भर्खरै :

सयौँ अफगानीको रिहाइका लागि तालिबान र पाकिस्तानबीच वार्ता

काबुल, २६ भदौ (एएनआई) । कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगानीलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता गरिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगानी शरणार्थीको लागि आश्रयस्थल बनेको छ । “पाकिस्तान अफगानीहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानीहरू छन्,” रिपोर्टमा भनिएको छ ।
सन् २०२१ को अन्त्यसम्ममा एक लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा रहेका छन् । तीमध्ये पाकिस्तानमा एक लाख आठ हजार, ताजिकिस्तानमा दुई हजार ७०० र इरानमा २७ हजार ८०० व्यक्ति शरणार्थीका रूपमा आश्रय लिँदै आएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादस्थित अफगान दूतावासका अधिकारीहरूले पाकिस्तानी अधिकारीहरूसँग पाकिस्तानी प्रहरीले हिरासतमा लिएका करिब ३०० अफगानीहरूको रिहाइका लागि छलफल गरिरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयका उपप्रवक्ता हाफिज जिया अहमद टकलले एक भिडियोमा अफगान दूतावासको प्रयासका कारण केही बन्दीलाई मुक्त गरिएको बताएका छन् । तैपनि बाँकी कैदीलाई जरिवाना तिरेर छाडिनेछ । उहाँले भन्नुभयो, “तीमध्ये केहीलाई रिहा गरिएको छ र अरुलाई प्रक्रिया पु¥याएर छिट्टै रिहा गर्ने निर्णय हुनेछ ।”
पाकिस्तानी प्रहरीले महिला र बालबालिकासहित करिब ३०० अफगानीलाई पक्राउ गरेको टोलो न्यूजले जनाएको छ । पाकिस्तानको कराँचीमा रहेका केही अफगानी शरणार्थीले आफ्नो परिवारका धेरै सदस्यलाई पाकिस्तानी प्रहरीले महिनौंदेखि हिरासतमा राखेको भन्दै आफ्नो अवस्थाप्रति निराशा व्यक्त गरेका छन् । उनीहरूले कानुनी कागजात नभएको कारण अदालतले उनीहरूलाई जरिवाना गरेको तर अहिले जरिवाना तिर्न असमर्थ भएको बताएका छन्, टोलो न्यूजले रिपोर्ट गरेको छ ।
उनीहरूलाई हिरासतमा लिएको दुई महिना भइसक्यो, पाकिस्तानमा रहेका एक अफगानी शरणार्थीले भने । “तीमध्ये मेरा चार छोरी र श्रीमती पनि छन् । म विगत दुई महिनादेखि यो मुद्दासँग जुधिरहेको छु,” अर्का अफगानी शरणार्थीले भने। पाकिस्तानी प्रहरीले करिब ३०० अफगानीलाई हिरासतमा लिएको रिपोर्ट अगस्टको सुरुमा प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *