भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
सबैमा सुख, शान्ति र समृद्धिको कामना
देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक वर्षैभरि प्रकाशित भइरहेको कुरा पाठकहरूमा अवगतै छ । दसैँमा झैँ तिहारमा पनि ठुलठुला दैनिक पत्रिकाहरू बन्द हुँदै आएको सबैमा आलै छ । तर, ‘मजदुर’ दैनिक विगतमा झैँ यस वर्षको तिहारमा पनि निरन्तर प्रकाशित हुनेछ । तिहारको समयमा भएका साहित्यिक, सांस्कृतिक, सामाजिकलगायतका रचनात्मक गतिविधि र कार्यक्रमको समाचार, लेख–रचना, पाठकपत्र, पुस्तक परिचय पठाउन संवाददाता, लेखक, समीक्षक तथा बुद्धिजीवीहरूमा अनुरोध छ ।
‘मजदुर’ दैनिक आस्थाको पत्रिका हो । यस पत्रिकामा समाचार र विचार पनि रहेको हुन्छ । यसले श्रमजीवीवर्गको प्रतिनिधित्व गर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायका शोषित–पीडित, उत्पीडित जनताको आन्दोलन र सङ्घर्षलाई यस पत्रिकाले जोड दिँदै आएको छ । शक्ति राष्ट्रको हस्तक्षेप, आक्रमण, दबाब, नाकाबन्दीको यो पत्रिका विरोध गर्छ । देशको अखण्डता, स्वाधीनता र सार्वभौम देशको पक्षमा पत्रिकाले आवाज बुलन्द गरिरहेको छ । भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, हत्या–हिंसा, विकृति, विसङ्गति अन्त्य गर्नेसम्बन्धी लेख–रचनामा ‘मजदुर’ दैनिक जोड दिन्छ । महिला बेचबिखन र बेपत्ता पार्ने कार्य, मानव तस्कर, अनेक लोभलालच देखाएर महिलालाई वेश्यालय पु¥याउने कामको पनि यो पत्रिका विरोध गर्छ ।
यो पत्रिकामा चुरोट र रक्सीको विज्ञापन निषेध गरिएको छ । अश्लील तस्बिर र अश्लील समाचारलाई पत्रिकामा ठाउँ दिइएको छैन । देश जोगाउने र बनाउनेसम्बन्धी लेख–रचनालाई यो पत्रिकाले प्राथमिकता दिन्छ । भ्रष्टाचारी, बलात्कारी, मानव तस्करहरूलाई कारबाही गर्नुपर्छ भन्ने मान्यता राख्छ । देश विकास गर्न, जनताको जीवनस्तर उठाउन देशको स्वाधीनता र सार्वभौमिकता बचाउन देशका शासक र राजनीतिक दलहरू देश र जनताप्रति समर्पित हुनुपर्छ । देश र जनताको सेवा गर्नु नै सरकार र राजनीतिक दलहरूको कर्तव्य हो† त्यो कर्तव्य सबैले पालना गर्नुपर्छ । सत्तासीन दलका प्रम, मन्त्री, सांसद र नेताहरू जवाफदेही र इमानदार हुनुपर्छ । सरकारले गर्ने हरेक काम देश र जनताको पक्षमा हुनुपर्छ† सुशासन र राजनीतिक स्थिरताको निम्ति सरकारले गतिलो सन्देश बाँड्नुपर्छ । देश र जनताको हित सर्वोपरी हुनुपर्छ ।
साम्राज्यवादी देश संरा अमेरिकाको आर्थिक र सैन्य सहयोगमा इजरायलले प्यालेस्टिनमा लगातार बम वर्षा गरेर प्यालेस्टिन देशलाई ध्वस्त पार्दै छ† प्यालेस्टिनी जनतालाई खरानी पार्दै छ । स्वाधीनता र सार्वभौम देशको निम्ति विभिन्न देशमा भइरहेको सङ्घर्ष र आन्दोलनलाई ‘मजदुर’ पत्रिकाले ठाउँ दिएको छ । अमेरिकाले चालू राखेको क्युवा र प्रजग कोरियामा आर्थिक नाकाबन्दीको विरोधको स्वरलाई यसले जोड दिएको छ । यसरी ‘मजदुर’ दैनिकले आफ्नो अन्तर्राष्ट्रिय धर्म निर्वाह गरेको छ । कम्युनिस्ट पार्टी, कम्युनिस्टप्रति आस्था राख्ने पत्रिका, बुद्धिजीवी, लेखक, समालोचक, देशभक्तहरू अन्तर्राष्ट्रवादी हुन्छन् । उनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।
स्वाधीनता र सार्वभौमसत्ताको सुरक्षाको निम्ति भएको देश विदेशका आन्दोलन र सङ्घर्षबारे लेख लेख्ने, अनुवाद गर्ने, पाठकपत्र पठाउने, लेखक, समालोचक, बुद्धिजीवीहरूको सहयोग विगतमा झैँ निरन्तर पाइरहने हाम्रो विश्वास छ । पत्रिकामा आबद्ध, पत्रिकासित सम्बन्धित सबै लेखक, समालोचक, राजनीतिज्ञ, संवाददाता, फोटोग्राफर, विज्ञापनदाता, हकर्स, पत्रिका बिक्रेता, पाठक, विभिन्न सङ्घसंस्था, समाजसेवी, व्यापारी, व्यवसायी, मजदुर, किसान, युवा, महिला, शिक्षक, विद्यार्थी, कर्मचारी, शुभेच्छुक साहित्यकारलगायत सबैको साथ र सहयोग पाइरहनेछ । नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा पत्रिकालाई साथ र सहयोग गर्ने सबैमा ‘मजदुर’ दैनिक सुख, शान्ति र समृद्धिको कामना गर्दछ ।
Leave a Reply