भर्खरै :

सुस्ता नेपालको हो भारतले हस्तक्षेप गर्न पाइन्न

सुस्ता नेपालको हो भारतले हस्तक्षेप गर्न पाइन्न

विश्वको मानचित्र पल्टाएर हेर्दा एक देशको सिमाना अर्को देशसँग जोडिएको पाउनु जति स्वाभाविक छ, इतिहास पल्टाउँदा सीमा जोडिएका देशहरूमाझ बेलाबखत सीमारेखा वा क्षेत्रबारे कलह भएको पाउनु पनि त्यतिकै स्वाभाविक छ । सीमा विवादलाई आपसी वार्ताद्वारा समाधान गर्ने हो वा सेना प्रयोग गरी दखल गर्ने हो त्यो ती देशका शासक वर्गको वर्गको चरित्रमा भरपर्छ । यो भनिरहन परोइन कि एक बलिया व्यक्ति र बालकमाझको विवाद बल प्रयोगबाट समाधान न्यायोचितरूपमा हुनसक्दैन । तर, नेपालभन्दा क्षेत्रफल, जनसङ्ख्या र सैन्य बलको प्रयोगबाट समाधान गर्न खोजेको थियो । त्यसो त चीनसँग पनि भारतले सैन्य बलकै आधारमा सीमा विवाद समाधान गर्न खोज्दा नराम्रो हार खानुपरेको थियो ।
भारत र नेपालको सिमाना पूर्व, पश्चिम र दक्षिण दिशामा जोडिएको छ । पूर्व र पश्चिममा नदीले स्पष्ट सीमाङ्कन गरेकोले त्यति छिटो विवाद उठ्दैन । यद्यपि, नदीले आफ्नो बाटो फे¥यो भने त्यो क्षेत्र पनि निर्विवाद रहला भन्न सकिन्न । दक्षिण दिशामा १० गजको खम्बाले सीमा रेखाको काम गरेको छ । अर्को अर्थमा भारतसँग नेपालको खुला सीमा छ । यस खुला सीमासँगै जोडिएको लुम्बिनी अञ्चल नवलपरासी जिल्लामा सुस्ता भन्ने एउटा गाउँ छ । त्यो गाउँ नेपालको सीमा क्षेत्रभित्र पर्छ । २०२५ सालमा भारतले आफ्नो सेना सुस्ता गाउँमा हुलेर नेपाली नागरिकहरूलाई पक्राउ ग¥यो र भारत लगियो । यसरी खुलमखुला सैनिक हस्तक्षेपबाट नेपाल र भारतमाझको मित्रतामा भारतबाट बाधा पु¥याइयो । सुस्ता गाउँका नेपालीको जीउ, धन र इज्जतको सुरक्षा रहेन । सार्वभौम सम्पन्न नेपालमाथिको त्यस सैनिक हस्तक्षेप संयुक्त राष्ट्रसङ्घको बडापत्रको नाङ्गो उल्लङ्घन थियो । वस्तुतः भारतले सैनिक हस्तक्षेप गरी सुस्ता क्षेत्रलाई विवादको क्षेत्र बनाउने दुष्प्रयास ग¥यो । यस्तो दुस्प्रयासको नीति भारतबाट आज पनि छोडेको छ भनी भन्न मिल्दैन । तब त्यस हस्तक्षेपको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भए । प्रस्तुत छः भक्तपुरमा भएका प्रदर्शनहरूको सङ्क्षिप्त विवरण –
