यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एमाले र माओवादी केन्द्रबीच कथित वाम गठबन्धन बनेयता विशेषतः नेपाली काङ्गे्रसका नेताहरुले कम्युनिष्ट आन्दोलनको विषयमा अनेकन अनर्गल अभिव्यक्ति दिएका छन् । नेकाँले कम्युनिष्टहरुको खेदो खन्न बेलामौकामा ‘अधिनायकवादी’, ‘रुन पनि नपाउने’, ‘एकदलीय र लोकतन्त्रविरोधी’ जस्ता शब्दहरु गालीको रुपमा भन्ने गरेको नवीन कुरो भने होइन । तर त्यस्ता अभिव्यक्ति वास्तविक क्रान्तिकारी आन्दोलन र आमूल परिवर्तन आउने भयले भन्दा पनि चुनावी राजनीतिको अङ्कगणितमा आफू एमाले र माओवादी केन्द्रभन्दा पछि पर्ने पीरले बोलेका देखिन्छन् ।
एमाले र माओवादी केन्द्रको घोडाको मिलनलाई कम्युनिष्ट एकता भन्नु नेकाँलाई आजको सन्दर्भमा क्रान्तिकारी शक्ति भन्नु जत्तिकै गलत कुरो हो ।
पटक पटकको सत्ता सहकार्य र राजनीतिक अन्तर्घुलनका कारण नेकाँका नेताहरुलाई एमाले र माओवादी केन्द्रबाट कम्युनिष्टहरुको सिद्धान्तअनुसारका परिवर्तन हुन नसक्ने वास्तविकताको राम्रो हेक्का छ । एमाले र आफूबीच कुनै तात्विक अन्तर नभएको नेकाँलाई धेरै अघि नै ज्ञात भएको हो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादी केन्द्रलाई समेत आफ्नै प्रजातिको राजनीतिक शक्ति बनाइसकेको सत्य पनि नेकाँलाई थाहा छ । यी सबै कुरा जानेर पनि नेकाँका नेताहरु आज कथित वाम गठबन्धनलाई देखाएर कम्युनिष्ट आन्दोलनलाई नै बद्नाम गर्नतिर लागेका छन् । त्यसको एउटै कारण नेपाली जनताबीच कम्युनिष्टहरुको बद्नाम र ‘भय’ देखाएर आफ्नो दुनो सोझ्याउने अराजनीतिक खेल हो । एमाले र माओवादी केन्द्र कम्युनिष्टको खोल ओढेका आफू जस्तै ब्वाँसा भएको थाहा पाएर पनि नेपाली जनताबीच कम्युनिष्ट शब्द र क्रान्तिकारी आन्दोलनबारे भ्रम र असत्यको खेती गर्न उनीहरुले अनेकन शब्द प्रयोग गरिरहेका छन् ।
एमाले र माओवादी केन्द्रको घोडाको मिलनलाई कम्युनिष्ट एकता भन्नु नेकाँलाई आजको सन्दर्भमा क्रान्तिकारी शक्ति भन्नु जत्तिकै गलत कुरो हो । तथापि नक्कली कम्युनिष्टहरुको बुँख्याचा देखाएर क्रान्तिकारी शक्तिहरुलाई पनि जनताबीच निस्तेज बनाउने दुई धारको अभियानमा आज काँग्रेस नेताहरु लागिरहेका छन् ।
अर्कोतिर संसारलाई एमाले र माओवादीको गठबन्धनलाई कम्युनिष्ट एकताको आवरण दिएर काङ्ग्रेसीहरु अन्तर्राष्ट्रिय पूँजीवादी मोर्चालाई आफ्नो पक्षमा ल्याउन खोजिरहेका छन् । नेपालप्रति चासो राख्ने अन्तर्राष्ट्रिय जगतलाई नेपालमा कम्युनिष्ट शासन ल्याउन खोज्यो भन्ने झुठ फलाकेर आफूप्रति राजनीतिक समर्थन हासिल गर्नु नै उनीहरुको लक्ष्य देखापर्दछ ।
नेपाली समाजमा समाजवादी बन्दोबस्त स्थापना गर्न सङ्घर्षको मोर्चा सम्हालिरहेका क्रान्तिकारी शक्तिलाई बद्नाम गरी आफ्नो सत्ता राजनीतिलाई बलियो र दिगो बनाउने लक्ष्यका साथ नेकाँका सभापतिदेखि तल्लो तहका कार्यकर्ताहरु यो कर्ममा लागेका छन् । कम्युनिष्ट एकताको हाउगुजी फैलाएर सके आगामी चुनावमा आफ्नो हात माथि पार्ने उनीहरुको लक्ष्य होला । तर उनीहरुलाई जस्तै नेपाली जनतालाई पनि एमाले र माओवादी केन्द्र ‘हिङ्ग नभई हिङ्ग बाँधेका टालो’ मात्र भएको सत्य राम्ररी थाहा छ ।
Leave a Reply