भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ७

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ७

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
बोल्टनले खप्की खाए
पोम्पेओको अर्को कोरिया भ्रमण अगस्टमा तय गरिएको थियो । युद्ध अन्त्यको घोषणा नगर्ने भए पोम्पेओको भ्रमणको कुनै अर्थ नभएको उत्तर कोरियाले आफ्नो धारणा स्पष्ट पा¥यो । तैपनि, पोम्पेओले राष्ट्रपति किमलाई भेट्ने अपेक्षा रहेको ट्वीट गरे । अकस्मात् ट्रम्पले पोम्पेओलाई कोरिया नजान भने । चीनले सहयोग नगरेको भन्दै उनले पोम्पेओलाई कोरिया नजान भनेको ट्वीट गरे । बोल्टनको हड्डी हाँस्यो । केही दिनपछि ट्रम्पले नाकाबन्दी चर्काउन भने ।
यसबिच सी चिनफिङले राष्ट्रपति किमलाई के भनेका होलान् भन्ने खसखसले ट्रम्पलाई सुत्न दिएन । बोल्टनले राष्ट्रपति सीको अनुमानित टिप्पणी लेखेर ट्रम्पलाई दिए । बोल्टनले सारमा यस्तो लेखेका थिए, “हेर उन, ट्रम्प उत्तरलाई पनि दक्षिण कोरियामा मिसाउन चाहन्छ । पुँजीवादीहरू यस्तै हुन् । ट्रम्प, पोम्पेओ र बोल्टन सबै उस्तै हुन् । तिनीहरूको भर हुन्न । मुन जे–इन पनि त्यस्तै हो । मुनलाई चुप लगाउन सकिन्छ, तर अमेरिकाले शक्तिको भाषा मात्र जानेको छ । त्यसैले उनीहरूसँग टाँसिँदा हुन्छ । पैसा लिएर आणविक अस्त्र बनाए हुन्छ । तर, यो चालले एक दिन तिमीलाई प्योङयाङको रुखमा झुन्ड्याउनेछन् । अहिले तिमी हतियार परीक्षण गर हाम्रो साथी इरानसँग मिलेर हतियार लुकाऊ । म इरानको तेल किन्छु र त्यहाँ हाम्रो लगानी बढाउँछु । अमेरिकाको नाकाबन्दी खुकुलो पारिदिन्छु । इरानले म जे भन्छु, त्यही मान्छ । अमेरिका र जापान भावुक छन् । तिनका पुर्खाको अस्तु पठाइदेऊ, आबे रुनेछ । म अहिले ट्रम्पसँग व्यापार युद्ध लड्दै छु । उसले चिनियाँ अर्थतन्त्रमा हानि पु¥याएको छ । व्यापार युद्ध चर्किँदै गए हाम्रो धेरै नोक्सान हुनेछ । ट्रम्प पनि मुन जे–इनजस्तै कमजोर बुद्धि भएका मान्छेहरूले घेरिएको छ । मैले अलिअलि मस्यौरा र प्रविधि किन्दिन्छु भनौँला । पछि चोर बाटोबाट चोरेर फिर्ता लिऔँला । बाँकी कुरा अर्को महिना भेटेरै गरौँला । राष्ट्रसङ्घले पनि छुन नसक्ने गरी म सहयोग गर्दै गरौँला । हाम्रो सीमा प्रहरीलाई कडिकडाउ नगर्नू भनौँला । चिन्ता नगर । पाकेको फलझैँ दक्षिण कोरिया तिम्रो हातमा फ्यात्त खस्नेछ । अलि पछिलाई सोच उन । विजेताको पक्षमा लाग । चीनको विजय हुनेछ । अमेरिकीहरू हाम्रा साथी होइनन् ।”
अगस्ट २९ मा पत्रकारहरूले रक्षामन्त्री म्याटिसलाई दक्षिण कोरियाली युद्ध अभ्यासबारे प्रश्न सोधे । उनले निकै जेलिएको उत्तर दिए । उनको विचार ट्रम्पको भन्दा फरक भएको सङ्केत सबैले पाए । ‘म्याटिसलाई के भयो’ भन्दै ट्रम्पले ट्वीट गरे । ट्वीटमा उनले चीनले उत्तर कोरियालाई दबाबमा राखेको लेखे । उनले किम जङ उन असल र आत्मीय भएको लेखे र व्यापार युद्धको समस्या किनार लागेपछि सबै ठिकठाक हुनेमा जोड दिए । यो ट्वीट हाँस्यास्पद थियो भनी बोल्टन लेख्छन् । जब कि यस्तै हाँस्यास्पद लेखोट उनले ट्रम्पलाई पढ्न दिएका थिए । भोलिपल्ट चीनले ट्रम्पको ट्वीटको खण्डन ग¥यो । राष्ट्रपति झुक्नुपर्ने वातावरण बनाएकोमा रक्षामन्त्री म्याटिस दुःखी भए ।
सेप्टेम्बर ४ मा मुन र ट्रम्पबिच भेट भयो । ट्रम्पले सिंगापुरमा अद्भूत बैठक बसेर पनि अन्त्यमा केही हात नलागेको बताए । उनले भएको के हो भनी सोधे । मुनले उत्तर कोरियाली नेतृत्वमा पनि नरम र गरम धार रहेको बताए । उनले राष्ट्रपति किम नरम रहेको बताए । उनले ट्रम्पले फेरि किमसँग भेट्नुपर्ने बताए । मध्य सेप्टेम्बरमा मुनको राष्ट्रपति किमसँग बैठक थियो । आफ्नो छवि बनाउन पनि मुनले यस्तो भेटघाट गर्ने गरेको बोल्टन आरोप लगाउँछन् ।
सेप्टेम्बरमा ट्रम्पलाई अर्को पत्र आयो । ट्रम्पले पत्रको प्रशंसा गरे र राष्ट्रपति किमसँग भेट्न तत्पर रहेको बताए । उनले बोल्टनलाई भने, “तिमी असाध्यै आक्रामक छौ जोन । हो म पनि आक्रामक छु । तर, तिमी मभन्दा पनि आक्रामक छौ । म चुनाव सकिएको पहिलो हप्ता किमसँग भेट्न चाहन्छु । तिमीले अध्यक्ष किमको पत्र धेरै राम्रो छ भन्नू ।” ट्रम्पको खप्की खाएर बोल्टन दुःखी भएनन् बरु खुसी भए । किनभने, ५ हप्ताभित्र ट्रम्पको बुद्धि मोडिन सक्थ्यो ।
ट्रम्प देशबाहिरका अमेरिकी सेना र सैन्य सामग्रीहरू घटाउन चाहन्थे । कोरियाली प्रायःद्वीपबारे पनि उनले यसै सोचेका थिए । मध्य अक्टोबरमा पोम्पेओ फेरि उत्तर कोरिया गए । राष्ट्रपति किमले नाकाबन्दीबारे गुनासो गरे । वार्तामा पुनः छलफल सुरु गर्ने सहमति भयो ।
मस्कोमा बोल्टन
सिंगापुर बैठकको एक महिनापछि जुलाईमा उत्तर एटलान्टिक सैन्य सङ्गठन नाटोको बैठक थियो । ट्रम्प र थेरेसा मेको बैठक लन्डनमा हुँदै थियो । ट्रम्प र पुटिनको बैठक हेलसिन्कीमा हुँदै थियो । बैठकका लागि सुरुमा रुसले भियना छनोट गरेको थियो । अमेरिकाले फिनल्यान्डको हेलसिन्की भन्यो । ट्रम्प फिनल्यान्डलाई रुसको अधिनस्थ देश ठान्दा रहेछन् । त्यसो होइन भन्ने थाहा पाएपछि हेलसिन्कीमा जोड दिइयो । ट्रम्प पुटिनलाई ह्वाइट हाउस बोलाउन चाहन्थे । रुसले मानेन । त्यसैले ट्रम्पले उनीहरू जे चाहन्छन्, त्यहीँ गर्नू भने ।
ट्रम्पले बोल्टनलाई भने, “लौ अब हामीसँग नाटो छ । बेलायत अहिले समस्याग्रस्त छ । मसँग पुटिन छन् । अरूभन्दा उनीसँग व्यवहार गर्न सजिलो होला । के थाहा ?” बोल्टन विदेशनीतिसम्बन्धी ट्रम्पको कुनै विश्वव्यापी रणनीतिक योजना नभएको बरु उनले घरजग्गा कारोबारीले जस्तो व्यवहार गरेको उल्लेख गर्छन् ।
नाटो बैठकको तयारीका लागि बोल्टन रुस गए । ट्रम्पले पत्राचारमार्फत काम गर्न भनेका थिए । उनले मानेनन् । मस्कोमा बोल्टनले रुसी बुद्धिजीवी, थिङ्क ट्याङ्कलगायत पूर्वविदेशमन्त्री इगोर तनोभ र समकक्षी निकोलाई पात्रुसेभलाई भेटे । उनले जानाजान अमेरिकी निर्वाचनमा रुसी प्रभावबारे कुरा उप्काए । यो कुरा रुसी सुरक्षा सुरक्षा परिषद्मा पुग्छ भन्ने थाहा थियो । पुटिन पनि कुनै बेला सुरक्षा परिषद्मा थिए । त्यसैले आफूपछि परिषद्मा आएका पात्रुसेभसँग पुटिनको नजिकको सम्बन्ध थियो ।
बोल्टनले विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँग भेटे । कुराकानीमा उनले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपको कुरा उठाए । लाभ्रोभले सरकारको तर्फबाट त्यस्तो केही नभएको, ह्याकरहरूले केही गरेका भए आफूलाई थाहा नभएको बताए । त्यहाँबाट बोल्टन पुटिनलाई भेट्न क्रेमलिन गए । बैठकमा राष्ट्रपति पुटिनसँगै उनका कूटनीतिक सल्लाहकार युरी उशाकोभ, रक्षामन्त्री सेर्गेइ सोइगु र विदेशमन्त्री लाभ्रोभ थिए ।
बैठकमा हातहतियारको विषयमा छलफल भयो । त्यससँग जोडिएका सन्धिहरूबारे कुराकानी भयो । बब गेट्स र कन्डोलिजा राइसले छक्याएकोमा पुटिन रुष्ट भएको बोल्टनले महसुस गरे । त्यसैले सन् २००१ मा अमेरिका ब्यालेस्टिक मिसाइलप्रतिरोधी सन्धि (एबीएम) बाट बाहिरिएझैँ रुस पनि बाहिरिनसक्ने बताए । सन्धिबाट बाहिरिएर रुसको प्रभावशाली मिसाइलप्रतिरोधी प्रविधिको विकास गर्न सक्थ्यो । तर, पुटिनले नै त्यसो गर्न मानेका थिएनन् ।
बोल्टनले सिरियाबाट इरानलाई हटाउने विषयमा पुटिनको धारणा सोधे । पुटिनले रुस र इरानको स्वार्थ अलग भएको बताए । रुसले सिरियालाई अफगानिस्तान हुनबाट रोक्न चाहेको र इरानको चासो सीमा समस्यामा भएको उनले बताए । त्यसैले इरानको तर्फबाट आफूले कुनै वचन दिन नसक्ने उनको स्पष्ट भनाइ थियो । उनले भने, “तपाईँहरू आफै लड्नुस् ।” अल तानफमा आफूलाई ‘स्थानीय’ बताउने झन्डै ५ हजार मानिसहरू आईएसआईएसका लडाकू भएको पुटिनले बताए । बोल्टनले सिरियामा अमेरिका आईएसआईएस र इरानसँग लडिरहेको बताए । उनले सिरियामा गृहयुद्ध नलडेको बताए । (बोल्टनको बयान झूटो हो । ल तानफ अमेरिकी सैन्य अखडा हो । त्यहाँ सिरिया सरकारविरुद्ध विद्रोहीहरूलाई तालिम र हतियार दिइन्छ । यो तथ्य अमेरिकी मिडियाहरूले पुष्टि गरिसकेका छन् । तिनलाई अमेरिकाले आईएसआईएस भन्छ वा भन्दैन, त्यो अर्कै विषय हो ।)
युक्रेनको विषयमा पुटिन कडारूपमा प्रस्तुत भए । उनले अमेरिकाले युक्रेनलाई हतियार बेच्नु अवैध हो भने । समस्या समाधान गर्ने त्यो उपयुक्त तरिका होइन भने । उनले क्रिमियाको विषयमा कुरा गर्न मानेनन् । उनले राष्ट्रपति ओबामाले सन् २०१४ मा आफूलाई क्रिमियाभन्दा अगाडि नबढ्ने हो भने युक्रेनमा हुने आमनेसामनेको स्थिति हल हुने बताएको सम्झे । बोल्टनले यसमा आफ्नो प्रतिक्रिया दिएनन् ।
पुटिनले उत्तर कोरियाको विषय पनि उठाए । उनले कोरियाली नीतिको समर्थन गर्ने बताए । इरानसँगको आणविक सन्धिबाट हात झिकेकोमा उनले व्यङ्गय गरे । इरानले पनि हात झिके के गर्ने भनी सोधे । अरबहरू एकजुट हुने हो भने इजरायलले इरानलाई केही पनि गर्न नसक्ने उनले बताए । कोरियासँग मिलेर सिरियामा हतियार उत्पादन गर्न खोजेकोले इरानले नै सन्धि उल्लङ्घन गरेको बोल्टनको तर्क थियो । उत्तर कोरियाको सवालमा सी चिनफिङले नै सम्झौतालाई तीव्रगतिमा अघि बढाउन भन्नुभएको उनको भनाइ थियो ।
९० मिनेट लामो छलफलमा बोल्टनले पुटिनलाई नियन्त्रित, शान्त, आत्मविश्वासी पाए । पुटिन रुसको सुरक्षाबारे निकै सचेत थिए । त्यसैले ट्रम्पलाई एक्लै पुटिनसँग भेट्न नदिने उनले मनमनै कसम खाए ।

चप्न भ्रमणको क्रममा राष्ट्रपति सीसँग भेटवार्ता गर्दै प्रमग कोरियाी नेता किम जङ इल

ट्रम्प–स्तोल्टेनबर्ग वार्ता
बोल्टन नाटो युरोपको रक्षा गर्नभन्दा पनि अमेरिकी रणनीतिक स्वार्थ रक्षार्थ स्थापना भएको प्रस्ट लेख्छन् । सोभियत सङ्घको पतनपछि युरोपका देशहरूले नाटोलाई बिस्तारै ध्यान दिन छोडेका र क्लिटन प्रशासन पनि सोही विचारमा टाँसिएको बोल्टन चर्चा गर्छन् । युरोपले शान्तिपूर्ण चरण भनिरहे पनि सेप्टेम्बर ११ को न्युयोर्क हमलापछि अमेरिका ब्युँझेको बोल्टनको बुझाइ छ ।
राष्ट्रपति ओबामाले नाटोको आलोचना गरे । नाटोका सदस्यहरूले सैन्य बजेट नबढाएर ‘फुक्काफाल’ बनेकोमा उनले गुनासो पोखे । राष्ट्रपति निर्वाचनताका चुनावी सभाहरूमा ट्रम्पले नाटोलाई थोत्रो सङ्गठन भनेका थिए । सन् २०१७ मा उनले नाटोको समस्या समाधान भएको बताए । सन् २०१७ मा वेल्समा बसेको नाटो बैठकमा सबै सदस्य देशले सन् २०२४ सम्ममा आफ्नो जीडीपीको २ प्रतिशत खर्च नाटोलाई छुट्याउनुपर्ने निर्णय भएको थियो । जर्मन सरकारले १.२ प्रतिशतमात्र छुट्यायो । उसलाई वामपन्थीहरूले दबाब दिएको बोल्टन लेख्छन् । सिरिया हमलामा पनि जर्मनीले अमेरिकालाई सघाएन । यहाँनिर ट्रम्प नाटो सन्धिको पाँचौँ धारा लागू गर्न चुकेको बोल्टन आरोप लगाउँछन् । (सन्धिको पाँचौँ धारामा ‘एक देशमाथिको हमला सम्पूर्ण सदस्य देशमाथिको हमला ठानिने’ उल्लेख छ ।) त्यसैले अमेरिकी सङ्कट सन् २०१७ को नाटो सम्मेलनपछि सुरु भएको उनको ठहर छ । क्लिन्टन र ओबामाको पालामा अमेरिकाले नै नाटोलाई पर्याप्त बजेट नदिएको र ट्रम्पले मित्र देशहरूलाई नै चिढाएको हुनाले सङ्कट आएको बोल्टनको बुझाइ छ ।
जून २९ मा ट्रम्पले नाटोका महासचिव येन्स स्तोल्टेनबर्गसँग कुरा गर्ने बताए । अमेरिकाले नाटोमा जर्मनीले जत्तिकै योगदान गर्ने र यो कुरा सबै सदस्य देशलाई सुनाइदिन आग्रह गरे । (बोल्टनले नाटोमा अमेरिकाले दिने रकम ‘योगदान’ नभई रक्षा खर्च हो र नाटोको कोष साझा कोष हो भनी उल्लेख गर्छन् ।) फोनमा ट्रम्पले स्तोल्टेनबर्गलाई आफूले अघिल्लो सरकारबाट अपुतालीमा धेरै आर्थिक झमेला पाएको बताए । स्पेनले जीडीपीको ०.९ प्रतिशतमात्र खर्च गरेकोमा उनले गुनासो राखे । स्तोल्टेनबर्गले जर्मनीले खर्च बढाउनुपर्ने बताए । ट्रम्पले अमेरिकाले नाटोको ८०–९० प्रतिशत खर्च धानिरहेको बताए । एकचोटि उनले शतप्रतिशत धानेको पनि बताए । खासमा अमेरिकी खर्च ७० प्रतिशत आसपास थियो । आफूले अमेरिकालाई नाटोबाहिर निकाल्ने धम्की दिएकैले युरोपेली देशहरूले बिस्तारै नाटोमा आफ्नो बजेट बढाउन थालेको ट्रम्पले भने । युरोपेली देशहरूले अमेरिकालाई धेरै ठगेको, आफू अघिसम्म अमेरिकालाई मूर्खहरूले शासन गरेको उनले दुखेसो पोखे । यो वार्तालापलाई औपचारिक बताएर उनले फोन राखे ।
यस वार्तालापबारे बोल्टनले नाटोका लागि अमेरिकी दूत के बेली हचिसनलाई जानकारी गराए । ट्रम्पको दृष्टिकोणबारे विदेशमन्त्री पोम्पेओ र रक्षामन्त्री म्याटिसबिच कुराकानी भयो । उनीहरूले घरेलु राजनीति प्रतिकूल हुनाले नाटोमा कडा कदम नचाल्ने गरी ट्रम्पलाई सम्झाउने कुरा भयो । जुलाई २ मा उनीहरूले ट्रम्पलाई भेटे । उनीहरूले २ प्रतिशतको मुद्दा उठाए पुग्ने बताए । ट्रम्पले सजिलै माने । पछिका दिनहरूमा ट्रम्पले अमेरिकालाई नाटोबाटै निकाल्नुपर्छ कि भनेर बोल्टनको राय मागे । ट्रम्पलाई त्यसो गर्नबाट रोक्ने नै उनीहरूको भित्री मनसाय थियो । ब्रसेल्समा सकेसम्म कम खटपट होस् र युरोपेलीहरूलाई झुकाउन ट्रम्पले अमेरिका नाटोबाट बाहिरिने धम्कीसम्म देऊन् भन्ने तयारी भयो । तर, जी–७ को बैठकमा जस्तो ट्रम्प अन्तिम वक्तव्यबाट पछि नहटून् भन्ने थियो ।
जुलाई ९ मा ट्रम्पले नाटोको आलोचना गरेर ट्वीट गरे । उनको प्रश्न थियो – “अमेरिकाले आफ्नो जीडीपीको ४ प्रतिशत खर्च दिने, जर्मनीले १ प्रतिशत दिने ? फाइदा भने युरोपले लिने ? अमेरिकाले युरोपसँगको व्यापारमा घाटा खाने ? हुँदैन ।” भित्री कुरा उनले यसरी सार्वजनिक गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *