता मङ्गलबार हुँदै छ । उक्त वार्तामा नेपाली टोलीले भारतले अतिक्रमित गरिरहेको सबै कुरा भारतीय टोलीसमक्ष बताउनुपर्छ । देशको राष्ट्रिय सवाल या स्वाधीनता र सार्वभौमिकताको सवालमा नेपाली पक्षले बोल्नैपर्छ । यो वार्तामा देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाबारे नेपाली टोलीले बोल्नैपर्छ । नेपालको भूमि फिर्ता लिन, कालापानीबाट भारतीय सेना फर्काउन र चुच्चे नक्सा व्यवहारमा लागु गर्न नेपाल सरकारले चासो राख्नैपर्छ । यसको पहल भारतले गर्दैन, नेपालले नै गर्नुपर्छ । भारतीय पक्षले पूर्व मेचीदेखि पच्छिम महाकालीको साँधमा कहाँकहाँ भूमि मिचेको छ त्यसको सबै तथ्य सत्य कुरा भन्नुपर्छ । मिचिएको भूमि नेपाल फिर्ता लिने प्रयास गर्नुपर्छ । यसमा नेपाली पक्ष चुक्नु हुँदैन ।
नेपालले २०७७ जेठ ७ मा लिम्पियाधुरासम्मको भूमि समेटेर चुच्चे नक्सा बनाएको थियो । चुच्चे नक्सा त बन्यो । तर, भारतले नेपालको त्यो दाबीलाई छोडेको छैन । यो भारतको बल मिचाइ हो । यसमा भारतले मनन गरेर अतिक्रमित भूमि छोड्नुपर्छ, भारतीय सेना फर्काउनुपर्छ र लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिमा भारतीय दाबी छोड्नुपर्छ । यो काम भारत सरकार आफैले सोचेर गर्नुपर्ने हो । तर, भारतको यतातर्फ ध्यान गएको देखिँदैन । मिचिसकेको जग्गा कसरी छोड्ने भनेर पछि हट्ने काम प्रजातान्त्रिक देश भारतलाई सुहाउँदैन । नेपाली भूमि छोड्नुपर्ला भनेर अलमल्याइराख्ने होइन । नेपाली भूमि कालापानीमा रहेका भारतीय सेना फर्काउने काम भारतको हो, त्यो काम भारतले गर्नुपर्छ ।
नेपाल–भारतबीच भएका सबै असमान सन्धिहरू खारेज गर्नुपर्छ । कालापानीबाट भारतीय सेना फर्काउनुपर्छ । लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको चुच्चे नक्सामा भारतको दाबी छोड्नुपर्छ । भारतीय एकाधिकार पुँजीको बाटो छोड्नुपर्छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भएका नेपाल–भारत सीमामा बनेका सबै बाँध तथा तटबन्ध भत्काउनुपर्छ । सरकार ढाल्ने र टिकाउने भारतको दबाब रोक्नुपर्छ । नेपाललाई व्यवहारमै मित्रवत् व्यवहार गर्नुपर्छ । नेपाललाई दूरगामी असर पर्ने कुनै पनि काम गर्न र गराउने काम भारतले रोक्नुपर्छ । भारत सरकारले यस्ता कामहरू गरेमा भारत नेपालको छिमेकीमात्र होइन मित्रवत् र असल देश बन्ने छ । अनि दुई देशबीचको सम्बन्ध अझ मजबुत र प्रगाढ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *