भर्खरै :

नेपाली भूमि मिचे पनि सरकार किन मौन ?

नेपाल र भारतको भूमि (सीमा) छुट्याउने एउटा बलियो आधार सीमा स्तम्भ हो । सीमा स्तम्भकै आधारमा नेपाल र भारतको भूमि छुट्याउने हो । तर, ती सीमा स्तम्भहरू कति जीर्ण भए, कति ढले त कतिको नामोनिसान नै छैन । स्तम्भ कति भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उखेलेर नेपाली भूमिमा सार्ने काम ग¥यो । सीमा स्तम्भ सारेर नेपाली भूमिलाई भारतीय भूमि बनाएको समाचार बेलाबखत सञ्चार माध्यममा आइरहेको छ । यसरी सीमा स्तम्भ सार्नेमा भारतीय सीमा सुरक्षा बलको हात हुन्थ्यो । भारतीय पक्षले सीमा स्तम्भ सारेकै कारण स्थानीय नेपालीले विरोध गरे, प्रदर्शन गरे र कतिले सामना गरे । सीमा स्तम्भ सारेर भारतीय पक्षले नेपालीलाई उठिवास गराउने, खेतीपाती गर्न नदिने काम पनि ग¥र्यो । यसरी भारतीय पक्षले नेपाली जनतालाई बेलाबखत दुःख दिइरहेको छ, त्यो अद्यापि चालु छ ।
भदौ ३० गते प्रकाशित ‘कान्तिपुर’ दैनिकमा कञ्चनपुरमा ब्रह्मदेवदेखि पुनर्वासको डोके बजारसम्म १ सय २९.५ किलोमिटर सीमा भारतसँग जोडिएकोमा दर्जनभन्दा बढी ठाउँमा विवादका कारण घर निर्माण र खेतीपाती गर्न समस्या देखिएको छ । सीमा स्तम्भहरू ढलेका, जीर्ण भएका, बगाएका र कहीँ कहीँ सीमा स्तम्भ नभएका ठाउँ पनि देखिए । जुन जुन ठाउँमा सीमा स्तम्भ जीर्ण भए, ढले, गायब भए त्यहाँ त्यहाँ तुरुन्तै सीमा स्तम्भ राख्नुपर्ने हो, राख्न पहल गर्नुपर्ने हो । तर, त्यो भइरहेको छैन । सीमा विवाद मिलाउन र सीमा स्तम्भ राख्नुपर्नेतर्फ न भारत सरकारको ध्यान गएको छ न त नेपाल सरकारकै ध्यान गएको छ ।
सरकारको ध्यान नपुग्दा या बेवास्ता हुँदा नेपाल साँगुरिँदै गएको छ । उहिलेको नेपालको क्षेत्रफल अहिले छ कि छैन ? नेपाली भूमि भारतले कति लियो र कति मिच्यो भन्ने कुरा सरकारलाई कुनै मतलब छैन । सीमाविद्हरूका अनुसार भारतले धेरै ठाउँमा सीमा मिचिसकेको छ, मिच्दै छ । सीमा स्तम्भको व्यवस्थापन नहुँदा भारतलाई नेपाली भूमि मिच्ने मौका मिलेको छ । नेपाली भूमि मिच्नु अपराध हो, मिचे पनि मौन बस्नु अर्को अपराध हो । आफ्नो देशको सम्पत्ति या भूमि पनि जोगाउन पहल नगर्ने कस्तो सरकार ! नेपाली भूमि मिचे पनि विरोध नगर्दा, खबरदारी नगर्दा या फिर्ता पाउन पहल नगर्दा भारतीय पक्षले फेरि मिच्ने काम ग¥यो, गरिरहेको छ । सीमा स्तम्भ सारेको, ढलेको, बगाएको, जीर्ण भएको, बेपत्ता पारेको खबर प्रकाशमा आएपछि वास्तविकता के हो भन्नेबारे सरकारले छानबिन गर्नुपर्दैन ? छानबिन गरेर समस्या हल गर्नुपर्दैन ? के सरकार ‘बुँख्याचा’ हो ?
अरू देशको सीमा मिच्ने या अतिक्रमण गर्ने काम देशघाती काम हो । यो हाम्रो देशको निम्ति हाँक हो । यस्तो देशको राष्ट्रिय सवालमा सरकार कानमा तेल हालेर बस्न मिल्दैन । सरकारको यही कमजोरीको फाइदा उठाउँदै भारतीय पक्षले सीमा मिचिरहेको हो । के फेरि जग्गा मिच्न दिने ? सिङ्गो नेपालै खाएपछि मात्र होस पु¥याउने ? नेपाल नै रहेन भने नेपाली रहन्छ ? अनि आफूले सरकारको नेतृत्व गर्न पाउँछ ? यस्तो सवालमा सरकार गम्भीर हुनुपर्दैन ? जिम्मेवार भएर शासन गर्नुपर्दैन ? के सरकारको नेतृत्व गर्नु नै ठूला दलहरूको जिम्मेवारी हो ? सरकारको नेतृत्व गर्दैमा के देश र जनताको समस्या समाधान हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *