भर्खरै :

पारदर्शिता, अनुशासन र गुणस्तरीयताले नै वागीश्वरीलाई उचाइमा पु¥याएको हो

पारदर्शिता, अनुशासन र गुणस्तरीयताले नै वागीश्वरीलाई उचाइमा पु¥याएको हो

मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कलेज सभाका सदस्यहरू सुरेन्द्रराज गोसाई र सृजना सैंजू नेमकिपाको तर्फबाट बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हामी अत्यन्त खुसी छौँ । त्यसैगरी, नेपाल मजदुर किसान पार्टीबाटै पार्टी सचिव प्रेम सुवाल प्रतिनिधिसभामा र बाग्मती प्रदेशसभामा गीता काफ्ले निर्वाचित हुनुभएको छ । उहाँहरूले विगतका वर्षहरूमा झैँ पार्टीको नीति र निर्देशनमा रही देश र जनताको इमानदारीपूर्वक सेवा गर्न सकून् । वागीश्वरी कलेज र मावि परिवारको तर्फबाट उहाँहरूलाई हार्दिक शुभकामना एवं बधाई ज्ञापन गर्दछौँ ।
२०६४ सालमा शून्यबाट सुरु भएको वागीश्वरी कलेज आज झन्डै एक हजार विद्यार्थीलाई नियमित अध्ययनको व्यवस्था गर्न सफल भएको छ । वागीश्वरी कलेज र मावि दुई अलग अलग संस्था भए पनि हामी एकै संस्थाको रूपमा काम गर्दै छौँ । यो वर्ष फेरि वागीश्वरी कलेज अफ म्यानेजमेन्ट थपिएको छ । विद्यालय र कलेजहरू गरी हाम्रो करिब पाँच हजारको परिवार छ । ती सबैको उचित व्यवस्थापन कम चुनौतीपूर्ण छैन । हरेक चुनौतीलाई सहजतापूर्वक सामना गर्दै वागीश्वरी कलेज र मा.वि. देशकै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित गर्न हामी सफल भएका छौँ ।
अहिले मा.वि.को बाहेक कलेजको आफ्नै २ वटा अलग अलग भवन र थप जग्गाको बन्दोबस्त भएको छ । हामीले सधैँ भौतिक संरचनालाई भन्दा शैक्षिक गुणस्तरलाई जोड दिँदै आयौँ । त्यसको परिणाम वागीश्वरी कलेज स्थापनाको यो डेढ दशकको अवधिमा यहाँका विद्यार्थीहरू २ पटक नेपाल प्रथम, एकपटक उत्तीर्ण प्रतिशतमा प्रथम भई विश्वविद्यालय अनुदान आयोगबाट नियमित अनुदानको अतिरिक्त ७६ लाख रूपैयाँ थप अनुदान पाउन सफल भयौँ । यस अर्थमा भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने दीर्घकालीन उद्देश्यमा वागीश्वरी शैक्षिक संस्थाहरूले महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
विश्वविद्यालय अध्ययन अनुसन्धानको केन्द्र बन्नुपर्नेमा अहिले बन्द, हडताल, तालाबन्दी र तोडफोडको केन्द्र बन्दै छ । यो राम्रो लक्षण होइन । देशमा सञ्चालित ११ वटा विश्वविद्यालयहरू मध्ये ६ वटा विश्वविद्यालयहरूको कथाव्यथा झन्डै उस्तै छन् । विश्वविद्यालयहरूलाई शासक दलहरूले योेग्यताभन्दा राजनैतिक भागबन्डामा पदाधिकारीहरू नियुक्ति गर्नु नै यसको मुख्य कारण हो । त्रिभुवन विश्वविद्यालय महिनौँदेखि तालाबन्दी छ । पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकहरूको दोहोरो तालाबन्दी छ । ती दुवै विश्वविद्यालयमा भएको बन्द र तालाबन्दीको पीडा अरूले सरह हामीले पनि भोगिरहेका छौँ ।
वागीश्वरी कलेज त्रिविबाट सम्बन्धन प्राप्त कलेज हो भने यही वर्षबाट वागीश्वरी कलेज अफ म्यानेजमेन्ट पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बधन लिई सुरु गरेका छौँ । पूर्वाञ्चल विश्वविद्यालयमा भएको तालाबन्दीको कारण कलेज र विश्वविद्यालयको सम्झौता समयमा हुन सकेन । उपकुलपति र डीनलगायतका पदाधिकारीहरूको मौखिक आश्वासनको भरमा विद्यार्थी भर्ना गर्न हामी तयार भएनौँ । ढिलाइको कारण विद्यार्थी भर्नामा असर परेको छ । अहिले सम्झौतापछि कक्षा सुरु भयो । जसरी वागीश्वरी कलेजले छोटो अवधिमा राष्ट्रियरूपमा प्रतिष्ठित कलेजको रूपमा विकास गर्न सफल भयो अब वागीश्वरी कलेज अफ म्यानेजमेन्ट पनि त्यही सफलताको निम्ति अगाडि बढ्नेछ । हामी शैक्षिक विकासको निम्ति थाक्ने छैनौँ । प्राविधिकरूपमा मात्र अलग अलग तर एउटै व्यवस्थापनबाट सञ्चालित यी हाम्रा कलेजहरूका प्राध्यापकहरू पनि धेरैजसो उही नै हुनुहुन्छ ।
विज्ञतालाई प्राथमिकतामा दिने, हरेक निर्णयमा प्राध्यापक साथीहरूको राय, सुझाव लिने र सबैको सहभागितामा दीर्घकालीन उद्देश्य पूरा गर्न मरिमेटेर लाग्ने व्यवहार नै वागीश्वरी कलेजको विशेषता हो । पारदर्शिता, अनुशासन र गुणस्तरीयताले नै वागीश्वरीलाई यो उचाइमा पु¥याएको हो ।
केन्द्र सरकार हरेक क्षेत्रमा असफल हुँदै छ । सामुदायिक विद्यालय, कलेज र विश्वविद्यालयमा भएको विकृतिकै कारण उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरू विदेशतिर आकर्षित भएका छन् । चालू आर्थिक वर्ष २०७९/८० को ५ महिनामा विदेश पढ्नको लागि ३८ हजारभन्दा बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिए भने गत आ.व. मा १ लाख १४ हजार ४ सय २९ जनाले विदेश पढ्न जान एनओसी लेटर लिएको सरकारी तथ्याङ्क छ । ती विद्यार्थीहरूले विदेशमा पढ्न पचासौँ अर्बभन्दा बढी खर्च गर्नेछन् । देशमा कलेज विश्वविद्यालय राम्रो भएको भए अरबौँ विदेशिने पैसा जोगाउन सकिन्छ ।
भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास हुँदै छ । भक्तपुरका शैक्षिक संस्थाहरू अध्ययन गर्न विभिन्न नगर, महानगर र उपमहानगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरू आउने क्रम जारी छ । मङ्सिर महिनामा पाल्पाको तिनाउ नपा र कपिलवस्तुका बुद्धभूमि गापाका जनप्रतिनिधिहरू भक्तपुर नगरपालिकामा आउनुभयो । उहाँहरूको उद्देश्य भक्तपुरको सामुदायिक शिक्षण संस्थाहरूको अध्ययन गर्नु थियो । वागीश्वरी, ख्वपलगायत थुपै्र संस्थाहरूको उहाँहरूले अवलोकन गर्नुभयो । आफ्ना पालिकाहरूमा पनि भक्तपुरले जस्तै सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधार गर्ने प्रयास गर्ने कुरा उहाँहरूले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले गरेको काम आज देशभरि चर्चाको विषय बन्दै छ । नेमकिपाले जनसहभागितामा कसरी आफ्नो उद्देश्यअनुसार काम गर्यो ? ती अध्ययनको लागि देशका विभिन्न मन्त्रालयका सहसचिवहरू भक्तपुर नपामा आएर अध्ययन गर्दै छन् । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण एउटा नगरपालिकाले कसरी गर्न सम्भव भयो । ७५३ मध्ये भनपाको अनुभव सहसचिवहरूको तालिममा प्रस्तुत गर्नुभएको छ । यहाँको सबल पक्ष, कमजोर पक्ष र चुनौतीको विषयमा उहाँहरूले अध्ययन गरिरहनुभएको छ । अहिलेसम्ममा तालिममा २ पटक प्रस्तुत गरिसकेको जानकारी पाएका छौँ भने अन्तिम प्रस्तुतिको लागि तयारी गर्दै हुनुहुन्छ ।
हामी के कुरामा स्पष्ट छौँ भने हामी अरूको भरमा काम गर्दैनौँ । आत्मनिर्भरतालाई नै जोड दिँदै छौँ  । लामो समयदेखि हाम्रा साथीहरूले गर्दै आएको त्यो कामलाई निरन्तरता दिइरहेका छौँ । विदेशी एनजीओ र आइएनजीओहरूको सर्तसहितको सहयोग स्वीकारेनौँ । हालै एउटा सार्वजनिक रिपोर्टअनुसार डच वाच नामक गैरसरकारी संस्थाले डिसेम्बर २०१९ मा गरेको अध्ययनले युरोपेली सहायताको १० प्रतिशतमात्र ग्रहण गर्ने देशको हितमा हुने देखाएको छ । बाँकी ९० प्रतिशत स्वदेशी र विदेशी सल्लाहकार, ठेकेदार, राजनीतिकर्मी, आदिको तलब, सुविधा, होटल खर्च र बैठक भत्ताको नाउँमा खर्च हुने गरेको बताएको छ ।
वैदेशिक सहायताले ग्रहण गर्नेलाई भन्दा दाताकै हित गर्ने अध्ययनले देखाएको छ । सहायता लिने देशलाई दाता देशको ऋणबाट उम्कनै नसक्ने गरी फसाइदिन्छ र सरकार निर्माण र शासनसमेत उनीहरू आफैले गर्ने व्यवस्था मिलाउँछ । विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता थुप्रै आर्थिक हतियारहरू साम्राज्यवादीहरूले आफ्नो स्वार्थ पूरा गर्न सकृय छन् ।
भनपालाई जर्मनी विकास बैङ्कले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्ट सम्पदाहरू पुनःनिर्माणको लागि १ करोड युरो (रु.१ अर्ब २० करोड) अनुदान दिने नेपाल सरकार र जर्मनी सरकारबिच सम्झौता भएको थियो तर त्यो सम्झौतामा हाम्रो स्वाभिमानमा आँच पुग्ने सर्तहरू भएको कारण हामीले स्वीकारेनौँ । हाम्रा सम्पदाहरू विदेशको सहयोगविना पनि जस्ताको तस्तै बनायौँ । यसैमा हामीमा आत्म गौरव प्राप्त भएको छ ।
वागीश्वरी कलेज तथा माविमा पनि विभिन्न विदेशी सङ्घ संस्थाहरूले सहयोगको निम्ति यस्ता थुप्रै प्रस्तावहरू आए तर हामीले ती सबैलाई अस्वीकार गर्दै आफ्नै खुट्टामा उभिएर अघि बढ्दै छौँ । कमजोर मान्छेले मात्रै वैशाखीको भर लिन्छ भन्ने कुरा हामीले बिर्सनुहुँदैन ।
(वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी मा.वि.को संयुक्त आयोजनामा पुस २३ गते काभ्रेमा भएको शिक्षक भेला तथा नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *