भर्खरै :

भ्रष्टाचार नियन्त्रणमा केन्द्रित सिपीसी महाधिवेशन

–एकराज पाठक 
काठमाडौं, ५ कात्तिक (रासस) ः चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को १९औँ काँग्रेस (महाधिवेशन) गत बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा उद्घाटनपछि आफ्नो सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले भन्नुभयो– घुस लिने र दिने दुवै राष्ट्रविरोधी हुन् यी दुवैलाई छोडिँदैन ।
सन् २०१२ मा चिनफिङ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनका क्रममा उहाँले भन्नुभएको थियो— चीनको सबैभन्दा ठूलो चुनौती देशको भ्रष्टाचार हो । त्यसमा सघाउने घुस दिने र लिने दुवै हुन्, उनीहरुलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनु मेरो पहिलो काम हुनेछ ।
सन् २०१२ को १५ नोभेम्बरका दिन चीनको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेपछिको पहिलो भाषणमा उहाँले देशबाट भ्रष्टाचार नियन्त्रणमा आफू सक्रिय हुने बताउनुभएको थियो । त्यसयता पनि उहाँले मुलुकमा आफूलाई भ्रष्टाचार विरोधी नेताका रुपमा उभ्याउँदै आउनुभएको छ । र आफ्नो पहिलो आधा कार्यकाल अथवा ठीक पाँच बर्षपछि भएको सो पार्टीको महाधिवेशनमा पनि उहाँले सोही प्रतिबद्धता दोहोराउनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख समेत रहनुभएका राष्ट्रपति सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउदै पनि आउनुभएको छ । देशमा यो पाँच बर्षको कार्यकालमा उहाँले भ्रष्टाचारको विरुद्धमा अभियान नै चलाउनुभयो । लाखौँ सरकारी अधिकारी कारबाहीमा परेका छन् भने सरकार या पार्टीले गर्ने महङ्गा बिलासिताका कार्यक्रम तथा सरकारी फजुल खर्चको नियन्त्रणमा उहाँ लागिपर्नुभयो । यस कार्यमा उहाँलाई ठूलो सफलता पनि मिलेको छ ।
बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सुरु सो महाधिवेशनमा चीनका विभिन्न भागबाट २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरु कम्युनिष्ट पार्टीका उच्च नेता तथा उच्च सरकारी अधिकारी पनि हुन् । यो नेशनल काँग्रेस हरेक पाँच बर्षमा हुन्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय एवम् शक्तिशाली निकाय हो । यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले गर्ने कामको योजना पारित गर्दछ ।
अधिवेशनको सम्बोधन राष्ट्रपति सिले भ्रष्टाचार नियन्त्रणकै प्रसंगबाट सुरु गर्नुभएको थियो । राष्ट्रपति सिले भन्नुभयो, चीनमा यतिखेर भ्रष्टाचारका विरुद्धमा लडाईं जारी छ, त्यसको अन्त्य अझै भएको छैन । तर जसरी पनि यो लडाईं जित्नुपर्छ, त्यो हाम्रो प्रमुख काम हो । उहाँले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको धारणा पाँच बर्षअघिकोजस्तै गरी दोहोर्याउनुभयो । तर चुनौती सधैँ एकै रुपमा रहँदैन यसलाई निराकरण गर्न सकिन्छ ।
उहाँले भन्नुभयो– म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म भ्रष्टाचारमा संलग्नताको आरोपमा लाखौँ व्यक्तिलाई कारबाही गरिएको छ । यो क्रम निरन्तर रहन्छ । घुस खानेमात्र होइन, दिने पनि उत्तिकै जिम्मेवार छन्, कारबाही यी दुवैलाई हुन्छ किनेभने यी दुवै राष्ट्र विरोधी हुन् । हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौँ, यो कुरा सबैले बुझ्नु जरुरी छ ।
उहाँले यता पार्टीको महाधिवेशनमा यस्तो सम्बोधन गरेको केही दिनमात्र अघि चीन सरकारले यहाँका सरकारी अधिकारी तथा पार्टीका विभिन्न तहका नेताहरु समेत गरी कम्तीमा पनि १४ लाख जनालाई भ्रष्टाचारको आरोपमा कारबाही गरिएको तथ्याङ्क सार्वजनिक गरेको थियो । चीन सरकारद्धारा सार्वजनिक सो तथ्याङ्कमा त्यति ठूलो सङ्ख्याका अधिकारीलाई भ्रष्टाचार, अनियमितता तथा अनुशासन उल्लङ्घन गरेकोमा जेल सजाय गरिएको जनाइएको थियो ।
चीन सरकारको सो तथ्याङ्कमा दिइएअनुसार यसरी कारबाही गरिएकामध्ये २८० जना केन्द्रीय प्रशासनिक निकायका उच्च अधिकारी नै छन् । उनीहरुलाई आरोप प्रमाणित भएर जेल सजाय नै सुनाइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत यति धेरै सरकारी अधिकारीहरु नै कारबाहीमा परेका र आफ्नो कार्यकालको यो एक सफलता पनि भएको राष्ट्रपति सिले सुनाउनुभयो ।
त्यस क्रममा उहाँले चीनको केन्द्रीय, प्रान्तीय, जिल्लास्तरीय र नगरस्तरीय गरी चार तहमा भ्रष्टाचारजन्य कार्यहरुको अनुगमनका लागि अनुगमन आयुक्तहरु नियुक्त गर्न लागिएको खुलासा पनि गर्नुभयो । ती आयुक्तहरुलाई कानुनबमोजिम अधिकार, साधन स्रोत र अनुसन्धानका लागि आवश्यक सहयोग केन्द्र सरकारले दिने उहाँको भनाई थियो । यसका कारण आउने दिनमा चीनको भ्रष्टाचारविरोधी अभियानले अझै सशक्तता पाउने उहाँको धारणा थियो ।
सि चीनका पूर्व राष्ट्रपति माओ जेदुङपछिका शक्तिशाली तथा लोकप्रीय नेताका रुपमा आफूलाई स्थापित भइसक्नुभएको छ । उहाँले एक समाजवादी राष्ट्रका रुपमा संसारमा चीनलाई चिनाउने आफ्नो योजनाको बारेमा नयाँ आर्थिक कार्यक्रमहरु प्रस्तुतगर्दै आउनुभएको छ । ती मध्येको सबैभन्दा महत्वाकांक्षी र ठूलो कार्यक्रम हो बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स्) । यो आयोजनाले अहिलेसम्म संसारका ६० वटा देश छोइसकेको या छुने क्रममा रहेको बताइन्छ । यसलाई उहाँले अघि सारेको चिनियाँ आर्थिक क्रान्तिको अर्काे पाटोका रुपमा ब्याख्या गरिन्छ ।
वर्तमान राष्ट्रपति सि सत्तामा आएपछि चीनको आर्थिक विकास र सामाजिक सम्बन्धको जालो संसारमा अझबढी जेलिएको पाइन्छ । पछिल्ला बर्षहरुमा चीनको उन्नतिका खबरहरु बढी नै आएका छन् । र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आगामी बर्षहरुमा विश्वको ठूलो अर्थतन्त्र बन्ने पाइला तय गर्नसक्ने अनुमानसहितका विश्लेषण पनि चीनमा मात्र नभएर संसारका विभिन्न देशबाट सम्प्रेषित हुने गरेका छन् । त्यसैले पनि चीनले सबैभन्दा पहिला आफ्नै देशको भ्रष्टाचार उन्मुलन गर्ने कामलाई प्राथमिकतामा राख्दै आएको हुनुपर्छ । जसलाई राष्ट्रपति सिले आफू सत्तामा आएदेखि नै निरन्तर अघि सार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *