नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
भक्तपुर, ६ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको चौधौँ नगरसभा बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा संसदीय व्यवस्था असफलतातिर गएको र देशको दुर्गति हुनुमा शासक दलहरू नै मुख्य जिम्मेवार भएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरू आफैँमा विश्वविद्यालयको रूपमा सञ्चालनमा रहेको धारणा राख्दै उहाँले शिक्षक र विद्यार्थीहरूको स्तर वृद्धि गर्न सके शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र विदेशी पुँजीको हातमा छ । भारतीय एकाधिकार पुँजीले कहिल्यै स्वतन्त्र र आत्मनिर्भर बनाउन दिनेछैन ।”
युवा – विद्यार्थीहरूलाई राजनीतिबाट अलग गर्न नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “हामीले समयमै विद्यार्थीहरूलाई देशभक्त बनाउन नसके युवाहरू अझ बढी विदेसिने खतरा छ ।”
राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोल र इतिहासबारे अध्ययन गर्न भक्तपुरका नयाँ पुस्तालाई उत्साहित गर्नुपर्छ । नयाँ बस्तीमा पार्किङ व्यवस्थापनको लागि नयाँ नक्सापासको नियम लागू भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुनेछ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले सडक वा निर्वाचित निकाय जहाँ भए पनि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो । भक्तपुरलाई सफा–स्वच्छ–सांस्कृतिक नगर बनाउने हामी सबैको साझा लक्ष्य हो । यसकारण, ख्वप विश्वविद्यालय विधेयक पारित गराउन हामी सङ्घर्ष गर्दै छौँ ।”
पार्टीले जनसहभागितासहित आर्थिक अनुशासन र मितव्ययी भएर उपभोक्ता समितिमार्फत पारदर्शीरूपमा विकास निर्माणको काम सम्पन्न गर्न जोड दिँदै आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्र्घको १७ खर्ब ५१ अर्ब २१ करोड बजेटबारे प्रतिनिधिसभामा छलफल भइरहेको छ । सांसदहरूको सुझाव नसमेटिने झन्डै दुई महिनाको बहसको औचित्य नहुने भनी चौतर्फी विरोध भइरहेको छ । हामीले सांसदहरूको सुझावअनुसार बजेट संशोधन हुनुपर्नेमा जोड दिइरहेका छौँ ।”
राजस्व छलि र चुहावट बढ्दो छ । एनसेलको पुँजीगत लाभकर असुली नहुनुमा तीन प्रधानमन्त्री र तीन अर्थमन्त्री संलग्न भएको सार्वजनिक भयो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको, खराब सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताको अर्बौँ रूपैयाँ खाएर भागेको, शेयरको कृत्रिम उत्तारचढावमा प्रधानमन्त्री र अर्थमन्त्री भएकाहरूकै हात रहेको पुष्टि भइरहेको छ । मुक्तिश्री कम्पनीसँग ४ अर्ब बढी र सिनर्जी कम्पनीसँग ३ अर्ब बढी राजस्व असुली बाँकी छ । ठूलो अङ्कको राजस्व नउठेको ५ सत्न्दा बढी फाइल रहेका छन् । यसकारण, लक्ष्यअनुसार राजस्व गुमेको हो, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “बजेटको ३० प्रतिशत चालु खर्च र ७० प्रतिशत पुँजीगत खर्चमा लगाउने प्रतिबद्धता जरूरी छ । अर्थमन्त्रीले आफू नुवाकोट हुँदा त्यहाँ बढी बजेट राखेको काम गलत हो । त्यस्तै देउवाजीको डडेलधुरा, दाहालजीको गोरखा र ओलीको झापामा धेरै बजेट राखिएको अर्को गलत हो ।”
“युवालाई राहदानी बाँडेर म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा पठाउने सरकारको नीति खारेज गरी युवालाई स्वदेशमा रोजगारी दिनु जरूरी छ । गएको जेठ महिनामा यूएई देशमा घरेलु कामदार पठाउने सम्झौता गरिएको खारेज हुनुपर्दछ । घरेलु कामदारमा पठाएका महिलामाथि हिंसा बढ्दो छ । यो संवेदनशील विषयतर्फ सरकारका मन्त्रीहरू बेवास्ता गर्दै छन्”, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०८०।८१ कोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनप्रतिनिधिहरूले आफ्नो क्षमताले भ्याएसम्म संविधान र कानुनको परिधिभित्र रहेर जनताको सेवा गर्ने बताउनुभयो ।
‘एक घर एक स्नातक’ अभियानबाट शैक्षिक क्षेत्रमा भक्तपुरमा छोटो समयमा ठूलो परिवर्तन भएको बताउँदै उहाँले यो अभियानलाई ख्वप विश्वविद्यालय स्थापना गरी देशभरका जनतालाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अवसरको निम्ति निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय तह कोही कसैको अधीनमा बस्न नपर्ने स्वतन्त्र सरकारहरू हुन् । सङ्घ र प्रदेशले समानीकरण अनुदानलाई बढाउँदै सशर्त बजेट घटाउँदै लानुपर्नेमा त्यसको विपरीत अनुदान घटाउँदै सशर्त बजेट बढाउँदै लानु स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरणमाथि सङ्घ र प्रदेशले नियन्त्रण गर्न खोज्नु हो ।”
उहाँले भन्नुभयो, “हामी समाजवादी विचारबाट प्रशिक्षित राजनीतिक कार्यकर्ताहरू हौँँ; हामी जनताका सेवक हौँ; हामी सधैँभरि जनताको सेवामा समर्पित भएर लाग्नेछौँ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नपाको नीति तथा कार्यक्रम नगरवासीहरूको हित र सिङ्गो देशको नपाको लागि मार्गनिर्देशक हुने ढङ्गले अगाडि बढाउन शुभकामना दिनुभयो ।
भक्तपुर नपाका प्रकाशनहरूलाई निरन्तरता दिनुपर्ने धारणा राख्दै उहाँले नेपालमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन नहुनुमा राजनीतिक नेतृत्व र आर्थिक व्यवस्थाको कमजोरीकै कारण हो भन्नुभयो ।
वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो र विश्वसनीय नरहेको तथा प्रदेशसभामा प्रजातान्त्रिक अभ्यासको अभाव रहेको उहाँले बताउनुभयो ।
प्रदेशको औचित्यतामाथि प्रश्न उठ्ने काम शासक दलहरूबाटै भइरहेको चर्चा गर्दै प्रदेशसभा सदस्य गोसाईले राजनैतिक नैतिकतामा आएको सङ्कटका कारण देशमा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य सृजना सैँजुले भक्तपुरको आजको सफलतामा नेमकिपाका अग्रजहरूको योगदान स्मरणीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ताको सेवाका लागि भक्तपुर नपाका जनप्रतिनिधि अझ क्रियाशील ढङ्गले अगाडि बढ्ने विश्वास छ ।”
भक्तपुर नपाको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको शुभकामना दिंदै उहाँले सरकारमा गएका शासकहरूले बजेटलाई नीतिगत भ्रष्टाचार गर्ने माध्यम बनाएकै कारण देश गम्भीर आर्थिक सङ्कटउन्मुख रहेको बताउनुभयो ।
“नेपालमा किसानहरूको अवस्था निकै नाजुक छ । बजेट निर्माणमा समेत नेपाल आत्मनिर्भर छैन । व्यापारघाटा र गलत कर नीतिका कारण देश सङ्कटग्रस्त अवस्थामा छ”, उहाँले भन्नुभयो ।
पर्यटनलाई उद्योगको रूपमा विकास गर्नेतर्फ नपाले ध्यान दिनुपर्ने धारणा राख्दै उहाँले भक्तपुर नपाले सहकारी संस्थाहरूलाई उत्पादन प्रवद्र्धन र सेवा क्षेत्रमा समावेश गर्न सकिए श्रेयष्कर रहने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको संस्कृति, मूल्य, मान्यता, धरोहरलाई अनुसन्धान र अन्वेषणसहित नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कामहरूलाई निरन्तररूपले अगाडि बढाइरहेको बताउनुभयो ।
भक्तपुर नगरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने अभियानमा हाम्रा अग्रजहरूको अथक मेहनत र अतुलनीय योगदान छ, उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुर मोडलको विकासको सफलता र निरन्तरताको कामना गर्दै भक्तपुर नपाको सुशासन अध्ययन केन्द्रको रूपमा रहेको बताउनुभयो ।
‘सय वर्षपछिको भक्तपुर’ परिकल्पनाले मूर्त रूप लिन धेरै समय नलाग्ने धारणा राख्दै उहाँले भक्तपुरलाई ज्ञानविज्ञान केन्द्रको रूपमा विकास गर्ने भक्तपुर नपाको उद्देश्य पूरा गर्न प्रहरी प्रशासन भक्तपुर नपासँग समन्वय गरी काम गर्न तत्पर रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विश्वमोहन जोशीले चौधौँ नगरसभा पूर्ण सफलताको कामना गर्दै शिक्षा, संस्कृति, स्वास्थ्य र विभिन्न किसिमका पुरातात्विक सम्पदाहरू संरक्षणमा भक्तपुर नपाले पाएको सफलता जनप्रतिनिधि र नगरवासीहरूको संयुक्त प्रयासले सम्भव भएको हो भन्नुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमितरूपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भनपा वडा नं. ३ का इन्द्रकाजी शिल्पकारलाई रू. ७५,१३७, वडा नं. ६ का हेलबहादुर दुवाललाई रू. ४,२३,१९१, वडा नं. ४ का उपेन्द्रभक्त तिमिला र ऋषि केशवभक्त तिमिलालाई रू.१,६८,७९५, वडा नं. २ का सुरेशबहादुर कायष्ठ र सुर्वणकुमारी कायष्ठलाई रू. ३,७८,५२७, वडा नं. २ का सुजितबहादुर कायष्ठ र सुवर्णकुमारी कायष्ठलाई रू. ३,३६,९६५, वडा नं. ४ का रणबहादुर छुस्याकीलाई रू. १,६२,७२२, वडा नं. २ का राजेशचन्द्र प्रधानाङ्गलाई रू. २,८२,०७९, वडा नं. ६ का कृष्णभक्त चाँगुभारीलाई रू. १,५०,६१९, भनपा वडा नं. ७ का बलराम तचामोलाई रू. १,०४,४८६, वडा नं. ६ का अष्टमाया मुलगुठीलाई रू. २,७४,२९९, वडा नं. ६ का अर्जुन नेपाललाई रू.१,९४,३१९, भनपा ४ का दिलिस खाइतुलाई रू. २,४०,९३६ काठ, इँटा र झिँगटीको अनुदान स्वरूप प्रदान गरिएको थियो ।
त्यस्तै वडा नं. १० का बलराम सहिकर्मीलाई रू. २,९५,८३७, वडा नं. ५ का मैयादेवी लोहलासमेतलाई रू. ५,५५,३३४, वडा नं. ५ का मोहनकेशरी सुवाललाई रू. ७,१५,२२२, वडा नं. २ का रीता दुवाललाई रू. २,४२,६७४, वडा नं. ५ का सतिशकुमार धौभडेललाई रू. १,७७,२७३, वडा नं. २ का केशव लघु र लक्ष्मीकेशरी लघुलाई रू. ८,४६,१४४, वडा नं. ५ का बिजुली सिबन्जारलाई रू.५,८२,८२३, वडा नं. ९ का पूर्णनारायण ज्याख्वलाई रू. १,५४,२७३ र वडा नं. २ का कृष्णराम दथेपुथेलाई रू. १,१०,७२६ रूपैयाँ गरी कूल ६४,७२,३९० रूपैयाँ अनुदानस्वरूप प्रदान गरिएको थियो ।
भक्तपुर नपाको चौधौँ नगरसभा आजबाट सुरु
भक्तपुर, ६ असार । भक्तपुर नगरपालिकाको चौधौं नगरसभा बुधबारबाट सुरू भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको चौधौँ नगरसभा सुरू भएको हो ।
नगरसभाको उद्घाटन सत्रपश्चात् बसेको औपचारिक बैठकमा उहाँले नेपाल मजदुर किसान पार्टीको नीति निर्देशनलाई अक्षरशः पालना गरी देश र जनताको निःस्वार्थरूपमा सेवा गर्न भक्तपुर नपाका जनप्रतिनिधि प्रतिबद्ध रहने बताउनुभयो ।
बैठकले आ.व. २०८०।८१ का लागि भक्तपुर नगरपालिकाको बजेट प्रस्तुत हुने ऐतिहासिक नगरसभाको समुद्घाटन गरी जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई मार्गनिर्देशन दिनुभएकोमा प्रमुख अतिथि नारायणमान बिजुक्छेँ (रोहित), महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएका विशिष्ट अतिथिलगायतलाई हार्दिक धन्यवादज्ञापन गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ ।
नगरसभाको अर्को बैठक असार ८ गते शुक्रबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भयो ।
Leave a Reply