भर्खरै :

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–९

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–९

एक फिलिङ्गोले डढेलो लाउन सक्छ
लाल इलाकाको जीवन कठोर हुनासाथै पार्टीभित्र निराशावादी भावनाले प्रभाव फैलाउन लाग्यो । त्यस निराशावादी विचारको प्रतिनिधित्व गर्नेमध्येमा लिन प्याउ पनि थिए । निराशावादीहरूलाई त्यो सानो लाल इलाका लामो समयसम्म रहन्छ भन्ने कुरामा शङ्का भयो । यसकारण, माओले ५ जनवरी १९३० मा एउटा लेख लेख्नुभयो । त्यस लेखको शीर्षक हो – ‘एक फिलिङ्गोले डढेलो लाउन सक्छ ।’
त्यसबेला पार्टी केन्द्रीय समितिसमेत लालसेनालाई गुरिल्ला दलहरूमा विभाजित गरेर गाउँ–गाउँमा पठाउन चाहन्थ्यो । तर, लालसेनाका सिपाहीहरू छुट्टाछुट्टै इलाकाका हुनाले, स–साना दलमा नेतृत्वको कमजोरीले हार हुनसक्ने, तितरबितर दलहरूलाई शत्रुले एक एक गरेर हराउन सक्ने र गा¥हो समयमा झन् एक भएर शत्रुलाई हराउनुपर्ने भएको हुनाले माओ केन्द्रीय समितिको रायसँग सहमत हुनुभएन । उहाँले त्यस रचनामा शत्रुलाई चानचुन सम्झने र क्रान्तिकारी सङ्गठनलाई बढाइचढाइ अन्दाज गर्ने अधैर्य सोचाइ र क्रान्तिकारी शक्तिलाई सा¥है निर्बलियो सम्झेर शत्रुलाई सा¥है बलियो सम्झने एकोहोरो र निराशावादमा फसेकाहरूलाई चीनको क्रान्तिकारी स्थिति अगाडि सार्दै भन्नुभयो, “चीनमा क्रान्तिको ठूलो ज्वार आउँदै छ, त्यो जहाज देखिनुभन्दा पहिलेको मस्तुल, सूर्य उदाउनुभन्दा पहिले पहाडमा देखिने रातो किरण र आमाको गर्भमा जन्मनुभन्दा अगाडि छटपटिएको बच्चाजस्तै हो ।”

लि लि सानवाद र त्यसको पतन
लिलि सान हुनान प्रान्तको लिलिङ भन्ने अञ्चलको एक जमिनदार परिवारमा सन् १८९६ मा जन्मेका थिए । निम्न माध्यमिक स्कूलबाट उत्तीर्ण भई ‘काम र अध्ययन गर्ने योजना’ मा उनी पनि फ्रान्स गएका थिए । चाउ एन–लाइसँग मिलेर उनले फ्रान्समा युवा कम्युनिस्ट दल सङ्गठन गरे । सन् १९२२ मा चीन फर्केर उनी ल्यू शाउ चीसँगै आनयानको खानी मजदुरहरूको सङ्गठनमा लागे तथा सन् १९२४ मा उनी मजदुर सङ्गठनहरूको सङ्घको अध्यक्ष भए । साथसाथै उनी कोमिनताङको प्रचार विभागको सचिव पनि थिए । त्यसैबेला उनी क्यान्टनको क्रान्तिकारी सैनिकहरूको तालिम केन्द्र ह्वाम्पो एकेडेमीको राजनैतिक निर्देशक भए । सन् १९२५ मा ल्यू शाउ चीसँग मिलेर उनले साङ्घाइमा ३० मईको आन्दोलनलाई सञ्चालन गरे ।
सन् १९२६ मा राष्ट्रिय चिनियाँ मजदुर सङ्घको तर्फबाट उनी मस्को गए । त्यसै साल उनी पार्टीको केन्द्रीय समितिको राजनैतिक समितिको सदस्य चुनिए । अगष्ट १९२७ को नानचाङ विद्रोहमा उनले चाउ एन लाइसँग काम गरे । जुलाई १९२८ मा मस्कोमा भएको पार्टीको छैटौँ महाधिवेशनले चु चु–पाइको ठाउँमा साङ्घाइका एक मजदुर श्याङ चुङ फालाई महामन्त्री चुन्यो । श्याङ चुङ फा महामन्त्री भए पनि केन्द्रीय समितिमा लि लि सानको प्रभाव थियो । लाल इलाकाभन्दा बाहिर र लालसेनाको केही भागमा उनको प्रभाव फैलेको थियो ।
लिलि सान चीन फर्केर चिङकाङ पहाडमा माओलाई लेखे, “हाम्रो पार्टीको आधार मजदुर वर्गबाट किसान वर्गमा सर्दै जाने एक खतरा छ र हामीले पार्टीको मजदुर वर्गको आधारलाई फेरि कायम गर्न सक्दो कोसिस गर्नुपर्छ ।”
छालजस्तै अलि अलि गरेर अगाडि बढ्ने र गाउँलाई आधार बनाएर लडाइँ गर्ने तरिकालाई उनले अस्वीकार गरे । आधार इलाकालाई बलियो बनाउने कुरालाई वास्तै नगरी ठूलठूला सहरहरूमा विद्रोह र हड्तालहरूसँगै ठूल्ठूला आक्रमणहरू गरेर क्रान्तिलाई अगाडि बढाउने उनको नीति थियो । त्यस नीतिअनुसार सन् १९२९ को मध्यमा लालसेना उत्तरी क्याङसीतिर बढ्यो र कोमिनताङका सेनालाई हराउँदै ठूल्ठूला सहरहरू कब्जा गर्यो । पहिलो सेना दलले नानचाङमाथि धावा नबोली पेङ तेह हवाईको सेनासँग मिलेर चाङशा कब्जा गर्यो । अप्रिल १९२९ मा आफूभन्दा बलियो शत्रु सेनाको बढ्दै गएको दबाबले गर्दा पेङ तेह हवाईलाई पछि हट्न कर लाग्यो । त्यसपछि लालसेना दक्षिणी क्याङसीमा सफलतापूर्वक अगाडि बढ्यो । त्यसबेला माओ र चु तेह पनि फुकेनमा जानुभएको थियो र त्यहीँ चौथो लालसेनाको पार्टी सम्मेलन भएको थियो ।
सन् १९३० मई महिनातिर च्याङ काई शेक र अरू प्रतिक्रियावादीहरूको बिचमा लडाइँ सुरु भयो । ११ जूनको दिन पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोको बैठक बस्यो । शत्रुहरूको बिचको त्यस युद्धबाट उत्साहित भएर लिलि सानले ‘नयाँ क्रान्तिकारी उँचो ज्वार र पहिले एक वा धेरै प्रान्तहरूमा विजय गर्ने’ उत्ताउलो (वामपन्थी) प्रस्ताव अघि सारे । समितिले प्रस्तावलाई स्वीकार गर्यो र पार्टीभित्र दोस्रोचोटि ’उत्ताउलो’ नीति लागू भयो ।
त्यस निर्णयअनुसार सन् १९३० मा लि लि सानले दोस्रोचोटि चाङशामाथि हमला गर्ने आदेश दियो । माओले लि लि सानबाट नेतृत्व गरिएको राजनैतिक समितिको त्यस आदेशलाई विरोध गर्नुभयो । तर, पहिलो युद्ध सेना पहिलो र तेस्रो सेना मिलाएर बनेको थियो र क्रान्तिकारी सैनिक समितिले बहुमतले माओको अडानलाई अस्वीकार गर्यो र चाङशामाथि हमला गर्ने तयारी भयो ।
सेप्टेम्बर १९३० मा चाङशामाथि दोस्रो हमला सुरु गरियो । हवाईजहाज र लडाकू जहाजहरूको मद्दतसमेत भएको शत्रुले चाङशालाई अझ बलियो किल्ला बनाएको थियो । लालसेनाले चाङशामाथि लगातार हमला गरिरह्यो । शत्रुको सेना चारैतिरबाट बढ्दै थियो । स्थिति लालसेनाको विपक्षमा हुँदै थियो । त्यसकारण, माओले चाङशा कब्जा गर्ने र ठूल्ठूला सहर कब्जा गर्ने विचार छोड्न पहिलो युद्ध सेनाका कार्यकर्ताहरूलाई सम्झाउन थाल्नुभयो । माओकै विचारअनुसार सेना आपसमा टुक्रिएर हुनानको चालिङ, प्रहसिन, लिलिङ प्रान्त र क्याङसीको पिङस्याङ र किन प्रान्तहरू कब्जा गरियो । यस नीतिले पहिलो युद्ध सेनाले आफ्नो विकासमा सफलता पायो ।
लि लि सान भने चाङशामात्रै होइन उहानमा पनि धावा बोल्न चाहन्थे । त्यसो गरिएको भए लालसेनाले ठूलो हार व्यहोर्नुपर्ने थियो ।
लि लि सान लालसेनाको शक्तिभन्दा बढाइचढाइ अन्दाज गर्थे र राष्ट्रिय राजनीतिमा पनि क्रान्तिकारी पक्षलाई बढाइचढाइ अन्दाज गर्थे । क्रान्तिको निमित्त ठीक ठीक सङ्गठनात्मक तयारी चाहिन्छ भन्ने कुरा बुझ्दैनथे र ठूल्ठूला सहरहरूमा विद्रोह गरेर छिट्टै देशव्यापी क्रान्ति हुन्छ र क्रान्ति एकदमै नजिक छ भन्ने ठान्थे । उनी चीनको क्रान्तिलाई पुँजीवादी जनवादी क्रान्ति नमानी समाजवादी क्रान्ति मान्दथे । माओले लिलि सानको त्यस उत्ताउलो विचारको विरोध गर्दै जानुभयो । सन् १९३० सेप्टेम्बर महिनामा छैटौँ केन्द्रीय समितिको ते¥हौँ ठूलो बैठक बस्यो । बैठकले लि लि सानको खोटो नीतिलाई खण्डन ग¥यो र त्यसलाई अस्वीकार गर्यो । यसप्रकार लि लि सानको उत्ताउलो भिडन्तवाद समाप्त भयो ।

याङ काङ हुई आफ्ना छोराछोरीहरुका साथ

माओको टाउकोलाई १० हजारको इनाम
हुनानमा क्रान्तिकारी सङ्घर्ष बढ्दै गयो । प्रतिक्रियावादी आतङ्क पनि चर्किँदै गयो । माओ र चु तेहको जिउँदो वा मरेको टाउको ल्याउनेलाई १० हजार रूपैयाँको इनाम घोषणा गरियो । माओकी जहान याङ काई हुइ चाङशामा लुकीछिपी क्रान्तिकारी गतिविधि गर्दै हुनुहुन्थ्यो । तर, एकजना विश्वासघातीले उहाँको गतिविधि र बस्ने ठाउँ बताइदियो ।
२४ अक्टोबर १९३० को दिन हुनानको गभर्नर (युद्ध सरदार) हो चेनले माओकी जहान याङ काई हुइ र परिवारका अरू सदस्यहरूलाई पनि पक्राउ गर्यो । पक्राउ पर्नेहरूमा माओकी बहिनी माओ त्सेतुङ, माओका छोराहरू र माओका बुहारीहरू पनि थिए । माओका दुईजना भाइहरू माओ त्सेमिन र माओ त्सेतान पनि थिए । उहाँहरू पनि पार्टी कार्यकर्ताहरू हुनुहुन्थ्यो । याङ काई हुइलाई प्रतिक्रियावादीहरूले माओ त्सेतुङलाई पार्टी छोड्न लगाउन फकाए र कठोर शारीरिक यातना दिए । तर, याङ काइ हुई आफ्नो विचारमा पहाडजस्तै अडिग भएर बस्नुभयो । आखिर शत्रुले उहाँलाई जेलमा थुन्यो । जेलमा पनि उहाँले सङ्घर्ष गर्नुभयो र अरूलाई पनि सङ्घर्ष गर्न हौस्याउनुभयो । २४ नोभेम्बर १९३० को दिन याङ काइ हुई र माओकी बहिनी माओ त्सेतुङलाई शत्रुले गोली हानेर मा¥यो । सहिद हुनुभन्दा पहिले याङ काई हुइले वीरतापूर्वक नारा लगाउनुभयो – ‘कोमिनताङ प्रतिक्रियावादी मुर्दावाद !’, ‘च्याङ काइ शेक मुर्दावाद !’, ‘चिनियाँ कम्युनिस्ट पार्टी जिन्दावाद !’
पार्टीमा लि लि सानको नेतृत्व समाप्त भयो । तर, पार्टी र सेनाको एक भागमा लि लि सानको प्रभाव बाँकी नै थियो । डिसेम्बर १९३० तिर ल्यू तेह चाउको नेतृत्वमा बीसौँ सेनाले एक विद्रोह ग¥यो र तेस्रो सेना दललाई अरू सेनाबाट अलग गर्न चाहन्थ्यो । त्यसबेला फुटिन लाल इलाकाको केन्द्र थियो । फु टिन किएन सहरको नजिकै थियो । विद्रोहीहरूले लाल इलाकाका अध्यक्ष, अफिसरहरू र पदाधिकारीहरूलाई गिरफ्तार गरे । लि लि सानवादका आधारहरूमा तिनीहरूले माओ त्सेतुङलाई फतुर लगाए । यसलाई ‘फु टिन घटना’ भनिन्छ । तर, तेस्रो सेनाको इमानदार, क्रान्तिकारी सशस्त्र दलहरूको एकता र किसानहरूको सहयोगबाट विद्रोहलाई छिट्टै दबाइयो । विद्रोही नेता ल्यू तेह चाउ गिरफ्तार गरियो र अरू विद्रोहीहरूलाई निःशस्त्र गरियो । यसप्रकार लि लि सानवादको अन्त भयो ।

च्याङ काई शेकको पहिलो घेरा
च्याङ काई शेकले चिङकाङ पहाडको क्रान्तिकारी सरकार वा लाल इलाकालाई ‘मुट्ठीभरका शत्रुहरू’ भनेर हेप्ने गर्थे । फु टिन घटनाले लाल इलाकाको सैनिक शक्ति कमजोर छैन भन्ने कुरा प्रतिक्रियावादीहरूले बुझ्न थाले । त्यसबेला हुनान क्याङसी इलाकामा मात्रै होइन, फुकेन, आनवे, शेन्सी, कान्सु, क्वाङतुङ र होनान आदि विभिन्न प्रान्त र इलाकाहरूमा क्रान्तिकारी आधार इलाकाहरू स्थापना भइसकेको थियो । क्रान्तिकारी सरकारको केन्द्र क्याङसीमा सबै गरेर ४० हजार सेना थियो । सन् १९३० को अन्ततिर च्याङ काई शेकले १ लाख सेनाको ७ डिभिजनले क्याङसीको लाल इलाका घेर्न पठाए । कम्युनिस्टहरूलाई घेरेर सखाप पार्ने उद्देश्य लिएर ५ ठाउँबाट हमला सुरु ग¥यो ।
लालसेनाले शत्रु सेनालाई आफ्नो इलाकामा भित्रसम्म घुस्न दियो र आफ्ना सेनालाई जम्मा पारेर शत्रुको सेनामाथि एक एक गरेर आकस्मिक हमलाहरू ग¥यो ।
हमला गरिसकेपछि कम्युनिस्ट सेना तुरून्तै तितरवितर हुन्थ्यो र फेरि जम्मा भएर शत्रुको अर्को दलमाथि चर्को हमला गथ्र्यो । भौगोलिक स्थिति र लडाइँको चलाखीबाटै लालसेनाले आफूभन्दा बलियो सेनामाथि विजय पायो र सन् १९३१ जनवरी महिनाभित्रै च्याङ काई शेकको पल्टनले हार खाएर पछि हट्यो । माओ घोडामाथि बसेरै लडाइँको योजना बताउनुहुन्थ्यो र लडाइँसम्बन्धी उपायहरू निकाल्नुहुन्थ्यो । उहाँ रातभर लगाएर क्रान्तिकारी दलहरूबाट आएका अखबारहरू पढ्नुहुन्थ्यो, त्यसमा चिह्न लगाउनुहुन्थ्यो र त्यसलाई काटेर पनि राख्नुहुन्थ्यो ।
लि लि सानको ठाउँमा वाङ मिङ
वाङ मिङको पुरानो नाउँ चेन शाउ यु हो । सन् १९०७ मा उनी आनह्वो प्रान्तको एक खानदानी परिवारमा जन्मेका थिए । उहानको निम्न माध्यमिक स्कूलमा अध्ययन गरिरहँदै उनी ‘समाजवादी युवा सङ्घ’ मा सामेल भएका थिए । १९२३ मा उनी कम्युनिस्ट कार्यकर्ता तालिम गर्न स्थापना भएको साङ्घाइ विश्वविद्यालयमा भर्ना भए । सन् १९२५ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य भए र वाङ मिङको नामबाट उनी रूसस्थित कोमिन्टर्नको सन यात–सेन विश्वविद्यालयमा अध्ययन गर्दै रहे र त्यहाँ उनी ‘२८ बोल्शेभिकहरू’ भनिने चिनियाँ विद्यार्थीहरूका नेता भए । सन् १९२८ मा उनी कोमिन्टर्न र चिनियाँ कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनमा रूसी प्रतिनिधि पाभेल मिफका द्वेभाषीको रूपमा भाग लिए । त्यसबेला वाङ मिङ २१ वर्षका मात्रै थिए । कोमिन्टर्नका निर्देशनहरू उनले चीन पठाउँथे ।
सन् १९३० मा पाभेल मिफसँग उनी चीन फर्के । जनवरी १९३१ मा साङ्घाइमा चिनियाँ कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बस्यो । गुप्तरूपले भएको त्यस बैठकमा लि लि सान केन्द्रीय समितिको राजनैतिक समितिबाट हटाइए र त्यसको ठाउँमा वाङ मिङ राखिए । उनी लि लि–सानको श्रम विभागको प्रमुख राजनैतिक ब्युरोको मुख्य पदमा राखिए ।

दोस्रो घेरा
हारको ४ महिनापछि अर्थात् मई १९३१ मा च्याङ काई शेकले नानकिङको युद्ध मन्त्री हो यिङ चिनको नेतृत्वमा २ लाख सेना पठाए । लालसेनाले हो यिङ चिनको सेनालाई लाल इलाकाको भित्रसम्म घुस्न दियो र पहिलो घेरामा जस्तै जून महिनाभित्र शत्रुलाई एक एक गरेर पराजित गर्यो । लालसेनाले ३० हजारभन्दा बढी शत्रुको सिपाही र २० हजारभन्दा बढी हातहतियार कब्जा ग¥यो । माओ त्सेतुङले चु तेहसँग सल्लाह लिनुहुन्थ्यो र मेच र ढुङ्गामा बसेर आदेशहरू लेख्नुहुन्थ्यो । उहाँ आफ्नो योजना पूरा नभएसम्म सुत्नुहुन्नथ्यो र कागतपत्र नै उहाँको तकिया हुन्थ्यो । झुल थिएन, लामखुट्टेले साहै दुःख दिन्थ्यो । यसकारण, कोठामा झारपात बालेर लामखुट्टे धपाउनुहुन्थ्यो र रातभर कोठामै हिँडडुल गरेर बिताउनुहुन्थ्यो । रूमाल र ताडको पातले लामखुट्टे धपाउनु हुन्थ्यो । सन् १९३१ जून महिनामा पार्टीको महामन्त्री श्याङ चुङ फालाई च्याङ काई शेकले गिरफ्तार गरे र हत्या गरे । त्यसको ठाउँमा २४ वर्षका वाङ मिङ पार्टीको महामन्त्री भए ।

माओ र चु तेइ

तेस्रो घेरा
पहिलो र दोस्रो आक्रमण असफल भए पनि च्याङ काइ शेकले हार मानेन । दोस्रो हारको एक महिनापछि नै १९३१ जुलाई महिनामा ३ लाख फौज लिएर च्याङ काई शेक आफै लाल इलाका घेर्न पुगे । विदेशी सैनिक विशेषज्ञहरूको बुद्धि र बलले उसलाई सघाउ पु¥याउँदै थियो । तर, लालसेनाले शत्रु सेनालाई आफ्नो केन्द्रीय इलाकासम्म घुस्न दियो, अनि फेरि एकपछि अर्को हमला गर्न थाल्यो । अक्टोबर महिनाभित्र च्याङ काई शेकको तेस्रो घेरा पनि चकनाचुर भयो । त्यसैबेला मिङतु भन्ने ठाउँमा विद्रोह भयो र कोमिनताङको २८ औँ पैदल सेनाको २० हजार सेना लालसेनासँग मिल्न पुग्यो । सेप्टेम्बर महिनामा च्याङ पूरै हार खाएर फर्यो ।
तेस्रो घेराकै समयमा माओले आफ्नो अङ्गरक्षक छङ छाङ फङसँग दिउँसो खाएर बाँकी भएको भात खोज्नुभयो । छङ छाङ फङले भात फालिसकेका थिए । त्यो कुरा सुनेर माओले उनलाई आलोचना गर्दै भन्नुभयो, “एक गेडा चामल पनि सजिलोसित पाइँदैन । त्यसलाई जनताले उब्जाउँछन् । अबदेखि जे कुरा बाँकी राख्छु, त्यसलाई कहिल्यै नफाल्नु । त्यसलाई पछि खानको निम्ति राख्ने गर्नु ।” लडाइँको बेलामा माओलाई एक घुटको तातोपानी पनि पिउने फुर्सद हुन्नथ्यो । लडाइँको निम्ति रात– रातभर हिँड्नुपर्दथ्यो । नयाँ ठाउँ कब्जा हुनासाथ कब्जा गरिएका सामान अङ्गरक्षक छङले माओको निम्ति राख्ने गर्थे । तर, माओले ती सामानलाई अस्पतालमा पठाइदिनुहुन्थ्यो । चाङशीको चियननान कब्जा गर्दा एक जमिनदारको घरमा एक थरमस फेला प¥यो । माओले देख्नुभयो भने थरमस अस्पतालमा पठाइदिनुहोला भनेर छङले त्यसलाई अरू साथीसँग राख्न दिए । त्यसपछि मात्रै माओलाई उनले तातो भात खुवाउन सके ।
त्यसबेला माओसँग एउटा झुत्रो कोट थियो र शत्रुको हवाईजहाजको बमबारीबाट बच्न अरू सिपाहीहरूले जस्तै उहाँ पनि टाउकोमा झारपातहरू राख्नुहुन्थ्यो । इँट वा ढुङ्गामा अलिकति पराल राखेर उहाँ तकियाको काम लिनुहुन्थ्यो र अरूले लुगा दिए पनि उहाँ लिनुहुन्नथ्यो । त्यसबेला भात र तरकारी नै सबभन्दा माथिल्लो खाना हुन्थ्यो, जङ्गली सागपात वा बाँसको टुसोलाई पिँधेर अचार बनाइन्थ्यो । कहिलेकाहीँ त माओको भागमा माडमात्रै पर्दथ्यो । अरू सिपाहीहरूले जे खान्थे उहाँ पनि त्यही खानुहुन्थ्यो, त्यस्तै कठोर र सरल जीवन बिताउनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *