भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २१

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २१

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)

राष्ट्रपति मुन र प्रम सिन्जो अबे
अप्रिल ११ मा मुन जाय–इन वासिङटन भ्रमण गए । हनोइ बैठक विफल भएको उनले भेउ पाइसकेका थिए । यसले गर्दा दक्षिण कोरिया र प्रजग कोरियाको सम्बन्ध पनि बिग्रेको उनले महसुस गरे । हनोइ बैठकपछि दुई देशबिच कुराकानी नै ठप्प भएको थियो । त्यसैले उनले ट्रम्पलाई युगान्तकारी बैठक बस्नुपर्छ भनी मनाउन खोजे । यो शब्दले ट्रम्प मोहित भए । उनले अर्को बैठकमा ‘वास्तविक सम्झौता’ गर्नुपर्छ भने । तर, बोल्टनहरूले उदासिनता देखाए । घरेलु राजनीतिमा लोकप्रियता गुमाउँछु भनी अमेरिकाले लाज ढाकिदिन्छ कि भनेर मुन वासिङटन आएको बोल्टनको बुझाइ थियो । उनी स्पष्ट शब्दमा भन्छन्, “मुनले आफ्नो ‘सनसाइन’ नीतिको लागि बलि चढ्ने अमेरिकी बाख्रा खोज्दै थिए ।” यिनै कारणले बोल्टनले सो बैठकमा रुचि लिएनन् । हनोइ बैठक बिथोलेकोमा उनी गजक्क थिए ।
राष्ट्रपति मुनले अमेरिका र प्रजग कोरियाबिच हुने युगान्तकारी बैठकमा आफू पनि बस्ने इच्छा देखाए । यस्तैमा ट्रम्पले दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडाको खर्चको कुरा उठाए । उनले त्यहाँ बर्सेनि ५ अर्ब डलर खर्च हुने र त्यसमध्ये दक्षिण कोरियाले जम्मा १ अर्ब खर्च दिएको र अमेरिकामा टीभी बेचेको बताए । उनी अमेरिका घाटामा छ भन्न खोज्दै थिए । जवाफमा मुनले धेरै दक्षिण कोरियालीहरूले अमेरिकामा लगानी गरेको बताए । दक्षिण कोरियास्थित सैन्य अखडाको जमिनको तपाइँहरूले पैसा लिनुहुन्छ कि हुन्न भन्ने ट्र«म्पको प्रश्नमा मुनले केही बोलेनन् । बरु दक्षिण कोरियाले आफ्नो कुल गार्हस्थ उत्पादनको २.४ प्रतिशत प्रतिरक्षामा खर्च गरिरहेको बताए । ट्रम्पले जर्मनीलाई गाली गरेर मुनको प्रशंसा गरे । अमेरिकाले दक्षिण कोरियाको सुरक्षामा झन्डै ५० खर्ब डलर बराबर पैसा खन्याएकोले दक्षिण कोरियाले आर्थिक प्रगति गर्न सकेको बताउन उनले चुकेनन् । दक्षिण कोरियालाई होच्याएको बोल्टनलाई मन परेन । त्यसैले उनले वैकल्पिक भाष्य दिन्छन् । दक्षिण कोरियालीहरू कडा सौदागर हुनाले धेरै लिन सकेको बोल्टन लेख्छन् ।
यसपछि ट्रम्पले जापानतिर कुरा मोडे । जापानसँग दक्षिण कोरियाले सन् १९६५ मा गरेको सन्धिको प्रसङ्ग उठ्यो । जापानको दृष्टिकोणमा सो सन्धिले सन् १९०५ देखि १९४५ सम्म जापानी साम्राज्यवादले कोरियामा गरेको ज्यादती बिर्सने र नयाँ धरातलमा सम्बन्ध बढाउने सोचका साथ आएको थियो । राष्ट्रपति मुनले जोड दिएर भने, “इतिहासले भविष्यको सम्बन्धमा बाधा हाल्नुहुन्न । तर, बेला कुबेला जापानले यसलाई मुद्दा बनाउँदै आएको छ ।” मौका पाएर ट्रम्पले दक्षिण कोरिया जापानसँग युद्ध अभ्यास गर्न तयार छ कि छैन भनी सोधे । मुनको प्रस्ट जवाफ थियो, “अभ्यासका क्रममा जापानी सेना हाम्रो देश पसे हाम्रा जनताले झल्झली इतिहास सम्झिनेछन् ।” ट्रम्पले जोड दिएर सोधे, “जापान र दक्षिण कोरिया मिलेर उत्तरसँग लड्नुप¥यो भने नि ?” मुनले कुनै उत्तर दिएनन् ।
अन्त्यमा राष्ट्रपति मुनले कोरिया फर्केर तेस्रो अमेरिका–प्रजग कोरिया वार्ताको चाँजोपाँजो मिलाउने बताए । उनले जून १२ वा जुलाई २७ लाई सम्भावित मिति भन्न भ्याए । ट्रम्पले कुनै पनि मितिमा भेट्न सकिने तर भेट्नुअघि नै सम्झौता तय हुनुपर्ने बताए । कर्मचारीको स्तरमा भेटेर केही नहुने, प्रमुख नेताहरू नै भेट्नुपर्नेमा मुनले पुनः जोड दिए ।
अप्रिल २६ मा जापानी प्रम सिन्जो आबे वासिङटन गए । उनको विचार राष्ट्रपति मुनको भन्दाविपरीत थियो । हनोइ सम्मेलनमा प्रजग कोरियालाई कुनै सहुलियत नदिएकोमा उनले खुसी व्यक्त गरे । उनले तपाइँले मात्र सम्झौताबाट बाहिरिने साहस गर्न सक्नुहुन्छ भनेर ट्रम्पको तारिफ गरे । उनले नाकाबन्दी झन् चर्काउन भने र ‘समय हाम्रो पोल्टोमा आएको छ’ भने ।
प्रजग कोरियाली जनताको भोक
हनोइ बैठकपछि प्रजग कोरियाले छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरू परीक्षण गरिरह्यो । ती परीक्षणहरू ट्रम्पसँग भएको समझदारीभन्दा बाहिर थिएनन् । तर, ती परीक्षणले दक्षिण कोरिया र जापानलाई समस्या हुने बोल्टनले देखे । उनी फोस्रो वाक्य लेख्छन्, “प्रजग कोरियाहरूले जे पनि गर्न सक्छन् ।” मानौँ प्रजग कोरियाले संसारभरि युद्ध फैलाउँदै, अणु बम पड्काउँदै र सैन्य अखडा बनाउँदै हिँडेको छ ।उत्तरको क्षेप्यास्त्र परीक्षणमा ट्रम्पको विचार भने फरक थियो । बोल्टनहरू अमेरिकाले उत्तरको निन्दा गर्दै वक्तव्य निकाल्नुपर्नेमा जोड दिए । ट्रम्प वक्तव्यको विपक्षमा उभिए । उनले उच्च अधिकारीहरूलाई शान्त रहन भने । यसरी राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रतिबद्धता उल्लङ्घन गर्न दिए संसारका अन्य देशको पनि हिम्मत बढ्ने बोल्टनको तर्क थियो । ट्रम्पले नसुनेझैँ गरे र ट्वीट गरे, “म उनको साथमा छु भन्ने उनलाई थाहा छ । उनी मसँग गरेको वाचा तोड्न चाहन्नन् । सम्झौता हुनेछ ।” ट्रम्पले आफू सम्झौता गर्न तयार रहेको तर कच्कच्याहा सल्लाहकारहरूले रोकेको सन्देश दिएको बोल्टनले मनमा लिए । ट्रम्पले कोरियाली क्षेप्यास्त्रलाई ‘सामान्य तोप’ भन्न भ्याए । जनतालाई भोकभोकै राखेर उत्तरले आणविक अस्त्रहरू बनाएको बोल्टन आरोप लगाउँछन् । मानौँ कोरियाली जनतालाई भोकमरीबाट जोगाउन अमेरिकाले त्यहाँ नाकाबन्दी लगाइरहेको हो ।

जी २० को ओसाका सम्मेलनमा विश्वका नेताहरू

मे ६ मा जापानी प्रम आबेले ह्वाइट हाउसमा फोन गरे । अमेरिकी नाकाबन्दीबाट चिढिएर नै अध्यक्ष किमले क्षेप्यास्त्र परीक्षण गरेको सुनाउन उनले फोन गरेका थिए । नाकाबन्दीमा देखिएको ‘अन्तर्राष्ट्रिय एकता’ लाई न्यूनाङ्कन गर्न त्यसो गरेको आबेको निष्कर्ष थियो । आबे ट्रम्पलाई आफ्नो अडानमा बस्न दम दिँदै थिए । ट्रम्पले उल्टो कुरा भने । उनले जापान र अमेरिका एकढिक्का छन् भन्ने कुरामा जोड नदिन आग्रह गरे । यसो गरे प्रजग कोरिया रुष्ट हुने उनको दलिल थियो । साथै उनले आबेलाई कोरियाली परीक्षणले नआत्तिन भने ।
भोलिपल्ट दक्षिण कोरियाली राष्ट्रपति मुनले फोन गरे । उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासले अध्यक्ष किम चिढिएको बताए । ट्रम्पले यसमा तिम्रो दोष छैन भने । उत्तर र दक्षिण कोरियाबिच वार्तालाप भएको हुनसक्ने र उनले ट्रम्पलाई त्यसको जानकारी नगराएको बोल्टन दाबी गर्छन् । मुनले एउटा प्रस्ताव राखे । अमेरिकी सरकारले प्रजग कोरियालाई खाद्यान्न सहयोग गर्नुपर्ने उनले बताए । ट्रम्पले हुन्छ भने र यो सहयोग आफूले नै दिन लगाएको भन्दिनू पनि भने । अमेरिकी प्रशासनका अतिवादीहरूको विरोध हुँदाहुँदै पनि अध्यक्ष किमसँग आफ्नो सम्बन्ध राम्रो भएकोमा ट्रम्पले जोड दिए । यो कुरा सुनेर बोल्टन रिसाए । प्रजग कोरियाले जति हतियार परीक्षण ग¥यो, उति उसलाई सहुलियत दिने भनेर उनी लेख्छन् । खाद्यान्न सहयोगलाई उनी सहुलियत भन्छन् । यहीँनिर उनी प्रजग कोरियाली जनताको भोक हटाउन कति तत्पर छन् भन्ने स्पष्ट हुन्छ ।
ट्रम्प पनि बोल्टनभन्दा फरक थिएनन् । मे ९ गते उनले बोल्टनलाई बोलाएर प्रजग कोरियामाथि थप नाकाबन्दी चर्काउन भने । तर यसको खबर जनतामा नजाओस् भन्ने उनको राय थियो ।
ट्रम्पको जापान भ्रमण
मे महिनाको अन्त्यतिर ट्रम्पको टोली जापान गयो । जापानमा पत्रकारहरूले बोल्टनलाई प्रजग कोरियाको हतियार परीक्षणले राष्ट्रसङ्घका प्रतिबद्धताहरू उल्लङ्घ गरे–नगरेको विषयमा प्रश्न गरे । ट्रम्पले आफ्नो मुख थुनेको हुनाले आफूले सत्य बोल्न नसकेको बोल्टनको गुनासो छ । खासमा जापान ओर्लिनासाथ ट्रम्पले ट्वीट गरेका थिए । “प्रजग कोरियाले केही साना हतियार पड्काएको छ । यसले मेरा केही मान्छेहरू चिन्तित छन् । तर म चिन्तित छैन । मलाई अध्यक्ष किममाथि विश्वास छ । उहाँले मलाई दिएको वचन पालन गर्नुहुनेछ ।”
मे २७ मा ट्रम्पले शाही गारद अवलोकन गरे । उनलाई जापान सरकारले प्रजग कोरियाबाट पीडित केही जापानीहरूसँग भेट गरायो । ती जापानीहरूका केही आफन्त कोरियाली कारागारमा थिए । यसलाई जापानले आफ्ना नागरिकहरूलाई अपहरण गरेको भन्दै आएको थियो । ट्रम्पले आफन्त फर्काउने प्रयास जारी राख्न भने र आफूले पनि पहल गर्ने बताए । जापान सरकार यो भेटघाटबाट साह्रै खुसी भयो । अन्त्यमा संयुक्त वक्तव्य निस्किने भयो । प्रम आबेसँग वार्ता अघि बढ्यो । खासगरी चीनको विषयमा कुराकानी केन्द्रित थियो । दिउँसोपख संयुक्त पत्रकार सम्मेलन भयो । सम्मेलनमा ट्रम्पले प्रजग कोरियाली मिसाइल परीक्षणबाट आफू त्यति चिन्तित नभएको बताए । अबेले ठिक उल्टो कुरा गरे । उनले कोरियाली परीक्षणले सुरक्षा परिषद्को प्रस्ताव उल्लङ्घन भएको बताए । जापान र अमेरिकाबीच एकमत भएको संसारले थाहा पायो ।
जी–२० को ओसाका सम्मेलन
