भर्खरै :

वडा नं. ५ मा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य शिविर

वडा नं. ५ मा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर, २३ पुस । भनपा वडा नं ५ को आयोजनामा शनिबार श्वासप्रश्वाससम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । ६० वर्ष नाघेका वृद्धवृद्धाहरूको लागि लक्षित गरी भक्तपुर नगरपालिकाले विगत एक महिनादेखि वडास्तरीय शिविरको आयोजना गर्दै आएको हो । अत्यधिक जाडोको मौसममा उमेर पुगेका वडावासीहरूमा सामान्यतया श्वासप्रश्वासको रोग बल्झिने भएकोले नगरका दसै वडाका सम्पूर्ण वडावासीहरूको श्वासप्रश्वाससम्बन्धी समस्या पहिचान र त्यसको उपचारको लक्ष्य राखेर शिविरको आयोजना गरिएको हो ।
वडा नं ५ भगवतीस्थानस्थित वरदायणी आधारभूत विद्यालयमा भएको सो शिविरमा १३४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । ६० वर्षमुनिकाले पनि सो शिविरबाट स्वास्थ्य परीक्षण गराएका थिए । श्वासप्रश्वाससम्बन्धी समस्याबाहेक परीक्षणको क्रममा केही वडावासीहरूमा उच्च रक्तचाप देखिएकोले तत्काल शिविरबाटै उहाँहरूलाई ख्वप अस्पताल लगेर थप परीक्षण गराइएको थियो ।
शिविर सञ्चालन गर्नुपूर्व गरिएको छोटो परिचयात्मक कार्यक्रममा शिविरको उद्देश्यबारे प्रकाश पार्दै वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नगरपालिकाले नगरवासी जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यो प्रतिरोधात्मक शिविरको आयोजना गर्दै आएको जानकारी गराउनुभयो । शिविरका चिकित्सक टोलीका प्रमुख डा. बालकृष्ण चाँगुभारीले दम र श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण तथा त्यसको निराकरण र दैनिक जीवनमा यस रोगलाई लाग्न नदिन गर्नुपर्ने उपायको बारेमा सचेत गराउनुभयो ।
सो शिविरमा वडा ५ का सबै जनप्रतिनिधि र कर्मचारीहरू तथा स्वास्थ्य स्वयंसेवीहरूको सक्रिय सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *