भर्खरै :

बाटोमा ढल बग्दा पनि नपाको ध्यान किन पुग्दैन ?

बाटोमा ढल बग्दा पनि नपाको ध्यान किन पुग्दैन ?

राजमार्गमा साना–ठूला सबै सवारी साधन गुड्छन् । सूर्यविनायक नगरपालिका क्षेत्रमा फोहरमैला सङ्कलन गर्न प्रयोग गरिएको टिपरको फोहर आज बिहान मोटरसाइकल र स्कुटर चालकको जिउभरि प¥यो । बाँसघारीबाट निस्केको सो टिपर अरनिको राजमार्ग हुँदै जगातीतर्फ गुडिरहेको थियो । फोहरमैलाले भरिएको टिपर त्रिपालले छोपेको थिएन । तिव्रगतिमा टिपर गुडाउँदा हावाले टिपरमा भएका फोहरमैला गन्तव्यमा हिँडेका मोटरसाइकल र स्कुटर चालकहरूको जिउभरि परियो ।
फोहरजस्तो संवेदनशील वस्तुलाई खुला राखेर ल्याउँदा यात्रा गरिरहेकाहरूलाई के असर गर्छ ? सम्बन्धित निकायले ख्याल नगरेको स्पष्ट भयो । नगर प्रमुखले यात्रा नगर्ने बाटो भएर यस्तो लापरबाही गर्न दिएको हो कि ? होइन भने ट्रक र टिपरको सामान त्रिपालले छोपेर ल्याउनुपर्ने नियम किन सूर्यविनायक नगरपालिकाले मान्दैन ? त्रिपालले छोपेर नल्याए जरिवाना गर्ने जगातीका प्रहरी के हेरेर बसे ? आफ्नो क्षेत्रभित्र पर्ने राजमार्गमा नगरपालिकाले जे गरे पनि छुट छ र ?
ठूला सवारी साधनले कुकुर मार्दा पनि सूर्यविनायक नगरपालिका चुप बसेको छ । दुई दिनसम्म पनि मरेको कुकुर हटाइँदैन । जनताको स्वास्थ्यमा यस्तो लापरबाही किन ?
नगरपालिकाले ढल–निकासको बन्दोबस्त नगर्दा पानी पर्न पाएको हुँदैन, अरनिको राजमार्गमा दुर्गन्ध फैलिन्छ । राजमार्ग छेउका घरको ढल–निकास बाटोमा खोल्दा अरनिको राजमार्गमा यात्रा गर्ने सबैले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । जनताको स्वास्थ्यमा असर गर्ने विषयसमेत नगरपालिकाका पदाधिकारीहरूको जानकारीमा छैन होला र ? राजमार्गमा हिँड्नै नहुने गरी ढल बग्दा समेत नगरपालिका किन कानमा तेल हालेर बसेको ?
यी त केही प्रतिनिधि घटना मात्र हुन् । सूर्यविनायक नगरपालिकाको बेवास्ताको कुरा गर्दा लामै होला । नगरपालिका घरदैलोको सरकार भएकोले जनतका हरेक समस्या समाधानमा लाग्नु पर्दछ । जनताको हरेक सुख–दुःखमा साथ दिनुपर्छ । तर, स्थानीय सरकार भ्रष्टाचारको केन्द्र भएको समाचार हरेक दिनजसो आइरहेका छन् । जनताले भ्रष्टाचारीलाई चिनेर व्यवहार गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *