भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
असफल विद्रोह
अप्रिल १७ मा बोल्टन फ्लोरिडाको एक होटलमा थिए । त्यहाँ ‘बे अफ पिग्स’ का पूर्व लडाकूहरूको कार्यक्रम थियो । क्युवामाथि अमेरिकी हमलाको ५८ औँ वर्षको उपलक्ष्यमा सो कार्यक्रम हुँदै थियो । ‘बे अफ पिग्स’ माथिको अमेरिकी हमलाले फिडेल क्यास्त्रोलाई सत्ताच्यूत गर्न सकेन । फ्लोरिडाको राजनीतिमा ती पूर्वलडाकूहरूको बलियो प्रभाव थियो । अमेरिकी राजनीतिमा उक्लिन चाहने राजनीतिज्ञहरू सधैँ ती लडाकूका कार्यक्रममा उपस्थित हुन्थे ।
पूर्व लडाकूहरूको कार्यक्रममा बोल्टनले एउटा खुसीको खबर सुनाए । हेल्म–बर्नट ऐन ब्यूँताइएको थियो । अब फ्लोरिडामा बस्दै गरेका पूर्व लडाकूहरूले क्युवाली सरकारले जफत गरेको घरजग्गाउपर दाबी गर्दै अमेरिकी अदालतमा मुद्दा दायर गर्न सक्ने भए । ट्रम्पको धाप पाएर बोल्टन निकै उत्साहित भएका थिए । उनले भेनेजुयला र क्युवालाई सताउने प्रपञ्चहरू गर्न थाले । सुरुमा भेनेजुयाली केन्द्रीय बैङ्कमाथि हमला हुने भयो ।
भेनेजुयलाका विपक्षीहरूले अप्रिल ३० मा ठूलो कदम चाल्ने भए । ग्वाइडोले कोलम्बिया छोडेर धेरै घाटा भएको बोल्टनले पछिसम्म पनि सोचिरहे । जस्तो, फेब्रुअरीभरि विपक्षी गतिविधि हुन सकेन । कोलम्बियाबाट ‘मानवीय’ सहयोग भित्र्याउनमा त्यति सफलता मिलेन । काराकसबाट अमेरिकी अधिकारीहरू हटाउनुलाई पनि उनी अर्को गल्ती ठान्छन् । मे १ मा ग्वाइडोले देशैभरि जुलुसप्रदर्शन गर्ने घोषणा गरेका थिए ।
अप्रिल ३० गते बिहान साढे पाँच बजे पोम्पेओले बोल्टनलाई फोन गरेर भने, “भेनेजुयलामा ठूलो हलचल छ ।” विपक्षी नेता लियोपोल्डो लोपेजलाई रिहा गरिँदै थियो । उनी लामो समय नजरबन्दमा थिए । गुप्तचर निकायका जनरल मानुयल क्रिस्टोफर फिगेराले लोपेजलाई रिहा गरेका थिए । पोम्पेओले रक्षमन्त्री पाड्रिनोले ग्वाइडोलाई भेट्न खोजेको बताए । ग्वाइडोलाई भेटेपछि पाड्रिनोले माडुरोलाई सत्ता छोड्न भन्ने योजना थियो । पाड्रिनो तीन सय सेनाका साथ थिए । यसबाट बोल्टनले पाड्रिनो क्युवाली सुरक्षा घेराबाट बाहिरिएको बुझे । बोल्टन निकै खुसी थिए । तर, त्यो खबर झूटो ठहरियो । त्यस्तै सर्वोच्च अदालतसम्बन्धी योजना पनि अधुरै रह्यो । सर्वोच्चले संविधानसभालाई अवैध घोषणा गर्नुपर्ने थियो ।
बोल्टन एकाबिहानै ह्वाइट हाउस गए किनभने त्यो दिन तनावपूर्ण हुने निश्चित थियो । उनी ह्वाइट हाउस पुग्दा ग्वाइडो र लोपेजले काराकसमा हात मिलाइसकेको खबर सुने । ग्वाइडोले एउटा ट्वीट गरे र ‘अपरेसन लिबर्टी’ सुरु भएको बताए । उनले सेनाहरूलाई आफ्नो पक्षमा लाग्न र सर्वसाधारणलाई सडक सङ्घर्षमा उत्रिन आह्वान गरे । बोल्टनले पछि मात्र सो कुरा हल्ला भएको थाहा पाए । केही समय सेनाका केही टुकडी ग्वाइडोको पक्षमा लागेको कुरा रेडियो र टेलिभिजनहरूमा देखाइयो । ती कतिको सत्य हुन् अर्कै कुरा थियो ।
बिहानभरि सञ्चार माध्यमहरूले बाझिने खबरहरू फुकिरहे । यसबाट विपक्षी र भेनेजुयलाका उच्च अधिकारीहरूबीचको कुराकानी बिग्रिसकेको अनुमान बोल्टनले गरे । सवा ६ बजेमात्र गतिलो खबर आयो । सैन्य अधिकारी मोरेनोले केही न्यायाधीशहरूलाई बोलाएर आफ्नो भूमिका पूरा गर्न भने । त्यसपछि पाड्रिनोले आफ्नो काम गर्ने थिए । तर, न्यायाधीशहरूले केही नगरेजस्तो बोल्टनलाई लाग्यो । दिउँसोसम्ममा धेरै निजामती र सैन्य अधिकारीहरू ठण्डा भइसकेको बोल्टनले देखे । विद्रोहको योजना हतारमा बुनेको उनीहरूलाई लागेको हुनुपर्ने उनको अनुमान थियो । फिगेराले रक्षामन्त्रीलाई समय बितिरहेको बताए ।
यसको दोष बोल्टनले क्युवालीहरूलाई दिन्छन् । उनी बुझाइ यस्तो थियो – “क्युवालीहरूले सोमबार राति नै षड्यन्त्रको सुइँको पाएको हुनुपर्छ । त्यसैले उनीहरूले विपक्षी षड्यन्त्रकारीहरूलाई बनेको योजनामा नचल्न भनेको हुनुपर्छ । भेनेजुयालामा कसले काम गर्छ ? भेनेजुयली अधिकारीहरूले कि क्युवालीहरूले ? क्युवालीहरूले नै माडुरोलाई सचेत पारेको हुनुपर्छ ।” उच्च तहमा सूचना चुहिसकेको मोरेनोले अनुमान गरे । उनी हतोत्साहित हुँदै गए । उनले सर्वोच्चलाई मनाउन सकेनन् । माडुरोलाई संविधानसभाले शक्तिशाली बनाएको थियो । त्यो संविधानसभालाई मोरेनोले भङ्ग गराउन सकेनन् । यति गरेको भए माथिल्लो तहका नेताहरू सबै ढल्ने थिए भन्ने बोल्टनको अपेक्षा थियो । संविधानसम्मत षड्यन्त्र गर्न नसकेपछि र लोपेजको उन्मुक्तिपछि षड्यन्त्रमा सहभागी उच्च अधिकारीहरूले असजिलो महसुस गरे । यी अधिकारीहरूले मौका ढुकिरहेका थिए । मौका पायो कि उनीहरू यता वा उता खुट्टा राख्न तयार थिए – बोल्टन लेख्छन् ।
बोल्टनले हिम्मत हारेनन् । उनी लेख्छन्, “क्रान्तिमा सबथोक योजनाबद्ध हुन्न । अलिकति सतर्कताले पनि सफलता वा विफलता दुवै हुन सक्छ ।” बोल्टनको बुझाइमा त्यो दिन भेनेजुयलामा सबथोक तहसनहस भयो । ‘क्रान्तिकारीहरू’ वासिङटनमा थिए, त्यसैले धेरै तथ्य सूचनाहरू पाउन सकेनन् । पछि मात्र क्रिस्टोफर फिगेराले बोल्टनलाई त्यो दिनबारे बताए । रिहा भएपछि लोपेजले ग्वाइडोलाई भेटेका थिए । उनीहरूले अघि बढ्ने निधो गरे र उच्च सैन्य अधिकारीहरू पनि आफ्नो पक्षमा लाग्ने अनुमान गरे । खेल सुरु गरेपछि टुङ्गोमा पुग्नैपर्छ भन्ने उनीहरूको हिसाब थियो ।
फिगेराले ज्यान जोगाउन काराकस दूतावासमा शरण लिए । त्यहाँबाट भागेर उनी पत्नीसँगै कोलम्बिया भागे । विपक्षीहरूको पक्ष लिएका धेरै अधिकारीका पत्नीहरू पनि यसैगरी भागेका थिए । उनीहरू अमेरिका वा अमेरिकी आशीर्वादप्राप्त देशहरूतिर लागेका थिए ।
अप्रिलको त्यो दिन बोल्टनले आफ्नो कार्यकालकै “साहसी” काम गरेका थिए । उनले एकाबिहानै ट्रम्पलाई फोन गरेका थिए । ट्रम्प कुम्भकर्ण निद्रा सुत्छन् भन्ने बोल्टनलाई थाहा थियो । फोनमा उनले भेनेजुयलामा ठूलो हलचल भएको र अन्त्यमा कि माडुरो जेल जाने, कि ग्वाइडो जेल जाने बताए । त्यसको पन्ध्र मिनेटपछि बोल्टनले उपराष्ट्रपति पेन्स र लगत्तै राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारीहरूलाई पालैपालो फोन गरे । उनीहरूले बोल्टनले सतर्क पारे । दिनभरि पोम्पेओ र बोल्टन फोनमा झुन्डिएको झुन्डियै थिए । उनीहरू विदेशी सरकारहरूसँग मोलतोल गर्दै थिए । ती देशलाई आफ्नो पक्षमा तान्न भरमग्दुर प्रयास गर्दै थिए ।

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो (बायाँ) सँग रक्षामन्त्री भ्यादीमिर पाड्रिनो (दायाँ)
विपक्षीहरूले माडुरोलाई झुक्याएर सङ्घर्ष अघि बढाएको र सोही कारण माडुरो काराकसनजिकै पर्ने सैन्य मुख्यालय गएको बोल्टनको दाबी छ । पोम्पेओले माडुरो विदेश भाग्छन् भन्ठाने । रक्षामन्त्री पाड्रिनोले माडुरोको साथ छोडेनन् । उनी दिनभरि सैन्य मुख्यालयमै बसेको विपक्षीहरूले ठाने । उनीहरू आत्तिएको भन्ठानेर बोल्टन आधा मनले खुसी हुन्छन् ।
विद्रोह असफल भइसकेको थियो । विपक्षीहरूमाथि अब दनादन दमन हुन्छ, भेनेजुयलाका सडकहरू रगतले भरिन्छ भन्ने बोल्टनले अनुमान गरे । तर, त्यस्तो केही भएन । हप्तौँ र महिनौँ बिते, दमन भएन । दमन नहुनुको अर्कै कारण हुनसक्छ । बोल्टनले अर्कै बुझे । विद्रोहीमाथि दमन गरे जनता आफ्नो विपक्षमा जान्छन् भन्ने डरले उनीहरूले दमन नगरेको उनको बुझाइ रह्यो ।
असफलताका कारणहरू
मे १ मा बोल्टनले विभागीय प्रमुखहरूको बैठक डाके । सबैले जनवरीमा नै कारबाही नगरेको गुनासो पोखे । बोल्टनको भाषामा कर्मचारीहरूका गैरजिम्मेवार तर्कहरू सुनियो । विपक्षीहरूले भाग्ने बाटो नपाएको दुखेसो बोल्टनको थियो । तैपनि उनले सान्त्वना दिए । उनले भने, ‘एउटा लडाइँ हार्दैमा युद्ध हारिन्छ भन्ने छैन । विपक्षीहरू फेरि उठ्नुपर्छ र लुगामा लागेको धुलो टक्टक्याएर अघि बढ्नुपर्छ ।’
मे १ को ग्वाइडोको जनसभा माडुरोको भन्दा ठूलो भएको बोल्टन झूटो दाबी गर्छन् । धेरै जनता माडुरो सरकारको ‘कोपमा पर्ने’ डरले ग्वाइडोको जुलुसमा नगएको बोल्टनको तर्क छ । त्यो दिन काराकसमा ठूलो भिडन्त भयो । विपक्षीहरूले प्रहरीका हतियारबन्द गाडीहरूमाथि हमला गरे । ग्वाइडोले दिनभरि जनतालाई सडकमा उत्रिन आह्वान गरिरहे । उनले कामदारहरूलाई हड्तालमा उत्रिन उक्साइरहे । ज्याला कम पाइरहेका कर्मचारीहरू आफ्नो पक्षमा आउने उनको आकलन थियो । तर त्यस्तो केही भएन । माडुरो बाहिर देखापरेनन् किनभने उनी जनतासँग डराउँथे र षड्यन्त्रका तानाबाना बुन्दै थिए भनी बोल्टन निराधार निष्कर्ष निकाल्छन् ।
ट्रम्पले मे २३ मा पुटिनसँग कुराकानी गर्नु ठूलो भूल भएको बोल्टन लेख्छन् । फोनमा भेनेजुयलाको विषयमा पनि कुरा भएको थियो । पुटिनको कुरा ट्रम्पले खाएको गल्ती थियो रे । अमेरिकाले ग्वाइडोको पक्ष लिँदा जनता माडुरोको पक्षमा झुम्मिएको पुटिनको तर्क सुनेपछि ट्रम्प कायल भएको बोल्टन लेख्छन् । मे १ को जुलुसमा ग्वाइडोको पक्षमा धेरै मान्छे उत्रिनुले पुटिनको “झूट” खण्डन गरेको बोल्टन दाबी गर्छन् । फोनमा पुटिनले भेनेजुयलाको घटनाक्रममा रुसको कुनै हात नभएको बताएका थिए र भेनेजुयलालाई रुसले १० वर्षअघि चाभेजको शासनकालमा मात्र हतियार बेचेको बताए । पुटिनले फिगेरा अमेरिकाको मान्छे भएको पनि बताए । लगत्तै ट्रम्पले अर्थमन्त्री मनुचिनसँग कुराकानी गरेका थिए । त्यसपछि मनुचिनले भेनेजुयलामाथिको आर्थिक प्रतिबन्ध खुकुलो पारेका थिए ।
विद्रोह असफल भएपछिका केही महिना भेनेजुयालाको अर्थतन्त्र खस्किँदै गयो । रेडक्रसका अध्यक्ष उत्तर कोरिया र भेनेजुयला दुवै देश गएका रहेछन् । उनले बोल्टनलाई कोरियाको भन्दा भेनेजुयलाको स्वास्थ्य स्थिति कमजोर रहेको बताए । भेनेजुयलाका विपक्षीहरूले रणनीति फेरिरहन थाले । उनीहरूले उच्च अधिकारीहरूलाई फकाउन छोडेनन् । उनीहरूले माडुरोका समर्थकहरूबीच फाटो ल्याउन कुनै कसर बाँकी राखेनन् । (यो क्रम अझै जारी छ ।) उनीहरूबीच फाटो आए माडुरोको सत्ता धराशायी हुने उनीहरूको स्वाभाविक निष्कर्ष थियो ।
यता ल्याटिन अमेरिकी देशहरू भागेर अमेरिका बस्दै गरेका हुनेखाने मतदाताहरू अमेरिकी प्रशासनप्रति रुष्ट भए । यसमा भेनेजुयला, क्युवा र निकारागुआका भगौडाहरू पर्थे । फ्लोरिडाको राजनीतिमा उनीहरूको बलियो पकड थियो । भेनेजुयली विपक्षीहरूलाई सघाउने अमेरिकी नेताहरूलाई नै चुनावको बेला उनीहरूले मतदान गर्दै आएका थिए ।
विपक्षीहरूको मनोबल बढाउन भेनेजुयालमा दुवै पल्ला बराबर रहेको बोल्टन दाबी गर्छन् । सैन्य अधिकारीहरूले माडुरोलाई सघाएको ठान्न नहुने, बरु उनीहरू बिकाउ रहेको बताएर बोल्टन विपक्षीहरूको हौसला बढाउँछन् । ब्यारेकमा बस्ने सेना विपक्षीहरूको लागि खतरा नरहेको उनी बताउँछन् । भेनेजुयली सेना आफ्नो संस्था खण्डित नहोस् भन्ने सोचबाट निर्देशित भएको बोल्टनको बुझाइ छ । विपक्षीलाई दमन गरे सेनामा विभाजन आउने र गृहयुद्ध मच्चिने डरले उनीहरू चलेको उनी लेख्छन् । उनी ‘क्युवानिर्देशित’ कलेक्टिभसलाई ठूलो शत्रु ठान्छन् । बोल्टन भेनेजुयली सेनाले अझै पनि माडुरोलाई सत्ताच्युत गर्न सक्ने र भेनेजुयलामा ‘प्रजातन्त्र’ ल्याउन सक्ने सम्भावनाबाट नमोडिन विपक्षीहरूलाई शिक्षा दिन्छन् ।
भेनेजुयलामा रुसी पैसामा क्युवालीहरू सक्रिय रहेको बोल्टन लेख्छन् । देशभरि रहेको क्युवाली सेना र गुप्तचरहरूको सञ्जालले नै माडुरोको सत्ता टिकाएको उनी आरोप लगाउँछन् । चाभेजको मृत्युपछि भेनेजुयलामा सत्तासङ्घर्ष भएको र क्युवाको सहयोगमै माडुरो सत्तामा चढेको बोल्टन दाबी गर्छन् । २०१९ अप्रिलको भेनेजुयला सङ्घर्षका गल्ती केलाउँदै बोल्टनले लेख्छन् ः “दुई दशकसम्मको आपसी अविश्वास, भेनेजुयलाका उच्च अधिकारीहरूको लाछिपन र सङ्गीन घडीमा मनोबल गुमाउनु, अनुभवहीन विपक्षीहरूको कार्यनीतिको भूल, लडाइँको बेला मैदानमा कुनै अमेरिकी सल्लाहकार नहुनु, रुसी र क्युवालीहरूको दबाबले सङ्घर्ष विफल भयो ।” तिमीहरू विजयको नजिकै पुगेको निष्कर्ष निकालेर बोल्टन विपक्षीहरूको काँध थप्थपाउँछन् र प्रयास जारी राख्न घच्घच्याउँछन् । अमेरिकाले पनि आफ्नो सहयोग जारी राख्नुपर्छ भन्ने उनको अर्को अर्ती छ । उनी लेख्छन्, “भेनेजुयला एक दिन स्वतन्त्र हुनेछ ।”
Leave a Reply