पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
सिद्धान्त र विचारको मतलब नराख्ने या थन्काउने दलका नेताहरू वर्गीय मित्र र वर्गीय दुश्मनको वास्ता गर्दैनन् । वर्गीय समाजमा वर्ग दुश्मन र वर्गीय मित्र हुन्छ । सरकारमा जान या सरकारको नेतृत्व गर्न या सत्ता स्वार्थ पूरा गर्न कोसँग मिल्न हुन्छ र कोसँग मिल्न हुँदैन, उनीहरू सोच्दैनन् । उनीहरू गलत मानिसहरूसँग साठगाँठ गर्छन् । ऐन कानुन मिचेर गलत काम गर्छन् । उनीहरू आफ्नो निजी स्वार्थको लागि तँछाडमछाड गर्छन् । तर, राष्ट्रिय हितप्रति अलिकति पनि चिन्तित हुँदैनन् । अवसर छोप्दै अघि बढ्नु नै उनीहरूको आफ्नो स्वार्थ ठान्छ । उनीहरूमा क्रान्तिकारी इच्छाशक्तिको अभाव छ । सत्ता र शक्तिको निम्ति गुट बनाउने, सत्ता र पैसाको निम्ति आपसमा लडिरहनु उनीहरूको स्वभाव जस्तो देखिएको छ ।
एकले अर्काेलाई अन्तर्घात गर्ने, घचेटेर आफू उक्लने उनीहरूको चरित्र भइसकेको छ । पद नपाउने बित्तिकै असन्तोष पोख्ने, त्यस्तै असन्तुष्टले पार्टी छोड्ने या अर्काे पार्टीमा लाग्ने असल नेताहरूको चरित्र होइन । सत्तासीन र ठूला दलका नेताहरू सुविधाभोगी हुन्छन्, आफ्नो लागि सहुलियत सेवा बढाउन लाग्छन् । देशलाई आत्मनिर्भर बनाउनेतर्फ गहिरो अध्ययन गरेको पाइँदैन । उनीहरू देश हितको काममा दिलचस्पी राख्दैनन् । उनीहरूको दृष्टिकोण स्पष्ट हुँदैन या ढुलमुले हुन्छ । विगतको गल्तीबाट शिक्षा नलिइकन बारम्बार गल्ती गरिरहन्छन् । आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्दैनन्, हरेक कामलाई टालटुल पार्छन् । यो सत्तासीन र ठूला दलका नेताहरूको गैरजिम्मेवार हो ।
उनीहरू स्वेच्छाचारी हुन्छन् । जनताको समाधानबारे खासै चासो राख्दैनन् । उनीहरूमा पदको अहङ्कार हुन्छ । ठूला दल र सरकारको अभिमानी हुन्छ । पटक–पटक सरकारको नेतृत्व गरेर पनि बहुमत जनताको हितमा कुनै मौलिक परिवर्तन गरिएको पाइँदैन । कम्युनिस्ट पार्टीहरू सत्ता स्वार्थमा डुब्नुभन्दा दिलोज्यानले जनताको सेवा गर्नुपर्छ । दलका नेता तथा कार्यकर्ताहरू व्यापक जनसमूहसित घनिष्ठ सम्बन्ध राख्नुपर्छ । हरेक कुरामा व्यापक जनसमूहको हितलाई ध्यानमा राखेर ऐन–कानुन बनाउनुपर्छ । सरकारले जनताप्रतिको आफ्नो दायित्व भुल्नुहुँदैन । कम्युनिस्टहरूले सत्यको पक्षमा डट्न हरदम तयार हुनुपर्छ । हो, सत्य जनहितको पक्षमा हुन्छ । कम्युनिस्टहरूले आफ्नो गल्ती सच्याउन हरदम तत्पर रहनुपर्छ ।
हैकमवाद, सङ्कीर्णतावाद, अहङ्कारीजस्ता दुर्गुणहरू छोड्नुपर्छ । कम्युनिस्टहरूले उज्यालो भविष्य खोज्नुपर्छ । कम्युनिस्टहरूहरूले माक्र्स र लेनिनको भावना अँगालेर काम गर्नुपर्छ । तर, कम्युनिस्ट भनिने शासकहरू निरर्थक शब्दजाल भर्छन्, सिद्धान्त र विचार छोडेर सत्ता स्वार्थमा हाम फाल्छन् । सत्ता स्वार्थमा भुलेका कारण उनीहरूले आमूल परिवर्तनको कुरा छोडिसकेका छन् । वर्गसङ्घर्षको भावना छोडेर सामन्त र पुँजीपति वर्गसँग मिलेर सत्ता साझेदारीमा जुटेका छन् । यो नीतिले देशमा परिवर्तन हुने छैन । कम्युनिस्ट भएर कम्युनिस्टको विचार छोड्नु धोका हो । धोका दिने काम कम्युनिस्टहरूले गरिरहेका छन् । यो गलत हो ।
Leave a Reply