युरोपेली सङ्घका अग्निनियन्त्रकहरूद्वारा सामाजिक सुरक्षा कटौतीविरुद्ध ब्रसेल्समा विरोध प्रदर्शन
- कार्तिक १९, २०८३
भक्तपुर, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा विशेष नवजात शिशु स्याहार कक्ष (एस.एन.सी.यू.) सेवाको बिहीबार उद्घाटन गर्नुभयो ।
नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष बिजुक्छेँले उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नयाँनयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कुनै पनि संस्था सञ्चालनमा चिकित्सक तथा कर्मचारीहरूको व्यवहार र भूमिकाले महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गर्दै उहाँले सेवाग्राहीको चेतनास्तर फरकफरक हुने भएकोले सबैलाई सहज र समान व्यवहारका साथ सेवा दिनुपर्ने बताउनुभयो ।
गरिब तथा विपन्न नागरिक उपचारका लागि आउने अस्पतालमा सेवाग्राहीको भिड हुनु स्वाभाविक भएको बताउँदै उहाँले अस्पतालमा उपलब्ध सेवा सबैले समान रूपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सेवाग्राहीसँग राम्रो व्यवहार गर्न सके अस्पतालको सकारात्मक प्रचार हुने उहाँको भनाइ थियो । भक्तपुरका साथै अन्य स्थानबाट समेत धेरै बिरामी आउने भएकाले अस्पतालका मुख्य स्थानहरूमा विभिन्न भाषा जान्ने र बुझ्ने कर्मचारीको व्यवस्था गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । ख्वप अस्पतालले भक्तपुरका नागरिकलाई मात्र नभई देशभरिका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल भक्तपुरको महत्वपूर्ण संस्था भएको बताउँदै यहाँ कार्यरत सबै चिकित्सक तथा कर्मचारीको मनमा जनताको सेवा गर्ने भावना हुनुपर्ने बताउनुभयो । आफ्नै ठाउँको विकास आफैँले गर्नुपर्छ भन्ने भावनाको उदाहरण ख्वप अस्पताल पनि भएको उहाँको भनाइ थियो ।
जनस्वास्थ्य केन्द्र २०७८ सालदेखि ख्वप अस्पतालका रूपमा विकास हुँदै १०० शय्याको अस्पताल बन्न सफल भएको उल्लेख गर्दै उहाँले अस्पतालको विकासका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो । लामो समयदेखिको प्रयासपछि एस.एन.सी.यू. सेवा सञ्चालन भएको बताउँदै उहाँले आगामी दिनमा एमआरआई सेवा सञ्चालन गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी दिनुभयो ।
मेडिकल कलेज सञ्चालनका लागि ३०० शय्याको अस्पताल आवश्यक पर्ने भएकोले त्यसतर्फ समेत तयारी गर्दै जानुपर्ने उहाँले बताउनुभयो । ख्वप अस्पताल एउटा ब्रान्डका रूपमा विकास भइसकेको उल्लेख गर्दै प्रमुख प्रजापतिले अस्पताललाई अझ व्यवस्थित र सुसूचित ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजका लागि अत्यन्त आवश्यक सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशनअनुसार भक्तपुर नगरपालिकाले गर्दै आएका जनमुखी कामहरू उपलब्धिमूलक रहेको बताउँदै उहाँले भक्तपुरमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउनुले नागरिकलाई ठुलो सहयोग पुगेको उल्लेख गर्नुभयो । एस.एन.सी.यू. सेवा सञ्चालन अस्पतालको अर्को महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले एस.एन.सी.यू. सेवा सञ्चालनले नवजात शिशुको उपचारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । अस्पतालले विकासको क्रममा धेरै प्रगति गरिसकेको उल्लेख गर्दै उहाँले एकपछि अर्को सेवा थप्दै जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास भइरहेको बताउनुभयो । अस्पताल राम्रो हुन भवन र उपकरण मात्र पर्याप्त नहुने बताउँदै चिकित्सक तथा कर्मचारीमा संस्थाप्रतिको अपनत्व र सेवाभाव हुनुपर्ने उहाँले धारणा राख्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका बालरोग विशेषज्ञ डा. विजयकुमार चिकंबन्जार, ख्वप तिलगंगा आँखा अस्पतालका व्यवस्थापक डा. धीरज अधिकारी, ल्याब इन्चार्ज मञ्जु व्याञ्जु, फिजियोथेरापी इन्चार्ज निर्मल प्रजापति र वार्ड इन्चार्ज सुजना बासुकलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका कर्मचारीहरूले सांस्कृतिक प्रस्तुतिसमेत गरेका थिए ।
Leave a Reply