२०२५ साल मङ्सिर २२ गतेको दिन थियो । दिउँसो १ बजे भक्तपुर च्याम्हासिंहमा न्यायप्रेमी एवं देशभक्त किसान, विद्यार्थी, मजदुर, बुद्धिजीवी जनता भेला भए । भेला सभामा परिणत भयो र सुस्तामाथि भारतीय हस्तक्षेपको विरोधमा मन्तव्यहरू दिए । त्यो सभा सुस्तामाथि भारतीय हस्तक्षेपको विरुद्ध जुलुसमा परिवर्तन हुने सङ्केतहरू देखापर्दै थियो । त्यही बेला लाठीधारी पुलिसहरूले जुलुस प्रदर्शन ‘गर्न नपाइने’ आदेश सुनाएर रोक्न खोजे । यदि जुलुस प्रदर्शन गरेमा यस्तो उस्तोको धम्की दिइयो । तर, पुलिसको धम्कीले जुन भय त्रासको सञ्चार गराउनुपर्ने हो, त्यसको ठीकविपरीत उपस्थित जनसमूहमा जोश बढायो । सुस्ताका नेपाली दाजुभाइले भोग्नुपरेको यातना र देशको एक भाग भारतले मिच्न खोजेको कुरा जुलुसका सहभागीले भने र पुलिसलाई पनि प्रदर्शनमा भाग लिन आह्वान गरे । देशभक्त नेपालीहरूले देश बचाउन गरिएको जुलुसमा साथ दिनुपर्छ अन्यथा देश खानेहरुलाई सहयोग पुग्ने कुरा ती सहभागीहरूले पुलिसको अगाडि स्पष्ट पारे । तर, पुलिसलाई सुस्ताका दाजुभाइको यातना र देशको एक भाग गुम्ने विषत्न्दा माथिल्लो आदेश महत्वपूर्ण थियो । देशभक्त जनताले पनि त जुलुस रोक्ने आदेशलाई स्वीकार गर्न असमर्थ जनाए । यद्यपि, जुलुस रोक्ने आदेश र रोक्न नहुनेबिच विवाद चलिरह्यो । त्यसैबखत सँगैको पाटीबाट ‘भारतीय विस्तारवाद’ भन्ने ठूलो आवाज आयो । उपस्थित विशाल जनसमूहले त्यस नारालाई साथ दिए मुर्दावाद !’ त्यसपछि नाराबाजी सुरु भयो –

विस्तारवादी भारत – सुस्ता छोड!
सार्वभौमिक अखण्डता – कायम गर्छौँ !
भारतीय दलाल – मुर्दावाद !
सारा जनता – एक होऔँ ! आदि ।
जुलुस विस्तारै अघि बढ्यो । पुलिसले जुलुसलाई रोक्न खोज्दै नेतृत्व गर्ने देशभक्तहरूलाई पक्राउ गर्ने दाउ खोज्न थाल्यो । सुस्ताका नेपाली दाजुभाइको यातना सम्झेर उर्लिरहेका जनवेगलाई रोक्न खोज्ने पुलिसको प्रयास असफल देखियो । नाराको स्वर झन चर्को हुन थाल्यो । तब पुलिसले लाठीप्रहार ग¥यो । लाठीप्रहार हुनासाथ प्रदर्शनकारीहरूले बचाउको प्रयास गर्नु स्वाभाविक थियो । यस प्रयासमा एक पुलिस इन्स्पेक्टर एक धारामा खस्न पुग्यो । पुलिसले जुलुस रोक्ने प्रयास रोकेन न त प्रदर्शनकारीहरू पछि हट्न नै चाहे । यसरी नै जुलुस दत्तात्रयमा पुग्यो । तब पुलिसहरू त्यहीनिरको चौकीमा पसे ।
देशभक्तिपूर्ण नाराले वायुमण्डल घन्काउँदै जुलुस गोल्मढी पुग्यो । त्यहाँ ‘सुस्ता नेपालको हो, विस्तारवादी भारतले त्यसलाई छोड्नुपर्छ’ भन्ने जुलुसमाथि लाठी प्रहारको ‘आदेश’ लिएर आएका पुलिसको नयाँ दफाले आफ्नो ‘कर्तव्य’ पालन ग¥यो । तर, देशभक्त जनता यस दमनबाट भाग्नुको सट्टा बचाउको तयारीमा लागे । पुलिसको लाठीप्रहार र प्रदर्शनकारीहरूको बचाउ कार्यले सडक रगताम्य भयो । धान सुकाइरहेका महिला किसानहरूले धान तान्ने खुइले लाठीको मार छेक्न सघाएपछि प्रदर्शनकारीहरूको हौसला झन् बढ्यो । केही पुलिसले आफ्नो जागीरप्रति खिन्न भाव देखाए । केही पुलिस नजिकका पसलहरूभित्र लुक्न पुगे । तर, देशभक्तहरूमाथि दमन गर्ने ती पुलिसहरूलाई राष्ट्रिय भावना भएका व्यापारीहरूले आ–आफ्नो पसलबाट निकाली दिए । अन्ततः देशभक्तहरू आफ्नो गन्तव्य स्थानको लागि नाराहरू घन्काउँदै अगाडि बढ्यो । पुलिसको बाधा र लाठीचार्जको सामना गर्दै जुलुस सफलतासाथ सीमामा पुगेर बिसर्जन भयो । जुलुसको दौरानमा ठाउँठाउँमा भाषण दिनुको साथै पर्चा पनि छरिएको थियो । यो सही कुरा हो कि देशमा त्यसबेला पनि पञ्चायती व्यवस्थाको सरकार थियो र देशको हितको लागि तिनीहरूले काम गर्नेछन् भन्ने आसा गर्ने पनि थिए । तर, देश सरकारको मात्र होइन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण नेपालीको पनि हो, ‘देशको अभिभारा सरकारले बोकेको छ’ यो भनाइ देशभक्त सरकारलाई मात्र लागू हुन्छ । अर्को कुरा सरकार फेरिने कुरा हो, तर जनता आफ्नो देशभक्ति भावनामा कहिल्यै परिवर्तन ल्याउँदैनन् । अतः देशमा जस्तोसुकै सरकार होस् जनताले आफ्नो देशप्रतिको माया गर्ने अधिकार सुम्पने गर्दैनन् । भलै त्यसको लागि सरकारसँग नै मुठभेड किन गर्न नपरोस् । यो कुरा सुस्ताको त्यस जुलुसले पुष्टि ग¥यो ।
देशभक्तहरूको जुलुस सफलतासाथ सम्पन्न गर्नसकेकोमा जनता प्रसन्न देखिन्थे भने त्यस जुलुसको सफलता नै आफ्नो असफलता सम्झने प्रशासनले दमन र आतङ्कको सुरुआत ग¥यो । वर्दीविहीन गुप्तचरहरू भक्तपुरका गल्लीगल्लीमा फैलिए । भक्तपुरका जनता अघोषित कफ्र्युको स्थितिमा दिन बिताउन थाले । यस्तैमा एक रात (८, ९ बजेतिर) जुलुसका एक नेतृत्वकर्ता बाबुकाजी बासुकला (भक्तपुर नगर पञ्चायतको तात्कालीन उपप्रधानपञ्च) लाई पुलिसले कपडाले छोपेर अपहरण ग¥यो । बासुकलालाई भक्तपुर डी.एस.पी. कार्यालयमा लगिएको खबर जनताको माझ छिट्टै फैलियो । देशभक्तहरूमाथि पुलिसको यो दमन सहन सकेन र जनता डी.एस.पी. कार्यालय अगाडि भेला भए । बाबुकाजी बासुकलालाई गैरकानुनी ढङ्गले पक्राउ गरेकोमा रिहाइको माग गर्ने जनताको ठूलो समूह देखेपछि तत्कालीन डी.एस.पी. ले रिहा गर्ने वचन दिए । रात धेरै बित्यो । किन्तु रिहाइ गरिएन । तब जनता सशङ्कित हुन थाले । ‘हाम्रा साथी छोडिदेऊ ¤’ भन्ने मागसँगै विस्तारवादी भारत मुर्दावाद ¤’, ‘भारतीय दलाल मुर्दावाद ¤’ ‘पञ्चायती व्यवस्था – मुर्दावाद ¤’ आदि नाराहरूले रातको सुनसान वातावरणलाई च्यातिदिए । यी नाराले पुलिस पनि बिउँझेछ क्यारे छोडिदिने आफ्नो ‘वचन’ डी.एस.पी. ले फेरि जनताको सामु दोहो¥याए ।
रातको २ बज्यो । मङ्सिर महिनाको जाडो र खेतको कामले थाकेका किसानहरू आफ्नो अगुवाको रिहाइको प्रतिक्षामा बसी नै रहे । प्रशासन कतिको छलकपट गर्न जान्दछ भन्ने नबुझेका सोझा सीधा जनता आफ्नो साथीको रिहाइ पर्खँदा काठमाडौँबाट आइपुगेका ३ ट्रक सशस्त्र पुलिससँग साक्षात्कार गर्नपुगे । ती पुलिसले निहत्था जनतामाथि मनपरी ‘हमला’ ग¥यो । त्यो कालो रात जनताको चिच्याहटले वायुमण्डल थर्कियो । सडक रगताम्य भयो । कति घाइते भए, कति पक्राउ परे त्यसको लेखाजोखा थिएन ।
यसरी नै पुलिसको आतङ्क महिनौँ चल्यो । केही कार्यकर्ताहरू भूमिगत बस्न बाध्य भए । तर, सुस्तासम्बन्धी कारबाही लम्बिँदै गयो । प्रशासनले थुनछेक गर्दै सयौँ जनालाई वारेन्ट जारी ग¥यो । प्रदर्शनकारीहरूमाथि ‘भारतीय विस्तारवाद सुस्ता छोड’ भन्ने आरोप लगाउन नसक्ने प्रशासनले ‘पुलिसलाई कट्यो’ भन्ने जाली राजकाज मुद्दा चलायो । त्यसको प्रमाण बटुल्न दरबार स्क्वायरमा सरजमिन गरायो । ‘सुस्ता नेपालको हो, भारतले हस्तक्षेप गर्न पाइन्न’ भन्ने बयान टिप्न नसकी देशभक्तहरूको जुलुस देखेर मुख फर्काउने, किसान जनतामा आएको राष्ट्रिय भावना देखी सशङ्कित जनताले तिरस्कार गरेर प्रतिक्रियावादीहरूको मनगढन्ते बयान लियो ।
यसरी आफ्नो ‘अनुकूल’ सरजमिन टिपेर देशभक्त किसान, विद्यार्थी, मजदुर, बुद्धिजीवी वर्गमाथि राजकाज मुद्दा चल्यो । यसलाई जनताले ‘अत्याचार’ सम्झन पुगे । फलस्वरूप त्यस जाली मुद्दाको विरोधमा पर्चा, मसाल जुलुस पनि थपिन पुग्यो । जनआवाजको कुनै ख्याल नगरी बाग्मती अञ्चलाधीश कार्यालयले भूमिगत बसेकाहरूलाई ७० दिनको म्याद काट्यो । म्याद समयभित्र हाजिर हुन गएकालाई थुनामा राखी कारबाही गर्ने निर्णय सुनाइयो ।
सहिदहरूको रगत खेर जाँदैन भनेझैँ देशभक्तहरूको जीत अवश्यम्भावी छ । सुस्ता नेपालको हो भन्ने सम्पूर्ण देशभक्त नेपालीहरूको आवाजमा एक आवाज भक्तपुरको पनि थियो । पछि त्यो जाली मुद्दा खारेज भयो र सबैले छुटकारा पाए ।
(भक्तपुर नगरका पुराना किसान कार्यकर्ताहरूसँगको संस्मरणबाट यो लेख तयार गरिएको हो । भक्तपुर ‘सुस्ता काण्ड’ नामले प्रख्यात यस घटना राष्ट्रिय भावनाको एक ज्वलन्त उदाहरण हो ।)
साभार ः मासिक ‘पञ्चायत’, वर्ष ४ अङ्क १, २०४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *