भर्खरै :

आमूल परिवर्तनको लागि लाखौँ जनता सचेत र सङ्गठित हुनु आवश्यक

आमूल परिवर्तनको लागि लाखौँ जनता सचेत र सङ्गठित हुनु आवश्यक

भक्तपुर ३०, फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले मङ्गलबार चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली, हलालगाउँका जनतासँग समसामयिक विषयमा छलफल गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन, सरकार गठन र राष्ट्रपति एवम् उपराष्ट्रपतिको चुनावमा सिद्धान्तहीन गठबन्धन गरेका शासक दलहरू अलग होइनन्, एउटै हुन् । नेपाली जनता भ्रममा पर्नुहुँदैन ।”
“शासक दलका नेताहरू अनुशासित नभएको हुँदा सिंहदरबार भ्रष्टाचारको अखडाजस्तै भयो । एमालेले २०५१ सालमा मनमोहन अधिकारीको सरकार जोगाउन नेका र राप्रपाका सांसदहरू खरिद गर्न उमेश गिरीमार्फत २ करोड रुपैयाँ ‘गन्न नभ्याएर’ जोखेर पठाएको तर सरकार जोगाउन नसकेको सार्वजनिक भयो । २०५३ सालमा नेकाले देउवा सरकारलाई जोगाउन सांसद अपहरण गरी भारतको पुना र थाइल्यान्डको बैङ्कक पु¥याएको र २०५४ सालमा एमाले र राप्रपाको सरकार जोगाउन सांसदहरूलाई होटलमा थुनेर ‘सुरा सुन्दरी काण्ड’ मच्चाएको विषय अहिले पुस्तकहरूमा सार्वजनिक भयो ।” उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलका नेताहरू मदिरापान, भ्रष्टाचार र अपराधी संरक्षणमा लागेकोमा जनताको आपत्ति हो । सरकारी बैङ्क, अस्पताल, विमान सेवा र विद्यालयलाई प्रभावकारी नबनाउने तर निजी बैङ्क, अस्पताल, विमान सेवा र विद्यालयको पक्षमा लागेर सर्वसाधारण जनतालाई शोषण र ठगी गर्ने वातावरण शासक दलहरूले तयार गर्नु देशघात नै हो । ”
उहाँले भन्नुभयो, “बगँैचाजस्तो नेपाललाई शासक दलहरूले मरुभूमिजस्तै बनाए । २००७ सालमा भारतले राजा, राणा, काङ्गे्रसलाई दिल्ली बोलाएर ‘प्रजातन्त्र आयो’ भनी फिर्ता पठाएको सम्झौताजस्तै अहिले सहमति र सहकार्य आवश्यक भएको बताउने शासक दलहरू भारतकै निर्देशनमा देश चलाउन चाहेको पुष्टि हुन्छ । यस्तो सहमति र सहकार्य नेपाली जनतालाई स्वीकार हुनेछैन । ”
“नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, २०६३ सालमा जन्मको आधारमा नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने विधेयक खारेज गराउने प्रतिबद्धता राष्ट्रपति उम्मेदवार दिएका पार्टी एमाले र नेकाले गर्नु जरुरी थियो तर गरेनन् ।” उहाँले उल्लेख गर्नुभयो ।
वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र अमेरिकी सेनाले नेपाली सेनाको व्यारेक कब्जा गर्ने एसपीपी साझेदारी खारेज गराउने र दार्चुलामा भारतले महाकाली नदी मिचेर ढुङ्गाको पर्खाल उठाएको भत्काउने वाचा एमाले र नेकाले नगरेको हुँदा नेपाल मजदुर किसान पार्टी राष्ट्रपतिको चुनावमा सहभागी नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सर्वसाधारण जनतालाई पैसा र सामान बाँडेर, भोज खुवाएर, डर—धम्की दिएर निर्वाचन जित्ने शासक दल र तिनका नेताहरूकै कारण देश र जनताले दुःख पाएका हुन् । ”
“नेपाल मजदुर किसान पार्टीले जनतालाई राजनीतिकरूपले शिक्षित र सङ्गठित गरेर आमूल परिवर्तन ल्याउने नीति लिएको छ । २—४ जना मानिस सचेत र सङ्गठित भएर पुग्दैन । आमूल परिवर्तनका लागि लाखौँ मानिसलाई सचेत र सङ्गठित गर्नु जरुरी छ । पढे लेखेका मानिसहरू शासक दलहरूको ‘बलेको आगो ताप्ने’ अवसरवादी हुनु हुँदैन । इमानदार र निःस्वार्थरूपले देश र जनताको सेवामा लागेको नेपाल मजदुर किसान पार्टी वरिपरि सम्पूर्ण नेपाली जनता सङ्गठित हुनु आवश्यक छ ।” सांसद सुवालले भन्नुभयो ।
“बहुदलको पुनःस्थापनायता पाँच पटक मन्त्री भएकाले ‘मन्त्री भनेको भ्रष्टाचारी भएको’ संस्मरण पुस्तक लेखे । यसकारण, मन्त्रीहरूलाई भेट्नेबित्तिकै भ्रष्टाचार नगर्न खबरदारी गर्नु जरुरी छ । ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेका र नगरकोट सडक समयमा निर्माण सम्पन्न नगरेका मन्त्रीहरू भ्रष्टाचारी भएको किन होइन ?” उहाँले प्रश्न गर्नुभयो ।
स्थानीय जनताले देश र जनताको हितमा संसद् र सडकमा निरन्तर आवाज उठाउनु भएकोमा सांसद सुवाललाई बधाई एवम् धन्यवाद दिनुभयो र खर्कपुलदेखि हलालगाउँसम्मको छोटो बाटो कालोपत्र गर्ने र ऐतिहासिक गढी संरक्षणको लागि बजेट व्यवस्था गराउने विषय आवाज उठाउन सांसद सुवाललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुका सदस्य एवम् वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले नेमकिपाकै प्र्रयासबाट चाँगु नगरपालिकालाई भ्रष्टाचारमुक्त घोषणा गराउन सफल भएको तर नगरपालिकाले भ्रष्टाचारमुक्त कार्यक्रम बनाई कार्यान्वयन गराउनेतर्फ ध्यान नदिएको बताउनुभयो ।
नगरपालिका प्रमुखले आफ्नो ठाडो आदेशबाट काम सम्पन्न भइसकेको ठाउँमा पनि बजेट विनियोजन गरी कार्यकर्ता पोस्ने काम गर्दै आएकोमा जनताको गुनासो रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *