भर्खरै :

‘ख्वप मोडेल’ सार्थक बनाउन चाहिने गुणहरू

‘ख्वप मोडेल’ सार्थक बनाउन चाहिने गुणहरू

एक जना विद्यार्थीलाई इन्जिनियर बन्ने हुटहुटी जागेछ । तर, प्रवेश परीक्षामा पाएको प्राप्ताङ्कले उनको इच्छालाई साथ दिइरहेको थिएन । भनसुनका साथ जोड बल गरेर उनले एउटा निजी इन्जिनियरिङ कलेजमा भर्ना त पाएछन् । तर, समय बित्दै जाँदा इन्जिनियरिङजस्तो विषयको लागि चाहिने मेहनत उनमा देखिएन । उनलाई घुमफिर छुटाउन मनै लाग्दैन । साथीहरूसँग राति अबेलासम्म रमाइलो गर्न छोड्नै सकेनन् । मोबाइलमा घण्टौँ समय बिताउनै पर्ने । जसले गर्दा उनको पढाइले गति लिन सकेन । हल्काफुल्का पढाइले गर्दा परीक्षाको नतिजाले उनको इन्जिनियर बन्ने धोकोलाई साथ दिएन । नतिजा प्रकाशित भएपछि विद्यार्थीले मनमनै अठोट गरे अब चाहिँ मेहनतका साथ पढ्छु । समय बित्दै गएपछि त्यो अठोट पनि बिर्सिँदै गएछन् । घुम्न जाने, मोबाइल खेलाउने, साथीहरूसँग राति अबेरसम्म रमाउनेजस्ता आफ्नो पुरानो रुटिनमै फर्किए छन् । यसकारणले उनको इन्जिनियर बन्ने धोको कहिल्यै पूरा भएनछ ।
यो प्रसङ्गलाई ख्वप मोडेलसँग जोड्छु । आजकल जहीँतहीँ ‘ख्वप मोडेल’ को चर्चा परिचर्चा छ । नेपालको अधिकांश स्थानीय निकायका पदाधिकारीहरू भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप शैक्षिक संस्था र ख्वप स्वास्थ्य संस्थानको उपलब्धितर्फ आकर्षित भएका छन् । वर्षौँदेखि सयौँ विभिन्न नगरपालिका र गाउँपालिका पदाधिकारीहरू भक्तपुरस्थित विभिन्न ख्वप शैक्षिक संस्थान र स्वास्थ्य संस्थानमा भ्रमण गरेका छन् । उनीहरू ख्वप शैक्षिक संस्थानको व्यवस्थापनदेखि लिएर पूर्वाधार निर्माणसम्मबाट प्रभावित भएको पाइन्छ । उनीहरू आफ्नो ठाउँलाई पनि ख्वप मोडेलको रूपमा नै विकास गर्ने अठोट गर्छन् । तर, आफ्नो ठाउँ पुगेपछि भ्रष्टाचार, नातावाद, कृपावाद, लोभलालच र अनियमितताजस्ता विभिन्न बाधा अवरोध अगाडि आएर तेर्सिन्छन् । तर, त्यसबाट उनीहरू मुक्त हुनसक्दैनन् । अनि ख्वप मोडेलको लागि चाहिने इमानदारीता, निःस्वार्थता, त्यागजस्ता अति आवश्यक चिजलाई आत्मसात गर्न नसक्दा इन्जिनियर बन्ने इच्छा राख्ने तर त्यसको लागि चाहिने मेहनत, स्थिरता, स्वभाव र व्यवहारमा परिवर्तन गर्न नसक्ने ती विद्यार्थीजस्तै असफल हुन्छ । परिणाम मनपर्ने तर त्यसको लागि चाहिने कडा मेहनत, लोभलालच त्याग्ने र निष्कलङ्कजस्ता गुणको अभावले गर्दा ‘ख्वप मोडेल’ को सपना देशको कुनै पनि ठाउँमा साकार हुन सकेको छैन ।

‘ख्वप मोडेल’ लागू गर्न के कुरामा ध्यान दिनुपर्छ ?
बुँदागतरूपमा भन्नुपर्दा ख्वप मोडेल लागू गर्न नसक्नुको पहिलो कारण भनेको मनमा लोभको उत्पति हुनु हो । लोभलालच गहिरोरूपमा निहित मानवीय स्वभाव भएकोले हाम्रो दैनिक जीवन लोभबाट मुक्त हुन गा¥हो छ । यद्यपि, जीवनमा लोभको प्रभावलाई कम गर्न भने धेरै उपायहरू अपनाउन सकिन्छ । आफूसँग के छ भन्ने कुरामा हामीले कृतज्ञताको अभ्यास गर्नुपर्छ । यथार्थपरक लक्ष्यहरू निर्धारण गरेर आफूसँग भएको कुरामा सन्तुष्ट भएर सन्तुलित मानसिकता बनाउनुपर्छ । अरूको आवश्यकता मेरोजस्तै महत्वपूर्ण छ भनेर अरूको लागि दया भावको विकास गरिनुपर्छ । लिनेभन्दा दिने बानी बसालौँ । योग्य कारणको लागि दान गरौँ । यति कुरा मनन गर्न सक्यो भने ‘ख्वप मोडेल’ सपनाको निम्ति एउटा खुड्किलो हुनेछ ।
ख्वप मोडेलको लागि चाहिने दोस्रो पक्ष भनेको भ्रष्ट व्यवहार त्याग्ने । स्वार्थ र बेइमानी हाम्रो जीवनमा भ्रष्ट आचरणलाई प्रभाव पार्ने महत्वपूर्ण पक्ष हो । जब सकारात्मक व्यवहारभन्दा नकारात्मक व्यवहारलाई प्राथमिकता दिइन्छ, तिनीहरूले निर्णयलाई प्रभाव पारेर मानिसलाई बहकाउन सक्छन् । जब निरन्तररूपमा अरूको आवश्यकताभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिने गरिन्छ, मानिसको सम्बन्धमा विश्वासको खडेरी लाग्छ । यसले गर्दा जनताले नेतालाई गर्ने विश्वास कम हुँदै जान्छ । यदि आफ्नो जिम्मेवारीभन्दा लोभलाई प्राथमिकता दियौँ भने कमजोर आर्थिक निर्णयहरू गर्ने सम्भावना हुन्छ । अवैध वित्तीय अभ्यासहरूमा मानिस संलग्न हुनु यसका उदाहरण हुन् । भ्रष्ट व्यवहारहरूले जीवनमा पार्न सक्ने प्रभावहरू पहिचान गर्न र तिनीहरूलाई कम गर्न सक्रियरूपमा काम गर्नु महत्वपूर्ण हुन्छ ।
ख्वप मोडेलको लागि चाहिने अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक कुकर्मबाट टाढा रहनु । अनैतिक कार्यबाट आफूलाई टाढा राख्न निरन्तर प्रयास आवश्यक पर्ने हुँदा समाजमा गलत कामबाट अलग रहन सजिलो छैन । हामीले कस्तो व्यवहार सहनुहुन्छ र सहनुहुन्न भन्ने सन्दर्भमा आफ्नो लागि स्पष्ट सीमाहरू निर्धारण गर्नुपर्छ । यसले हानिकारक व्यवहारमा संलग्न हुने व्यक्तिहरूलाई बेवास्ता गर्ने वा आफ्नो मूल्यमान्यताविपरीत हुने अभ्यासमा भाग लिन अस्वीकार गर्ने क्षमता विकास गर्नुपर्छ । सामुदायिक संस्थाको लागि स्वयंसेवक बनेर समाजमा संलग्न हुन जरुरी छ । यसमा सामुदायिक संस्थाहरूलाई सहयोग गर्ने र परोपकारी संस्थाहरूको लागि स्वयम्सेवा गर्ने बानी बसाल्नुपर्छ ।
अर्को झनै महत्वपूर्ण पक्ष नेताहरूले राजनीतिलाई पैसा कमाउने पेसा होइन बरु समाजसेवाको एक रूप मान्नुपर्दछ । राजनीतिलाई सामाजिक सेवाको रूपमा सेवा गर्ने सबैभन्दा प्रभावकारी माध्यम सार्वजनिक नीति हो । राजनीतिज्ञले शिक्षा, स्वास्थ्य सेवा र सामाजिक असमानताजस्ता सामाजिक समस्याहरूलाई सम्बोधन गर्न नीतिहरू बनाउन र कार्यान्वयन गर्ने समयमा नातागोतालाई मध्यनजरमा राख्नुहुँदैन । राजनीतिज्ञले सामुदायिक कार्यक्रममा भाग लिएर आफ्ना मतदाताहरूको सरोकार सुनेर, ती सरोकारहरूलाई सम्बोधन गरेर विश्वास निर्माण गर्न र सामुदायिक भावना स्थापित गर्नुपर्छ । याद गरौँ, आफ्नो निहित स्वार्थको लागि अरूको अगाडि आफ्नो मेरुदण्ड बङ्ग्याउनु भएन । आफ्नो सिद्धान्तमा अडिग हुनुपर्छ ।
बाहिर देखिएको परिणाममा लोभिएर हामी पनि ख्वप मोडेलजस्तै बनाउने भनेर गफमात्र लगाएर हुँदैन । त्यसको लागि चाहिने महत्वपूर्ण पक्ष इमानदारीमा कुनै सम्झौता हुनुभएन । ख्वप मोडेलको परिकल्पना गर्नेहरू नेपाल मजदुर किसान पार्टीका नेताहरूजस्तै इमानदार, अथक मेहनत गर्ने उत्साही हुनुप¥यो । कुरा नचपाई भन्ने हो भने तपाईँहरूका अमुक पार्टीका शीर्ष नेताहरू रोहितजस्तै हुनुप¥यो अनि तपाईँका मेयरहरू सुनिल प्रजापतिजस्तो हुनुप¥यो । उनीहरूजस्तै इमानदारीको कसीमा बारम्बार घोटिन तयार हुनुहुन्छ ? यी प्रश्नको जवाफ सकारात्मक हुन्छ भने तपार्इँको गाउँ ठाउँमा पनि ख्वप मोडेल बनाउन सम्भव छ । यति गर्ने साहस गर्नुप¥यो, ख्वप मोडेलको सपना देख्ने स्थानीय निकायका पदाधिकारीहरूले । गफैमा मात्र ख्वप मोडेल तर व्यवहारमा शुभलाभको राजनीति गर्ने हो भने ख्वप मोडेलको सपना देखेको नभई ख्वपको सफलतामाथि इष्र्यामात्र गरेको ठहरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *