भर्खरै :

समाजवादको रक्षा गर्न स्तालिन र जनक्रान्ति गर्न माओको महत्वपूर्ण देन

समाजवादको रक्षा गर्न स्तालिन र जनक्रान्ति गर्न माओको महत्वपूर्ण देन

भक्तपुर, १४ पुस । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ बासु एकाइ समितिको आयोजनामा बिहीबार शिक्षक र विद्यार्थीहरूमाझ माओ जयन्ती मनाइयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा स्तालिनले दोस्रो विश्वयुद्धको बेला साम्राज्यवादीहरूबाट रुसको समाजवाद रक्षा गर्नुभएको थियो, सन् १९१७ मा स्थापना भएको समाजवादले ३० – ४० वर्षमै अमेरिकाले २ – ३ सय वर्षमा विकास गरेको लाई पछि पारेको थियो भन्नुभयो ।
उहाँले साम्राज्यवादविरोधी सङ्घर्षका अर्का योद्धा माओ त्सेतुङले सन् १९४९ को चिनियाँ जनक्रान्तिको नेतृत्व गरी आधुनिक चीनको विकास र निर्माणको सुरुआत गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहाँहरू दुवै देशभक्त एवम् अन्तर्राष्ट्रवादी नेता हुनुहुन्थ्यो । एउटा देशको विकास र जनताको सुख त्यहाँका राजनीतिक पार्टी र नेताहरूमा निर्भर हुन्छ । नेपालका शासक दल र तिनका नेताहरू इमानदार नहुँदा नेपाली जनतालाई दुःख भइरहेको छ ।”
नेपालको जलस्रोत भारतलाई दिएर नेपाली युवालाई बहुराष्ट्रिय कम्पनीहरूको लागि सस्तो ज्यामी बन्न पठाएर नेपाल र नेपालीको हित नहुने चर्चा गर्दै उहाँले विद्यालय शिक्षा निःशुल्क, अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नु जरुरी छ, विश्वविद्यालयका अब्बलहरूलाई शिक्षण पेशामा उत्साहित गरी नयाँ पुस्ता तयार गर्नु आवश्यक छ, सरकारमा गएका पार्टीहरूले यो काम गरेका छैनन् भन्नुभयो ।
“नेपालका शासक दलहरू एकले अर्कालाई धोका दिएको आरोप लगाउँछन्, यथार्थमा ती सबै दलले नेपाली जनतालाई धोका दिएका छन् ।,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नर्स राजमती जतिले ‘एक विद्यालय एक नर्स’ अन्तर्गत विद्यालयमा भइरहेको कार्यक्रम र आँखा जाँचसम्बन्धी तालिमबारे बताउनुभयो ।
नेक्राशिसङ्घ बासु एकाइ समितिका अध्यक्ष सुनिता घटुवाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक विष्णुप्रसाद दुमरुले पनि माओको देनबारे बताउनुभयो । स्वागत प्रधानाध्यापक अम्बिका न्याइच्याईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *