नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
(नेपालमा अहिले धेरै प्रकारका धर्म प्रचारकहरूले अनेक किसिमले फरकफरक नामका धर्म प्रचार गर्दै छन् । ती धर्महरूबारे सानो जानकारीको भरमा आँखा चिम्लेर समर्थन र विरोध गर्ने अन्धविश्वास नहोस् भन्ने उद्देश्यले केही धर्महरूको सरल भाषामा सङ्क्षिप्त परिचय दिने प्रयास गरिएको छ । विश्वमोहन जोशी त्रिविका अवकास प्राप्त इतिहासका प्राध्यापक हुनुहुन्छ । पाठक साथीहरू यसबारे आ–आफ्नो टीका–टिप्पणी गर्न स्वतन्त्र छन् – सं.)
हजारौँ वर्ष पहिलेदेखि मानिसहरू आफ्नो जीवनयापनको सिलसिलामा प्रकृतिसितको सम्पर्क एवम् थुप्रै जीव जीवात्मासितको द्वन्द्वबाट धेरै अनुभवहरू हासिल गर्दै आफ्नो जीवनलाई सुखद र सरल पार्न निरन्तररूपमा प्रयत्नशील रहे । घुमन्ते जीवन त्यागी एक निश्चित स्थानमा बसोबास गरी खेतीपाती र पशुपालन गर्न थालेपछि सम्पत्तिको लागि मानव र मानवबिच शोषण र द्वन्द्व बढ्दै गयो । सबलले निर्बलमाथि शोषण र अत्याचार गर्नु सामान्य जस्तो हुनथाल्यो । फलस्वरूप सबै साधारणको लागि जीवन कष्टकर हुँदै गयो । जीवन के हो र मुक्ति के हो ? थाहा पाइएन । कस्ट, समस्या र उत्पीडनबाट मुक्ति र मानव जीवनलाई सरल र सुखद पार्न पृथ्वीका विभिन्न स्थानहरूमा विभिन्न समयमा अनेक महामानवहरू जन्मे । उनीहरूले विभिन्न जीवन पद्धतिहरू बसाए । ती पद्धतिहरूलाई नै धर्म भनियो । संसारमा विभिन्न धर्महरू देखा परे । तिनीहरूमध्ये केही धर्म, तिनीहरूका प्रवर्तक र उपदेशहरूको सार सङ्क्षेपमा निम्न विवरणहरू उल्लेख गरिएका छन् ः
वर्तमान अवस्थामा यस धरतीमा पाइने अति पुराना धर्ममा यहुदीहरूले मान्ने यहुदी धर्म पनि एक हो । यसलाई जुडाइज्म (Judaism) पनि भनिन्छ । यहुदीहरूको भाषा, धर्म र उनीहरूलाई पनि हेब्रु (Hebrew) पनि भनिन्छ । आजभन्दा करिब पैतीस सय वा चार हजार वर्षअगाडि मध्यपूर्वमा शान्तिका पुजारी अब्राहम (Abraham) ले यहुदी धर्म वा Judaism को स्थापना गरेका थिए । अब्राहमका नाति यहुदा (Yahuda) लाई जुडा (Juda) पनि भनिन्छ । यसै शब्द जुडाइज्म यहुदी र ज्युज् (Jews) भन्ने शब्द बनेको भनिन्छ । यहुदीहरूलाई अङ्ग्रेजी भाषामा ज्युज (Jews) भनिन्छ । यहुदीहरू परिश्रमी र तीक्ष्ण बुद्धिका भएकाले जतिसुकै कस्ट र समस्याहरू भोग्नु परे पनि उनीहरूले अमेरिकाको सहयोगमा सन् १९४८ मा आफ्नो छुट्टै देश इजरायल (Israel) पाए । अचेल करिब एक करोड चालीस लाख यहुदीहरू इजरायल र संयुक्त राज्य अमेरिकामा मात्रै प्रायः बस्दै आएका छन् । यिनीहरूको हेब्रु (Hebrew) भाषामा ईश्वरलाई (Yhwh) यहोवा वा यावे भनिन्छ । अङ्ग्रेजीमा यावे (Yahweh) भनिन्छ । उनीहरू यही यावे मात्र ईश्वर मान्दछन् । उनीहरू अहिलेसम्म आफ्नो मुक्तिदाता (Messiah) आएको छैन भनी विश्वास गर्छन् । यावे अर्थात् ईश्वरले आफूलाई बताएअनुसारका उपदेशहरू अब्राहमले अरूलाई बताउन थाले । राम्रो काम गर्नेलाई ईश्वरले पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिन्छन् भनी यहुदीहरू विश्वास गर्दछन् । इसाई र इस्लाम धर्म मान्नेहरूले पनि अब्राहमलाई आफ्नो परमपिता मान्दछन् ।
अब्राहमपछिको पाँच सयदेखि एक हजार वर्षको अवधिमा मिश्र (Egypt) मा मुसा (Moses) को जन्म भयो । उनले मिश्रका यहुदीहरूमाथिको दमनबाट उनीहरूलाई मुक्ति दिलाउने प्रयास गरे । यावे अर्थात् ईश्वरले मुसालाई दसवटा उपदेशहरू दिएर भने कि जसले यी उपदेशहरूको पालना गर्दछ ईश्वर उनीहरूदेखि खुसी हुन्छन् जसले मान्दैन ईश्वरबाट दण्डित हुन्छ । यही दस वटा उपदेशहरूलाई यहुदी धर्ममा Ten Commandment भनिन्छ । यही उपदेशहरूमा नै यहुदी धर्म आधारित छ । ती दस वटा कमान्डमेन्ट निम्न अनुसारका छन् :
१) यहोवा एक मात्र ईश्वर हुन् अरू छैनन् ।
२) यहोवाको मूर्ति नबनाउनु ।
३) आफ्नो आमाबाबुलाई सम्मान गर्नु ।
४) कसैको पनि हत्या नगर्नु ।
५) व्यभिचार नगर्नु ।
६) चोरी नगर्नु ।
७) झूटो नबोल्नु ।
८) लोभी लालची र इष्र्यालु नबन्नु ।
९) यावे वा यहोवा अर्थात् ईश्वरलाई आदर गर्नु र उनको नामको दुरूपयोग नगर्नु ।
१०) हप्ताको एक दिन विश्राम दिवसलाई सम्झौँ र धार्मिक कार्य गरी यसलाई पवित्र पारौँ ।
यी सब विवरणहरू यहुदीहरूको धर्म ग्रन्थ Torah र बाइबलको पहिलो भाग जसलाई प्राचीन काण्ड (Old Testament) भनिन्छ, त्यसमा उल्लेख गरिएको छ ।
इसाई धर्म र यसका उपदेशहरू
ईश्वी संवत् सुरु हुनुभन्दा अगाडिका दिनहरूमा अरब–इजरायल क्षेत्र रोमन साम्राज्यको आधिपत्यमा थियो । रोमन साम्राज्यमा सम्राट पूजालाई विशेष जोड दिइन्थ्यो । मिथ्या आडम्बर र अन्धविश्वासलाई मानिसहरू धर्म सम्झन्थे । धनीहरू विलासी जीवन व्यतीत गर्थे भने गरीब एवम् दासहरूको अवस्था निकै दयनीय थियो । रोमन साम्राज्यको दमन बढ्दै थियो । त्यसैले रोमन प्रशासकहरूको अत्याचारको विरुद्धमा त्यहाँ स–साना विद्रोहहरू भइरहन्थ्यो । यस्तो अवस्थामा इजरायलको वेथलहेम गाउँमा यिशु–क्राइस्टको जन्म भयो मेरीको गर्भबाट । यिशु–क्राइस्टको बाल्यकाल गरिबी र अभावमा बितेको हुँदा उनले शिक्षादीक्षा राम्रो पाउन सकेनन् । उनलाई दुःखकष्टको राम्रै अनुभूति थियो । उनी ईश्वरमा निकै आस्था राख्दथे । उनले विभिन्न स्थानहरूमा भ्रमण गरी धार्मिक विषयवस्तुहरूको अध्ययन गर्ने मौका पाए । यसैबेला उनले एक जना धर्मप्रचारक John, the Babtist बाट प्रभावित भई दीक्षित भए । यतिखेर यिशु क्राइस्टको उमेर ३० वर्ष पुगिसकेको थियो । दीक्षित भइसकेपछि उनले जङ्गलमा गई चालीस दिनसम्म ईश्वरको प्रार्थना र उपवास गरे । यसै अवसरमा उनलाई दैविकरूपमा ज्ञान प्राप्त भयो । यही समयमा John, the Babtist रोमन साम्राज्यको अत्याचारको विरुद्ध जनतालाई सचेत पार्दै थिए । उनी धार्मिक स्वतन्त्रतामा जोड दिन्थे । उनको विचार र उपदेशहरूबाट जनता निकै प्रभावित थिए । यस्तो अवस्था रोमन प्रशासकहरूको लागि सह्य भएन । उनलाई ती प्रशासकहरूले फाँसी दिए । यो घटनाबाट यिशु–क्राइस्टको मनमा ठूलो चोट प¥यो । उनी धेरै प्रभावित भए । अब यिशु क्राइस्ट आफ्नै धर्म प्रचारतर्फ अग्रसर भए । उनको नम्रता र वक्तृत्वकलाबाट प्रभावित भई अरू प्रशंसक एवम् अनुयायीहरूको सङ्ख्या दिनदिनै बढ्दै थियो । खासगरी शोषितपीडितवर्ग उनका प्रशंसक भए । उनलाई ईश्वरका पुत्र, देवदूत, मुक्तिदाता आदि भन्न थालियो । उनका अनुयायी एवम् प्रशंसकहरूको सङ्ख्या बढ्दै गयो र उनको लोकप्रियता अतुलनीय भयो । उनी यहुदी धर्ममा व्याप्त आडम्बर र अन्धविश्वासको विनम्रतापूर्वक खण्डन गर्थे । यसले गर्दा धनी यहुदीहरू, पुरोहितहरू र रोमन प्रशासकहरू उनका विरोधी भए । यिनीहरू सबै मिलेर यिशु–क्राइस्टकै एक शिष्य Judas Iscariot लाई प्रभावमा पारी यिशुलाई देशद्रोहको आरोप लगाई क्रसमा चढाएर दुवै हात र छातीमा किला ठोकी मृत्युदण्ड दिइयो । यस घटनालाई Crusifixion-30 A.D. भनिन्छ । सूलीमा चढाउने बेलामा यिशुले “हे ईश्वर ¤ यिनीहरूलाई क्षमा गर, यिनीहरू अज्ञानी हुन् ।” भनेका थिए पनि भनिन्छ ¤ ईश्वरप्रति उनको अटल विश्वास थियो ।
यिशुको मृत्युपछि सेन्ट पल र सेन्ट पिटरले उनको उपदेश एवम् धार्मिक विश्वासहरूलाई इसाई धर्म भनियो । त्यसको प्रचारप्रसार र सङ्गठनमा उनले ठूलो योगदान पु¥याए । कालान्तरमा यो धर्म एसिया, युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका महादेशका विभिन्न देशहरूमा फैलियो । अहिले विश्वकै एक नम्बरको धर्मको रूपमा रहेको छ । सन् ७० देखि ११० सम्ममा यिशुका उपदेशहरू सङ्कलन गरी इसाई धर्मको ग्रन्थ Bible को रचना गरियो । युनानी शब्द Biblion ले पुस्तक भन्ने अर्थ दिन्छ ! यही Biblion शब्दबाट Bible शब्दको निर्माण भएको थियो ! Bible का दुई खण्ड प्राचीन काण्ड (Old Testament) र नवीन काण्ड (New Testament) छन् । विशेषतः प्राचीन काण्ड (Old Testament) यहुदी धर्म र नवीन काण्ड (New Testament) यिशु क्राइस्टको जीवनी, उनका उपदेश, उनका प्रारम्भिक अनुयायीहरूको विवरण अर्थात् इसाई धर्मसँग सम्बन्धित छ ! यिशु क्राइस्टका महत्वपूर्ण केही उपदेशहरू निम्नअनुसार छन् :
१. जो विनम्र छन् उनी धन्य छन् किनभने उनी पृथ्वीको मालिक हुनेछन् ।
२. जो धर्मका भोका छन्, उनी धन्य छन् किनभने उनी परिपूर्ण हुनेछन् ।
३. जो दयालु छन्, उनी धन्य छन् किनभने उनी कृपामात्र हुनेछन् ।
४. धर्म र सदाचारको लागि जो जसले दुःख भोग्दछन् उनी धन्य छन् किनभने उनले स्वर्गको राज्य पाउनेछन् ।
५. जो निर्धन, विनम्र, दयालु सच्चा इमानदार छन् उनीहरूले मात्र ईश्वरको राज्यमा प्रवेश पाउनेछन् ।
६. परमेश्वर सारा जगत्का पिता हुन्, हामी सबैले आपसमा प्रेम गर्नुपर्छ ।
७. क्रोध नगर, गाली नदेऊ, मधुर वचन बोल ।
८. व्यभिचार नचिताऊ, परस्त्रीलाई आमा समान मान ।
९. सत्य बोल, कसम नखाऊ, सीधा–उत्तर दिने गर ।
१०. दुई मनीको बदला प्रेमले देऊ ।
११. सबैलाई प्रेम गर आफ्ना शत्रुलाई पनि प्रेम गर ।
१२. यिशुले भन्ने गर्थे कि म नाश गर्न होइन, पूर्णता प्रदान गर्न आएको हुँ ।
Leave a Reply