भर्खरै :

वडा नं ५ मा स्वास्थ शिविर र छि क्वान प्रशिक्षण

वडा नं ५ मा स्वास्थ शिविर र छि क्वान प्रशिक्षण

भक्तपुर, ४ चैत । भनपा वडा नं ५ को आयोजनामा पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ शिविरको उद्घाटन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
उक्त उद्घाटन समारोहमा नगरवासीको शिक्षा र स्वास्थ्यलाई भक्तपुर नगरपालिकाले सधँै प्राथमिकतामा राख्दै आएको र परिवारजन स्वस्थ भएमात्र समुदाय र अनि देश नै स्वथ्य हुने उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई कमाउधन्दा बनाउनेहरूले कहिलेकाहीँ जनतालाई भए नभएका डर देखाई ठगीसमेत गर्ने भएकोले जनताको लागि नगरपालिकाले यस्ता कार्यक्रमहरू गर्नुपरेको बताउनुभयो । कुनै पनि स्वास्थ्य समस्यालाई समयमै पत्ता लगाई निदान गर्न सक्ने भएकोले शिविरहरूको सञ्चालन गर्दै आएका उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय पूर्णगोपाल राजचलले नगरपालिकाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, सम्पदा र अन्य क्षेत्रमा सेवा गरिरहेको बताउनुभयो । चिकित्सक डा.आनन्दबाबु ढकालले क्यान्सर रोगलाई समयमै पत्ता लगाउन सकिए पूरा निको पार्न सकिने बताउनुभयो ।
भनपा वडा नं ५ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति योगेन्द्रमान बिजुक्छेँले समाजवादी देशहरूमा सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य जनप्रतिनिधि रीता फसिकवाले गर्नुभएको थियो भने अर्का जनप्रतिनिधि सरिना द्योलाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो । स्वास्थ्य परीक्षण शिविरमा १८८ महिलाहरूले स्वास्थ्य जाँच गराएको बुझिएको छ ।
वडा नं ५ कै आयोजनामा वडाका निवासीहरूलाई लक्षित गरेर प्रतिरोधात्मक स्वास्थ्य कार्यक्रमअन्तर्गत छि क्वान व्यायामको प्रशिक्षण पनि थालनी भयो । चैत १ देखि सञ्चालित सो छि क्वान प्रशिक्षणमा १०५ जना महिला पुरुषको सहभागिता भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *