भर्खरै :

भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको चौधौँ नगरसभाको बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।
सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै सभाबाट आएका सुझावहरू नगर र नगरवासीहरूको हितमा रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बताउँदै भक्तपुरको सन्तुलित विकास गर्ने उद्देश्यले नगरका १० वटै वडामा समानुपातिक ढङ्गले बजेट विनियोजन हुने विचार राख्नुभयो ।
नीति तथा कार्यक्रममाथि भएको छलफलमा १० जना सभासद्हरूले आ–आफ्नो धारणा राख्नुभयो । प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्हरू मन्जुमैंया लाखा, हेरा ख्याजू, रामसुन्दर बासी, तारादेवी शाक्य, कृष्णसुन्दर प्रजापति, नारायणप्रसाद त्वानाबासु, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, इन्द्रबहादुर प्याथ र गोविन्द दुवालले सहकारी संस्थाको सामुदायिक विकास कोष समुदायको हितमा प्रयोग हुने विश्वास दिलाउनुपर्ने, ख्वप अस्पतालमा सिटी स्क्यानको व्यवस्थाको लागि शीघ्र पहल गर्नुपर्ने, प्लास्टिकको वैकल्पिक व्यवस्था गर्नुपर्ने, व्यायामशालाहरू व्यवस्थित गरिनुपर्ने, स्वयम्सेवक शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषकहरूलाई कम ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्नेलगायतका धारणा राख्नुभयो ।
नगरसभाको उक्त बैठकले नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवन सङ्गिनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घकी तत्कालीन केन्द्रीय सदस्य तथा महिला आन्दोलनकी अगुवा शोभा प्रधानको असार ८ गते प्रथम वार्षिकी तिथि परेकोले निजको स्मृतिमा १ मिनेट मौन धारण गरी निजको स्मृतिमा हार्दिक समवेदना प्रकट गरेको थियो ।
नगरसभाको अर्को बैठक असार १० गते आइतबार दिनको १ बजे बस्ने गरी स्थगित भयो । सो बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाको चौधौँ नगरसभाबाट पारित भक्तपुर नगरपालिकाको (आ.व. २०८०/८१) नीति तथा कार्यक्रम) का केही महत्वपूर्ण बुँदाहरू
– ख्वप विश्वविद्यालय स्थापनाको लागि संसद्बाट विधेयक पारित गराउन भक्तपुर नगरपालिकाले निरन्तर जोड दिनेछ र विश्वविद्यालय सञ्चालनको लागि विज्ञहरूको टोली गठन गरी प्रकृया अगाडि बढाइनेछ ।
– सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न संस्थागत क्षमता, जनशक्ति परिचालन र नतिजामूलक अनुगमनसहित विशेष पहल गरिनेछ ।
– आगामी आ.व.देखि अर्थशास्त्र, तर्कशास्त्र, दर्शनशास्त्रको अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
– कलेजहरूमा अध्ययन अध्यापनको साथै अनुसन्धान क्षेत्रमा पनि जोड दिइनेछ । त्यसको लागि प्रत्येक कलेजमा अनुसन्धान युनिटहरूको लागि आवश्यक बजेटको विनियोजन गरिनेछ ।
– ‘एक विद्यालय एक सम्पदा सरसफाइ’ नीतिलाई व्यवस्थित र थप प्रभावकारी ढङ्गले अगाडि बढाइनेछ । विद्यालयहरूमा स्काउट र खेलकुद प्रशिक्षणको व्यवस्था क्रमशः गरिँदै लगिनेछ ।
– वडा वडामा रहेका पुस्तकालय र वाचनालयहरूलाई व्यवस्थितरूपमा सञ्चालनमा ल्याई युवा विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा जोड दिइनेछ ।
– विद्यालयहरूमा सञ्चालित ‘बाल विकास’ केन्द्रहरूको गुणस्तर वृद्धिको लागि आवश्यक व्यवस्था गरिनेछ । गृहिणी महिलाहरूका लागि ‘निरन्तर शिक्षा’ सञ्चालन गरिनेछ ।
– ख्वप अस्पतालमा सिटी स्क्यानको व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
– नगरवासीहरूलाई निःशुल्क अक्सिजन वितरण, निःशुल्क रगतको व्यवस्था र गम्भीर रोग लागेका बिरामीहरूलाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
– विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ ।
– भनपा १० बेखालमा निर्माणाधीन स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइनेछ र भनपा वडा नं ७ खँचामा स्वास्थ्य केन्द्र निर्माण कार्य अगाडि बढाइनेछ ।
– भक्तपुरको कला, साहित्य, सम्पदा, वातावरण एवम् संस्कृतिको अध्ययन अनुसन्धान गर्ने शोधकर्ताहरूका लागि अनुदानको व्यवस्था गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइनेछ ।
– सांस्कृतिक प्रतियोगिताको आयोजना गर्ने सङ्घ—संस्थाहरूलाई आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।
– दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माण कार्य सुरु गरिनेछ । कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको न्ह्यकं झ्या दरबारलाई पनि पुनःनिर्मााणको लागि आवश्यक प्रक्रियाअगाडि बढाइनेछ ।
– भक्तपुर दरबार क्षेत्रको ९९ चोकलगायत वसन्तपुर दरबार र भनपा वडा नं ५ स्थित जगन्नाथ क्षेत्रको उत्खनन् कार्यलाई अगाडि बढाइनेछ ।
– किसानहरूले उत्पादन गरेको तरकारी बेचबिखनको लागि भनपा वडा नं. ५ स्थित भेलुखेलमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा ल्याइने छ ।
– भनपा ८ लिबालीमा निर्माणाधीन चिस्यान केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
– नयाँ पुस्तालाई आधुनिक कृषि खेतीतर्फ आकर्षित गर्न कृषि विद्यालय स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।
– कृषि तथा पानी, दूध र अन्य खाद्यान्न परीक्षण गर्न प्रयोगशालाको व्यवस्था गरिनेछ ।
– सांस्कृतिक प्रदर्शनी, सम्पदा पदयात्रा, विभिन्न सांस्कृतिक उत्सव एवम् मेलाको आयोजना गरी पर्यटन गतिविधि बढाउने कार्यक्रमहरूमा जोड दिइनेछ ।
– हनुमानघाट र सल्लाघारीको फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य शीघ्र सम्पन्न गरी प्रयोगमा ल्याई खोलाहरूमा सफा पानी बग्ने वातावरण निर्माण गरिनेछ ।
– आकाशे पानी सङ्कलन विधिलाई प्रोत्साहित गरिनेछ । साथै खानेपानीको नयाँ स्रोतहरूको पहिचान गरी त्यसको संरक्षण र वितरण गरिनेछ ।
– सहिद स्मृति खेल मैदान र महेश्वरी खेल मैदानलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।
– युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत दरमा युवा उद्यमशील ऋणको व्यवस्था गरिनेछ ।
– शिक्षित युवाहरूलाई लक्षित गरी लोक सेवा, शिक्षक सेवालगायत अन्य सेवा लक्षित प्रशिक्षणहरूको व्यवस्था गरिनेछ ।
– सहकारी संस्थामा रहेका सर्वसाधारण जनताको बचत रकम सुरक्षित बनाउन अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
– भनपा वडा नं ६ स्थित देकोचामा अरनिको सभाभवनको निर्माण कार्यलाई नगरको गौरवको योजनाको रूपमा बहुवर्षीय योजनाअन्तर्गत अगाडि बढाइनेछ ।
– घरेलु उत्पादनहरू जुजु धौ, ताइचिन च्यूरा, भादगाउँले टोपीको प्रवद्र्धनका लागि आवश्यक व्यवस्था मिलाइनेछ र समय समयमा घरेलु उत्पादन मेलाको आयोजना गरी घरेलु उत्पादनलाई टेवा पु¥याउने गतिविधिलाई निरन्तरता दिइनेछ ।
– सार्वजनिक, पर्ती जग्गा, पोखरी तथा खुला क्षेत्रको संरक्षण गरी सार्वजनिक हितमा प्रयोगमा ल्याइनेछ ।
– भक्तपुर औद्योगिक क्षेत्रभित्रको हस्तकलालाई पुनःव्यवस्थित गरी सञ्चालनमा ल्याइनेछ ।
– नगरभित्र डेरामा बस्नेहरूको अभिलेख तयार गरी सेवा सुविधाको व्यवस्था गरिनेछ ।
– नयाँ सवारीसाधन खरिद गर्न चाहने नगरवासीहरूका लागि सम्बन्धित पक्षसँग समन्वय गरी निजी पार्किङ हुनुपर्ने नीति लागू गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *