आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
पुँजीवादको विषयमा एउटा साझा बुझाइ के छ भने सुरुको चरणमा पुँजीवादले बेरोजगारी र गरिबी ल्याउँछ, त्यसपछि यसले यो सुरुआती क्षतिलाई उल्ट्याउँछ । बेरोजगारहरूलाई सक्रिय श्रम सेनाको पल्टनमा ल्याउँछ, बेरोजगारी दर घटाउँछ, ज्याला बढ्दै जान्छ र श्रमको उत्पादनशीलता बढ्दै जाँदा ज्याला झन् तीव्रगतिमा बढ्छ ।
झट्ट हेर्दा यो तर्कलाई ऐतिहासिक प्रमाणले सही प्रमाणित गरेजस्तो लाग्न सक्छ । माक्र्सवादी इतिहासकार एरिक हब्जबामले बेलायतमा औद्योगिक पुँजीवादको थालनीमा गरिबी बढेको र उन्नाइसौँ शताब्दीको मध्यतिरबाट कामदारहरूको अवस्थामा चासो बढ्दै गएपछि स्थिति सुध्रिएको लेखेका छन् । सङ्क्रमणको चरणमा जति नै अप्ठ्याराहरू आए पनि अन्ततः पुँजीवादले कामदारहरूका लागि लाभकारी हुने यसबाट निष्कर्ष निस्किन्छ ।
यद्यपि, यो समग्र धारणामा खोट छ । पुँजीवादले आफ्नो प्रारम्भमा कामदारको भौतिक स्थितिमा जति क्षति पु¥याउँछ, त्यसमा सुधार ल्याउने कुनै सैद्धान्तिक आधार छैन । व्यवहारमा कामदारको स्थितिमा सुधार आएको देखिनुसँग पुँजीवादको स्वतःस्फूर्त प्रवृत्तिको कुनै लिनुदिनु छैन ।
पुँजीवादले सुरुमा कामदारहरूलाई सताउँछ, त्यसपछि उनीहरूको दुर्दशामा सुधार ल्याउँछ भन्ने धारणाको इतिहास खोतल्दै जाँदा अङ्ग्रेज अर्थशास्त्री डेभिड रिकार्डोसम्म पुगिन्छ । मेसिनको प्रयोगको सवालमा रिकार्डोले यही तर्क अघि सारेका थिए । उनको तर्क थियो – मेसिनहरूले सुरुमा धेरै कष्ट गर्ने मजदुरहरूलाई विस्थापित गरे पनि यसले नाफा बढाउँछ, पुँजी सञ्चयमा टेवा दिन्छ र पुँजी सञ्चय दर बढेपछि कामदारहरूले बढी सन्तान जन्माएका छैनन् भने र श्रमशक्ति नियन्त्रित छ भने तिनले फेरि रोजगार पाउँछन् र तिनको ज्यालामा सुधार हुनसक्छ ।
रिकार्डोको तर्कमा दुइटा स्वाभाविक खोट छन् । पहिलो, उनले एकैबाजि मेसिनहरू प्रयोग गर्ने कुरा गरे । तर, पुँजीवादले नयाँनयाँ मेसिन र उत्पादन विधि ल्याइरहन्छ । एकचोटि मेसिन ल्याउँदा बेरोजगारी बढ्छ र पुँजी सञ्चय दर बढ्दा श्रमको माग बढ्छ भने पनि रिकार्डोको आश्वासन कहिल्यै साकार हुन्न । किनभने, बिचबिचमा नयाँ मेसिनहरू थपिँदै जान्छन् ।
त्यसैले यो विषयलाई बहुपक्षीय कोणबाट हेर्नुपर्छ । ‘क’ सञ्चित पुँजी र उत्पादनको वृद्धिदर हो र ‘ख’ श्रमको उत्पादनशीलताको वृद्धिदर हो भने श्रमको मागको वृद्धिदर ‘क–ख’ हुन पुग्छ । (सञ्चित पुँजी र उत्पादनको अनुपात प्रविधिको विकासपछि पनि अपरिवर्तनीय मानिएको छ । यसले गर्दा श्रमको मूल्य घटेको मानिन्छ ।) ‘क–ख’ श्रमशक्ति ‘ग’ को प्राकृतिक वृद्धिदरभन्दा कम भए बेरोजगारी दर त्यसपछि लगातार बढिरहनेछ । पुँजीवादी प्रणालीमा ‘क–ख’ लाई ‘ग’ भन्दा माथि राख्ने कुनै उपाय हुन्न ।
कसैले रिकार्डोको पक्षमा यस्तो तर्क गर्न सक्छ – बेरोजगारी दर बढ्दै गर्दा श्रमको उत्पादनशीलतालाई पनि बढाइराखिन्छ भने उत्पादनबाट आउने नाफाको दर पनि बढ्दै जान्छ । त्यसले बेरोजगारी दर उल्लेख्य मात्रामा नघट्दासम्म पुँजी सञ्चयको दर माथि धकेलिराख्छ । तर, यहीँनिर रिकार्डोको तर्कमा दोस्रो समस्या आइलाग्छ । उनले ‘संभाव्य उत्पादन साकार पार्न र त्यसले गर्दा नाफा दर तथा पुँजी सञ्चय दर बढाउन मागले कहिल्यै बाधा नदिने’ अनुमान गरेका छन् । अर्को शब्दमा उनले सेको नियममा जोड दिन्छन् । यो नियमअनुसार ‘आपूर्तिले आफै माग सिर्जना गर्छ’ । ‘उत्पादन साकार पार्न’ मा समस्या छ भनेर मान्ने हो भने उत्पादनको तत्कालीन स्थितिमा ज्यालादरमा निर्भर नाफादर ‘साकार’ हुनैपर्छ भन्ने हुन्न । यसले गर्दा पुँजी सञ्चयको दर ‘साकार’ हुनैपर्छ र श्रमको मागमा वृद्धि हुनैपर्छ भन्ने हुन्न । श्रमको माग बेरोकटोक नबढ्ने भएपछि पुँजीवादमा प्राविधिक प्रगतिले विस्थापित हुने कामदारहरूको सक्रिय सेनालाई पुनः काममा राख्ने कुनै संयन्त्र हुँदैन भन्ने तर्क प्रमाणित हुन जान्छ ।
माथिका दुवै तर्क रिकार्डोको तर्कको खण्डन गर्दै कार्ल माक्र्सले अघि सार्नुभएको थियो । मेसिनहरूको प्रयोगले एकछिनलाई रोजगारी र कामदारहरूको अवस्थामा समस्या ल्याउँछ भन्ने रिकार्डोको खण्डन माक्र्सले गर्नुभएको थियो । यी तर्कहरूबारे चिन्तन गरिसकेपछि पुँजीवाद सुरुमा रोजगारी र कामदार वर्गको अवस्थाका लागि हानिकारक भए पनि अन्ततः पुँजीवादले तिनको भाग्य सुधार्छ भन्ने विश्वास सैद्धान्तिकरूपमा निराधार साबित हुन्छ ।
त्यो भए पुँजीवादको विकासका क्रममा महानगरी भएका देशहरूमा काम गर्ने मजदुरहरूको जीवनस्तरमा सुधार आएको ऐतिहासिक तथ्यलाई कसरी व्याख्या गर्ने त ? यसको जवाफ युरोपेली कामदारहरूको ठूलो आकारको बसाइँसराइ हो । युरोपेली कामदारहरू ठूलो मात्रामा ‘नयाँ विश्व’ मा बसाइँ सरेका थिए । त्यो बसाइँसराइ पहिलो विश्वयुद्धसम्म धेरै लामो अवधि चलेको थियो । नेपोलियनको युद्ध र पहिलो विश्वयुद्धबिच झन्डै ५ करोड युरोपेली कामदारहरूले मातृभूमि छोडेर संरा अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजील्यान्ड र दक्षिण अफ्रिकाजस्ता देशहरूमा बसाइँ सरेका थिए ।
(यो तथ्याङ्क अर्थशास्त्री आर्थर लेविसले दिएका हुन् ।)
यो ‘उच्च ज्यालायुक्त’ बसाइँसराइ थियो । तिनको मातृभूमि र गन्तव्यस्थल दुवैमा तिनीहरूको ज्याला बढी थियो । तिनीहरूसँगै बसाइँसराइ गरिरहेको अर्को लहरका आप्रवासीहरूको भन्दा युरोपेली आप्रवासीहरूको ज्याला बढी थियो । दोस्रो लहरका आप्रवासीहरूमध्ये धेरै भारत र चीन तथा फिजी, मौरिसस, वेस्ट इन्डिज, पूर्वी अफ्रिका र दक्षिण–पश्चिमी अमेरिकाजस्ता उष्ण र मध्य उष्ण भूभागका मानिसहरू थिए । यी गरम भेगका आप्रवासीहरू निम्न ज्याला पाउँथे र तिनलाई चिसो भूभागमा बसाइँ सरेका आप्रवासीहरूको इलाकामा खुला हिँड्डुल गर्न दिइन्थेन । (यो चलन आज पनि ज्युँकात्युँ छ ।)
उच्च ज्याला र निम्न ज्याला पाउने आप्रवासीहरूबिचको भेदको कारण अर्थशास्त्री लेविसले यसरी खुलाएका छन् – “बेलायतमा तिनताक कृषि क्रान्ति भएको थियो । त्यो क्रान्तिपछि विश्वभरि फैलियो । त्यस क्रान्तिले ग्रामीण जनताको आम्दानी बढायो ।” तर, त्यो कृषि क्रान्तिको प्रमाण त्यति पाइँदैन । प्रथम आप्रवासीहरूले उच्च ज्याला पाउनुको खास कारण के थियो भने उनीहरूले रैथाने वन्यजातिहरूबाट बलजफ्ती तिनको भूमि खोसेर आफूलाई धेरै आम्दानी कमाउने किसानका रूपमा स्थापित गरेका थिए । यसले गर्दा उनीहरू आएको र पुगेको दुवै देशमा उनीहरूको ज्याला बढ्न गयो ।
चिसोबाट चिसो क्षेत्रमै भएको बसाइँसराइ ठूलो सङ्ख्यामा भएको थियो । बेलायतकै हिसाब गर्ने हो भने सन् १८२० र १९१५ बिच जनसङ्ख्यामा प्रतिवर्ष हुने वृद्धिको आधा जनसङ्ख्या बसाइँसराइ गर्थे । यसलाई दाँज्ने हो भने यति नै सङ्ख्यामा झन्डै ५ करोड भारतीयहरूले भारत स्वतन्त्र भएयता भारत छोडेका छन् । आज तेस्रो विश्वका जनतासामु यति ठूलो आकारमा बसाइँसराइ गर्ने सम्भावना छैन । तर, महानगरी भएका देशवासीहरूसामु यस्तो सम्भावना थियो जसले गर्दा उन्नाइसौँ शताब्दीमा युरोपेली कामदारहरूको भाग्य सुध्रियो । यो सुधार पुँजीवादको स्वतःस्फूर्त प्रवृत्ति होइन । ठूलो सङ्ख्यामा मानिसहरू विदेशमा बसाइँसराइ गर्ने र त्यहाँका रैथाने जनताबाट भूमि खोसेर हुनेखाने किसानमा परिणत भएकैले उनीहरूको भाग्य सुध्रिएको थियो । त्यसबेलाको साम्राज्यवादका कारण ती आप्रवासीहरूले रैथानेहरूको भूमि खोस्न सम्भव भएको थियो ।
महानगरका कामदारहरूको भौतिक जीवनमा सुधार ल्याउन साम्राज्यवादले दोस्रो तरिकाबाट पनि मद्दत ग¥यो । मागको अवरोधका कारण मेसिनबाट विस्थापित भएका कामदारहरूलाई पुनः रोजगारी दिने सम्भावना ठप्प हुने स्थितिबारे माथि चर्चा भइसकेको छ । तर, मेसिनबाट बनेका वस्तुहरूलाई उपनिवेश वा अर्ध उपनिवेशका कालिगढहरूको घाँटी रेट्ने मूल्यमा बेचेर मागको अवरोधलाई तोड्न सकिन्छ । इतिहासमा यस्तै भएको थियो । यसले महानगरीहरूमा बेरोजगारी दर कम राखेको वा घटाएको हुनुपर्छ । यसरी महानगरीहरूको बेरोजगरी उपनिवेश र अर्ध उपनिवेश देशहरूमा निर्यात गरिएको हुनुपर्छ किनभने ती देशहरू कमजोर थिए । तिनीहरू महानगरीहरूबाट शासित थिए र तिनले आफूलाई औद्योगिक देशका आयातीत सामानबाट जोगाउन सकेनन् । अर्कोतिर यी सामानहरूले उपनिवेश र अर्ध उपनिवेश देशलाई उद्योगविहीन बनाए ।
पुँजीवादले महानगरीका कामदारहरूमाथि पु¥याउने सुरुआती क्षतिलाई आफै सट्टाभर्ना गर्छ भन्ने भ्रामक धारणाको विपरीत अर्को सत्य भेटिन्छ । साम्राज्यवादी व्यवस्थाले विश्वभरि भूमि खोस्दै हिँड्ने र आफ्ना उपनिवेश तथा अर्ध उपनिवेशहरूमा बेरोजगारी निर्यात गर्ने विकल्प सुनिश्चित गरेर स्वदेशी कामदारहरूको भाग्य सुधार्छ । यसको अर्थ महानगरीहरूका कामदारहरूले साम्राज्यवादी नीतिमा साठगाँठ गरेकै हुन्छन् भन्ने होइन । तर, पुँजीवादी वा साम्राज्यवादी व्यवस्थाले यसरी नै काम गर्छ ।
(एमआर अनलाइनबाट)
अनुवाद : सम्यक
Leave a Reply