भर्खरै :

अवसरवादी शासकहरूलाई चिनौँ

देशका शासकहरू आफूले मात्र प्रजातन्त्र, गणतन्त्र र संविधानको रक्षा गरेको अथ्र्याउँछन्, अरु दल र जनताले देश र जनताको निम्ति बगाएको रगत–पसिनाको मतलब राख्दैनन् । प्रधानमन्त्री नबनाएरै गठबन्धन फेर्ने शासकहरू प्रमको लागि मरिहत्ते नगरेको लाज छोप्छन् । निर्वाचनताका एकथरीसँगको गठबन्धन, निर्वाचनपछि सरकार गठन गर्दा अर्कोथरीको गठबन्धन र सरकार गठनको दुई महिनापछि अर्को गठबन्धनमा लागेर प्रम पड्काउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खोइ राजनीतिक चरित्र, खोइ नैतिकता, खोइ विश्वास ? राजनीतिक चरित्र, नैतिकता र विश्वासको गन्ध नभएका दाहाल एक नम्बरको अवसरवादी नायक साबित भएको घटनाक्रमले देखाउँछ । यस्तै नीच र अवसरवादी शासकहरूका कारण राजनीतिक अस्थिरता निम्तिएको हो, आर्थिक सङ्कटको लक्षण देखिन थालेको हो । धोका दिने र विश्वासघात गर्ने शासकहरूलाई जनताले राम्ररी चिन्नुपर्छ ।
सरकार गठन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमै झन्डै चार महिना बित्यो । भागबन्डा र खुट्टा तानातानमा शासकहरूको श्रम र समय खर्चियो । अहिले बन्न लागेको गठबन्धनको सरकार पनि कति समय टिक्ने हो भनी राजनीतिक विश्लेषकहरूले विश्लेषण गर्न थालेका छन् । देश विकास र जनताको सेवामा उनीहरूको पटक्कै ध्यान पुगेको छैन । कृषिमन्त्री हुन्छ तर रासायनिक मल हुँदैन । खानेपानी मन्त्री हुन्छ तर खानेपानीको अभाव छ । रक्षामन्त्री हुन्छ तर देशको सीमा सुरक्षित हुँदैन । श्रममन्त्री हुन्छ तर युवाहरू रोजगारी नपाएर विदेसिन बाध्य छन् । अर्थमन्त्री हुन्छ तर देशमा आर्थिक सङ्कट छ । भूमिमन्त्री हुन्छ तर, नेपालको चुच्चे नक्साले मान्यता पाउँदैन । शिक्षामन्त्री हुन्छ तर ख्वप विश्वविद्यालयले स्वीकृति पाउँदैन र संविधानमा उल्लेख भएअनुसार १२ कक्षासम्म शिक्षा निःशुल्क छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ तर भ्रष्टाचार घटेको छैन । सारमा सरकार छ तर सरकार भएको अनुभूति जनतामा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *