भर्खरै :

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

ढाका, ३० भदौ (एएनआई) । बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ ।
बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकोले राहत पुगोस् भन्ने उद्देश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्गलादेशले प्रस्ताव गरेको थियो ।
मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर सहयोग गर्न लागेको बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर, पाकिस्तानले भने बङ्गलादेशको सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ ।
बङ्गलादेशको यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।
बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले १० टन बिस्कुट, १० टन सुख्खा केक, एक लाख पानी शुद्धीकरण गर्ने ट्यावलेट, ५० हजार सलाइन, पाँच हजार थान झूल, दुई हजार ब्लाङ्केट र दुई हजार पाल पाकिस्तानलाई सहयोग स्वरुप दिने निर्णय गरेको थियो ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्गलादेशले विगतमा नमीठा सम्बन्ध र घटना भए पनि सङ्कट परेको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको बङ्गलादेशी अधिकारीहरूको भनाइ छ ।
पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा आएको पछिल्लो बाढी पहिरोबाट कम्तीमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४५० जना बालबालिका रहेका छन् ।
अत्यधिक वर्षापछिका घटनामा परी तीन करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ । पाकिस्तानमा गत मध्य जूनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षितरूपमा धेरै क्षति भएको प्राधिकरणको भनाइ छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति सिन्ध प्रान्तमा गरेको छ ।
बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरु, स्वयम्सेवकहरु, गैरसरकारी सङ्घ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् । बाढी पहिरोबाट प्रभावित भएकाहरुको सङ्ख्या दैनिक बढ्दै गइरहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *