भर्खरै :

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –२

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –२

यहाँसम्म आइपुग्दा क्रिस हानीको सैद्धान्तिक दृष्टिकोण क्रमशः प्रस्ट हुँदै गयो । कामाटादेखि एलिससम्मको यात्राले उनलाई धेरै कुरा सिकाएको थियो । हानीले भने, “अब मैले धेरै काला श्रमिक देखिसकेँ, शोषणको निर्मम रूप देखेँ । दासको जस्तो ज्याला, मजदुर अधिकारविहीन अवस्था, त्यस परिस्थितिमा समाजवादप्रतिको अपिल ज्यादै व्यापक लाग्यो । श्रमिकले धन सिर्जना गर्छ । तर, अन्त्यमा उनीहरूको हातमा लाग्यो शून्य । उनीहरू खानका लागि चना पाउँछन् र पुँजीपतिका लागि काम गर्छन् ।
यो मेरो सामान्य बुझाइ थियो । मेरो आफ्नै भोगाइसँगै सिद्धान्तले जन्माएको सामान्य बुझाइ । मैले मजदुर आन्दोलनलाई सिद्धान्तकै रूपमा बुझेको थिइनँ ।”
फोर्ट हायरमा कानुनको पढाइ टुङ्ग्याएपश्चात् क्रिस हानीले स्काफर एन्ड स्काफर (Schaeffer and Schaeffer) मा कानुनी अभ्यास थाले । पातलो कार्पेट बिछ्याइएका अँध्यारा काठे कोठाहरू र खात पारिएका छालाको जिल्दा राखिएका बाक्ला बाक्ला पुस्तकहरूबिच उनले आफ्नो दीक्षा प्रयोग गर्दै गए । तर, त्यतिमा हानीले चित्त बुझाउन सकेनन् । २१ वर्षको उमेरमा सन् १९६२ मा उनी आफ्ना पितासँग बस्न केपटाउन हिँडे । त्यहाँ उनका बुबा निर्माण मजदुर थिए । उनका बुबा गिल्बर्ट स्थानीय लाङ्गाका बासिन्दाहरूको सङ्गठनका निर्वाचित अध्यक्ष थिए । उनको सक्रियता स्थानीय प्रशासनलाई मन परेको थिएन । त्यसकारण, गिल्बर्ट र उनका साथीहरू प्रशासनबाट सताइन्थे ।
केपटाउनमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको सङ्गठन बलियो थियो । अखिल अफ्रिकी काङ्ग्रेसको स्थापनापछि राष्ट्रिय काङ्ग्रेसले नयाँ चुनौतीहरू सामना गर्नुपर्यो । विशेषतः विद्यार्थीहरूबिच अखिल काङ्ग्रेसलाई समर्थन थियो । कहिलेकाहीँ समूहबिच झडप हुने गथ्र्यो ।
हानी राष्ट्रिय काङ्ग्रेसको केप प्रान्तका प्रमुख गोभान बेकीको निर्देशनमा काम गर्थे । केप टाउनको राजनीतिक वातावरणमा उनलाई त्यहाँको मजदुर सङ्गठन एवं राजनीतिक क्रियाकलापमा सक्रिय बन्न धेरै समय लागेन । प्लिइन सहरको बट्टाको खाना उत्पादन गर्ने मजदुर सङ्गठनका मजदुरहरूबिच समय–समयमा उनी पुगिरहन्थे । त्यसक्रममा ओस्कार पिथा (Oscar Mpetha), एलिजावेथ माफिकेङ (Elizabeth Mafikeng), रे अलेक्सान्द्र (Ray Alexander) र ज्याक सिमन्स (Jack Simons) लगायत मजदुर आन्दोलनका अगुवाहरूसँग भेटघाट भयो ।
अध्ययनशील स्वभावका हानी ‘नयाँ युग’ पत्रिकाको कार्यालयमा पुगिरहन्थे । प्लिइन सहरमा त्यसको कार्यालय थियो । ब्रेन बन्टिङ (Brain Bunting) त्यसका सम्पादक थिए । कालान्तरमा वान्की अभियान (The Wankie Campaign) मा हानीका सहयोद्धा जेम्स अप्रिलसँग पनि केपटाउनमा पहिलो परिचय भएको थियो ।
सन् १९६२ मा सरकारी दमनचक्र अझ पेचिलो बन्यो । तथापि त्यतिञ्जेल प्रतिबन्ध नलगाइएको दक्षिण अफ्रिकी मजदुर काङ्ग्रेस (SACTU) को नाममा हानी सक्रिय रहे । त्यही वर्ष नवगठित एमकेका कमान्डर–इन–चिफ नेल्सन मण्डेला देश दौडाहाको क्रममा केप टाउन पुगे । गायिका सावे (Gayika Tsawe) नामको वैद्यको घरमा भएको बैठकमा मण्डेलाको प्रभावशाली गम्भीर भाषणबाट सहभागीहरू सशस्त्र सङ्घर्षमा जानुपर्नेमा सहमत भए । त्यहीँबाट एम–योजना (the M-Plan) निर्णय गरियो । बैठकले एमकेको क्षेत्रीय समिति गठन गर्यो र त्यही समितिले ११ वटा प्रमुख स्थानहरूमा सङ्गठन विस्तार ग¥यो ।
क्षेत्रीय समितिको आयोजनामा केपटाउनबाट ५० किमि पर एउटा गाउँको घर भाँडामा लिई तालिम सञ्चालन थालियो । त्यहाँ बारूद कसरी बनाउनेजस्ता तालिम दिइन्थ्यो । प्रशिक्षार्थीहरू यस्ता तालिमसँगसँगै विभिन्न क्रान्तिकारी कृतिको अध्ययन गर्थे । उनीहरू जोन पल सात्रको ‘पर्खाल’ (Wall) र चे ग्वेभाराको ‘गुरिल्ला युद्ध’ (Guerilla Warfare) पढ्थे । एक दिन सुराकीको आधारमा प्रहरीले उनीहरूलाई गिरफ्तार ग¥यो । तर, प्रहरीलाई झुक्याएर केही घण्टामै रिहा हुन सफल भए । तालिममा प्रशिक्षार्थीहरूलाई कसरी कहाँ हमला गर्ने, टेलिफोनको लाइन कसरी विच्छेद गर्ने र पेट्रोल बम प्रहारबारे प्रशिक्षण दिने क्रम चालु रह्यो ।
हानी पश्चिम केप क्षेत्रीय समितिको माथिल्लो गोप्य समितिका सात सदस्यमध्येमा निर्वाचित भए । घुसपैठ हुन नदिन र गोप्यता कायम राख्न यो समितिबारे तल्लो समितिलाई समेत जानकारी दिँदैनथ्यो । हानीको रूचि क्रमशः कानुनी अभ्यासबाट राजनीतितर्फ केन्द्रित हुनथाल्यो । उनी फूटबल, रग्बी र क्रिकेट खेलमा चाख लिन्थे । युवाहरूबिच खेलकुद समूहहरू गठन गरी राष्ट्रिय काङ्ग्रेसका विचार त्यहाँ प्रचार गर्थे ।
हानी दिउँसो सङ्गठन निर्माण र विस्तारमा लागिपर्थे भने राति प्रशासनलाई हायलकायल पार्न टेलिफोन लाइन काट्नेजस्ता भूमिगत गतिविधि गर्थे । राज्यस्तरको दमनविरुद्ध सशस्त्र हमलाका लागि आवश्यक बारूद र डाइनामाइट केपटाउनबाट २५ किमि पर पर्ने बेलभिल्ले क्वारीस्थित एउटा निर्माणस्थलको पार्टी एकाइले आपूर्ति गथ्र्यो । सरकारविरूद्ध आक्रोशित केप टाउनका जनताको रिस साम्य पार्न त्यहाँको काला जाति हेर्ने प्रशासनले लाङ्गामा सभाको आयोजना ग¥यो । राष्ट्रिय काङ्ग्रेसका कार्यकर्ताले मातानजिमा नामका प्रशासक बसेकै ठाउँमा अग्नि उत्सर्जक राखेका रहेछन् । माताजिमाको ज्यान बल्लतल्ल जोगियो । प्रशासनले ९० दिने आपत्काल घोषणा ग¥यो । शङ्काको भरमा जो कोहीलाई गिरफ्तार गर्ने अधिकार प्रहरीलाई दिइयो ।
सिबेको, हानी, फाल्दोन जोन्की र जेम्स ट्रेयक आदि मिलेर गोप्यरूपमा हाते पर्चा छापे । पर्चामा सरकारले लागू गरेको दमनकारी कानुनको विरोध गर्दै राष्ट्रिय काङ्ग्रेसले सशस्त्र सङ्घर्ष गर्नुका कारणमाथि प्रकाश पारिएको थियो । पर्चा वितरणको क्रममा हानी र अरू साथीहरू पक्राउ परे । ३० दिनसम्म उनीहरू कारागारमा थुनिए । कारागारमा उनीहरूले आफू अपराधी नभई राजनीतिक बन्दी भएकाले त्यसैअनुसार व्यवहार गर्न सङ्घर्ष गरे । फलतः उनीहरूलाई पुस्तक, पत्रपत्रिका र खानाको उचित व्यवस्था गरियो ।
दक्षिण अफ्रिकाभरि प्रहरीको निगरानी बढेको थियो । तर, हानी र साथीहरू प्रहरीको कम ध्यान जाने छिद्रहरूको उपयोग गर्थे । केपटाउनबाट जोहान्सवर्ग जाँदा उनीहरू प्रायशः दोस्रो दर्जाको रेलको डिब्बामा जान्थे । त्यहाँ प्रहरीको ध्यान त्यति पर्दैनथ्यो ।
सन् १९६० मा राष्ट्रिय काङ्ग्रेसमाथिको प्रतिबन्धपश्चात् १९६२ मा काङ्ग्रेसको पहिलो भूमिगत सम्मेलन भयो । लोबास्से भन्ने ठाउँको एउटा घरमा गोप्यरूपमा त्यो सम्मेलन भएको थियो । सम्मेलनले भूमिगत सञ्जाल विस्तार र सशस्त्र सङ्घर्षको रणनीति कार्यान्वयनबारे व्यापक छलफल गर्यो । सम्मेलनले केपको गतिविधिलाई थप गति दियो । तर, केपटाउन पुग्दा नपुग्दै हानी र सिबेको माथि अर्को आपत् आइपर्यो । प्रहरीले उनीहरूको खोजी तीव्र पा¥यो । हानीसहित चारजनाविरूद्ध मुद्दा लाग्यो । पार्टीले चारै जनालाई प्रवास पठाउने निर्णय गर्यो । यद्यपि, प्रवास जाने कार्यकर्ता अविवाहित हुनुपर्ने नियम थियो । हानीबाहेक बाँकी तीनजना विवाहित थिए । सन् १९६३ फेब्रुअरीमा उनीहरूविरूद्ध सजाय फैसला भयो । चारजना दुई समूहमा विभाजित भएर भूमिगत हुनुपर्यो । हानी र सबैको एकै समूहमा भूमिगत भए ।
अनेक दुःख कष्ट झेल्दै उनीहरू अरू झन्डै ४० जना सहयोद्धाहरूसँगै उत्तरी रोडेसिया (जाम्बिया) पुगे । जाम्बियामा उनीहरूलाई केनेथ कौन्डाको एकीकृत राष्ट्रिय स्वाधीनता पार्टी (UNIP) ले सहायता ग¥यो ।
डार अस सलाममा उनीहरूको भेट जेमन हादेबे र ओर ताम्बोसँग भयो । हानी र सिबेको जाम्बिया हिँडेपछि क्षेत्रीय समितिको नेतृत्व लुक्सस्मार्ट गडल (Looksmart Ngudle) ले लिए । तर, सबै भूमिगत सञ्जाल छताछुल्ल भयो । लुक्सस्मार्टलाई कारागारमा चर्को यातना दिइयो र धागोको सानो त्यान्द्रोमा झुण्डेर मरेको भनियो । गोभान बेकी पनि पक्राउ परे ।
जाम्बियाबाट ३० जनाको टोलीमा सम्मिलित भएर क्रिस हानी सोभियत सङ्घ पुगे । टोलीका अधिकांश सदस्यको निम्ति त्यो पहिलो विदेश यात्रा थियो । रङ्गभेदको चर्को मार खेपेका दक्षिण अफ्रिकी युवाहरू रूसमा गोरा वर्णका रूसीहरूको स्वागत पाएर खुसी थिए । रूसीहरूको व्यवहारले उनीहरूलाई जातिभेद नभएको समाज निर्माण गर्नमा थप दृढ निश्चयी बनायो ।
जाम्बियाबाट सुडान हुँदै कायरोको छोटो बसाइपछि उनीहरू मस्को पुगेका थिए । हानी मस्को पुग्दा सन् १९६२ अक्टोबरको क्युवा मिसाइल सङ्कटमा दुस्साहस प्रदर्शन गरेको भन्दै खु्रश्चेभ चर्को आलोचनाको तारो बनेका थिए । सन् १९६२ को नराम्रो अन्नबाली पछि सन् १९६३ मा खु्रश्चेभको स्थान लियोनिड ब्रेजनेझले लिएका थिए ।
कम्युनिस्ट पार्टीमा आबद्ध भएको भर्खर दुई वर्ष भए तापनि हानीले समाजवाद र माक्र्सवादबारे धेरै अध्ययन गरिसकेका थिए । सोभियत सङ्घ पुगेपछि समाजवाद र माक्र्सवादप्रति उनको निष्ठा अझ बलियो भयो । तात्कालीन सोभियत सङ्घ संसारकै कम्युनिस्टहरूलाई जस्तै हानीलाई मुसलमानहरूको मक्का र इसाईहरूको भ्याटिकनसरि थियो । लेनिनको देश पुग्नु गौरवको विषय थियो ।
चरम गरिबीको मार झेलिरहेका हानी र उनका कामरेडहरूको निम्ति मगन्ते र गरिबी नभएको सोभियत सङ्घ नौलो कुरा थियो । त्यहाँ शिक्षा र स्वास्थ्योपचार निःशुल्क भएको थाहा पाउँदा उनीहरू चकित परेका थिए । ती सबै समाजवादी क्रान्तिका परिणाम थिए । सोभियत समाज आफ्नै आँखाले देखेपछि पश्चिमा साम्राज्यवादीहरूका प्रचारबाजी झूटा रहेको उनीहरूले थाहा पाए ।
मस्को पुगेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो । सबैलाई लुगा, जुत्ता, लामो कोट, झोला, सफा ओछ्यान, सिरानी र कोट–पाइन्ट दिइयो । उनीहरूको नियमित भत्ता २५ रूबल थियो । उनीहरूको तालिम तुरून्त सुरू भयो । राजनीति, समाजवादका सिद्धान्त, अर्थ राजनीति र दक्षिण अफ्रिकाको राष्ट्रिय मुक्तिसङ्घर्षबारे कक्षाहरू हुन्थे । गुरिल्ला काइदाबारे उनीहरूलाई तालिम दिइयो ।
प्रशिक्षणालयका नियम कडा थिए । विस्फोटक पदार्थसम्बन्धी तालिममा उनीहरूले आफूलाई सफा–सुग्घर राख्नुपथ्र्यो । भान्छा कोठाको चिनी र काठको धुलोले कस्ता–कस्ता काम हुनसक्छ भनी उनीहरूले ती वस्तुका नयाँ–नयाँ आयामहरू देखे । सानो गल्तीले पनि ठूलो क्षति हुनसक्थ्यो । उनीहरूलाई वाकीटाकीबाट गुरिल्ला टोलीबिच खबर आदानप्रदान गर्ने, रेडियो र हातहतियारको व्यवस्थापनबारे तालिम दिइयो । भौगोलिक अध्ययन उनीहरूले सिक्नुपर्ने अर्को विषय थियो । सुरूमा त्यस्ता तालिम ओडीसीमा चल्थे, तर अफ्रिकाका अन्य देशहरूका मुक्ति योद्धाहरू बढ्न थालेपछि क्रिमियाको पेरेभाल्नोयेमा छुट्टै तालिम केन्द्र स्थापना भयो ।
न्यानो कोठामा प्रशिक्षार्थीहरू शिक्षकका कुरा ध्यान दिएर सुन्थे । दक्षिण अफ्रिकामा सिकेका कुराले त्यहाँ पुग्दैनथ्यो । विषयवस्तुको गहिराइमा पुग्नुपर्ने अथवा बुझ्नुपर्ने हुँदा कतिपय कार्यकर्तालाई धेरै कुरा फलामको च्युरा चपाएजस्तै हुन्थ्यो । तर, हानीको बुझ्ने क्षमता बढी थियो । दिनभर सिकाइएका कुरा राति आफ्ना सहपाठीहरूलाई सरल भाषामा बुझाउँथे ।
तालिमको क्रममा कतिबेला उनीहरूलाई घना जङ्गल र मानव बस्ती नभएका ठाउँमा पु¥याइन्थ्यो । तालिम सैनिक विषयमा मात्र सीमित नरही सामाजिक तथा सांस्कृतिक शिक्षासम्म पुग्थ्यो । उनीहरूलाई सोभियत सरकारद्वारा सञ्चालित कलकारखाना र ग्रामीण क्षेत्रको भ्रमणमा लगिन्थ्यो । यसले समाजवादका व्यवहारिक पक्ष (क्षेत्र) बारे बुझ्न उनीहरूलाई सहज पाथ्र्यो ।
तालिम केन्द्रमा एक दिन मोसेस कोटानी दुःखद समाचार लिएर आए । एमकेका अधिकांश कार्यकारी समिति सदस्यहरू सन् १९६३ जुलाई ११ मा गिरफ्तारीमा परेको समाचार थियो – कोटानीसँग । जोहान्सवर्ग, रिभोनियास्थित लिलिसलिफमा उनीहरूलाई गुरिल्ला युद्धको चाँजोपाँजो मिलाएको र साम्यवादी लाइनमा लागेको अभियोगमा गिरफ्तार गरिएको थियो ।
सन् १९६४ नोभेम्बरमा ३० जना तालिम प्राप्त कार्यकर्ताहरू डार इल सलाम फर्के । त्यो समयमा अमेरिकी नागरिक अधिकारका नेता मार्टिन लुथर किङले नोवेल शान्ति पुरस्कार पाएका थिए । ताङगानिका र जान्जिबार जुलियर निरेरेको नेतृत्वमा ताञ्जानियामा सामेल भइसकेका थिए । यी घटनाले दक्षिण अफ्रिकी योद्धाहरूलाई आफ्नो सङ्घर्षमा थप उत्साहित बनाएको थियो ।
सोभियत सङ्घमा वर्ष दिनको बसाइँपछि सन् १९६४ नोभेम्बरमा हानी अफ्रिका महादेश फर्के । हानीसँगै उनका सहयोद्धाहरूले माक्र्सवाद सिकेका थिए, द्वन्द्वात्मक भौतिकवादबारे जानेका थिए र सँगै एके ४७ राइफल चलाउन पनि पोख्त बनिसकेका थिए । मस्कोबाट उनीहरू ताञ्जानिया जाँदै थिए ।
ताञ्जानिया भर्खर बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यहाँ जुलिसय निरेरेको प्रगतिशील सरकार स्थापना भएको थियो । दक्षिण अफ्रिकी स्वाधीनता आन्दोलनका सयौँ योद्धाहरू त्यहाँ राजनीतिक शरण लिई बसेका थिए ।
क्रिस हानी निरेरेको अफ्रिकी समाजवाद र उजाम्मा (Ujamaa) परम्परागत वर्गविहीन सामूहिक बस्तीको सिद्धान्तबाट प्रभावित थिए । निरेरेले एमकेलाई उपभोग गर्न ताञ्जानियाको राजधानीभन्दा ४ सय किमि दक्षिणमा पर्ने कोङ्वा (Kongwa) मा सानो टुक्रा जग्गा प्रदान गरेका थिए । हानी, एमब्रोस माकिवाना र लिन्नोक्स लाघुलाई कोङ्वामा खटाइयो ।
कोङ्वाको जीवन सहज थिएन । त्यहाँ बस्ने योद्धाहरूमा औँलो र आँखाको सङ्क्रमणको खतरा थियो । चर्पीको लागि खाल्डो खन्नुपथ्र्यो । पानी आपूर्तिको समस्या थियो । कार्यकर्ताहरूलाई तीन समूहमा विभाजन गरिएको थियो । उनीहरू पालै–पालो खाना पकाउने, घर–टहरा बनाउने, पानी बोक्ने काम गर्थे । पढ्ने सामग्री पाउन निकै मुस्किल थियो । एकातिर हानीलगायत तालिम प्राप्त कार्यकर्ताहरूमा आफ्नो देश फर्किने र आन्दोलन निर्णायक तहमा पु¥याउने हतारो थियो भने अर्कोतिर उनीहरू त्यस्तो असहज अवस्थामा बस्न बाध्य थिए ।
त्यस्तो प्रतिकूल परिस्थितिमा हानीले लेख–पढको काम भने छोडेनन् । कुनै उपयुक्त समय मिल्ने बित्तिकै उनी पढ्न बसिहाल्थे । उनी प्रायशः जङ्गलमा गएर किताब पढ्थे । उनका सहकर्मीहरू साँपको डर भएकोले जङ्गलमा एक्लै गएर नपढ्न सुझाइरहन्थे । हानी हाँसो ठट्टा मन पराउँथे । उनी लिवियादेखि फिडेल क्यास्ट्रोको क्युवाबारे चर्चा गरिरहन्थे, त्यतिबेला उनको उमेर मात्र २३ वर्ष थियो ।
कोङवामा उनीहरूले चाँडै विभिन्न रचनात्मक गतिविधि गर्न थाले । उनीहरूले पहाडको खोँचबाट पाइप बिछ्याएर पानी आउने बन्दोबस्त गरे; त्यही पानी उपयोग गरेर खेतीपातीको काम थाले† भलिबल, टेबुलटेनिसलगायत खेलकुद गतिविधि गर्ने ठाउँ बनाए; बस्न उपयुक्त घर टहराहरू बनाउन थाले । भर्खर विश्वविद्यालयबाट निस्केका हानीजस्ता नवयुवकहरूका निम्ति त्यस्ता निर्माण कार्य गर्न सजिलो थिएन । यद्यपि, त्यहाँको समय सम्झँदै हानीले भने, “त्यो हाम्रो लागि अर्को शिक्षालय बन्यो । हाम्रो बौद्धिक ज्ञानलाई शारीरिक श्रमसँग एकाकार गर्ने राम्रो विद्यालय थियो त्यो ।”
सन् १९६४ को क्रिसमससम्म आइपुग्दा एमकेका सबै तालिम प्राप्त योद्धाहरू आफ्नो देश फर्केर स्वाधीनताको निम्ति सङ्घर्ष चर्काउन आतुर भइसकेका थिए । सोभियत सङ्घमा आफूले सिकेका ज्ञानको व्यवहारिक उपयोग गर्न उनीहरू व्यग्र थिए । तथापि, पार्टीभित्र नेतृत्वमा झाङ्गिदो सुविधाभोगी चरित्र उनीहरूलाई चित्त बुझेको थिएन । डार इस सलाम र मोरोगोमा बसेका पार्टी नेतृत्वले सङ्घर्षलाई भन्दा आफ्नो निजी सुखलाई प्राथमिकता दिइरहेका थिए । सशस्त्र सङ्घर्षप्रति समर्पणभावको अभाव र निष्क्रियताले हानी असन्तुष्ट थिए । जाम्बियाबाट फर्केको टोलीले केनेथ कौण्डाजस्ता नेता पूर्णतः सुख–सुविधामा डुबेको खबर ल्यायो ।
१९६५ सम्ममा कोङवामा मस्को र ओडिसाबाट फर्केका कार्यकर्ताहरूको सङ्ख्या झन्डै ५ सय पुगिसकेको थियो । उनीहरूले भूमिगत गतिविधि गर्न तालिम पाएका थिए । दक्षिण अफ्रिकाको स्वतन्त्रताको लागि लड्न चाहने १२ वर्षका किशोरहरूसमेत त्यहाँ थिए । उनीहरूको शैक्षिक अवस्था कमजोर थियो । हानीले उनीहरूलाई शिक्षित बनाउन कक्षा सञ्चालनमा जोड दिए ।
हानी प्रतिकूल परिस्थितिमा पनि ‘प्रभात’ (The Dawn) पत्रिकामा विश्लेषणात्मक लेख लेख्थे । उनी प्रकाशनलाई स्वतन्त्रताको सन्देश फैलाउने र रङ्गभेदको आतङ्क उजागर गर्ने माध्यमको रूपमा उपयोग गर्न चाहन्थे । कार्यकर्तामा बेला–बेला आउने निराशा पन्छाउन कोङवामा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिन्थ्यो । त्यहाँको जीवनलाई कालान्तरमा एकजना कार्यकर्ताले ‘जीवनको विश्वविद्यालय’ को संज्ञा दिए । वास्तवमा त्यो शिविर बाँच्ने क्षमताको परीक्षाजस्तो पनि थियो ।
प्रस्तुति : गौलोचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *