भर्खरै :

रूसमाथि अमेरिकी निर्भरता !

रूसमाथि अमेरिकी निर्भरता !

गत शुक्रबार दुई रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र निकोलाई चुब र एक अमेरिकी नासाका अन्तरिक्ष यात्री लोरल ओहारा बायकोनुर प्रक्षेपण स्थलबाट सोयुज एमएस–२४ रुसी अन्तरिक्षयानबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगे । युक्रेनलाई लिएर रुस र अमेरिकाबिच चर्को तनाबको समयमा यो समाचार सुनेर धेरैलाई आश्चर्य लागेको हुनुपर्छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकालगायत युरोपेली राष्ट्रले रुसमाथि वस्तु आयात निर्यातदेखि बैङ्क सुविधासम्मको १२ हजारभन्दा बढी प्रकारका प्रतिबन्ध लगाएका छन् । यतिमात्र होइन अरू कुनै देशले रुससँग व्यापार गरेमा ती देशलाई समेत अमेरिका अनेक निहुँमा प्रतिबन्ध लगाउँछ । तर, आश्चर्यको कुरा के भने आफ्नो लागि चाहिने वस्तु तथा सेवा भने अहिले पनि अमेरिका रुसबाट आयात गरिरहेको छ । संयुक्त राज्य अमेरिका रूसमािथ निर्भर रहेको सबैभन्दा महत्वपूर्ण क्षेत्रहरूमध्ये एक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन हो । अन्तरिक्ष अन्वेषण सहयोगमा संयुक्त राज्य अमेरिका रुसमाथि निर्भरताको लामो इतिहास छ । अन्तरिक्ष अन्वेषण कार्यक्रममा रुस र अमेरिकाको संयुक्त सहभागिता छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पृथ्वीको कक्षमा रहेको बहुराष्ट्रिय अन्तरिक्ष स्टेसनको दुवै देश संस्थापक साझेदार हुन् । २०११ मा स्पेस शटल कार्यक्रमको अन्त्यपछि नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट अन्तरिक्ष यात्रीहरू ढुवानी गर्न रूसको सोयुज अन्तरिक्ष यानमा भर पर्नु परेको थियो ।
अमेरिकाको घर घरमा बलिरहेको बत्तीको लागि चाहिने विद्युत् उत्पादनको निम्ति नभई नहुने युरेनियम अमेरिकाले रुसबाट आयात गरिरहेको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । कतिसम्म दोहोरो चरित्र देखाउने मुलुक रहेछ, अमेरिका ¤ बिजुली उत्पादन गर्ने न्युक्लिएर प्लान्टको लागि चाहिने युरेनियम संयुक्त राज्य अमेरिकाले रूसबाट प्रतिबन्ध भए पनि आयात गरिरहेको छ । संयुक्त राज्य अमेरिकाले आफ्नो युरेनियम आवश्यकता घरेलु उत्पादनले पूरा गर्न सकेको छैन । विश्वको कुल युरेनियम उत्पादन गर्ने क्षमतामध्ये ५० प्रतिशतभन्दा बढी रुसमा छ । रुसमाथि प्रतिबन्ध लगाउँदा पनि अमेरिकाले त्यहाँबाट युरेनियम आयात गर्नुपर्ने आखिर अमेरिकाको बाध्यता के हो ?
अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट बाहेक अमेरिकाले रुसको सोयुज अन्तरिक्ष यानमा अन्य मिसनहरूको लागि पनि भर पर्नु परेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीहरू ढुवानी गर्नेजस्ता कामको लागि अमेरिकाले रुसको सोयुज अन्तरिक्ष यान प्रयोग गर्छ । नासाका अनुसार अमेरिकाले सोयुजको सवारीका लागि प्रतिसीट करिब ९ करोड डलर तिर्छ । यसबाहेक संयुक्त राज्यले रूसी आरडी–१८० रकेट इन्जिनहरू आफ्नो सैन्य प्रक्षेपणहरूका साथै व्यावसायिक उपग्रह प्रक्षेपणहरूको लागि प्रयोग गरेको छ । त्यसैगरी, अमेरिकाले विभिन्न अन्तरिक्ष विज्ञान मिसनहरूमा गरिने अनुसन्धानमा रुसको सहकार्य हुने गरेको छ । उदाहरणको लागि मङ्गल ग्रह अन्वेषण, ग्रह मिसनहरू र सौर्य अनुसन्धान आदि हुन् । यी संयुक्त उद्यमहरूले दुबै राष्ट्रका वैज्ञानिकहरूलाई सँगै काम गर्ने अवसर पनि प्रदान गरेका छन् । दुई राष्ट्रबिचको भूराजनीतिक तनावको समयमा पनि यो सहकार्य जारी रह्यो ।
संयुक्त राज्य अमेरिका ऊर्जा आपूर्ति विशेषगरी प्राकृतिक ग्यासको लागि रूसमा निर्भर रहेको छ । रुस–युक्रेन युद्ध अघिसम्म अमेरिकाले रुसबाट प्रतिदिन ६२६,००० ब्यारेलसम्म तेल आयात गरेको थियो । रुसबाट आयातीत ग्यासबाट अमेरिकाले आफ्नो विद्युत्् मागको ३८ प्रतिशत उत्पादन गर्न प्रयोग गर्छ । रूस प्राकृतिक ग्यासको एक प्रमुख निर्यातक हो । २०१५ मा रूस विश्वमा कुल ऊर्जाको सबैभन्दा ठूलो निर्यातकर्ता थियो । अमेरिकामात्र होइन विश्वका प्रमुख अर्थतन्त्र चीन, भारत र दक्षिण कोरियाजस्ता मुलुक पनि रुसको ऊर्जामा निर्भर छन् । युरोपेली देशहरू रूसी ग्यास आयातमा धेरै निर्भर छन् । रूस उच्च विश्वव्यापी अर्थतन्त्रहरूमा ऊर्जाको प्रमुख निर्यातकर्ताको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । चीन र दक्षिण कोरिया २०२१ मा रूसी कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता थिए । हालको सङ्कटले विश्व उत्पादन बजारहरूमा प्रमुख ऊर्जा आपूर्तिकर्ताको रूपमा रूसको भूमिकालाई परिवर्तन गर्ने सम्भावना छैन ।
त्यसैगरी, अमेरिका रुसमा निर्भर रहेको अर्को क्षेत्र कम्प्युटर सफ्टवेयर प्रविधि हो । अमेरिकाले विशेषगरी बैङ्किङ, स्वास्थ्य सेवा र सरकारी क्षेत्रहरूमा सफ्टवेयर र आईटी सेवाहरूको रुसबाट आयात गर्छ । सन् २०१९ मा अमेरिकामा रुसी सफ्टवेयरको निर्यात करिब ८.५ बिलियन डलरको थियो ।
रुस–युक्रेन युद्ध हुनुअघि रुस अमेरिकाको २६ औँ सबैभन्दा ठूलो व्यापार साझेदार थियो । रुससँग अमेरिकी व्यापार कुल अनुमानित ३७ बिलियन थियो । निर्यात ७ बिलियन डलर थियो भने आयात ३० बिलियन डलर थियो । अमेरिकाले खनिज, इन्धनबाहेक अहिले पनि बहुमूल्य धातु, प्लेटिनम, फलाम, स्टिल, कृषि मल र अजैविक रसायनहरू आयात गरिरहेको छ । एकातिर युक्रेनको अगाडि रुसमाथि प्रतिबन्ध लगाएर रुसलाई कमजोर बनाएको अमेरिका स्वाङ गरिरहेको छ भने अर्कोतिर आफूलाई चाहिने वस्तु आयात गरिरहेको छ ।
राजनीतिक तनाव भए पनि संयुक्त राज्य अमेरिका र रूसबिच आर्थिक सम्बन्ध रहेको छ । अमेरिकी कम्पनीहरूले रूसी बजारमा लगानी गरेका छन् । रुसमा अवस्थित अमेरिकी कम्पनीले सन् २०२२ मा रुसबाट १३ अर्ब डलर मुनाफा कमाएको थियो । यो रकम भनेको हाम्रो देशको वार्षिक बजेट १७ खर्ब बराबर हो । एकातिर नाकाबन्दीको घोषणा गर्ने अर्कोतिर आफूलाई फाइदा भएको कुनै पनि क्षेत्र नछोड्ने । आफूले तर्साउन मिल्ने स–साना देशलाई रुसविरुद्धको आर्थिक नाकाबन्दीमा सहभागी हुन दबाब दिने । नमाने उल्टै ती देशमाथि पनि आर्थिक नाकाबन्दी लगाउने तर आफू भने आफ्नो स्वार्थ पूरा हुने कुनै पनि अवसर नगुमाउने ।
भूराजनीतिक गतिशीलता र विश्वव्यापी परिस्थितिहरूको कारणले मात्र नभई समाजवादी सोभियत सङ्घको बलियो जगमा उभिएको कारणले पनि अमेरिकामात्र होइन विश्वका थुप्रै मुलुकहरूको थुप्रै वस्तुहरूको लागि रुसमाथिको निर्भरता अझै कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *