भर्खरै :

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–१४

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–१४

नवौँ पार्टी महाधिवेशन
१ अप्रिल १९६९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन भयो । २४ अप्रिलसम्म चलेको त्यस अधिवेशनले नयाँ पार्टी विधान पास ग¥यो र १७० जवान सदस्य र १०९ जवान उम्मेदवार सदस्य भएको केन्द्रीय समितिको चुनाव गर्यो । नवौँ केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले माओ त्सेतुङलाई अध्यक्ष र लिन प्याउलाई उपाध्यक्ष र चेन पो–ता, चाउ एन–लाइ र काङ शाङलाई राजनैतिक ब्युरोको स्थायी समितिको सदस्य चुन्यो ।
चीन संयुक्त राष्ट्र सङ्घमा
संरा अमेरिकी साम्राज्यवादले सन् १९७० मा भियतनामको युद्धलाई लावस र कम्बोडियामा समेत फैलायो । कम्बोडियाका राष्ट्राध्यक्ष नरोत्तम सिंहानुक आक्रमणको विरोधमा लड्ने निर्णय गरी पेचिङ पुग्नुभयो । २० मई १९७० मा माओले आफ्नो एक वक्तव्यमा भन्नुभयो, “एक नयाँ विश्वयुद्धको खतरा अझ छँदै छ र सबै मुलुकका जनताले तम्तयार भएर रहनुपर्दछ तर क्रान्ति नै आजको विश्वको प्रवाह हो ।” २५ अक्टोबर १९७१ को दिन चीनले संयुक्त राष्ट्र सङ्घमा आफ्नो स्थान पायो । राष्ट्र सङ्घको २६ औँ महाधिवेशनमा उपविदेशमन्त्री च्याउ क्वान हवाले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । राष्ट्र सङ्घमा चीनको उपस्थितिपछि संरा अमेरिका र सोभियत सङ्घ दुई अति महाशक्तिको थिचोमिचोविरोधी सङ्घर्षले बल पाउँदै गयो ।
लिन प्याउ र दसौँ पार्टी महाधिवेशन
लिन प्याउ सन् १९०८ मा हुपे प्रान्तको एक कारखाना मालिकको घरमा जन्मेका थिए । स्कूलको अध्ययनपछि उनी क्यान्टनको वाम्पो सैनिक कलेज (एकेडेमी) मा भर्ना भए । उनले त्यहाँ रूसी सैनिक सल्लाहकारहरूबाट राजनैतिक सैनिक तालिम पाए । उत्तरी अभियान सुरु हुँदा उनी क्याप्टन बनाइए । सन् १९२७ को नानचाङ विद्रोहदेखि उनले कम्युनिस्ट सेनामा भाग लिए । कलेजमा उनी राम्रा विद्यार्थी थिए र सन् १९२७ तिर उनी क्याङसीको लाल इलाकाको लडाइँमा पनि भाग लिदै चुनई पुगेका थिए । चुनई सम्मेलनपछि लिन प्याउ र पेङ तेह ह्वाईले शत्रु सेनालाई छकाउने माओको रणनीतिको विरोध र उल्लङ्घन गरेका थिए । त्यसकारण, सैनिक समिति र केन्द्रीय समितिको बैठकमा तिनीहरूको बरोबर आलोचना हुन्थ्यो । सन् १९३९ मा जापानविरोधी लडाइँमा घाइते भएर उनी २ वर्ष रूसमा बसेका थिए ।
नवौँ पार्टी महाधिवेशनको तयारी बैठकमा चेन पो–ता (रूसमा तालिम प्राप्त) सँग मिलेर लिन प्याउले एक राजनैतिक रिपोर्टको खेस्रा गरेका थिए । तिनीहरूले सर्वहारा वर्गको हुकुममा भइरहने क्रान्तिलाई विरोध गरेका थिए । केन्द्रीय समितिले तिनीहरूको खेस्रालाई अस्वीकार गर्यो र अध्यक्ष माओकै व्यक्तिगत निर्देशनमा नवौँ महाधिवेशनको राजनैतिक रिपोर्ट तयार गरिएको थियो । लिन प्याउले केन्द्रीय समितिको नीतिको त्यस राजनैतिक रिपोर्टलाई मन नपराई नपराई पढेका थिए । अध्यक्ष माओ पार्टी केन्द्रीय समितिले उनको षड्यन्त्र र भत्काउने बिगार्ने कामलाई हलुका चेतावनी, विरोध र ठाउँमा ल्याउने कोसिस गरेर उनलाई बचाउन खोजेका थिए ।
तर, सन् १९७० को अगष्टमा नवौँ केन्द्रीय पार्टीको दोस्रो पूर्ण बैठकमा उसले एक क्रान्तिविरोधी विद्रोह गर्न खोजेको थियो, त्यो असफल भयो । सन् १९७१ मार्चमा उसले क्रान्तिविरोधी एक सशस्त्र विद्रोह गर्ने योजना बनायो, जसलाई ‘५७१’ को ‘योजनाको रूपरेखा’ भनिएको थियो । ८ सेप्टेम्बरको दिन उसले चिनियाँ जनताका महान् नेता अध्यक्ष माओलाई हत्या गर्ने र अर्कै एक केन्द्रीय समिति बनाउने भद्दा कोसिस ग¥यो । १३ सेप्टेम्बरको दिन उसको षड्यन्त्र ध्वस्त भयो र पार्टी र देशलाई विश्वासघात गरेर एक धोखेबाजको रूपमा ऊ सोभियत संशोधनवादीहरू कहाँ भाग्यो । तर, मङ्गोलिया जनगणतन्त्रको उन्डुर खानमा हवाइजहाज दुर्घटना भएर त्यहीँ म¥यो ।
२४ अगष्ट १९७२ मा चिनियाँ कम्युनिस्ट पार्टीको दसौँ महाधिवेशन भयो । माओ त्सेतुङले बैठकको अध्यक्षता गर्नुभयो । चाउ एन लाइले राजनीतिक रिपोर्ट दिनुभयो । वाङ हुङ वनले पार्टीको संविधानको संशोधनबारे एक रिपोर्ट प्रस्तुत गर्नुभयो ।
बैठकले लिन प्याउ र पार्टीविरोधी गुटको आलोचना गर्ने र नकारात्मक शिक्षाको रूपमा लिने कुरो सङ्केत ग¥यो । क्रान्तिलाई चलाउन र उत्पादन बढाउन बढी काम गर्ने र लडाइँको विरोधमा तयार हुने, सङ्घर्ष–आलोचना–रूपान्तरणलाई अगाडि बढाउने कुरो निर्णय ग¥यो ।
बैठकले १४८ जवानको एक केन्द्रीय समिति चुन्यो । माओ त्सेतुङ फेरि अध्यक्ष पदमा चुनिनुभयो । चाउ एन लाइ, वाङ हुङ वन, काङ शाङ, यह चिन–यीङ र लि तेह–शेङ उपाध्यक्षहरू र च्याङ चुन–च्याओ महामन्त्री चुनिनुभयो । त्यसबाहेक अध्यक्ष मण्डलमा ल्यू पो–चेङ, च्याङ छिङ, चू तेह, सु शिह–यू, चेन सि–लिन, लि शियन–नियन, याव वन–य्यान, तुङ पि–ऊ, चि तेङ–कुई, वाङ तुङ सिह, ह्वा क्वो–फेङ र उ तेह सदस्य हुनुहुन्थ्यो ।
माओ र अन्तर्राष्ट्रिय सम्बन्ध
सन् १९६० देखि नै अध्यक्ष माओको थिचिएका र पिसिएका सबै देश र जनतासँग साम्राज्यवादविरोधी मितेरी लाउने विदेश नीतिअनुसार चीनले आपसी हित र एकले अर्काको देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तअनुसार एसियाली र अफ्रिकी देशहरूसँग सम्झौता बढाउँदै गयो । प्रधानमन्त्री चाउ एन लाइ र चीन सरकारको निमन्त्रणामा भरखर स्वतन्त्र भएका र स्वतन्त्रताको निम्ति लडिरहेका देशका राष्ट्राध्यक्षहरू, नेताहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरू चीन भ्रमण गएर अध्यक्ष माओसँग भेटघाट गरी आपसी हितबारे कुराकानी गरे ।
सर्वहारा सांस्कृतिक क्रान्तिपछि चीनले युरोपेली र विकसित देशहरूसँग पनि दुई महाशक्तिको प्रभुत्ववादको विरोधमा सङ्घर्ष गर्ने काममा पाइलाहरू चाल्यो । फ्रान्स, जर्मनी, जापान, क्यानडा, अष्ट्रेलिया आदि विभिन्न देशका राज्य र पार्टीका नेताहरू पेचिङ पुगेर माओ त्सेतुङसँग भेटघाट गरे ।
१ फेब्रुअरी १९७२ को दिन पाकिस्तानका राष्ट्रपति जुल्फीकर अली भुट्टो पेचिङ पुगेर अध्यक्ष माओसँग भेट्नुभयो । हिन्द–चीनको युद्धबाट मुक्ति पाउन २१ फेब्रुअरी १९७२ को दिन संरा अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सन पेचिङ पुगेर अध्यक्ष माओसँग भेट्नुभयो । थाइवानलाई चीनकै एक अभिन्न अङ्ग मान्ने शाङ्घाइ विज्ञप्ति प्रकाशित गरियो । सन् १९७६ सम्म एसिया, अफ्रिका र लाटिन अमेरिकी राष्ट्राध्यक्षहरू र नेताहरू पेचिङ पुग्दै अध्यक्ष माओसँग भेटेर आपसी हितका कुराहरू गरे ।
माओका अन्तिम दिनहरू
८ जनवरी १९७६ को दिन अध्यक्ष माओका सहयोद्धा, पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोको उपाध्यक्ष र चीन सरकारको प्रधानमन्त्री चाउ एन लाइ क्यान्सर रोगले ७८ वर्षको उमेरमा बित्नुभयो ।
७ अप्रिल १९७७ को दिन अध्यक्ष माओकै प्रस्तावअनुसार पार्टीको केन्द्रीय समितिले राजनैतिक ब्युरोका सदस्य हवा क्वो फङलाई पार्टीको प्रथम उपाध्यक्ष र प्रधानमन्त्री मनोनीत गर्यो । पार्टीको यस निर्णयलाई राजनैतिक ब्युरोका सदस्यहरू वाङ हुङ वन, च्याङ चुङ च्याउ, च्याङ चिङ र याव वन य्यान ‘४ जनाको गुट’ ले विरोध ग¥यो । उपप्रधानमन्त्री तङ शियाओ पिङ र तिनीहरूको बिचमा ठूलो सैद्धान्तिक सङ्घर्ष चल्यो ।
६ जुलाई १९७६ को दिन अध्यक्ष माओका सहयोद्धा, राजनैतिक ब्युरोका सदस्य र राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चु तेह ९० वर्षको उमेरमा बित्नुभयो ।


युगको सूर्य अस्तायो
अध्यक्ष माओ केही वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो, तर उहाँले आराम नगरी क्रान्तिलाई अगाडि बढाउँदै लानुभयो । ९ सेप्टेम्बर १९७६ को दिन चिनियाँ जनताका महान्् नेता, संसारका सबै दलित–पीडित देश र जनताका तथा सर्वहारा वर्गका महान्् गुरु अध्यक्ष माओ राति १२ बजेर १० मिनेट जाँदा सदाको निम्ति अस्ताउनुभयो । त्यस खबरले त्यो क्षण सारा संसारलाई नै टुहुरो बनाएको अनुभव गरायो र सम्पूर्ण प्रगतिशील मानव जातिलाई एक दिन आँसुको सागरमा डुबायो ।
माओप्रति श्रद्धाञ्जली
बेलायती प्रधानमन्त्री जेम्स कालाघानले भन्नुभयो, “अध्यक्ष माओ इतिहासका एक महान् ज्योति र एक विचारकको रूपमा सम्झिरहनेछन् ।”
संरा अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डले भन्नुभयो, “माओ एक महान् व्यक्ति र सम्झनलायकको विचारक हुनुहुन्थ्यो ।”
फ्रान्सेली राष्ट्रपति भालेरी जिस्कार्ड देस्ताँले भन्नुभयो, “अध्यक्ष माओसँगै संसारको विचार गर्ने एक प्रकाश पनि निभ्यो ।”
पश्चिम जर्मनीका राष्ट्रपति वाल्टर शीतले भन्नुभयो, “अध्यक्ष माओको मृत्युको अर्थ आधुनिक इतिहासको सबभन्दा ठूला नेताहरूमध्ये एकजना गुम्नु हो ।”
गिनीका राष्ट्रपति सुतुरेले भन्नुभयो, “अध्यक्ष माओ अन्तर्राष्ट्रिय सर्वहारा वर्गका एक महान् नेता हुनुहुन्थ्यो ।”
सेनेगालका राष्ट्रपति लियो पार्ड सेरेलका राष्ट्रपति लियोपार्ड सेरोलले अन्तिम सलामीमा भन्नुभयो, “माओ त्सेतुङ तेस्रो विश्वका एक राजनैतिक प्रतिभा हुनुहुन्थ्यो र चीन र अफ्रिकाको सम्बन्ध जोड्ने एक अथक कामदार हुनुहुन्थ्यो ।”
अध्यक्ष माओको मृत्युको खबर पुग्नासाथ संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालयमा झन्डा आधा झुकाइयो र त्यहाँ आयोजित शोकसभामा महासचिव कुर्त वाल्ड हाइमलगायत विभिन्न देशका प्रतिनिधिहरूले शोक व्यक्त गरे ।
विभिन्न देशस्थित चिनियाँ राजदूतावासहरूमा शोक व्यक्त गर्न जानेहरूको ओइरो लाग्यो । हजारौँ हजारले टेलिफोनबाट शोक व्यक्त गरे । स्पेनका एक मजदुर परिवारले ‘इन्टरनेसनल’ गाएर शोक व्यक्त गरे ।
विभिन्न देशका सरकार प्रमुख र प्रतिनिधि, कम्युनिस्ट पार्टीका नेताहरू अध्यक्ष माओको अन्त्येष्टिमा भाग लिन पेचिङ पुगे ।
तान्जानियाको दारे–सलाम विश्वविद्यालयमा अध्यक्ष माओको मृत्युको खबर पुग्नासाथै सबै परीक्षाहरू बन्द भयो र विद्यार्थी र शिक्षकहरूको एक जुलुस समवेदना प्रकट गर्न चिनियाँ राजदूतावासमा पुग्यो ।
अध्यक्ष माओ नेपाली जनताका महान् मित्र र गुरु हुनुहुन्थ्यो । नेपाली जनताले पनि विभिन्न ठाउँमा शोक समारोह गरेर अध्यक्ष माओलाई अन्तिम सलामी दिए ।
एसिया, अफ्रिका, ल्याटिन अमेरिका र संसारका विभिन्न देशहरूले आ–आफ्ना झन्डाहरू झुकाउँदै १ दिनदेखि नौ दिनसम्म शोक मनाए ।
पश्चिम जर्मन समाचार संस्था डी. पी. ए. का अनुसार अध्यक्ष माओको निधनको घोषणा भएको एक घण्टामै विश्वभरबाट श्रद्धाञ्जलीको बाढी आयो । संसारका क्रान्तिकारीहरूले शोकलाई बलमा बदल्ने वाचा गरे ।
अध्यक्ष माओको व्यक्तित्व
एक परिश्रमी विद्यार्थी, एक क्रान्तिकारी सिपाही र एक देशभक्त सङ्गठनकर्ताको रूपमा अध्यक्ष माओ जीवन सङ्घर्षमा उत्रनुभएको थियो । देशभक्ति, समाज र देशलाई अगाडि बढाउने र जनताको सेवा गर्ने भावनाबाट नै उहाँ अगाडि बढ्नुभयो । गभर्नर वा सामन्ती युद्ध सरदारहरूको हुकुमी शासन र प्रजातन्त्रविरोधी दमन यन्त्रको विरोधमा उहाँले कलम समातेर एक पत्रकारको रूपमा सङ्घर्ष थाल्नुभयो । माक्र्सवादले उहाँलाई एक मजदुर सङ्गठनकर्ता र किसान विद्रोहका सूत्रधार बनायो । उहाँले आफूलाई २–४ जना क्रान्तिकारीको फलाको, उत्ताउलो र सानो सङ्गठनमा मात्रै बाँध्नुभएन, बरू मजदुर, किसान र व्यापक जनतालाई वर्गीय र राजनैतिकरूपले सङ्गठित र चेतित पार्ने ठूलो काममा लगाउनुभयो । ‘व्यक्तिहत्या’ र ‘आतङ्क’ मच्चाएर क्रान्ति अगाडि बढ्छ भन्ने किताबी, एकोहोरो, अधैर्य राजनीतिसँग उहाँले सधैँ सङ्घर्ष गर्नुभयो । जनताको सङ्गठन र देशको चौतर्फी परिस्थितिलाई नबुझी छिट्टै क्रान्ति हुन्छ भन्ने मनको लड्डु पकाउने चु चु पाइ, लि लि सान र वाङ मिङको उत्ताउलो नीति (जनरल लाइन) सँग अथक सङ्घर्ष गर्नुभयो । त्यस्तै चेन तु श्यू, चाङ काउ ताउ, ल्यु शाउ ची र लिन प्याउ जस्ता लुते, भगुवा, संशोधनवादी र षड्यन्त्रकारी विचारसँग पनि उहाँले सङ्घर्ष गर्दै क्रान्तिलाई विजयसम्म लानुभयो । पार्टीभित्रको सङ्घर्षले उहाँलाई एक जिउँदो माक्र्सवादी–लेनिनवादी र एक अद्वितीय रणनीतिज्ञ बनायो । उहाँले विदेशी पार्टीको नक्कल र पुच्छरवादको विरोध गर्नुभयो र सच्चा सर्वहारा अन्तर्राष्ट्रवादको झन्डालाई माथि उचाल्नुभयो ।
पुरानो शैलीले नयाँ विचारको कविता लेख्ने उहाँ एक सफल कवि हुनुहुन्थ्यो । कला र साहित्यमा उहाँले नयाँ योगदान दिनुभयो र माक्र्सवादी–लेनिनवादी सिद्धान्तको भण्डारमा नयाँ प्रकाश थपिदिनुभयो । उहाँले संसारलाई आर्थिक, राजनैतिक, साहित्यिक र दर्शनका सरल र अर्थपूर्ण शैलीमा रचनाहरू दिनुभयो । उहाँ हरेक विषयको पक्ष र विपक्ष वा दोहोरो रूपलाई ध्यानमा राखेरमात्रै कुनै कुरोको टुङ्गोमा पुग्नुहुन्थ्यो । एकोहोरो र मपाइँको स्वभाव उहाँबाट कोसौँ टाढा भाग्थ्यो ।
चीन र चिनियाँ जनताबारे मात्रै होइन छिमेकी देशहरू र संसारका सबै घटनाहरूबारे व्यापक जानकारी राखेरमात्रै उहाँ एक टुङ्गोमा पुग्नुहुन्थ्यो ।
उहाँ सा¥है नम्र, विवेकी, विशाल हृदयको र स्पष्ट वक्ता हुनुहुन्थ्यो । उहाँ व्यक्तिभन्दा व्यक्तिको विचारलाई ध्यान दिनुहुन्थ्यो र खोटो विचारको विरोधमा छिनोफानो गरी सङ्घर्ष गर्नुहुन्थ्यो । युवक, विद्यार्थी, बुढाबुढी र केटाकेटीमात्रै होइन, उहाँ सम्पूर्ण चिनियाँ जनताको आँखाको नानी हुनुहुन्थ्यो विदेशीको आँखामा उहाँ चीनको रातो सूर्य हुनुहुन्थ्यो । संसारका थिचिएका र पिसिएका जनताको आशाको केन्द्र र सर्वहारा वर्गका महान् गुरु हुनुहुन्थ्यो । उहाँ मानव सभ्यताको नौनी हुनुहुन्थ्यो । आफूसँग एकमत राख्नेहरूसँग मात्रै होइन आफूसँग मत भिन्नता राख्नेहरूसँग पनि एकता कायम गर्न सिकाउने उहाँ महान् शिक्षक हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँको विचार र व्यवहारबाट सिक्नुपर्छ ।
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *