भर्खरै :

नागरिक चेतनामा अभिवृद्धि हुने गतिविधि आवश्यक

नागरिक चेतनामा अभिवृद्धि हुने गतिविधि आवश्यक

कुनै बेला फोहोर र अशिक्षितहरूको थलोको रूपमा चिनिएको भक्तपुर नगर अहिले शिक्षाको केन्द्र र सरसफाइमा नमुना नगरको रूपमा आफ्नो परिचय स्थापना गर्न सफल भएको छ । यो हामी सबै भक्तपुरवासीहरूको लागि गर्वको कुरा हो ।
नेपाल मानव विकास सूचाङ्कअनुसार ७५ प्रतिशतभन्दा धेरै साक्षरता रहेको नेपालको चार जिल्ला काठमाडौँ, ललितपुर, कास्की र भक्तपुरमात्र छन् । विगतभन्दा हामीले गरेको प्रगतिमा गौरव र खुसी हुने स्थान धेरै छन् तर हामीले सधैँ आफूलाई सभ्यताको सिँढीमा अगाडि बढाउन निरन्तर प्रयास गरिरहनुपर्छ । भक्तपुर नगरभित्र हुने हरेक गतिविधि अभिरूचिपूर्वक नियालिरहनुपर्छ । नगरपालिकाले विभिन्न गतिविधिमार्फत युवा तथा विद्यार्थीको विकासमा टेवा पु¥याइरहेतापनि कहिलेकाहीँ हामीले अझै धेरै गर्नसक्छौँ र गर्न सकिरहेका छैनौँ भन्ने लाग्दछ ।
मुख्यतः सामाजिक अनुशासन र नागरिक चेतनामा हामीले अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । उदाहरणको लागि हामीले फोहोर व्यवस्थापन र पार्किङ व्यवस्थापनलाई लिनसक्छौँ । नगरपालिकामा कार्यरत सफाइ मजदुरहरूले बिहान सबेरै नगर सफाइ गर्छन् र निरन्तर नगरलाई सफा राख्न गरिरहेको काम हामी सबैले देखेका छौँ । तर, त्यो सबै देख्दादेख्दै अझै कति नगरवासीहरू साँझ अँध्यारोमा आफ्नो पसल र घरको फोहोर चोकमा, बिजुलीको खम्बा वा रूख वरिपरि ल्याएर फाल्ने गर्दछन् । यो असल कार्य होइन । भक्तपुर नगरपालिकाले यसमा उपयुक्त कार्यक्रम र नीति अँगाल्न जरुरी छ । भक्तपुर नगरपालिकाको सफाइ गाडीमा हरेक दिन जथाभावी फोहोर नगर्न सन्देश प्रवाह भइरहेको छ । केही महिनाअगाडि दत्तात्रय परिसरमा गरिने जथाभावी मोटरसाइकल र गाडी पार्किङ निषेध गरियो र पार्किङ निषेधको बोर्ड र स्वयम्सेवक पनि खडा गरियो । तर, जुन दिन त्यहाँ स्वयम्सेवक उपस्थिति हुँदैन, त्यो दिन पुनःजथाभावी पार्किङ गरिएको हामी पाउछौँ । सम्पदा क्षेत्रमा जथाभावी पार्किङ गर्दा कसैले पनि राम्रो भनेको सुनिँदैन । तर, त्यही कार्य निरन्तर भइरहेको छ ।
तसर्थ, नगरवासीलाई सामाजिक अनुशासनप्रति तत्पर गराउन भक्तपुर नगरपालिकाले आफूले अँगालेको नीति तथा कार्यक्रममा आवश्यक विश्लेषण तथा सुधार गर्नुपर्ने देखिन्छ । नगरवासीले पनि आफ्नो दायित्व बुझेर एक असल र अनुशासित नागरिकको भूमिका निभाउन आ–आफ्नो स्थानबाट अग्रसर हुनुपर्ने देखिन्छ । आखिर भक्तपुर जति राम्रो भयो त्यति हामी सबैको इज्जत बढ्ने नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *