भर्खरै :

अमेरिकाको सांस्कृतिक र सामाजिक पतन

अमेरिकाको सांस्कृतिक र सामाजिक पतन

२१ औँ शताब्दीमा भएका परिवर्तनहरूलाई अलि खुला आँखाले हेरे अमेरिकी समाज र संस्कृतिको तीव्र पतन महसुस गर्न सकिन्छ । संरा अमेरिका आफ्नो स्थापनाकाल यताकै सबैभन्दा कमजोर बिन्दुमा छ भनेर मात्र पुग्दैन । तैपनि, हामी अमेरिकीहरू आफूलाई ऐनामा हेरौँ भन्दा तर्किने गर्छौँ । अमेरिका र हाम्रा मित्र देशहरूले एउटा सभ्यताका रूपमा आफूबारे घोत्लिन, पछि फर्केर समीक्षा गर्न मान्दैनौँ । यो आत्मघाती बाटोमा नजान के गर्नुपथ्र्यो, हामी के कुरामा सक्षम थियौँ र यो नचाहिँदो बाटोमा किन लाग्यौँ भनी आत्ममन्थन गर्न हामी चुकिरहेका छौँ ।
यो साता जुलियन असान्जमाथि देशद्रोहको आरोप लगाएकोमा न्युयोर्क टाइम्सलगायत अन्य विभिन्न मूलधारका मिडियाहरूले अमेरिकी सरकारको विरोध गरे । कुनै बेला यिनै मिडियाहरू विकिलिक्सका सामग्री र छानबिनमा आधारित रहेर समाचार लेख्ने गर्थे र त्यति नै बेला उनीमाथि लगाइएका झूटा आरोपहरूमा सरकारको होमा हो पनि मिलाउँथे । असान्जले खुलासा गरेका तथ्यहरू सही थिए । उच्च नैतिक धरातलबाट हेर्दा असान्जका गतिविधि साहसी र वीरतापूर्ण थिए । तर, आपराधिक कुकर्महरूमा मिलेमतो गरिरहने शक्तिशाली व्यक्तिहरूले असान्जलाई सजाय दिनुपर्ने देखे । केही निर्वाचित अधिकारीहरूले उनलाई ज्यान सजाय दिनुपर्ने मागसमेत राखे । सरकार असान्ज र उनीजस्ता सरकारी कुकर्म र अपराधहरू खुलासा गर्ने प्रत्येक सचेतकहरूको निन्दामा उत्रियो र मिडियाले सरकारलाई साथ दियो । यसबाट अमेरिकी मिडियाहरूको सामूहिक लाछीपन छताछुल्ल भयो । सरकार र ठूला कम्पनीहरूले गर्ने भ्रष्टाचार र हिनामिनाबारे नौला सूचनाहरू बाहिर ल्याउने असान्जजस्ता व्यक्तिसँग मिडिया नडराएको भए अझ कति कुकर्महरूको खुलासा हुन्थ्यो होला ?
अमेरिकी शिक्षाको स्तर बिस्तारै खस्किँदै छ । आज संस्कृति पूजाको नाममा गणित र अङ्ग्रेजी पढाउनुलाई जातिवादी कार्य भनिँदै छ । हामी यो स्थितिमा कसरी आइपुग्यौँ ? युनियनहरूले शिक्षकहरूलाई आलोचनात्मक जातीय सिद्धान्त अँगाल्न करकाप गर्दै छन् । आधारभूत मनोवैज्ञानिक सिद्धान्त बङ्ग्याएर यो सिद्धान्त रचिएको छ । यो सिद्धान्तले मानिस–मानिसबिचको प्रत्येक सम्बन्धमा जातिवादी कोण केलाउने प्रयास गर्छ । यसले एउटा खुला समाजको निर्माणमा बाधा हाल्छ । एउटा एकताबद्ध सभ्यताको निर्माण गर्ने उद्देश्यमा खतरनाक तगारो तेस्र्याउँछ । आलोचनात्मक जातीय सिद्धान्तले खुला समाज भताभुङ्ग पार्ने अभिष्ट बोकेको छ । यसले सबथोक सामूहिक हुनुपर्छ, व्यक्तिगत स्वतन्त्रता केही होइन भन्छ । यो सिद्धान्तको पक्षमा कुर्लिने साम ह्यारिस र डानियल डेन्नेटले व्यक्तिको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्छन् । आफूलाई नागरिक अधिकारका उत्तर–आधुनिक योद्धा भन्न रुचाउने यस सिद्धान्तका अनुयायीहरूले इतिहासमा मानव अधिकारका नाममा जेजति उपलब्धि हासिल भएको छ, त्यसको नामनिसान मेटाउँछन् । मानिसको सिर्जनशीलता कहिलेकाहीँ व्यर्थ जान्छ । यसलाई देखाएर तिनीहरू सबै सिर्जनालाई विसङ्गतिपूर्ण बकवास र अचाक्ली भावुकताको रछ्यानमा फाल्नुपर्छ भन्छन् । यस्तो कुरा कानुनमै लेखिनुपर्ने तिनको जोड छ । यसको विरोध गर्नेहरूलाई रोक्नुपर्ने, त्यस्ता स्वरमाथि सेन्सर लगाउनुपर्ने र उनीहरूलाई सजाय दिनुपर्ने तिनको अर्को माग छ ।
पश्चिमा विश्वको बुद्धिलाई लाटो बनाएर केटाकेटीको स्तरमा झार्दा यसको परिणाम कोभिड–१९ को महामारीको भड्किलो महिमागानमा छताछुल्ल भयो । युक्रेनको रुसविरोधी सत्ताको नाजीवादी र सैन्यवादी धतुरो झार्ने रुसको विशेष सैन्य कारबाहीमा पनि पश्चिमाहरूको केटाकेटीपन छर्लङ्ग भयो । राष्ट्रपति ओबामा र विदेशमन्त्री क्लिन्टनलाई पछ्याउँदै अमेरिकी शासक र तिनका युरोपेली मित्रहरूले किभमा सन् २०१४ मा विद्रोह गराए र कोकोहोला मच्चाइरहे । त्यसकै परिणाम आज किभलाई अगाडि राखेर रुसविरुद्ध छद्मयुद्ध हुँदै छ । यो युद्धमा नेटोले जित्ने छाँट देखिन्न । यहाँ पनि पश्चिमा मिडियाहरूले बेकुफी देखाए । यथार्थ तथ्य लुकाएर नचाहिँदो र झूटो प्रचारबाजी गरे, गलत सूचनावरिपरि रुमल्लिए । मास्क, लकडाउन र एमआरएनए भ्याक्सिनको प्रभावकारीताबारे हामीलाई जेजति भनिएको थियो, शक्तिशाली रुसी सेनाविरुद्ध जेलेन्स्कीको सुनिश्चित विजयबारे जेजति सुनाइएको थियो, त्यो सबै हावादारी थियो । महामारी र रुसविरुद्ध नयाँ शीतयुद्धको बारेमा सरकारले सुनाएको कथा जातिवादी सोचको उपज हो । यो सोच अमेरिकी सरकार र संसद्मा भित्रैसम्म घुसेको छ । जनताको बुद्धि यति घिनलाग्ने गरी भाँड्न आफ्नो मूर्खता ढाकछोप गर्दै इतिहासको पुनर्लेखन गर्नुपर्ने हुन्छ ।

फुटपाथमा रात बिताउन बाध्य अमेरिकीहरूमध्ये एक ।

हिलारी क्लिन्टन र कन्डोलिजा राइसले अर्काको देशमा सत्ता परिवर्तन गर्न अमानवीय सैन्य कारबाही गरे । त्यसलाई ढाकछोप गर्न उनीहरूले इतिहासको पुनर्लेखन गर्न खोजिरहेका छन् । यो कुचेष्टा जोन स्टीवार्टले हालै लिएको अन्तर्वार्तामा खुलस्त भयो । यी दुई नवरुढीवादी विदेशमन्त्रीले बटारिएका, खोक्रा र झूटा दस्तावेजी तथ्यहरू देखाएर आफ्ना सैन्य अभियानलाई सही ठह¥याउन खोजे । उनीहरूले एउटा सार्वभौम मुलुकमा जबरजस्ती सत्तापलट गराउने आफ्नो सैन्य कारबाहीमाथि सुनपानी छर्के । कुनै पनि सार्वभौम मुलुकको आलोचना गर्नु र हिंसात्मक हमला गर्नु फरक कुरा हो । सीएनएन, एमएसएनबीसीलगायत मिडियाहरू अमेरिकी साम्राज्यवादको गोडा ढोग्छन् । यिनले जति नै अनर्गल कुरा फुके पनि अमेरिकी जनताले आफ्नो सोच्ने क्षमता यिनकै जिम्मा लगाएका छन् । जनताले यिनै मिडियाको ‘अध्ययन’ गर्ने गर्छन् ।
राजनीतिक, औद्योगिक र कर्पोरेट जगत एकै स्वरमा बोल्छन् । पूर्ण नियन्त्रणको भ्रामक आकाङ्क्षा राखेर रचिने सरकारी कथालाई उनीहरू चुनौती दिन मान्दैनन् । यस्तो किन हुन्छ ? पूरै कारण बुझ्न गा¥हो छ । तर, गुढ कारण पक्कै छ । कोभिडले तीन वर्ष लग्यो । आफ्नो प्रतिष्ठा र करियरलाई दाउमा राखेर केही हिम्मती डाक्टर, नर्स र वैज्ञानिकहरूले मात्र सरकारी स्वास्थ्य निकाय र ठूला औषधि उद्योगहरूको अनैतिक साठगाँठबारे मुख खोले । उनीहरूलाई लाइसेन्स रद्द गरिदिने धम्की आयो । सरकारी स्वास्थ्य निकाय र बिल गेट्सले चन्दा दिने विश्व स्वास्थ्य सङ्गठनले छानेर तयार पारेको तथ्याङ्क तथा वैज्ञानिक तथ्यबिच असङ्गति र विरोधाभाष औँल्याएकोमा उनीहरूलाई त्यस्तो डर देखाइएको थियो ।
महामारीको बेला अमेरिकी सहरहरूलाई यातनागृहजस्तो बनाइएको थियो । लकडाउन नीतिले गर्दा हजारौँ साना व्यापार व्यवसाय ठप्प पारियो । कामदार र मालिकको सम्बन्धमा पूर्णतया फेरबदल भयो । नाटकीय बेरोजगारी छायो । पश्चिमी भेगका गाउँ र सहरका पसलहरूमा लुटपाट गर्न खुला छुट थियो । पसलका कामदारहरूलाई क्यालिफोर्नियाको कानुनले लुटेराहरूलाई नछुन भन्यो, रोक्ने कामदारहरूलाई जातिवादीको बिल्ला लगायो । लस एन्जलस, सान फ्रान्सिस्को, पोर्टल्यान्ड र सियाटलमा गुन्डा दलहरूले सडकछाप आवारा र घरबार नभएका निमुखाहरूलाई सुरक्षा गार्डकै अगाडि गाडीमा कोचेर बेच्न लगे । देशैभरि शाखा भएका केही ठूला कम्पनीहरूले पनि पसल बन्द गर्नुप¥यो । सरकारी अधिकारीहरूले नै पीडित पसलेहरूको अधिकारलाई भन्दा चोरहरूलाई समर्थन गर्ने यस्तो समाजलाई कसरी सज्जन भन्ने ? न्युयोर्कमा अपराधलाई अनधिकृतरूपमा वैध बनाइएको छ । अदालतमा पनि उनै, सडकमा पनि उनै रहने दोहोरो चरित्रका कारण कैद सजाय पाउनुपर्ने अपराधीहरू प्रायः छुट्ने गर्छन् । त्यसैले अपराधीहरूले सर्वसाधारणलाई लुट्छन्, कारहरू चोर्छन्, यौन हिंसा गर्छन् वा मान्छे मार्छन् । जेलबाट सजिलै छुट्न सकिन्छ भनेर उनीहरूको मनोबल बढेको बढ्यै छ । अपराधका पीडितहरूलाई भने प्रायः बेवास्ता गरिन्छ ।
बहुसङ्ख्यक अमेरिकीहरू अमेरिकी मूल्यमान्यता र आदर्शको उच्चतामा घमण्ड गर्छन् । यो उनीहरूको एकतर्फी सोच हो । यो सांस्कृतिक अन्धोपन खासगरी सरकारी कार्यालयहरू र कर्पोरेटका बोर्ड बैठकहरूमा प्रस्ट देखिन्छ । त्यसैले अन्य राष्ट्रका नेताहरूले पटकपटक महसुस गरिरहेको अमेरिकी संस्कृतिको पतन वा त्यसको आलोचना सुन्यो कि अमेरिकीहरू पन्छिने गर्छन् । उदाहरणको लागि, चीनको नेतृत्व गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको मानव अधिकारको स्थितिबारे तपार्इँ जे पनि सोच्न सक्नुहुन्छ । तर, विश्व बैङ्ककै भनाइमा गत ४ दशकमा चीन सरकारले आफ्ना झन्डै ८० करोड जनतालाई गरिबीबाट माथि उठाएर चमत्कार गरेको छ । त्यसैले अमेरिकी सहरहरूमा बढिरहेको गरिबी र अपराधलाई चीन सरकार घृणास्पद मानवीय पतनको रूपमा हेर्छ । चीनविरुद्ध आर्थिक युद्ध जित्छु भनेर फुइँ झार्ने देशले आफ्ना ३ करोड ८० लाख जनतालाई गरिबीबाट माथि उठाउन नसक्नु लज्जास्पद हो । औसत अमेरिकीहरू कुनै न कुनै ऋणको पासोमा हुन्छन् । तिनलाई सरकारी राहत वा सुरक्षाको कुनै आस हुन्न ।
अमेरिकी शिक्षाको असफलता अर्को लज्जास्पद रोग हो । यसले हाम्रा युवाहरूको दिमाग भाँडेको छ । जातिवादी उदारताले बालबालिकालाई अभिभावकको अनुमतिबिना आफै निर्णय लिन र काम गर्न उत्साहित गर्छ । एकल परिवारको ठाउँमा राज्य नै अभिभावक बन्दै छ । विद्यार्थीहरूको कोमल भावनाको सुरक्षा गर्न कलेजहरूमा तनावमुक्त वातावरण जरुरी छ । त्यहाँ आराम र मनोरञ्जनको बन्दोबस्त हुनुपर्छ । विद्यार्थीहरूको मनोदशा सामान्य र स्वस्थ छ भनी सुनिश्चित गर्न कलेजहरूमा परामर्श सेवा तथा तनाव व्यवस्थापनको प्रबन्ध हुनुपर्छ । विगतमा शिक्षक वा प्राध्यापकहरूले कुनै अनैतिक काम नगरेसम्म विद्यार्थीहरू मिलेर तिनलाई निकाला गर्नुपर्ने माग राख्दैनथे । आज कसैले अन्जानमै आफ्नो जातिवादी भावनामा चोट पु¥यायो भने पनि जातिवादी विद्यार्थीहरू सङ्गठित भएर ती शिक्षकहरूलाई निकाला गर्नुपर्ने माग राख्छन् ।
माथिका सबै प्रवृत्तिलाई अहिले झूटो उदारवादी वा डेमोक्रेट पार्टीले संस्थागत गरिसकेको छ । तिनै सोच राख्ने व्यक्तिहरूलाई ठूला कम्पनीहरूले आफ्नो जनशक्तिको रूपमा उपयोग गर्छन् । पेचिलो राजनीतिक जातिवाद अहिले डेमोक्रेटहरूको आधारभूत विशेषता बन्दै छ । यी कर्पोरेट र डेमोक्रेट विचारधारालाई शिरोपर गरेसम्म सर्वसाधारणहरू सुरक्षित छन् । रिपब्लिकनहरूले प्रचार गर्ने भ्रामक धारणाहरू अर्कै प्रकारका छन् । उनीहरू रुससँग बढी मिल्छन् । हामीलाई दुईथरी विनाशकारी राजनीतिक शक्तिबिच कुन छनोट गर्छौ भनी चुन्न लगाइन्छ । यसबिच संरा अमेरिका बैङ्क खातामा अलि बढी रकम भएको तेस्रो विश्वको देशमा झर्दै छ । अमेरिकी स्वास्थ्य सेवा संसारको सबैभन्दा महँगो स्वास्थ्य सेवा हो । सरकारले वार्षिक ४० खर्ब डलर खर्च गरे पनि स्वास्थ्य सेवाको हकमा ३९ विकसित देशपछि मात्र अमेरिकाको नाम आउँछ । अमेरिकामा हुने कुल मृत्युमध्ये एकतिहाइ उपचारमा गल्ती भएर वा औषधि सही नभएर हुने गरेको छ । कोभिड भ्याक्सिनको जथाभावी प्रयोग गर्दा अहिले क्यान्सरले महामारीको रूप लिने स्थिति छ ।
दुःखको कुरा अमेरिकी नेतृत्वले हाम्रो सामाजिक र सांस्कृतिक पतनका कारणहरू निवारण गर्ने दिशामा सिन्को भाँच्ने देखिन्न । अमेरिकी राजनीतिमा कोही पछि फर्किन चाहन्न । देशको अवस्था बिगार्ने नीति ल्याएकोमा कसैले पश्चातापसम्म गर्दैन । तिनलाई जवाफदेही बनाउन सर्वसाधारणहरू आफ्नै सुरले सङ्गठित पनि हुन सकेका छैनन् । अन्य देशहरूमा गएर अनेक निर्दोष जनता मार्ने अमेरिकी सैन्यवादको विरोधमा जनप्रदर्शन खोइ ? सुकुमवासी, गरिब, अन्यायमा परेकाहरूलाई झन् सताउने घरेलु नीतिहरूविरुद्ध विरोधको स्वर खोइ ? रोमन सभ्यतामा जस्तै हाम्रो राजनीतिक संरचनाले जनतालाई रोटीको टुक्रा दिन्छ, सरकस देखाउँछ । दुष्प्रचारमा चौबीसै घण्टा खटिने मिडियाहरूले खालि पैसाको पछि दौडिन उक्साउने मोजमस्तीपूर्ण दृश्यहरू देखाउँछन् । झूटा विवरणहरू फुकेको फुक्यै गर्छन् । प्रचार माध्यमहरूमा हामी दिनदिनै देशलाई तडकभडक र विलासमा डुबाउने तस्बिर र आवाज सुनिरहन्छौँ । तैपनि, हामी मौन बस्छौँ वा ताली पड्काउँछौँ ।
गत तीन दशकमा अमेरिका वा विश्वलाई अझ समतामूलक र सुरक्षित स्थान बनाउन कुनै राजनीतिक दलले केही उथलपुथल ल्यायो ? हामी अमेरिकी जनता यस्तो परिवर्तन ल्याउन विफल भएका छौँ ।
(रिचर्ड गेल प्रगतिशील रेडियो सञ्जालका निर्माता तथा एक अध्येता हुन् । डा. गेरी नल अमेरिकाको सबैभन्दा पुरानो रेडियो कार्यक्रमका प्रस्तोता तथा वृत्तचित्र निर्माता हुन् । स्रोत : ग्लोबल रिसर्च)

Leave a Reply

Your email address will not be published. Required fields are marked *