जून महिनामा ट्रम्पको टोली जी–२० बैठकको लागि जापानको ओसाका गए । विदेशी नेतामध्ये सिन्जो आबे र बोरिस जोनसनसँग ट्रम्पको सम्बन्ध बलियो थियो । आबेले अघिल्लो भ्रमणमा पीडितहरूलाई भेटेकोमा धन्यवाद भने । उनले प्रजग कोरियाविरुद्ध नाकाबन्दी कत्ति पनि खुकुलो नपार्न भने र आणविक निःशस्त्रीकरणमा ऊ प्रतिबद्ध नहुँदासम्म छलफल नगर्न भने । ट्रम्पले किमसँगको आफ्नो सम्बन्धबारे बढाइचढाइ गरे । अमेरिकी नाकाबन्दीकै कारण उत्तर वार्तामा आएको उनले बताए । लगत्तै उनले दक्षिण कोरिया र जापानले पनि उत्तरमाथि नाकाबन्दी लगाएका छन् कि छैनन् भनी सोधे । प्रम आबेले नाकाबन्दी लगाउन धेरै महँगो पर्न जाने हुनाले लगाएका छैनौँ भने । यस्तै प्रश्न ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुनलाई पनि सोधेका थिए । उनको उत्तर पनि आबेकै जस्तो थियो ।
ट्रम्पले नाकाबन्दी महँगो भए पनि अमेरिकाले त्यसलाई जारी राख्ने बताए । उनले प्रजग कोरियाले उपराष्ट्रपति पेन्स, विदेशमन्त्री पोम्पेओ र सुरक्षा सल्लाहकार बोल्टन लगायतलाई घृणा गर्छन्, तर मलाई माया गर्छन् भने । अबे अन्यमनस्क भएर खिस्स हाँसे ।
ओसाका सम्मेलनकै क्रममा ट्रम्पले जर्मन चान्सलर एँगेला मार्केललाई पनि भेटे । ट्रम्पले पुरानै कुरा दोहो¥याए । उनले अमेरिकी सेना जताततै छ, तर कत्ति पनि फाइदा छैन भने । कुरैकुरामा ट्रम्पले प्रजग कोरियाको तारिफ गरे र सम्मेलन सकेपछि दुई कोरियाबिच पर्ने सेना निषेधित क्षेत्र (डीएमजी) मा जान र अध्यक्ष किमलाई भेट्न सक्ने सङ्केत बताए । यो सुनेर अमेरिकी उच्च अधिकारीहरूको हावा खुस्कियो । अध्यक्ष किमले केही गर्न चाहेको, तर कसरी गर्ने भन्नेमा अलमलिएको उनले बताए । भोलिपल्ट बिहान ट्रम्पले ट्वीट गरे, “चिनियाँ राष्ट्रपति सीसँगको भेट लगायत केही अन्य महत्वपूर्ण भेटघाटपछि म जापानबाट (राष्ट्रपति मुनसँगै) दक्षिण कोरियातिर प्रस्थान गर्नेछु । त्यहाँ रहँदा मौका मिले प्रजग कोरियाका अध्यक्ष किमसँग सिमाना वा सेनानिषेधित क्षेत्रमा भेट्नेछु, हात मिलाउन र हेलो भन्न ।”
लगत्तै ट्रम्पका सहयोगी मुल्भानीले प्रजग कोरियाले औपचारिक पत्र नआएको हुनाले भेट्न नसकिने बताएको थाहा पाए । ट्रम्पले उनलाई औपचारिक पत्रको खेस्रा गर्न लगाए । दक्षिण कोरियाली राष्ट्रपति मुन पनि सो भेटघाटमा उपस्थित हुन चाहे । उनी सो भेटघाटलाई त्रिदेशीय बनाउन चाहन्थे । बोल्टन दक्षिण कोरियाको राजधानी सिउल गए । ट्रम्पको जहाज र उनको जहाज फरक थियो । त्यसैले उनले राष्ट्रपति मुनसँग भोज खान पाएनन् । यहाँ पछि उनको कार्यक्रम मङ्गोलियामा थियो । त्यसैले सेना निषेधित क्षेत्रमा जाने कि मङ्गोलिया भन्ने उनले टुङ्गो लगाउन सकेनन् । एउटा सामान्य ट्वीटबाट अन्तर्राष्ट्रिय बैठक बस्न लागेको देखेर उनी दङ्ग थिए । साथै अमेरिकाजस्तो शक्तिशाली देशका राष्ट्रपतिले कोरियाली नेतालाई भेट्न यति लामो दूरी पार गरेको पनि कताकता उनको मनमा बिझेको थियो ।
जून ३० को दिन विदेशमन्त्री पोम्पेओले आफू ट्रम्पसँगै सेना निषेधित क्षेत्र जाने बताए । बोल्टनले जाउँ कि नजाउँ गरे । भेटको तालिका प्रजग कोरियाले बनाएको थियो । सामान्य भेटघाटपछि ट्रम्प र किमबिच ४० मिनेट कुराकानी हुने र त्यसपछि दुवै देशका विदेशमन्त्रीसहित बस्ने तय भएको थियो । बोल्टन उनीहरूले कुरा गरेको परैबाट हेर्न राजी थिएनन् । त्यसैले मङ्गोलिया जाने सोचे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *