भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
विषय प्रवेश
धार्मिक तथा सांस्कृतिक सम्प्रदायहरूमा समन्वय कायम गरी राष्ट्र एकता प्रतिपादन गर्ने एउटा मूल साधन तन्त्र थियो । सायद नेपालमण्डलका नेवार जातिहरू यही साधनबाट प्रभावित भएको कारणले एकताबद्धरूपमा सङ्गठित जीवन बिताएर कला, साहित्य र संस्कृति क्षेत्रमा आफ्नो पहिचान कायम गर्न सफल भएको हो । विश्व मानचित्रमा नेपाल राष्ट्रको सांस्कृतिक पहिचानमा नेवारहरूको सांस्कृतिक परम्परा नै अगाडि आउँछ । नेपालमण्डलको सांस्कृतिक परम्परा बौद्ध र वैदिक (हिन्दू) दर्शनले प्रभावित भएको हो । यो कुरा अंशुवर्मा राजाको गोकर्ण अभिलेखमा, बज्रवान, शिवदेश क्ष्क्ष् को गोर्खा अभिलेखमा बज्र भैरव र दोलखाको प्राचीन स्तूपभित्र लिच्छविकालीन बौद्ध सूत्रहरू अङ्कित माताका छापहरू आदि प्राप्त भएकोले प्रमाणित गर्छ ।
लिच्छविकालदेखि पूर्वमध्यकालसम्म नेपालमण्डलको ऐतिहासिक भूगोल गोर्खादेखि दोलखासम्म हो । यसरी नै गोर्खादेखि दोलखासम्मका नेवारहरूको आगम तन्त्रले प्रभावित अनेक जात्रा पर्वहरू अहिलेसम्म जीवित छन् भने कैयौँ आगन्तुक परम्पराले गर्दा मौलिक पहिचान लोप भइसकेको पनि हामी पाउँछौँ । नेपालमण्डलभित्र सबभन्दा धेरै जात्रा तथा पर्वहरू जीवित भएको ठाउँ भक्तपुर नै हो भने कुरामा दुईमत नहोला । यसकारणले नै भक्तपुर सहर सांस्कृतिक नगरको रूपमा ख्याति प्राप्त भएको हो ।
भक्तपुरमा मनाउँदै आएको अनेक जात्रा तथा पर्वमध्ये भक्तपुर राजधानी सहर स्थापनाकालसित सम्बन्ध भएको मौलिक तथा पहिचान बोकेको जात्रा बिस्केट जात्रा हो । यस बिस्केट जात्रासित भक्तपुरका सबै नेवार जातिको सांस्कृतिक एकता र त्यसबेलाको ऐतिहासिक पहिचान बोकेको छ । यो जात्रा ८ रात ९ दिनसम्म मनाइन्छ । यसभित्र अनेक देवीदेवताहरूको जात्रा पर्वहरू समाहित भइरहेको कुरा भन्नु नपर्ला । विशेष गरेर भैरवनाथ र अजिमाको द्यः क्वहाँ बिज्याइगु जात्रा, त्यसपछि लिङ्गो जात्रा र द्यः थाहाँ बिज्याइगु जात्राको निकै चर्चा हुन्छ ।
ऐतिहासिक प्रमाण
भक्तपुरको बिस्केट जात्रासम्बन्धी अनेक दन्त्य कथाहरू पाइन्छ । यस विषयमा धेरै चर्चा गर्नुपर्ने आवश्यक छैन । उद्देश्य र प्रमाणलाई महत्व दिएर जनसमक्ष प्रस्तुत गर्नु नै आजको आवश्यकता हो ।
जहाँसम्म लाग्छ, भक्तपुर सहर निर्माण भइसकेपछि राजधानी सहर घोषणा भएको खुसीयालीमा विश्वध्वज विश्वकेतु (लिङ्गो) उठाएको हो । नेवारी परम्परामा आजसम्म घर, मन्दिर, पाटी बनाएको उपलक्ष्यमा बुसाधन गरी छाना, गजुरमा पता चढाउने चलन छ । हली पता अर्थात् हलिरहने एक ज्वर पताका पनि त्यही नै हो । गोपाल राजवंशावलीको २४ क र ख पत्रमा राजा शिवदेव III ले अनेक पोखरी, राजदरबारसहित देवीहरू साधन गरी भक्तपुर सहर र कीर्तिपुर सहर निर्माण गरेको उल्लेख छ । त्यसपछि गोपाल राजवंशावलीकै २५ ‘क’ पत्रमा शिवदेव III पुत्र राजा आनन्द देवले नेपाल संवत् २६७ मा भक्तपुर सहरको शिवग्वल भन्ने ठाउँ वर्तमान तौमढी हुनुपर्छ; जहाँ देवालय बनाएर देव प्रतिष्ठान गरी सँगै सुनले लेपन गरेको तामाको धारा निर्माण गरिएको थियो । यसपछि त्रिपुर नाम गरेको राजधानी घोषणा गरेर शासन चलाएको उल्लेख गरिएको छ । तीलमाधव नारायणको मन्दिर र सुनको धारा अहिले पनि जीवन्त छ । त्रिपुर दरबार कहाँ छ भन्ने कुरा नामो निसान छैन ।
गोपाल राजवंशावलीमा उल्लेखित दुइटा घटनावलीबाट बिस्केटको दन्त्य कथामा उल्लेखित राजा शिवदेव र आनन्द मल्लको विषयमा उल्लेखित कालक्रम मिल्न आउँछ ।
बिस्केट जात्रासम्बन्धी सबभन्दा पुरानो प्रमाण गोपाल राजवंशावली २६ ‘ख’ र २७ ‘क’ पत्रमा नेपाल संवत् ४११ मा विरमादेवी र उनका पुत्र राजा जयशक्ति देव वैशाखमा एन्द्रकुट ध्वज जात्रा समारोहमा उपस्थित भएको उल्लेख छ ।
यसरी नै पछिका मल्ल राजाहरूको पालामा टिपोट गरिराखेको बिस्केट जात्रासम्बन्धी सयौँ प्रमाणहरू देख्न सक्छौँ । यी सबै विषय प्रस्तुत गर्न सम्भव छैन । तर, पनि ऐतिहासिक प्रमाणको रूपमा मेरो सङ्ग्रहमा सुरक्षित अभिलेखहरू प्रस्तुत गर्छु । नेपाल संवत् ५७७ भाद्र सुद्धि १२ को दिनमा क्वाठण्डौ यंकाछेँ ननीका जुगुतीका भारो भन्नेले फले मतं गुठी (पाटीमा बत्ती बाल्ने गुठी) लाई दत्त राखिदिएका थिए । जसमा विश्वक्याटमा बत्ती बालेर भातको पिण्ड दान गर्नुपर्ने, यसरी नै श्रावण कृष्ण १३ पञ्चदानको दिनमा पनि पाटीमा बसेर पञ्चदान गर्नुपर्ने उल्लेख छ ।
यसरी नै एउटा सानो घटनावली (थ्यासफू) मा विसिकाटमा दुई माजुको जात्रासम्बन्धी केही कुरा उल्लेख भएको छ । यसरी नै राजा जगतप्रकाश मल्लको शासनकालमा विश्वकेतु ध्वज नयाँ फेरेको विषयमा पनि उल्लेख छ ।
यसरी नै चुन्दा वज्राचार्यले प्रकाशन गरेको घटनावलीमा नेपाल संवत् ७४१ चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ क्वाठछेँ ध्वाका (क्वाछेँ ध्वाका) अगाडि पल्टेर ४ टुक्रा भएको उल्लेख छ ।
संस्कृति पक्ष
यो जात्रा सौर्यमासमा आधारित विक्रम संवत्को नयाँ वर्ष पनि सुरु हुन्छ । यो जात्राबाहेक नेवारहरूको अधिकांश जात्रा तथा पर्वहरू चैत्र शुक्ल परेवादेखि सुरु हुने शाके संवत्को तिथिअनुसार चलेको हुन्छ ।
लिच्छविकालीन कुनै पनि अभिलेखमा विक्रम संवत् र बिस्केट जात्राको विषयमा उल्लेख पाइँदैन ।
विक्रम संवत्को सबभन्दा पुरानो प्रमाण वि.सं. ११७१ का राजा शिवदेव III को नाम उल्लेख भएको एउटा पुष्पिका वाक्य मैले पाशुका पत्रिकामा प्रकाशन गरेको हो । यसरी नै गौणरूपमा भए पनि मल्लकालीन केही शिलापत्रहरूमा नेपाल संवत्को साथसाथै विक्रम संवत् पनि उल्लेख भएको देख्न सकिन्छ ।
सूर्यमण्डलको १२ वटा राशी चक्र पूरा भएकोलाई नै संवत्सर भनिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा परिणत हुन्छ । सूर्यमण्डलको १२ वटा महिनाअनुसार (१) चैत– सूर्य, (२) वैशाख– विवस्वान, (३) जेठ– इन्द्र, (४) असार– रवि, (५) साउन– गस्ती, (६) भदौ– यम, (७) असोज– सूवर्णरती, (८) कार्तिक– दिवाकर, (९) मङ्सिर– मित्र, (१०) पुस– विष्णु, (११) माघ– अरूण, (१२) फागुन– भैरव भनेर उल्लेख गरिएको छ । सूर्य, इन्द्र, भैरव, विश्वनाथ, विवस्वान एउटै देवताको नाम हो । विवस्वानलाई चढाएको ध्वजापताको नामबाट विश्वकेतु, विसिक्याट भएर गएको हो । संस्कृत भाषामा ध्वजापतालाई केतु भनिन्छ । जुन हलिपतामा नागनागिनीको कुनै अर्थ पनि छैन; कुनै कला पनि समावेश भएको देखिँदैन ।
हलिपतामा माथिदेखि तलसम्म २७ वटा चित्र अङ्कित भएको हुन्छ । जुन २७ नक्षत्रको प्रतीक हो । यसमा सबभन्दा माथि महाकाल भैरव र गणेशको चित्र देख्न सकिन्छ । त्यसपछिको क्रमशः कोठाहरूमा पञ्च बुद्धको प्रतीकस्वरूप एक वज्र, रत्न वज्र, चक्र वज्र, पद्म वज्र, विश्व वज्र त्यसपछि वैदिक परम्पराअनुसार पाँचायन देवताको ५ वटा चित्र, त्यसपछि अष्ट मङ्गलको ८ वटा चित्र र अन्य चित्रहरू समावेश भइरहेको देख्न सकिन्छ ।
जुन हलिपताको चित्रणले त्यसबेलाको बौद्ध परम्परा र वैदिक परम्परालाई समन्वयको रूपमा देखाएको स्पष्ट हुन्छ । यसकारण, भक्तपुरको बिस्केट जात्रालाई विश्वका अनुसन्धानकर्ताहरूले निकै महत्वका साथ हेरेका हुन्छन् ।
विकृति
त्यसबेला बिस्केट जात्राको रौनकता भैरवनाथको रथ जात्रालाई नै मानिन्छ । यति रोमाञ्चकारी जात्रा नेपाल अधिराज्त्रि नै छैन भनिन्थ्यो । वर्तमान कालसम्म आइपुग्दा भक्तपुरकै बदनाम जात्राको रूपमा परिणत भइसक्यो । यस्तो हुनुमा ५० वर्षभन्दा अगाडिदेखिको अनेक कारणले भएको हो ।
राणा काल र पञ्चायत कालदेखि नै भक्तपुरलाई अलि भिन्न नजरले देख्ने चलन थियो । जुन पछि सम्म कायमै रहेको हामीले पनि सङ्केत देख्छौँ । बुढापाकाको भनाइअनुसार भैरवनाथको रथ माथिपट्टिका र तलपट्टिका बिच तानातान गर्ने चलन जुद्ध शमशेर राणाको पालादेखि विकास भएको भन्ने चलन थियो । त्यसबेला श्री ३ जुद्ध तौमढीमा जात्राको तमासा हेर्न सवारी हुन्थे । आजसम्म आइपुग्दा यसले धेरै नै नकारात्मक रूप फेरिसकेको पाइन्छ ।
उसबेला भैरवनाथको जात्रा तौमढीबाट सुरु भएर माथिपट्टि क्वाछेँ ध्वाका र तलपट्टि बोलाछेँ ध्वाकासम्म मात्र तान्ने चलन थियो । आजभन्दा ४०/५० वर्षअगाडि सम्म पनि त्यही परम्परा कायम थियो । ०४६ सालपछि सुकुलढोका नाघेर रथ ल्याइएको हो । त्यसबेलासम्म दुवैपट्टि मिलेर रथ तान्ने हुनाले रथ पनि बिगिँ्रदैन र कसैको घरलाई क्षति हुँदैनथ्यो । त्यसबेला रथ तान्ने बेला पसल बन्द नै गरिँदैनथ्यो । रथमा पनि सम्बन्धित व्यक्तिहरू र पाङ्ग्रा मिलाउने केही विज्ञ मानिसहरू मात्र बस्न पाउँथे । आजभोलि जस्तै पिउँदै र चुरोट तान्ने व्यक्तिहरूले त्यसबेला रथ छुन्नसम्म पाउँदैनथे ।
सुरुमा रथ जात्राको विकृति राजनैतिक कारणले नै सुरु भएको देखिन्छ । पछि आएर मौकामा चौका हान्ने, हिलो पानीमा माछा मार्ने, द्वेष भाव राख्ने आदि खालका केही मानिसहरूका कारणले रथ जात्रा झन्झन् विकृति हुँदै आएको अनुमान गर्न सकिन्छ ।
भक्तपुरकै पहिचान बोकेको यस्तो पवित्र जात्रालाई केही मानिसहरूको कारणले गर्दा झन्झन् बदनाम भएर गयो । भक्तपुरको पहिचान र गौरवलाई जीवन्त राख्न बिस्केट जात्राको रथ यात्रालाई पहिले जस्तै मर्यादित गर्नुपर्छ । यो काम सरकारको मात्र होइन, हामी भक्तपुरवासी सबैको काम हो । यहाँको सबै सम्पदा हाम्रै पुर्खाले बनाएका हुन् । हामीले यसको संरक्षण तथा संवद्र्धन गरेनौँ भने कसले गर्ने ?
Leave a Reply