भर्खरै :

फोहोरको उचित व्यवस्थापनसहित समृद्ध राष्ट्र बनाऔँ

फोहोरको उचित व्यवस्थापनसहित समृद्ध राष्ट्र बनाऔँ

साधारणतया मानिसलाई काम नलाग्ने र घिनलाग्दो गह्नाउने जस्तोसुकै वस्तुलाई फोहोर भन्ने गरिन्छ । मानिसले आफ्नो स्वास्थ्यमा प्रतिकूल असर गर्ने र प्रयोगपछि पुनः प्रयोगमा ल्याउन नसकिने वस्तु नै फोहोरको रूपमा लिइन्छ । विश्वमा फोहोरलाई मोहोर बनाउन शक्तिशाली तथा सम्पन्न देशसहित थुप्रै देश लागिपरेका छन् । यसका लागि त फोहोरलाई कुहिने÷जैविक र नकुहिने÷अजैविक वर्गमा छुट्टयाइएको छ ।
कुहिने फोहोरमा फलफुलका बोक्रा, भान्साबाट निस्केका सागसब्जीका हाँगाबिँगा, तरकारी खुर्केका भुस, बिग्रिएका, कुहिएका तथा खेर गएका फलफुल तथा खानेकुरा, पराल तथा त्यान्द्रो, कागज, पत्रपत्रिकाको टुक्रा र त्यसै उम्रिएका घाँसपात पर्दछन् । यिनीहरूलाई जैविक फोहोर भनिन्छ । त्यस्ता कुहिने÷ जैविक फोहोरबाट खाद्यान्न, सागसब्जी र अन्य तरकारी तथा फलफुलको उत्पादन वृद्धिको लागि विभिन्न परम्परागत तथा नयाँ प्रविधिबाट गन्धरहित अर्गानिक कम्पोस्ट मल बनाउन सकिन्छ । यस्तो मलको प्रयोगले एकातिर मानवीय स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन भने अर्कोतिर माटोको उर्वर शक्ति वृद्धि भई आयआर्जनमा फोहोर नै मोहोर बन्छ । त्यस्तै नेपाली माटो सुहाउँदो अर्गानिक कम्पोस्ट मलको प्रयोगले विदेशी रासायनिक मललाई विस्थापित गर्दै आत्मनिर्भर बन्ने र नेपाली रूपैयाँ विदेशिन रोकिन्छ । कुहिने र पुनःप्रयोग गर्न सकिने फोहोरको रूपमा रहेको कागज तथा पत्रपत्रिका कवाडी सामान लिनेलाई बेचेर भए पनि केही पैसा आयआर्जन गर्न सकिन्छ ।
नकुहिने फोहोरमा प्याकिङ गरिएका प्लास्टिकजन्य खोल र बोटल, फलामका टुक्रा, टीनका पात, टुटेफुटेका सिसाका टुक्रा र बोटल, च्यात्तिएका प्वाल परेका कपडा तथा जुत्ता चप्पललगायत अस्पतालबाट निस्केका सिरिन्ज पर्दछन् । यसलाई अजैविक पनि भनिन्छ । तिनीहरूलाई बाल्दा मानवलगायत अन्य प्राणीको स्वास्थ्यको लागि हानिकारक ग्यास उत्सर्जन हुन्छ भने माटोमा मिसाउँदा पनि कहिल्यै कुहिने भएकोले खेतीपाती गर्न असहजसँगै कृषि उत्पादनमा ह्रास ल्याउँछ । त्यस्ता नकुहिने फोहोरको व्यवस्थापनमा केही चुनौती भने अवश्य नै रहेको छ ।
जोकोहीले काम नलाग्ने भनी फालेको अजैविक फोहोर अर्काको लागि काम लाग्न सक्ने फोहोर नै मोहोर बन्न सक्छ । जस्तैः सामान्य मानिसलाई चुनौतीको रूपमा रहेको र नकुहिने फोहोरको रूपमा रहेको च्यात्तिएका, फाटेका तथा प्वाल परेका कपडालाई एकत्रित गरेर तकिया, डसना तथा चकटी बनाई पुनः प्रयोग गर्न सकिन्छ । प्लास्टिकजन्य बोटल, फलामका टुक्रा, सिसाको बोटल कवाडी सामान लिन आउने सेवाग्राही तथा कारखानालाई उचित मूल्यमा बिक्री गरेमा एकातिर फोहोरबाट आयआर्जन हुन्छ भने अर्कोतिर उक्त सेवाग्राही तथा कारखानाले थप रोजगारीको अवसर सृजना गर्न मद्दत पु¥याउँछ ।
ल्यान्डफिल साइटः
मानिसले उत्सर्जन गरेका अर्थात् कुनै पनि सामानको प्रयोग पछि आफूलाई असहज भएका वस्तुहरू जथाभावी बाटोमा फालिएका र निश्चित ठाउँको फोहोरलाई सम्बन्धित निकाय वा संस्थाले सङ्कलन गरेर मानवीय बस्तीभन्दा पर जमिनमुनि वा खाल्डोमा पुरिएर नष्ट गर्ने प्रक्रियालाई ल्यान्डफिल साइट भनिन्छ । यस्तो ल्यान्डफिल साइट बनाउँदा मानव बस्तीभन्दा कम्तीमा २ किमि दूरीमा बनाइने गरिन्छ । तर, हिजोआज केन्द्रीकृत मानव बस्ती बढेसँगै जस्तोसुकै भिरालो जमिनलाई समेत सम्याएर बढ्दो आवास योजनाको प्लानिङ प्लटिङ गर्दा पुरानो ल्यान्डफिल साइटमा एकातिर फोहोर व्यवस्थापन गर्न कठिनाइ भएको छ भने अर्कोतिर पुरानो ल्यान्डफिल साइटलाई समयानुकूल परिमार्जन तथा व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यलाई दिनप्रतिदिन खतरामा धकेलिएको छ ।
हिजोआज मानिसहरूले स्थानीय सरकारलाई कर तिरेका छन् भनेर फोहोर जथाभावी फाल्ने मनलागि गरेर फोहोरको गाडामा राख्ने संस्कार बसाएका छन् । ठूलो पानी पर्दा पानीसँगै खोलामा बगाउने व्यवहारले मानव सभ्यताको विकास मानिने नदी आज दिनप्रतिदिन प्रदूषित हुँदा पानीको स्रोत नै गुमाउनुपरेको अवस्था छ । यसबाट भविष्यमा मानव सभ्यतामाथि प्रश्न उठ्ने निश्चित छ ।
फोहोरलाई जतिसक्यो त्यति नै कम गर्नु नै बुद्धिमानी हो । बजार वा पसल जाँदा घरैबाट कपडाको झोला बोकेर गएमा घरमा भित्रिने प्लास्टिकजन्य फोहोरलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।
आधुनिकताको नाउँमा चकलेट, चाउचाउ तथा बिस्कुटजस्ता प्लास्टिकजन्य खोल भएको तयारी खाद्यान्नको अत्यधिक प्रयोग र प्याकिङका प्लास्टिकजन्य खोल तथा टुटेफुटेका प्लास्टिकका बोटल तथा भाँडाकुँडाले फोहोरलाई बढावा दिँदै जाँदा सरसफाइमा उदेकलाग्दो समस्या थपिएको हो ।
यसर्थ, यस्ता यावत् समस्या समाधानसहित राष्ट्रलाई फोहोरको माध्यमबाट मोहोर बनाई समृद्ध बनाउन घरबाटै फोहोरको व्यवस्थापन गर्ने गराउने नीति आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *